पूर्वपरराष्ट्रमन्त्री थापाको ‘राष्ट्र–परराष्ट्रः एकतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक

पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि पेसागत जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको लेखकको भनाइ छ।

काठमाडाैँ– पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको आत्मसंस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौँको गैह्रीधारास्थित एक कार्यक्रममा सांसदद्वय स्वर्णिम वाग्ले र सुमना श्रेष्ठ, पत्रकारद्वय सुधीर शर्मा र हरिबहादुर थापा र लेखक भेषबहादुर थापाले संयुक्तरूपमा पुस्तक विमोचन गरेका थिए।

विमोचन कार्यक्रममा वाग्लेले पुस्तकमा थापा बाँचेको परिवेश, अपनाएको पेसा र संगत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण भेटिने बताए। उनले भने, "यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ। यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो। जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि हो।"

पुस्तकमा २००७ सालपछि नेपाल कसरी परिवर्तन हुँदै आयो, वैदेशिक सम्बन्ध कसरी अघि बढ्यो, पञ्चायतकालीन समयको शासन–प्रशासन के–कसरी चल्यो आदि विषयमा व्याख्या–विश्लेषण गरिएको पत्रकार शर्माको भनाइ थियो।

शर्माले भने, "यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ। उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ।"

कार्यक्रममा लेखक थापाले आफ्नो पेसागत जीवनलाई फर्केर हेर्दा पुस्तकले यस रूपमा आकार लिएको बताए। पुस्तकमा आफूले आफ्नो निजी जीवनभन्दा पनि पेसागत जीवन र देशका लागि जुट्दा–खटिँदा देखे–भोगेको अवस्थालाई चित्रण गरेको उनको भनाइ थियो।