Wednesday, April 24, 2024

-->

अन्तर्वार्ता
नागरिक उन्मुक्ति पश्चिम र थारूको मात्र होइन, देशकै वैकल्पिक पार्टी बन्छ : रञ्जिता

हामी चुनाव जितेर संसद् गइसकेपछि मुख्य मुद्दा नै टीकापुर घटनामा दोषी देखाएपछि सजाय काटिरहेका राजबन्दीहरूको रिहाइ गराउने हो। राजबन्दीकै कारण यो पार्टी निर्माण भएको हो।

नागरिक उन्मुक्ति पश्चिम र थारूको मात्र होइन देशकै वैकल्पिक पार्टी बन्छ  रञ्जिता

२०७४ सालको आमनिर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार भएका रेशम चौधरीले कैलाली–१ मा फराकिलो मतान्तरसहित जित हासिल गरे। तर, उनी संसद् छिर्नै पाएनन्। २०७२ सालमा थरूहट आन्दोलनका क्रममा नौ जनाको ज्यान गएको टीकापुर घटनामा दोषी ठहर भएपछि उनी अहिले जेल सजाय भोगिरहेका छन्। तर, उनले आफू संरक्षक रहेर श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी खोलेका छन्। यो पार्टीले गएको स्थानीय तह निर्वाचनमा कैलाली क्षेत्र नं. १ मा प्रभावशाली विजय हासिल गरेको छ। आसन्न निर्वाचनमा कैलाली–१ बाट रञ्जिता पनि उम्मेदवार छिन्। दलको मुद्दा तथा रणनीतिबारे नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानीः

कैलाली १ मा तपाईंको चुनावी तयारी कसरी अघि बढिरहेको छ?
चुनावीको तयारी तीव छ। प्रचारप्रसारसँगै घरदैलो र भेटघाट कार्यक्रम चलिरहेको छ। मतदाताबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ।

नागरिक उन्मुक्ति पार्टीप्रति मतदाताको अपेक्षा के छ?
उहाँहरूमा नागरिक उन्मुक्ति पार्टीले केही गर्छ भन्ने विश्वास छ। पार्टी स्थापना भएको तीन महिनामा नै कैलालीका चारवटा स्थानीय तह जित्न सफल भएका हौँ। आसन्न चुनावमा पनि हामीलाई मतदाताले मत दिनुहुन्छ। यो पार्टीको संरक्षक अहिले पनि कारागारमा नै हुनुहुन्छ। कारागारबाट पार्टीको जन्म भएको हो। हरेक नागरिकको उन्मुक्तिका लागि यो पार्टीको स्थापना गरेका हौँ।

तपाईंहरू के अजेन्डा लिएर जनतामाझ गइरहनु भएको छ?
हाम्रो चुनावी अजेन्डा भनेकै पहिचान, सुशासन र समृद्धि हो। हामीले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्यको विषयलाई पनि प्राथमिकतामा राखेर अघि बढेका छौँ। यिनै विषयलाई लिएर हामी प्रचारप्रसारमा छौँ।

पुराना पार्टी र तपाईंहरूबीच के अन्तर छ?
धेरै नै अन्तर छन्। तीन महिनाको अन्तरालमा हामीले जुन उपलब्धि प्राप्त गरेका छौँ, त्यसले पनि जनताले नयाँ खोजी गरिरहेको पुष्टि हुन्छ। हिजोको दिनमा जनतामाझ आएर अरू पार्टीले झुट्टा आश्वासन दिए। विकास निर्माणको काम गर्छु भनेर संसद् भवन छिरे। तर, विकास निर्माण र जनजीविकाको कुरा भुले। पाँच वर्षपछि फेरि तिनै अजेन्डा भन्दै चुनावमा आइरहेका छन्। उहाँहरूसँग नयाँ केही पनि छैन।

तपाईंहरूको पार्टी थारू समुदायको मात्रै भनेर विपक्षीले भनिरहेका छन्। के तपाईंहरू थारू समुदायको पहिचानको मात्र मुद्दा उठाउनु हुन्छ?
उहाँहरूले लगाएको आरोपमा कुनै सत्यता छैन। स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैगर्दा पनि थारूको पार्टी भनियो। तर, अहिलेको अवस्थामा आइपुग्दा यो थारूको मात्रै होइन, सबैको पार्टी बनेको छ। पहिचानको मुद्दा भनेको थारूको मात्रै होइन, सबै वर्गको पहिचानको सवाल हो। सबै जातजातिको आफ्नै पहिचान हुन्छ। पश्चिम क्षेत्रमा थारू समुदायको बाहुल्यता छ। भाषा संस्कृति हाम्रो पहिचान हो। भाषा संस्कृति सबै जातजातिको छ। सबैको पहिचानको विषय हाम्रो मुद्दा हो।

गैरथारू समुदायको मानिसमा पनि यो सबैको पार्टी भन्ने परेको छ त?
यो त समावेशी पार्टी हो। हामीले कैलालीतिरको मात्रै हेरेर भएन। पूर्वतिर जानुभयो भने रामेछाप, मोरङसम्मका मानिस जोडिएका छन्। त्यहाँबाट पनि हाम्रो पार्टीको उम्मेदवारी परेको छ। सबैतिर थारू समुदायको मात्रै उम्मेदवार छैन। हाम्रो पार्टी संगठन विस्तार भएको छ। सबै क्षेत्रमा मानिस मिलेर बनेको पार्टी हो।

स्थानीय तहको निर्वाचनमा तपाईंहरूले थारू समुदायमा भ्रम सिर्जना गरेर मत माग्नुभयो भन्ने आरोप छ नि?
यो सरासर झुट्टो कुरा हो। स्थानीय तह निर्वाचनअघि पनि गठबन्धनको सरकार थियो। अहिले पनि गठबन्धन सरकार छ। हामीले राजबन्दीको रिहाइको विषय पहिलेदेखि नै उठाइरहेका छौँ। उहाँहरूले अब पनि गठबन्धनले जिते मात्रै राजबन्दी रिहा हुन्छन्, भनेर झुट्टो कुरा बोल्दै हुनुहुन्छ। राजबन्दी परिवार भनेकै हामीहरू हौँ। स्थानीय तहको चुनावमा हामीले यति भनेका थियौँ– यो पार्टीचाहिँ राजबन्दी परिवारबाट बनेको हो। हामीलाई यो मुद्दा उठाउन सहज छ। एउटा मात्र सिट जितेर जाँदा सजिलो हुँदैन भनेर भन्नु गलत हो। हामीले जति सिट जिते पनि बोल्न सक्ने ठाउँमा पुग्छौँ नि। यहाँका मतदाताले भोट दिएर संसद् भवनमा पठाएपछि त मुद्दाको उठान गर्न सक्छौँ। २०७२ सालको जुन घटना भयो, हाम्रो परिवारमाथि आपराधिक, डाँका र कर्तव्य ज्यानको मुद्दा लागेको छ। यो घटनाको छानबिनका लागि आयोग बनेको थियो। त्यसको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। हामीले त्यो सार्वजनिक गर्न पहल गर्छौं भनिरहेका छौँ। त्यो प्रतिवेदन सार्वजनिक भएपछि अहिले दोषी भनेर भनिएकाहरू निर्दोष हुन् भन्ने प्रमाणित हुने छ।

तपाईंहरू चुनाव जितेर संसद् जान पाउनुभयो भने राजबन्दीहरूको रिहाइ गराउन सक्नुहुन्छ?
हामी चुनाव जितेर संसद् गइसकेपछि मुख्य मुद्दा नै टीकापुर घटनामा दोषी देखाएर सजाय काटिरहेका राजबन्दीहरूको रिहाइ गराउने हो। राजबन्दीकै कारण यो पार्टी निर्माण भएको हो। त्यो त राजनीतिक आन्दोलन हुँदा भएको घटना थियो। राजनीतिक घटनालाई आपराधिक बनाउने काम भयो। देशमा भएका टीकापुरजस्तै अन्य घटनालाई राजनीतिक घटनाका रूपमा राखिएको छ। यसमा नै विभेद गरिएको छ।

तपाईंले पार्टीलाई राष्ट्रिय शक्ति बनाउने भनिरहनु भएको छ, यसको आधार के हो?
पार्टी स्थापना भइसकेपछि त्यसलाई राष्ट्रिय रूपमा लैजानुपर्छ भन्ने नै हो। मंसीर ४ गतेको निर्वाचनपछि हामी बनेर देखाउँछौँ पनि। हामीलाई हाम्रा मतदाताले दिने अमूल्य मतले त्यो सम्भव हुनेछ। पश्चिमबाट शुरू भएको यो पार्टी राष्ट्रका लागि नै एउटा वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने छ। 

भर्खरै स्थापना भएको पार्टीभित्र अन्तरविरोध शुरू भइसकेको विषय बाहिर आयो नि? 
हाम्रो पार्टीबाट दुई जनाले बागी उम्मेदवारी दिनुभएको छ। उहाँहरू मनोनयन गर्ने केही दिनअघि मात्र पार्टी प्रवेश गर्नुभएको हो। उहाँहरू अवसरका लागि नै आउनुभएको थियो। टिकट पाउँछु, चुनाव लड्छु भन्ने मनस्थिति थियो होला। पार्टीले त टिकट कसलाई दिने भन्ने मूल्यांकन गरेको हुन्छ। पार्टीमा योगदान कसको रहेको छ भन्ने पनि हेरिन्छ। उहाँहरूले टिकट नपाइसकेपछि पार्टी छोडेर जानुभएको हो, त्यो उहाँहरूको स्वतन्त्रताको कुरा हो। हाम्रो पार्टीमा कुनै अन्तरविरोध छैन। एकताबद्ध भएर चुनावमा होमिएका छौँ।

कैलाली–१ मा तपाईंले देखेका समस्या के–के हुन्? मतदाताको आकांक्षा के छन्?
कैलाली–१ मा मूलभूत समस्या भनेको यहाँको विकास नै हो। विकास हुन सकेको छैन। म विगतमा सञ्चारकर्मी भएर काम गर्दाको अनुभव हेर्दा पनि यहाँ विकासले गति लिन सकेको देखिएन। २०७२ सालको घटनापछि यहाँको विकास निर्माणको काम झनै पछि परेको छ। डुबानको समस्या मुख्य छ। बाटोघाटोदेखि यातायातको समस्या छ। म जति ठाउँमा पुगेँ, त्यहाँ महिलाहरूको पनि समस्या छ। स्वास्थ्यका समस्या, आर्थिक समस्या र अन्य सामाजिक न्यायका समस्या छन्। यिनै समस्या समाधानका लागि म निर्वाचनमा होमिएको हुँ।

तपाईंको मुख्य प्रतिस्पर्धी को हो?
प्रतिनिधिसभामा उम्मेदवार हुनुभएका सबै मेरा प्रतिस्पर्धी हो। पार्टीबाट उम्मेदवार बनेकादेखि स्वतन्त्र सबै प्रतिस्पर्धी हुनुहुन्छ।


सम्बन्धित सामग्री