Wednesday, May 08, 2024

-->

मीठो खुवाएर यसरी गरियो गोठगोठमा गाईपूजा (तस्वीरहरू)

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ।

मीठो खुवाएर यसरी गरियो गोठगोठमा गाईपूजा तस्वीरहरू

काठमाडौँ– गाई तिहारको अवसरमा सोमबार गाईपूजा गरिएको छ। कात्तिक शुक्ल प्रतिपदा एवं तिहारको तेस्रो दिन गाईलाई मिठो खानेकुरा खान दिएर पूजा गर्ने चलन छ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईको दूध, गहुँत र गोबरलाई हिन्दू धर्मावलम्बीले धार्मिक कार्यमा प्रयोग गर्छन्।*

भक्तपुरको मध्यपुरठिमी नगरपालिका–६ कुन्डोलका स्थानीयले पनि गाईतिहार मनाएका छन्। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिने चलन रहेको स्थानीय रवि श्रेष्ठले बताए। पुस्तौँदेखि चल्दै आएको परम्परालाई आफूहरूले निरन्तरता दिएको उनले सुनाए। 

गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरूमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।

गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।


*सच्याइएको 


सम्बन्धित सामग्री