Saturday, May 04, 2024

-->

६ पुस्तादेखि कपाली परिवार बसिरहेको सत्तल जब खाली गराइयो

पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरसँगैको सत्तलमा ६ पुस्तादेखि कपाली परिवार बसिरहेको थियो। सत्तल जीर्ण बनेपछि उनीहरू डेरामा सरेर त्यहाँ घरायसी सामग्री मात्र राखिएको थियो।

६ पुस्तादेखि कपाली परिवार बसिरहेको सत्तल जब खाली गराइयो

काठमाडौँ– पाटनको पतक्व टोलस्थित हरिशंकर मन्दिरपछाडि साँघुरो घरको आँगनमा बिहीबार केही कलात्मकसहित घरायसी सामग्री असरल्ल थिए। ती सामग्री मन्दिरपछाडिको सत्तलबाट झिकिएका थिए। त्यस घरमा गोविन्द दर्शनधारीको परिवार भाडामा बस्छ।

गोविन्दको परिवार पाँच वर्षअघिसम्म हरिशंकर मन्दिरसँगैको सत्तलमा थियो। तर सत्तल जीर्ण भएका कारण उनीहरू नजिकै डेरामा बस्न थालेका हुन्। डेरा साँघुरो भएको हुँदा कतिपय घरायसी सामान सत्तलमै राखेका थिए।

गएको भदौ ८ गते जीर्ण सत्तलको एक भाग भत्कियो।

नेपाल भाषामा ‘सतः’ को अर्थ पाटीपौवा र ‘छेँ’ को अर्थ घर हुन्छ। माथिल्लो तलामा मानिसको बसोबास पनि हुने पाटीपौवा वा फल्चालाई सत्तल भनिन्छ। परम्परागत रूपमा कपाली, दर्शनधारी समुदाय ‘सतः छें’ वा सत्तलमा बस्दै आएका छन्। 

पतक्व टोलको सत्तलमा गोपाल र उनका भाइ गोविन्द दर्शनधारीको परिवार पुस्तौँदेखि बस्दै आएका थिए। यो सत्तलमा बस्न थालेको आफू छैटौँ पुस्ता भएको गोविन्द बताउँछन्।

इतिहासकार डा.पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार, ऐतिहासिक कालखण्डमा जातीय व्यवस्थाका कारण सीमान्तकृत समुदायलाई सत्तलमा बस्न दिइन्थ्यो। चरम आर्थिक विपन्नताले स्थायी घर नभएका उनीहरू मन्दिर सरसफाइ गर्ने र त्यहीँको सत्तलमा बस्ने गर्थे।

२०७२ सालको भूकम्पले सत्तल जीर्ण भयो। त्यसपछि दाजु गोपाल त्यहाँबाट सरे। गोविन्दको परिवारले पनि २०७५ सालमा सत्तल छाड्यो। 

उनीहरूले सत्तल छाडेको पाँच वर्षपछि वर्षाको कारण गएको बिहीबार सत्तल भत्कियो। कृष्ण जन्माष्टमीको अघिल्लो दिन सत्तलको भग्नावशेष उठाउन ललितपुर महानगरका नगर प्रहरी आए। बिहानदेखि राति १० बजेसम्म सामाना ओसारपसार भइरह्यो।

भत्किएको भवन खाली गराउन नगर प्रहरी बिनाजानकारी आउँदा दुःख लागेको गोविन्द बताउँछन्। “बिनापुर्जी उहाँहरूले भत्किएको भागका सामान उठाउन थाल्नुभयो, हामीले प्रतिवाद गर्न खोज्दा पनि सकेनौँ। ४०–५० जना नगर प्रहरी आउँदा हाम्रो के लाग्छ?” गोविन्द भन्छन्।

भत्किएको सत्तलमा आफ्ना निजी सामान धेरै रहेको गोविन्दकी श्रीमती भगवती बताउँछिन्। “नन्दको बिहेका सामान, दराज, बिहेका एल्बम सबै थिए, बल्ल बल्ल त्यति भने निकाल्न पायौँ,” उनले आँगनमा राखिएका सामान देखाउँदै भनिन्।

पुस्तौँदेखि बस्दै आएको सत्तलको मर्मतका लागि दर्शनधारी परिवारले २०७५ सालमै वडामा निवेदन दिएका थिए। तर सत्तलमा अन्य गुठीको हकअधिकार लाग्ने र २०५५ सालदेखि मुद्दा चालिरहेको भन्दै वडाले मर्मतको सिफारिस दिएन। तर सत्तल भत्किएपछि नगरप्रहरीले हस्तक्षेप गरेको गोविन्दको परिवारको गुनासो छ।

यद्यपि, यस विषयमा वडा नं. १६ का अध्यक्ष निर्मलरत्न शाक्य उक्त परिवारको तर्क ठीक नभएको बताउँछन्। सत्तल सार्वजनिक भएको र ६ महिनाअघि नै वडाले मर्मतका लागि खाली गर्न पत्राचार गरेको उनको भनाइ छ।

यो पनि: ६ पुस्तादेखि सत्तलमा बसेको परिवारलाई महानगरको पत्र– अब नहटे कानूनी कारबाही

“हामीले ६ महिनाअगाडि नै बसाइँ सर्नको लागि पत्र काटेको हो। उहाँहरूले हामीविरुद्ध रिट हाल्नु भयो। फैसला नआउन्जेलसम्म पर्र्खिएर बसेका थियौँ। महिना दिनअघि पाटन उच्च अदालतबाट फैसला आयो, अनि हामी अघि बढेका हौँ,” वडाध्यक्ष शाक्यले भने।

भवनभित्र दर्शनधारी परिवारको खास सामग्री केही नभएको शाक्यको दाबी छ। “त्यो झुत्रोफुत्रो सामान थियो। काम लाग्ने केही थिएन,” उनले भने। 

ललितपुर नगरप्रहरी प्रमुख सीताराम हाछेथु भने निजी सामग्री सबै निकालेर मात्र भग्नावशेष हटाउन शुरू गरेको बताउँछन्। भग्नावशेषका भाग उठाउने समयमा त्यहाँ कोही नबसेको र सामान पनि असरल्ल नभएको उनी बताउँछना्।

भग्नावशेषले सडकमा अवरोध गरेपछि सुरक्षाका हिसाबले उठाउनु परेको हाछेथु बताउँछन्। अर्को दिन कृष्ण अष्टमी परेको कारण पनि मेलामा आउने भक्तजन तथा पर्यटकको सुरक्षालाई ध्यानमा राखेर त्यसो गरिएको उनको भनाइ छ।

“पुराना पाटी कुनै पनि बेला भत्कन सक्ने स्थितिमा रहेको कारण उक्त क्षेत्रमा पर्यटकदेखि स्थानीय, ज्येष्ठ नागरिकलगायत मानिसहरू आउने गर्छन्। पानी पर्दा भत्किएको हुनाले दुर्घटना होला भनेर निकालेका हौँ,” उनले भने, “हामी भत्काउन जाँदा त्यहाँ बस्ने मानिसले विरोध गरेका थिए। तर अदालतको फैसला देखाएर उहाँहरूको मुद्दा खारेज भएको जानकारी दिएपछि पछि हट्नुभयो।”

सुरक्षाकै कारण नगरपालिकाले डोजर, जेसिबी नलगी प्रहरी बलले भग्नावशेष हटाएको उनको दाबी छ।

गत पुसमा वडाले उक्त सत्तलबाट बसाइ सर्नको लागि कपाली परिवारलाई पत्राचार गरेको थियो। तर दीर्घकालीन समाधान र बसोबासको प्रबन्ध नभएको भन्दै कपाली परिवारले उक्त स्थान नछोड्ने अडान लिएको थियो। उनीहरूले उच्च अदालत पाटनमा रिटसमेत दायर गरेका थिए। 

अदालतले तत्काल सत्तलबाट उनीहरूलाई नहटाउन र बसोबासको वैकल्पिक व्यवस्था गरिदिन आदेश दिएको थियो। तर करिब एक महिनाअघि अदालतले मुद्दा नै खारेज गरिदिएपछि भत्किएको भग्नावशेष खाली गरेको वडाध्यक्ष शाक्य बताउँछन्। 

उक्त परिवारकी सदस्य रुक्सना कपाली भने अदालतको पूर्णपाठ नआउँदै सत्तल खाली गराएर आफूहरूको सुसूचित हुन पाउने अधिकार छिनिएको बताउँछन्। ६ पुस्तादेखि बसिरहेको ठाउँबाट आफूहरूलाई हट्न बाध्य बनाएको उनको भनाइ छ।

“उच्च अदालतको आदेशको पूर्णपाठ आएपछि मात्र हामीले कारण थाहा पाउन सक्छौँ। हामीलाई पुनरावेदनमा जाने समय पनि आवश्यक  हुन्छ,” उनी भन्छिन्, “यो अधिकार हामीले प्रयोग गर्न नपाउँदै उहाँहरू हामीलाई हटाउन खोजिरहनु भएको छ। यो हाम्रो अधिकारमाथिको हस्तक्षेप हो।”


भिडियो


सम्बन्धित सामग्री