Friday, March 29, 2024

-->

अन्तर्वार्ता
देउवाका प्रतिस्पर्धी मल्ल भन्छन्- कांग्रेस प्रचण्डपथमा गयो, हेरेर बस्न सकिनँ

आसन्न निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा रहेका कर्ण मल्लले डडेलधुरामा विद्रोहको प्रतीकस्वरूप ठूलो परिवर्तन आउन लागेको बताएका छन्।

देउवाका प्रतिस्पर्धी मल्ल भन्छन्- कांग्रेस प्रचण्डपथमा गयो हेरेर बस्न सकिनँ

सातौँपटक संसदीय निर्वाचन लडिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा यसपालि राजनीतिक हिसाबले प्रतिस्पर्धाविहीन छन्। यसअघि छ पटकसम्म उनलाई चुनौती दिने एमाले र माओवादी नै थिए। तर, यसपटक ती दुवै पार्टीबाट उनी विरुद्ध कसैले उम्मेदवारी दिएका छैनन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ भने एमालेले उम्मेदवार नै उठाएको छैन। त्यसैले यसपटक देउवाको प्रतिस्पर्धा उनकै पूर्वसहयोगी तथा नेपाली कांग्रेस(बीपी) बाट उम्मेदवारी दिएका कर्ण मल्लसँग हुँदैछ। एमालेसमेतले समर्थन गरेका मल्लसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानी :

नेपाली कांग्रेस छोडेर नेपाली कांग्रेस (बीपी)बाट उम्मेदवार हुनुभएको छ। किन आफ्नै पूर्वनेता शेरबहादुर देउवासँग चुनाव लड्न लाग्नुभएको हो?
मेरो उम्मेदवारी डडेलधुराका जनतालाई पूर्णरूपमा स्वाभिमानी र स्वावलम्बी बनाउनका लागि हो। म बीपी कांग्रेसमै छु। शेरबहादुर दाइले नेतृत्व गरेको कांग्रेस त प्रचण्डपथमा गइसक्यो। सभापतिकै गृहक्षेत्रमा कांग्रेसका आधा मतदाताले रूखमा मत हाल्न पाइरहेका छैनन्। देशभरको कुरा गर्ने हो भने आधा कांग्रेसका नेताले रूखमा भोट नै हाल्न पाएका छैनन्। कांग्रेस प्रचण्डपथमा गए पनि हामी बीपीवादबाट विचलित भएका छैनौँ।

डडेलधुरालाई समृद्ध बनाउने भनेर  ६ पटकसम्म देउवाजीले आश्वासन मात्रै दिनुभयो। अहिले सातौँपटक आएर जुन आश्वासन दिइरहनुभएको छ, अब उहाँले पूर्णता दिन सक्नुहुन्न। उमेरका दृष्टिकोणले पनि दिन सक्नुहुन्न। उहाँलाई अब मतदान नगरेर स–सम्मान राजनीतिबाट बिदाइ गर्नुपर्छ। यसपटक करुवामा मतदान गरेर यहाँका जनताले आफ्नो प्रतिनिधिका रूपमा मलाई निर्वाचित गराउँछन् भन्नेमा विश्वस्त छु। अघिल्ला ३२ वर्षसम्म पूर्णता नपाएका यहाँका विकास निर्माणका कामलाई पाँच वर्षमा पूरा गर्ने प्रतिबद्धताका साथ चुनावमा होमिएको हुँ।

तपाईं देउवासँग रुष्ट भएकै कारण कांग्रेस छोड्नुभयो। तर, हिजो देउवासँगै हुँदा त यहाँको विकास-निर्माणमा तपाईंले पनि ध्यान दिन सक्नुभएन नि?
उहाँसँग म रुष्ट भएको होइन, उहाँ पो मसँग रुष्ट हुनुभएको हो। हिन्दुवादी भएँ, उहाँ रुष्ट हुनुभयो। डडेलधुरावादी भएँ, उहाँ रुष्ट हुनुभयो। ‘चुनावका बेला मात्र निर्वाचन क्षेत्रमा आउने, अरू बेला पनि जानुपर्‍यो, यो राम्रो भएन’ भन्दा उहाँ रुष्ट हुनुभयो। ‘यहाँका थोरै मात्र व्यवसायी, ठेकेदारको सेरोफेरोमा मात्रै बसिराख्नुभएन’ भन्दा उहाँलाई चित बुझेन। मैले गरिब, किसानका कुरा गर्दा रुष्ट हुनुभयो।

डडेलधुराका हरेक १० घरधुरीको सर्भे गरेर हेर्नुस्, आज मदिराका कारणले धेरै घरपरिवार प्रताडित छन्। यहाँका दुर्गम क्षेत्रका जनता नारकीय जीवन बिताइरहेका छन्। ‘कांग्रेसको अभिभावक हुनुपर्ने ठाउँमा तपाईं विचलित भइरहनुभएको छ भनेर’ भन्दा उहाँलाई चित्त बुझेन। विकासबारे चिन्ता पनि नगर्ने भन्दै गर्दा उहाँ रुष्ट हुनुभयो। 

डडेलधुरामा गएको ३२ वर्षको अवधिमा विकासको कुनै काम नै भएन त?
त्यो नभएकाले नै विद्रोह गरेर बीपी कांग्रेसको सदस्य भएको हुँ। हामीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदूरपश्चिमका ८१ क्षेत्रमा उम्मेदवारी दिएका छौँ। प्रधानमन्त्रीलाई ‘तपाईं ६ पटक जितेर पाँचपटक देशको प्रधानमन्त्री हुँदा डडेलधुराका मतदाताले गर्व गर्नलायक कुनै स्मरणीय काम गर्नुभएको छ’ भनेर सोध्दा के उहाँले भन्न सक्नुहुन्छ? आज डडेलधुरा र सुदूरपश्चिमवासीले औषधोपचार नपाइरहेको अवस्था छ। शैक्षिक क्षेत्रको अवस्था उस्तै छ। उहाँ जन्मिएकै गाउँका जनता सदरमुकाम आए, र दुई घण्टा मात्रै पानी पर्‍यो भने दुई दिन सदरमुकाममै बास बस्नुपर्ने अवस्था छ। आज पनि यहाँका जनताले खानेपानी पाएका छैनन्, बिजुली पाएका छैनन्। योभन्दा दुरावस्था अरू केही हुन सक्छ? त्यसकारण उहाँबाट अब यहाँको विकास सम्भव छैन। उहाँलाई जिताएर पठाउँदा हामीले देशलाई गुन लगाउने होइन, बरू ७६ जिल्लाकै नागरिकले हामीलाई श्राप दिने छन्, कस्तो नेतालाई फेरि जिताएर पठायौँ भनेर।

देउवाले के-के गर्न सक्नुभएन र तपाईं के-के गर्नुहुन्छ?
उहाँले अहिलेको चुनावमा पनि झूटा आश्वासन दिइरहनुभएको छ। पश्चिम सेतीको कुरा गरिरहनुभएको छ। त्यसको डीपीआर बनिसकेको छ। उहाँले फेरि डीपीआर बनाउने भनिरहनुभएको छ। एक ठाउँमा १२ सय मेगावाट बनाउँछु भन्ने अर्को ठाउँमा ९०० मेगावाट बनाउँछु भन्ने, योभन्दा बढी झुटो कुरा के होला? मेडिकल कलेज बनाउने भनिरहनुभएको छ। त्यो अजेन्डा उहाँको होइन हाम्रो हो। त्यसलाई उठान गरेकै मैले हो। म नेपाली कांग्रेस डडेलधुराको सभापति भइसकेपछि जिल्ला विकास समितिको सर्वदलीय बैठकमा प्रस्ताव लगिसकेपछि खिलराज रेग्मीको नेतृत्वको सरकारले डडेलधुरामा राष्ट्रियस्तरको अस्पताल बनाउने निर्णय गरेपछि त्यसको जगमा मेडिकल कलेजको विषय उठेको हो।

सुदूरपश्चिमका पहाडी जिल्लाका जनताको स्वास्थ्य सेवा पाउन वञ्चित छन्। यो अवस्था देखेर डा. गोविन्द केसी अनशन बस्नुभयो। शेरबहादुर देउवा त्यो अनशनको विरोधमा हुनुहुन्थ्यो। मेडिकल कलेज बनाउन चाहेको भए किन विरोध गर्नुहुन्थ्यो होला? केसी अनशनमा हुँदा हामीले सहयोग गरिरहेका थियौँ। तर, देउवाजीले प्रशासन लगाएर अनशन तोडाउन खोज्नुभयो। केसीको मुद्दामा तत्कालीन सरकार सम्झौता गर्न पुग्यो। डडेलधुरामा मेडिकल कलेज बन्नुभन्दा अगाडि गेटा मेडिकल कलेज बन्नुपर्‍यो नि!

डडेलधुराका व्यवसायीले यहाँ विमानस्थल बनाउनुपर्‍यो भन्दा, को छ यहाँ विमान चढ्ने भनेर प्रश्न गर्नुहुन्थ्यो। त्यसकारण उहाँ अहिले पनि झूटको खेती गरिरहनुभएको छ। यसअघि पञ्चेश्वर, पश्चिम सेती खोइ त बनाएको? दस्तखत गर्ने अधिकार भएका बेला धनगढीलाई राजधानी बनाउनुभयो। अहिले चुनावको बेलामा आएर डडेलधुरामा राजधानी बनाउँछु भन्दै हुनुहुन्छ। त्यस कारणले उहाँ सातौँपटक झुट्टा आश्वासन बाँडिरहनुभएको छ।

तपाईंका चुनावी अजेन्डा चाहिँ के छन्?
डडेलधुरालाई लागूऔषध दुर्व्यसन र मदिरामुक्त बनाउने पहिलो अभियान हो। यहाँका धार्मिकस्थललाई पर्यटकीयस्थलका रूपमा विस्तार गरेर पर्यटक भित्र्याउने, बेरोजगार युवालाई रोजगारीमा जोड्ने र गरिबी न्यूनीकरण गर्ने भन्ने छ। ३२ वर्षदेखिका विकास निर्माणका सपनालाई सार्थक बनाउने लक्ष्य छ। संविधानले ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्यको विषय छ, त्यसको प्रत्याभूति हुनेगरी व्यवहारमा उतार्ने योजना छ। न्याय किन्नु पर्ने होइन, निःशुल्क पाउनुपर्छ भन्ने छ।

डडेलधुराबाट महेन्द्रनगरसँग जोडनका लागि द्रुतमार्गको शुरूआत गर्ने योजना छ। यसले यहाँको विकासमा ठूलो योगदान पुर्‍याउने छ। अर्को कुरा, म शेरबहादुर देउवाजस्तो शासक होइन, सेवक हुनेछु। जनताको जनप्रतिनिधि कस्तो हुन्छ भन्ने कुरा मेरो विगतले बताउँछ। म अहिले यी सबै विषय उम्मेदवार भएर मात्र उठाइरहेको छैन। विगतदेखि नै यहाँको विकासका निम्ति सक्रिय भएको मानिस हुँ। 

तर, यतिका वर्ष त डडेलधुराबाट देउवा नै निर्विकल्प निर्वाचित हुनुभयो नि?
उहाँप्रति हामीले गरेको अन्धविश्वासले विकल्प तयार नभएको हो। आज मैले मात्र विद्रोह गरेको होइन, बीपी कोइरालासँग क्रान्ति गरेका सत्यराज पनेरूले विद्रोह गर्नुभयो। दुई जना पूर्वसभापति रामचन्द्र चटौत र शेरबहादुर ढाँटले पनि विद्रोह गरेका हुन्। विद्रोहको ठूलो परिणामस्वरूप मंसिर ४ मा नतिजा आउँछ। यहाँका सच्चा वामपन्थीले पनि यसपटक परिवर्तनका लागि साथ दिनुहुनेछ।


सम्बन्धित सामग्री