Wednesday, May 08, 2024

-->

क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक

क्यानडामा नेपथ्यको तेस्रो कन्सर्ट टोरन्टोस्थित म्यासी हलमा अक्टोबर ८ मा हुनेछ।

क्यानडाको भ्यानकुभरमा नेपथ्यसँग झुमे दर्शक

काठमाडौँ– लोक रक ब्यान्ड नेपथ्यले क्यानडा सांगीतिक यात्राको दोस्रो कन्सर्ट भ्यानकुभरमा सम्पन्न गरेको छ।

नेपथ्यले पहिलो कन्सर्ट क्यालगरीमा गरेको थियो। भ्यानकुभरमा ‘सा कर्णाली’ को म्युजिक भिडिओ प्रदर्शनीबाट शुरू भएको कन्सर्टलाई वैदेशिक रोजगारीमा गएकाहरूको भावमा बुनिएको ‘मै मरी जाउँला’ गीतले निरन्तरता दिएको थियो।

मञ्चमा नेपथ्य टोली आएपछि ब्यान्डले पहिलो प्रस्तुतिमा ‘कोशीको पानी’ पस्कियो। त्यसपछि ‘भेडाको ऊन जस्तो’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’ र ‘लामपाते सुरती’ सुनाइएको थियो।

कन्सर्टको १०औँ प्रस्तुतिका रूपमा ब्यान्डले ‘यो जिन्दगानी’ गीत सुनाएको थियो। नेपथ्यका मुख्य गायक अमृत गुरुङले पछिल्लो एक वर्षदेखि ब्यान्डले ‘मानवताका लागि संगीत’ अभियान सञ्चालन गरिरहेको बताएका थिए। “सडकमा अलपत्र परेर बाँचिरहेका मानिसहरू देख्दा दिक्क लाग्थ्यो,” अमृतले भने, “केही वर्षयता मानव सेवा आश्रमले त्यस्ता मानिसको देशैभरि उद्धार गरिरहेको थाहा पाएपछि हामी पनि यो पवित्र उद्देश्यमा जोडिन पुगेका छौँ।”

कन्सर्टको अन्त्यतिर ‘रेशम’, ‘तालको पानी’ हुँदै ‘रातो र चन्द्रसूर्य’ सुनाएपछि समापन भएको थियो। 

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

अब क्यानडामा नेपथ्यको तेस्रो कन्सर्ट टोरन्टोस्थित म्यासी हलमा अक्टोबर ८ मा हुनेछ। 


सम्बन्धित सामग्री