Saturday, April 20, 2024

-->

मनमा राष्ट्रपतिको 'लड्डु' फुटाएको कांग्रेस

भारतमा नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्ने समानान्तर दुइटा शक्ति केन्द्र छन्। एउटाको नेतृत्व विदेशसचिव विनयमोहन क्वात्राले गरिरहेका छन् भने अर्काको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्छन्।

मनमा राष्ट्रपतिको लड्डु फुटाएको कांग्रेस

सरकारले विश्वासको मत पाएको (पुस २६) को भोलिपल्ट एकजना कांग्रेस सांसदसँग गफिइरहँदा उनको मोबाइलमा नेता रामचन्द्र पौडेलको फोन आयो। कतै यो सरकारले मन्त्रिमण्डल विस्तार गरिहाल्ने त होइन भन्नेमा पौडेलको चिन्ता केन्द्रित थियो। ‘ए फलाना यिनरले मन्त्रिमण्डल विस्तार गरिहाल्ने त होइनन्’, सांसदले ह्याण्ड्सफ्री नगरेपनि पौडेलको चिरपरिचित स्वर/शैली सुनिइहाल्यो।

मन्त्रिमण्डल तत्काल विस्तार नभइहाल्ने, राष्ट्रपति चुनावसम्ममा सत्ता गठबन्धन तोडिइहाल्नेमा आशावादी ती सांसद तदनुरूप नै आफ्ना रामचन्द्र दाइलाई ब्रिफिङ गर्दै रहे। कांग्रेसले विश्वासको मत दिने निर्णय गरेसँगै उसको रोजाइको राष्ट्रपति हुने, सत्ता गठबन्धन तोडिएर साबिकको (कांग्रेस–माओवादी) गठबन्धन बन्ने अड्कल शुरू भइसकेको र पौडेलको मनमा पनि राष्ट्रपतिको ‘लड्डु’ फुटिसकेको अवस्था थियो त्यो। कांग्रेसले विश्वासको मत दिएसँगै पौडेलको मनमा लड्डु फुटेजस्तै पार्टी सत्तामा गए केही न केही लाभ मिल्ने आसमा  ‘आसे’हरू पनि र्‍याल काढ्दै मनमा लड्डु फुटाइरहेका थिए।

कांग्रेस सत्तामा उक्लिए खुद्रे दलाली धन्दासम्म चल्छ कि भनेर आस गर्नेका मनमा पनि लड्डु फुटिरहेको थियो। सभामुखको चुनावमै सत्ता गठबन्धनमा धाँजा फाट्न थाल्ने, राष्ट्रपतिको चुनावमा पहिरो जाने पूर्वानुमान गरिँदै थियो, सरकारले सयौँ दिन देख्न नपाउने दाबी गर्ने ‘खुफिया सूचनामा पहुँच हुनेहरू’ पनि भेटिने अवस्था थियो। 

मनमा लड्डु फुटाइरहेका कांग्रेसीहरूले अनुमान गरेझैँ मन्त्रिमण्डल विस्तार रोकिएन। झन् माघ ५ गते सभामुखको चुनावमा सत्ता गठबन्धनमा कुनै दरार नदेखिएपछि मनमा लड्डु फुटाइरहेका ‘लड्डु कांग्रेस’हरूको अवस्था घैँटोमा दही बेचेर आएको पैसाले अनेकन गर्ने सपना देख्दै हिँडिरहँदा अल्झिइ लडेर घैँटो नै झर्‍यामझुरम भएको ‘इसपको कथा’को पात्रजस्तै भएको छ। तिनीहरू बेलाबेला ‘घैँटामा घाम’ लागेजस्तै कुरा गर्छन् पनि। बजारमा भारतीय जासुसी संस्था ‘रअ’ का मुख्य जिम्मेवार नै काठमाडौँ भ्रमण गरी फर्केको हल्ला चलेपछि पुनश्च: राष्ट्रपति निर्वाचनमा कांग्रेसकै उम्मेदवार जितेको, चालु सत्तागठबन्धन टुटेको, साबिकको कांग्रेस–माओवादी गठबन्धनले सत्तारोहण गरेको सपना देख्दै मनमा लड्डु फुटाउन पनि थाल्छन्।  

गुटको बैठकमा डा. शेखर कोइरालाले विश्वासको मत दिनुभन्दा तटस्थ बस्नुपर्छ भन्ने अडान मेरा थियो भने। ‘कोही कसैको असहमति थिएन, हामीले विश्वासको मत दियौँ’ भनेर छत्तीस इञ्चको छाती फुलाइरहेका शेखर गुटका केही नेतापनि अहिले ‘गलतै पो गरिएछ’ भनेर खुसुरफुसुर गर्न थालेका छन्। विश्वासको मत दिनुहुँदैन भन्दा ‘ए त्यसो भए कांग्रेसकै राष्ट्रपति नचाहिएको हो? ओलीको यसम्यानलाई राष्ट्रपति बनाउन खोजेको हो?’ भन्ने शेरबहादुर देउवा नै यतिबेला आशावादी कम निराश ज्यादा देखिन थालेको सुनिन्छ। पदाधिकारी र पूर्व पदाधिकारी सम्मिलित बैठकमा आइतबार देउवाले रामचन्द्र पौडेलका साथै कृष्णप्रसाद सिटौलालाई कांग्रेसबाट राष्ट्रपतिको सम्भावित उम्मेदवारका रूपमा ‘इन्डोर्स’ त गरेका छन्, राष्ट्रपतिका सम्भावित उम्मेदवारद्वय नै निर्वाचित हुनेमा आशावादी कम निराशावादी ज्यादा सुनिन थालेका छन्।

पौडेलले मंगलबार संसद्मा राष्ट्रिय सहमतिको ‘बेसुरा राग’ अलाप्दै आफूलाई राष्ट्रपति बनाइदिन अनुनय विनय नै गरेका हुन्। कांग्रेस नेताहरूका अनुसार पौडेल र सिटौलाको ‘शरीर’बाट  राष्ट्रपति बनिन्छ भन्ने आस पुरापुर हराएको छ। तैपनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काचाहिँ कांग्रेसले राष्ट्रपति पाउनेमा अझै आशावादी छन्। यस्तो आशावादको अंकुर जीवितै रहनुको रहस्यचाहिँ उनले रहस्यकै गर्भमा राखेका छन्। 

सांसद अमरेशकुमार सिंह सार्वजनिकरूपमै भन्ने गर्छन्, ‘शेरबहादुर देउवा विदेशी र श्रीमतीले भनेको खुरुखुरु मान्छन्।’ नभनुन् पनि किन, भारतीयकै योजनामुताबिक उनी सरकारलाई विश्वासको मत दिन तयार भएका थिए। विदेशी शक्तिकेन्द्र नै निर्माता/निर्देशक हुने अनि नेपाली नेता अभिनेतामा सीमित हुने सत्ताका खेलबारे धेरैथोक ‘अडकलाइजेसन’ मा सीमित हुन्छन्। तैपनि भारतीय जासुसचाहिँ धेरैतिर देखिने/सुनिने पनि भएकाले कतिपय कुरा पुष्टि नै गर्न नसकिए पनि थाहाचाहिँ पाइन्छन्। भारतीय चलखेलका सूचना राख्नेमै दरिएकाहरूका अनुसार सरकारलाई विश्वासको मत दिलाउन यहाँका जासुसहरू मात्र होइन, राष्ट्रिय सुरक्षा सल्लाहकार अफिसका सहसचिव शशांककुमार नै काठमाडौँ आएका थिए। 

होटल द्वारिका‌ज्‌मा बसेर भिभान्तामा समेत भेटघाट भ्याएका उनी कांग्रेसले विश्वासको मत दिने तारतम्य मिलाई फर्केका थिए। यसैले त डा. शेखरको बोल्ती बन्द भयो, विश्वासको मत दिन हुन्न भन्न सकेनन्। महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्माका साथै अर्जुननरसिंह  केसी, प्रकाशमान सिंह र बलबहादुर केसीले विश्वासको मत दिने कुरामा असहमति राखेपनि माइन्युटमा लेखिनेगरी ‘नोट अफ डिसेन्ट’ नलेखेकाले यो फगत ‘स्टन्ट’ थियो भन्न पनि सकिन्छ।  

भारतीय संस्थापन निकट मानिने एकजनाका अनुसार नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्ने समानान्तर दुईवटा शक्ति केन्द्र छन्। एउटाको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्राले गरिरहेका छन् भने अर्काको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्छन्। भारतमा निकै शक्तिशाली मानिने राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा नरेन्द्र मोदी दोस्रोचोटि प्रधानमन्त्री हुँदापनि निरन्तर रहनुले डोभालको शक्ति सहजै आकलन गर्न सकिन्छ। नेपालको राजदूतबाट विदेश सचिवमा पदोन्नति भई गएका क्वात्रा राष्ट्रिय स्वयंसेवक प्रचारक अभिभावकका छोरा त हुन् नै, गत डिसेम्बरमा अवकाश पाउन लागेका उनलाई सरकारले दुई वर्षको पदावधि थप्दिएबाट उनको पनि पहुँच आकलन गर्न सकिन्छ।

चुनावपछि प्रधानमन्त्रीको पहिलो कार्यकाल देउवाले नै पाउनुपर्ने साथै राष्ट्रपति कुनैपनि हालतमा कांग्रेसले छाड्न नहुने सल्लाह डोभाल समूहकै थियो। बरू क्वात्रा पहिलो कार्यकाल प्रचण्डलाई दिएरै भएपनि कांग्रेस–माओवादी गठबन्धन जोगाउनुपर्ने पक्षमा थिए। भारतीयले आफैँलाई पगरी गुथाइदिनेमा ढुक्क देउवालाई ओलीले चक्मा दिइदिए। ओलीले कुनै हालतमा प्रधानमन्त्री नदिने, अन्तमा प्रचण्ड लुरुलुरु आफैँकहाँ आउनेमा ‘ढुक्क’ देउवालाई ‘थुक्क’ भन्नपर्ने अवस्था आयो। डोभाल पक्षकै भरपर्दा देउवा ‘हिस्स परी हरिया दाँत’ भएका थिए भन्ने खुफिया सूचनामा पहुँच राख्ने भनिएकाको मुखबाट सुनिन्छ। ओलीलाई सर्वशक्तिमान् बन्नबाट रोक्न तथा देउवाको घाउमा मल्हम लगाउनपनि भारतीय पक्षले विश्वासको मतमार्फत कांग्रेसलाई पनि सत्ताको ‘इर्दगिर्द’ राखिराख्ने र ओलीको अघिल्तिर खतराको तलवार लट्काइरहने योजनाको तहत ‘विश्वासको मत काण्ड’ रचिएको हो भन्छन्।

विश्वासको मत दिएको एकाध दिन त लड्डु कांग्रेसमात्रै किन, जासुसहरू पनि फुरफुर देखिन्थे। राष्ट्रपति चुनावसम्ममा वर्तमान सत्तागठबन्धन टुट्ने र साबिककै गठबन्धन कायम हुने गफ छाँट्दै थिए। अहिले तिपनि दोष जति चाइनिजको शिरमा पट्किएर आफ्नो कमजोरी लुकाउन प्रयासरत छन्।      

जे होस, राष्ट्रपति चुनावमा के हुन्छ अन्योलपूर्ण नै छ। एमाले नेताहरू पार्टीको रोजाइकै व्यक्ति राष्ट्रपति बन्नेमा करिब–करिब ढुक्क सुनिए पनि तिनका ‘बाले’ कसलाई अघि सार्छन् भन्ने अनुमान नै लगाउन सक्तैनन्। भट्टी/क्याफेमा पृथ्वी सुब्बा गुरुङ र छविलाल विश्वकर्मा सभामुखका रूपमा चर्चाको विषय बन्दै थिए, ओलीले फ्याट्ट देवराज घिमिरेको नाम ल्याइदिए। विगतमा विभिन्न ओहोदाको रोजाइ हेर्दा ओलीले पदीय मर्यादा ख्याल गर्दैनन्, आफ्नो आदेशमा कान समातेर उठबस गर्न पनि रेडी हुने पात्र रोज्छन् भन्ने अनुमान गर्न सकिन्छ। यसैले त भावी राष्ट्रपतिका रूपमा डोरमणि पौडेलको नामपनि भट्टी/क्याफेमा चलिरहेकै छ। लड्डु कांग्रेसहरू निराश हुँदाहुँदै पनि भख्खरै ‘रअ’ प्रमुख सामन्त गोयल आएर प्रचण्ड, ओली र देउवाका साथै दुर्गा प्रसाईंलाई भेटेर फर्किएको हल्ला चलेपछि हल्का आसे सुनिन्छन्।

आफ्नै रामचन्द्र पौडेल वा कृष्ण सिटौला हुन नसकेपनि प्रचण्डले ओलीको ‘हुन्छ प्रसाद’लाई रोक्नसक्नेमा आशावादी छन्। सांसद अमरेशकुमार सिंहका अनुसार प्रचण्डको पहिलो रोजाइचाहिँ डा. बाबुराम भट्टराई नै हुन्, जसमा ओली सहमत हुने सम्भावना साह्रै ‘स्लिम’ छ। “कम्तीमा राष्ट्रपतिको गरिमा थेग्नसक्ने, संविधानको मर्मविपरीत नजान अड्डी कस्ने व्यक्ति नै प्रचण्डको पसन्द हो”, सिंह सुनाउँछन्। विश्लेषक पुरञ्जन आचार्य ओलीले यदि आफूले रोजेको व्यक्ति प्रधानमन्त्री नहुने भए देउवालाई प्रधानमन्त्री बनाइदिने भनेर धम्क्याएको कुरा बालकोटतिरबाट बाहिरिएको सुनाउँछन् र अनुमान गर्छन्, ‘ओलीको रोजाई नै राष्ट्रपति हुने योग देखिन्छ।’         

पुस ११ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बहालीका क्रममा सरकारमै भएपनि प्रतिपक्षी भूमिकामा रहनेछु भनेर धेरैले खिसी त गरे, तर पन्ध्र दिनपछि विश्वासको मत दिएर सरकारभित्रै प्रतिपक्ष खोज्नु भनेजस्तो सन्देश दियो। कांग्रेस सरकारलाई विश्वासको मत दिन्छ, प्रमुख प्रतिपक्षी नेताको पगरी/सुविधा पाउँ भन्दै संसद् सचिवालयमा निवेदन दर्ता गर्छ। राष्ट्रपति पनि नपाइने भयो, सत्तारोहण पनि नहुने भयो भन्दै बिलौना गर्छ। भाउजूको दिल्ली भ्रमण सुन्नासाथ मनमा लड्डु फुटाउँछ। यस्तो कांग्रेसले प्रखर प्रतिपक्षीको भूमिकाचाहिँ कसरी निभाउला कुन्नि।


सम्बन्धित सामग्री