काठमाडौँ– करिब एक हजार वर्ष पुराना वज्रयानी बौद्ध कलाकृतिले भरिभराउ छ काठमाडौँको असननजिकै पर्ने इतुंबहालभित्रको प्राचीन बौद्धविहार। विहारको ढुकुटीमा राखिएका तिनै गोप्य सम्पदा अवलोकनका लागि बनाइएको प्रदर्शनी कक्ष निर्माणमा एक अमेरिकी संग्रहालयले दिएको आर्थिक सहयोगको अहिले विरोध भइरहेको छ।
विहारलाई नै संग्रहालयको रूप दिएर त्यहाँका सामग्री प्रदर्शन गर्न इतुंबहाल परिसरमा तीन वटा कक्षसहितको भवन बनाउन अमेरिकाको न्युयोर्कस्थित ‘रुबिन म्युजियम अफ आर्ट’ले २० हजार अमेरिकी डलर सहयोग गरेको थियो। रुबिन संग्रहालयको छवि स्वच्छ नभएकाले त्यो सहयोगसँगै नेपालका विहारहरूको प्राचीन सम्पदामाथि सांस्कृतिक हस्तक्षेप हुने भन्दै सम्पदा संरक्षणकर्मी र स्थानीय वासिन्दाहरूले विरोध जनाएका हुन्।
विहारसँगै बनेको संग्रहालय शनिबार बिहान उद्घाटन गर्ने कार्यक्रम तय छ। त्यो खबर पाएसँगै नेपालबाट हराएका तथा चोरी भएका मूर्ति र कलाकृति पहिचान गरी स्वदेश फर्काउने कार्यमा अग्रसर ‘नेपाल सम्पदा पुनर्जागरण अभियान (एनएचआरसी) ले शुक्रबार एक विज्ञप्ति निकालेर विरोध जनाउनुको कारण सार्वजनिक गरेको छ।
अभियानकी अध्यक्ष रिद्धिबाबा प्रधानले निकालेको विज्ञप्तिमा ‘रुबिन आर्ट अफ म्युजियम’ जस्ता पश्चिमा संग्रहालयले अन्य देशका जीवन्त संस्कृतिको रूपमा रहेका कलाकृति, मूर्ति लगायतका सम्पदालाई एकत्रित गरी प्रदर्शनीको नाममा ‘हराएका मूर्तिको बजार बनाएको’ उल्लेख छ।
“अवैध बाटोबाट पश्चिमा संग्रहालय र संकलकहरूसम्म पुगेका नेपालका जीवित संस्कृतिका धरोहरका रूपमा रहेका देवीदेवताका मूर्तिलाई दशकौँदेखि प्रदर्शनीस्थल वा कक्षमा राखेर जीवन्त सम्पदाको अस्तित्वलाई समाप्त पार्ने मात्रै नभई व्यापार–व्यवसायको माध्यम समेत बनाएकोमा हामीलाई दुःख लागेको छ,” विज्ञप्तिमा उनले लेखेकी छन्।
विज्ञप्तिको शुरूमै राखिएको ‘डिस्क्लेमर’मा अभियानका तर्फबाट अध्यक्ष प्रधानले पत्र लेखेर रुबिन म्युजियम अफ आर्टका कार्यकारी प्रमुख जोरिट ब्रिचवीलाई यो ब्यहोरा जानकारी गराएको उल्लेख छ। इतुंबहालमा खोल्न लागिएको संग्रहालयमा रुबिन म्युजियमबाट भएको आर्थिक सहयोगको विषयमा पनि कार्यकारी प्रमुख ब्रिचवीको ध्यानाकर्षण गराइएको अभियानले जनाएको छ।
उनलाई पठाइएको पत्रमा हाल नेपालमा मूर्ति फिर्ताको अभियान चलिरहँदा यस्तो जिम्मेवारीबाट पन्छिन वा यस्ता आर्थिक सहयोगलाई ढाकछोपको माध्यम बनाउन नमिल्ने स्मरण गराइएको छ। श्रद्धा र आस्थाका सम्पदालाई कलावस्तुको रूपमा मात्र हेर्ने प्रवृत्ति सही नहुने भन्दै रुबिन संग्रहालयमा हाल रहेका तथा भविष्यमा राखिने कलाकृतिका सम्पूर्ण विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्नसमेत अभियानका तर्फबाट प्रधानले आह्वान गरेकी छन्।
रुबिन संग्रहालयले इतुंबहालको देवाली घरबाट हराएको काठको गन्धर्व (विद्याधर) र पाटनको यम्पी महाविहारको मूलढोकाबाट हराएको काठको तोरण २०७८ फागुन १८ गते फिर्ता गरेको कदमको भने अभियानले सराहना गरेको छ।
नेपाल सम्पदा पुनर्जागरण अभियानका सल्लाहकारसमेत रहेका सम्पदाविद् तथा अभियन्ता रविन्द्र पुरीले पनि एक विज्ञप्ति सार्वजनिक गर्दै रुबिन संग्रहालयजस्तो विवादास्पद संग्रहालयको मातहतमा रहने गरी उसैको सहयोग लिएर इतुंबहालमा विहार संग्रहालयको प्रदर्शनी कक्ष बनाइएकोप्रति विरोध जनाएका छन्। “जीवन्त संग्रहालयको रूपमा रहेका विहारहरूमा त्यस्तो स्रोतबाट आर्थिक सहयोग लिएर प्रदर्शनी कक्ष बनाउनु पश्चिमा संस्कृतिको उपनिवेशीकरण हो,” उनले विज्ञप्तिमा लेखेका छन्।
रुबिन संग्रहालय किन विवादित बन्यो?
अमेरिकामा १९ वर्षअघि सन् २००४ मा स्थापित रुबिन संग्रहालयले आफ्नो नाममा ‘ह्वाइटवासिङ’ अर्थात् विगतको विवादास्पद छवि पखाल्न लागेको सम्पदाविद्हरूको भनाइ छ। पुरीले एउटा लेखमा उल्लेख गरेअनुसार रुबिन संग्रहालयका संस्थापक डोनाल्ड र सेली रुबिन दम्पती पहिले स्वास्थसम्बन्धी एक बीमा कम्पनी चलाउँथे। त्यसपछि उनीहरू संग्रहालयतर्फ मोडिएका हुन्।
हिमाली कलाको सबैभन्दा ठूलो संग्रहसामग्री आफूसँग रहेको दाबी गर्ने रुबिनले हालसम्म दुई वटा मात्र नेपाली कलाकृति फर्काएको छ। सम्पदाकर्मीहरूका अनुसार ऊसँग नेपालबाट चोरिएका ९० भन्दा बढी कलाकृति छन्, जसमध्ये २० वटा मात्र प्रदर्शनीमा राखेको छ। बाँकी कलाकृतिहरूको विवरणसमेत सार्वजनिक गरेको छैन। इतुंबहाल संग्रहालय स्थापनामा गरेको सहयोगसँगै उसले आगामी दिनमा फिर्ता गर्नुपर्ने कलाकृतिबारे कस्तो धारणा बनाउँछ भन्नेमा पनि सम्पदा संरक्षणकर्मीहरू सशंकित छन्।
‘नेपालको पहिलो विहार संग्रहालय’
हाल संग्रहालय बनेको इतुंबहालस्थित विहारको पूरा नाम ‘श्री भाष्करदेव संस्कारित केशचन्द्र कृत पारावर्त महाविहार’ हो। यहाँ शनिबार उद्घाटन हुन लागेको ‘इतुंबहाल संग्रहालय’ नेपालको पहिलो विहार संग्रहालय भएको महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यको दाबी छ। एक हजार वर्ष पुरानो मानिएको यस विहारमा वर्षौंदेखि भण्डारमा रहेका कलावस्तुलाई संग्रहालयको रूप दिएर प्रदर्शनी गर्न लागिएको अध्यक्ष शाक्य बताउँछन्।
डेनियल राइटले डेढ सय वर्षअघि लखेको ‘हिस्ट्री अफ नेपाल’ मा यो विहार सन् १०८० तिर राजा भाष्करदेवको पालामा स्थापना भएको उल्लेख गरेका छन्।
श्री केशचन्द्र र भाष्करदेव राजाको पालामा गरी दुई पटक जीर्णोद्धार भएकाले यसको नाम भाष्करदेव संस्कारित श्री केशचन्द्र कृत पारावर्त महाविहार रहन गएको भनी लेखक राजेन्द्रमान बज्राचार्यले आफ्नो पुस्तकः ‘कान्तिपुरका महाविहार/विहारहरू’ मा लेखेका छन्। सोही पुस्तकमा उनले ‘काठमाडौँ उपत्यकाको विकासक्रम, अन्य ऐतिहासिक तथ्य, कालक्रम र बौद्धदर्शनमा आधारित ज्ञान प्रवाह गर्ने स्थान रहेकालाई विचार गर्दा नेपालमण्डल (काठमाडौँ उपत्यका) का सम्पूर्ण महाविहार/विहार (बहाः/बहि) हरू २५ सयदेखि ५ हजार वर्षभन्दा पुराना हुन् भनी सजिलै अनुमान गर्न सकिने’ लेखेका छन्।
“विहारको ढुकुटीमा रहेका सामग्रीलाई नै प्रदर्शनीमा राखेर संग्रहालयको रूपमा स्थापना गर्न लागिएको हो,” शाक्यले भने, “विहारमा रहेका ३०० मध्ये १०० वटा कलाकृति संग्रहालयमा प्रदर्शन गरिनेछ।” स्थान अभावको कारण हालको लागि तीन वटा कक्षमा अट्ने गरी प्रदर्शन व्यवस्थित गर्न लागिएको उनी बताउँछन्।
‘संग्रहालयमा राख्दा सम्पदा मर्छ’
कुनै पनि जीवन्त चालचलन रहेको क्षेत्रमा संग्रहालयजस्तो मृत खालको प्रदर्शनी आवश्यक नपर्ने सम्पदाविद् पुरी बताउँछन्। विवादास्पद रहेको रुबिन संग्रहालयले आर्थिक सहयोग गर्दा आगामी दिनमा संग्रहालयसँग रहेको नेपाली कलाकृति स्वदेश फर्काउन कति सहज वा असहज हुने हो त्यसमाथि पनि शंका गर्नुपर्ने उनको धारणा छ। हजारौँ वर्षदेखि चल्दै आएको जीवन्त संस्कृतिलाई पाश्चात्य समाजले गर्ने परिभाषाअनुसारको संरक्षण शैलीमा बदल्दा ‘मृत संरक्षण’को आभास दिने पुरीले बताए।
लेखक डा. सुदर्शनराज तिवारी संरक्षणको अवधारणा नै पाश्चात्य परिभाषाको प्रभावमा पर्न थालेकोमा पुरीसँग एकमत छन्। “पाश्चात्य समाजमा संरक्षणको परिभाषा संग्रहालयमा कलावस्तुलाई कैद गरेर राख्नु हो। तर नेपाली समाजमा विशेषगरी धार्मिक अमूर्त सम्पदा भनेको दैनिक हुने पूजाआजाका साथै जात्रा र चाडपर्वमा मूर्ति बाहिर ल्याउने लगायतका पद्धतिसँग जोडिएको छ,” उनले भने, “विहारमा रहेका विभिन्न मूर्ति, कलावस्तु, चित्रकला विशेषतः जात्रा, चाडपर्वमा अनुयायीलाई सम्झनाको लागि बाहिर प्रदर्शनमा राख्ने गरिएका छन्।”
दिन विशेषमा निकाल्ने यस्ता सम्पदा हालको लागि संग्रहालयमा कैद गर्दा जीवन्त संस्कार र संस्कृतिलाई मृत पार्नु सरह हुने उनको भनाइ छ। संग्रह नै गर्नको लागि पनि बहाः परिसरभित्र भन्दा बाहिर कुनै अर्को भवनमा संग्रहालय बनाउने विकल्प उपयुक्त हुन सक्ने उनले सुझाए। विहारभित्रै संग्रहालय बनाउँदा विहारको मौलिक औचित्यमै प्रश्न उठ्न सक्ने डा. तिवारी बताउँछन्।
बिहीबार दिउँसो हामी विहार परिसरमा पुग्दा संग्रहालय निर्माणको काममा व्यस्त मानिसहरू संग्रहालयलाई पूर्णता दिने काममा व्यस्त थिए। यसले जो कोहीलाई साबिकका विहारको मौलिक परिवेशभन्दा बेग्लै आभास गराउँछ।
इतुंबहालमा चार पुस्तादेखि आर्युवेदिक औषधि पसल चलाउँदै आएको परिवारका मदनरत्न शाक्य विहारका हरेक निर्णय सबैजनाको सहभागितामा हुने गरेको बताउँछन्। यहाँ नयाँ संग्रहालय खुलेकोमा उनी सन्तुष्ट छैनन्। हाल टोखामा बस्ने इतुंबहालकै ज्योतिरत्न शाक्य यसबारे भिन्न शब्दमा समान मत राख्छन्। विहारभित्र संग्रहालय राख्नुको औचित्य उनले देखेका छैनन्। यसअघि २०७१ सालमा उनले इतुंबहाल परिसरमा आफ्नो निजी संग्रहालय स्थापना गरेका थिए। त्यसबेला आफूले विहारका सामान राख्न चाहँदा सहयोग नपाएको उनी सम्झन्छन्।
“विहारभित्र संग्रहालय खोल्न लागे भन्ने सुनेको थिएँ। मलाई भएको असहयोग बिर्सेको छैन। नयाँ संग्रहालयमा कसरी काम हुँदो रहेछ, हेरिरहेको छु,” शाक्य भन्छन्, “काममा किन भाँजो हाल्नु भनेर चुप लागेर बसेको छु। नेपालबाट चोरी गरेर अमेरिका पुर्याइएकामध्ये दुइटा मात्रै सामान फर्काउने रुबिन संग्रहालयको सहयोग किन चाहिएको?”
रुबिनसँग विहारले नै मागेको थियो आर्थिक सहयोग
रुबिन संग्रहालयले दिएको २० हजार अमेरिकी डलर सहयोग विहारकै अनुरोधमा आएको श्री भाष्करदेव संस्कारित केशचन्द्र कृत पारावर्त महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्य बताउँछन्। दुई वर्षअघि सोही विहारमा घुम्न आएकी कला क्युरेटर एवं संग्रहालयसम्बन्धी जानकार स्वस्ती राजभण्डारीसँग शाक्यको परिचय भयो। त्यसबेला विहारको ढुकुटीमा रहेका सामग्री राखेर संग्रहालयको आकार दिने आफ्नो इच्छा उनले राजभण्डारीलाई बताएका थिए।
२०७२ सालको भूकम्पले विहारको एक भाग क्षतिगस्त हुँदा कतिपय पुरातात्विक महत्वका सामग्री नष्ट भएको शाक्यले बताए। विहारका सामग्री संरक्षणको विषयमा राजभण्डारीसँग पटकपटक फोनमा कुराकानी हुने क्रममा राजभण्डारीले आफू कार्यरत लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसहित ल्याएर विहारमा रहेका पुराना सामानको सरसफाइ र अभिलेखनको काम गरिन्। एक महिनासम्म चलेको अभिलेखनबाट अपेक्षा गरिएभन्दा बढी ३०० कलाकृति संग्रह भएको शाक्य बताउँछन्।
सोही वर्ष इतुंबहालको पशुका झ्याल (विद्याधर) परीको काष्ठ कलाकृति रुबिन संग्रहालयबाट फिर्ता हुने कुरा चल्यो। पुरातत्व विभाग, स्वस्ती राजभण्डारी र रुबिन संग्रहालयको संयुक्त बैठकमा उक्त कलाकृति फिर्ताको कुराकानी थालियो। सोही बैठकमा आमन्त्रित, विहारका अध्यक्ष शाक्यले अभिलेखन गरिएका ३०० कलाकृतिका बारेमा पनि जानकारी गराए र संग्रहालयको डिजाइन तथा प्राविधिक सहयोगको लागि रुबिन संग्रहालयसँग सहयोग मागे।
सोही मागका आधारमा २०७९ असारमा २० हजार डलर सहयोग गर्न रुबिन संग्रहालय सहमत भएको अध्यक्ष शाक्यले बताए। उनका अनुसार सहयोगसम्बन्धी समझदारीपत्रमा त्यसबाहेकको अतिरिक्त खर्च रुबिनले नब्यहोर्ने शर्त थियो। त्यसको दुई महिनापछि प्रतिबद्धता अनुसारको रकम नेपाल सरकारको समाज कल्याण परिषद्मार्फत ल्याएर संग्रहालय निर्माणको काम थालिएको उनले जानकारी दिए।
संग्रहालय निर्माणमा भएको कुल खर्च भने हालसम्म लेखाजोखा भइनसकेको उनी बताउँछन्। विहारभित्रको रङरोगन, सरसफाइ, जलद्रोणी लगायतका सामग्रीमा विहारले आफै खर्च गरेको उनले बताए। यसबाहेक विहारको बाहिरपट्टि काठमाडौँ महानगरपालिकाको २६ नम्बर वडा कार्यालयले तीन वटा शौचालय बनाइदिएको शाक्यले जानकारी दिए। यद्यपि, महानगरका प्रवक्ता नवीन मानन्धरले भने संग्रहालय निर्माणमा महानगरको कुनै पनि संलग्नता नरहेको उकालोसँग बताए।
अध्यक्ष शाक्यका अनुसार, रुबिनले संग्रहालय निर्माणमा नभई प्रदर्शनी कक्षको लागि आर्थिक सहयोग गरेको हो। संग्रहालयको रूप दिने निर्णय विहारको आफ्नै भएको उनले बताए।
“संग्रहालयको अवधारणा हाम्रो हो। यसमा रुबिनको आर्थिक सहयोग बाहेक केही रहने छैन,” उनले भने।
आर्थिक तथा प्राविधिक सहयोगको लागि मात्र गरिएको याचनालाई हाल विभिन्न मिडियामा अनर्थ लगाइएको भन्दै शाक्यले गुनासो गरे। संग्रहालयको लागि क्युरेटरको रूपमा सहयोग गरेकी स्वस्ती राजभण्डारीसँग यसबारे जानकारी लिन सम्पर्क गर्दा उनले व्यस्तताको कारण बोल्न नसक्ने बताउँदै इतुंबहालकै पदाधिकारीसँग कुराकानी गर्न भनिन्।
‘सहयोग स्वाभाविक तर उद्देश्य निस्वार्थ हुनुपर्छ’
पाटन संग्रहालयका प्रमुख सुरशे लाखे, विदेशी निकायको आर्थिक सहयोगबाट संग्रहालय खोलिनु आपत्तिजनक नभएको बताउँछन्। पाटन संग्रहालय पनि शुरूआती समयमा विदेशी सहयोगबाट चलेको उनी बताउँछन्। यद्यपि, त्यसरी गरिने सहयोगको उद्देश्य र प्रयोजन निस्वार्थ हुनुपर्ने उनको भनाइ छ।
“सहयोग गर्नु नराम्रो होइन, यो प्रायः संग्रहालयहरूको मार्केटिङको पक्ष हो,” लाखे भन्छन्, “सम्झौतापत्रमा सहयोग मात्र लेखिएको छ भने त्यो ठिक छ। अन्य शर्त पनि केही छन् भने चाहिँ गलत नै बुझ्नुपर्छ। एक पटकको सहयोग बाहेक अन्य प्रयोजन हुनुहन्न।”
रुबिनले आफ्नो वेवसाइटमा सहयोग गरेको जानकारी राख्दैमा फरक नपर्ने, तर उसले विहार संग्रहालयको सामग्री बाहिर प्रदर्शनीमा लैजान चाहेमा भने समस्या आउन सक्ने उनले बताए। लेखक डा. तिवारी तथा सम्पदाविद् पुरीको आशंका पनि त्यही छ।
यस विषयमा विहारका अध्यक्ष शाक्य आर्थिक सहयोग बाहेक रुबिनका लागि अन्य खुकुलो स्थान नभएको बताउँछन्। “उसले संग्रहालयमा गरेको सहयोगकै कारण नेपालका अन्य सम्पदा फिर्ता गर्न आनाकानी गर्छ भने त्यसको हामी खुलेर विरोध गर्नेछौँ,” उनले भने, “उसले अहिले सम्पदाहरू फिर्ता गर्दा त्यसको सराहना पनि गर्नुपर्छ।”
अध्यक्ष शाक्यका अनुसार विहारको मुख्य मूर्तिको दैनिक चार पटकसम्म पूजाआजा हुने र हरेक साँझ आरती हुने गरेको छ। ‘गुँला पर्व’को एक महिनाभर विहारबाट बाजा बजाएर स्वयम्भू जाने र पाठ गर्ने चलन छ। विहारको क्षेत्र खाली हुँदा संग्रहालयको रूपमा त्यसको उपयोग गर्न मात्र खोजेको उनको दाबी छ। पहिले विहार परिसरमा रहेको विद्यालय हाल सरेको हुँदा त्यहाँ पनि संग्रहालय बिस्तार गर्न सकिने शाक्यको योजना छ।
संग्रहालयलाई दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्ने भन्ने योजना चाहिँ अध्यक्ष शाक्यसँग छैन। “भएको पैसा संग्रहालय स्थापनामा खर्च भएको छ। उद्घाटन भएको एक हप्ता दर्शकको लागि निःशुल्क रहनेछ। त्यसपछि आवश्यक पर्ने सुरक्षा व्यवस्थापन र कर्मचारी खर्चका लागि तत्कालै स्रोत नहुँदा संग्रहालय बन्द नै राख्नुपर्ने हुन्छ होला,” उनले भने। कतैबाट सहयोग पाएर संग्रहालयको सञ्चालन अघि बढ्छ भन्ने आशामा उनी छन्।