Friday, May 10, 2024

-->

ओस्कार विजेता चलचित्र 'प्यारासाइट'का अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।

ओस्कार विजेता चलचित्र प्यारासाइटका अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

ओस्कार पुरस्कार जितेको चर्चित दक्षिण कोरियाली चलचित्र प्यारासाइटका अभिनेता लि सन क्युन बुधबार मृत भेटिएका छन्। ४८ वर्षका क्युन सिओलको एक पार्कमा आफ्नै कारभित्र मृत भेटिएका बीबीसीले जनाएको छ।

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ। प्रहरीले क्युनको घरमा उनले लेखेर राखेको नोट पनि भेटाएको छ। तर, त्यसमा के लेखेको छ भनेर खुलाइएको छैन। 

लागुऔषध प्रयोगको आरोपमा क्युनमाथि गत अक्टोबरदेखि अनुसन्धान चलिरहेको थियो। उनले सिओलको एक रेस्टुरेन्टमा त्यहाँकी परिचारिकासँग गाजा तथा केटामाइन जस्ता लागूपदार्थ सेवन गर्ने गरेको आशंका गरिएको थियो। लि सनले ती परिचारिकाले जे दियो त्यही सेवन गरेको तर त्यो पदार्थ लागुऔषध हो भन्ने आफूलाई थाहा नभएको बताउँदै आएका थिए। ती परिचारिकाले भने लि सन आफ्नै घरमा पनि लागुऔषध सेवन गर्ने बताएकी छन्।

प्यारासाइटले उत्कृष्ट चलचित्रसहित विभिन्न चार विधामा सन् २०२० को ओस्कार पुरस्कार जितेको थियो। प्यारासाइटमा लि सनले एक धनी पार्क परिवारका सदस्यको भूमिका निभाएका थिए। उनको उक्त भूमिकालाई निकै रुचाइएको थियो। प्यारासाइट गैर अंग्रेजी भाषाकाे उत्कृष्ट ओस्कार पुरस्कार जित्ने पहिलो चलचित्र हो।

दुई दशक चलचित्र क्षेत्रमा बिताएका लि सनका दुई छोरा छन्।
 


सम्बन्धित सामग्री