Saturday, April 27, 2024

-->

चुनावी घोषणापत्र
‘कम्युनिस्ट’ एमालेको कर्पोरेट अवतार

एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्न रोजेको पाँचतारे होटेल र त्यहाँ देखापरेका परिदृश्य आफूलाई ‘कम्युनिस्ट’ भनेर चिनाउने यो पार्टीको पछिल्लो अवस्था दर्शाउन काफी छन्।

‘कम्युनिस्ट’ एमालेको कर्पोरेट अवतार
तस्वीरः अमित मचामसी/उकालो

नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्न मंगलबार आयोजना गरेको कार्यक्रम इन्टरनेटमार्फत प्रत्यक्ष हेरेपछि युवा अध्येता समृद्ध घिमिरेले टिप्पणी गरे– ‘आकर्षक, अरूको भन्दा भिन्न, सटिक र युनिक!’

एमाले कार्यक्रम थियो नै त्यस्तो। काठमाडौँको केन्द्र मानिने दरबारमार्गस्थित पाँचतारे होटेल, याक एण्ड यती एमाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमस्थल थियो। तारे होटेलको आकर्षक र तामझामपूर्ण सजावटसहितको कार्यक्रमस्थल, त्यहाँबाट सार्वजनिक आकर्षक ‘अडियो भिज्युअल’ सामग्रीसहितको घोषणापत्र। लम्बेतान घोषणापत्र पढिरहनै नपर्ने, केही मिनेट धैर्यसहित हेरे–सुनेमा एमालेको सिंगै घोषणापत्रको अन्तर्य बुझिने। अझै आकर्षक त एमालेले कार्यक्रम सञ्चालनको जिम्मा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ र ओलीसँगको ‘लाइभ डिबेट’ चलाउने अभिभारा ‘सेलिब्रिटी ब्यांकर’ अनिलकेशरी शाहलाई सुम्पनु थियो।

यसअघि, एमाले समर्थकका रूपमा सायदै कसैले चिनेका शाह र श्रेष्ठ मंगलबारको कार्यक्रमका मुख्य आकर्षण थिए। एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीपछिको केन्द्रीय भूमिका पनि उनीहरूले नै पाएका थिए। पाँचतारे होटेलको चमकधमकपूर्ण कार्यक्रममा उनीहरूको भूमिकाले ‘भव्यता’ थपेको थियो। र, कूल मिलाएर यो सबैले एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रम आफूलाई कम्युनिस्टका रूपमा चिनाउने पार्टीभन्दा ज्यादा कुनै ठूलो कर्पोरेट ‘इभेन्ट’ झैँ लागिरहेको थियो। 

यथार्थ त के भने, यो सब गर्ने पार्टी त्यही एमाले हो जसले ‘समाजवादी क्रान्तिका लागि’ भनेर कुनै बेला बन्दुकसमेत उठाएको थियो। हिंसाबाट क्रान्ति गर्ने भन्दै व्यक्ति हत्याको बाटो समातेको थियो। तर, त्यसबाट पार नलाग्ने निर्क्योलसहित शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका रूपमा आफूलाई रूपान्तरण गरेको थियो। त्यही धरातलमा रहेरै एमाले अहिलेको अवस्थामा आइपुगेको हो जसले नागरिकको मन जितेर देशकै ठूलो पार्टी बन्ने र पटकपटक सरकार चलाउने अवसर पनि पायो। त्यो एमाले यो क्षेत्रका पुँजीवादी र ‘बुर्जुवा’ भनिने पार्टीहरूले समेत आँट नगरेको ‘कर्पोरेट’ स्वरूपमा किन पदार्पण भयो? 

उत्तर सम्भवतः एउटै छ– मंसिर ४ को निर्वाचन र त्यसको पूर्वसन्ध्यामा आकलन भइरहेको चुनावी परिणामको परिदृश्य। यस्तो परिदृश्य जसलाई लिएर एमाले पंक्ति रक्षात्मक अवस्थामा पुगेको देखिन्छ। एमालेको त्यही रक्षात्मक अवस्था दर्शाउने पछिल्लो परिघटना मंगलबारको याक एण्ड यतीको कार्यक्रम बनेको छ। यो त्यस्तो परिघटना हो जसले एमाले आफ्ना कैयौँ परम्परागत मान्यताबाटै ‘सिफ्ट’ हुन खोजेको देखाउँछ। हुनपनि निम्नमध्यम वर्गका, उमेरले केही पाका र ग्रामीण मतदातालाई आफ्नो परम्परागत ‘भोटब्यांक’ मान्दै आएको एमाले अब शहरी, युवा र आर्थिक रूपले सम्पन्न तप्कालाई ‘भोटब्यांक’ बनाउने निर्क्योलसहित अघि बढेको छ। 

एमालेलाई योविघ्न रक्षात्मक अवस्थामा पुर्‍याउने अरू कारण पनि छन्। तत्कालको र सबभन्दा ठूलो कारण चाहिँ फुटेको पार्टी, विपक्षमा (एमाले हराउन भन्दै) खडा भएको ‘महागठबन्धन’जस्तो सत्तागठबन्धन र आफूसहितका पुराना पार्टीप्रति जनस्तरमा चुलिएको असन्तुष्टि र आक्रोशलाई सँगै लिएर निर्वाचनमा होमिनुपर्ने बाध्यता नै हो। तर, ‘सिफ्ट’ गर्ने चरणमै देखिएको एमाले यो सब गरिरहँदा आफ्ना परम्परागत प्रभावक्षेत्र र मान्यताहरूबाट भने विमुख हुनथालेको टिप्पणी भइरहेको छ।
 

डिपार्चर कि रणनीतिक कदम ?
सामान्यतः चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रम त्यसमै केन्द्रित हुने गर्छ। त्यसको ध्येय नै आफ्ना वाचा र प्राथमिकता सकेसम्म ठूलो जनसमूहमा पुर्‍याउने र त्यसमाथि रहेका अस्पष्टताहरू चिर्ने हुन्छ। त्यहीकारण एमालेले यसअघि सधैँ यस्ता कार्यक्रम सञ्चालनको जिम्मा घोषणापत्रलाई अर्थ्याउन र आवश्यक परेमा व्याख्यासमेत गर्न सक्ने दिग्गज र वाक्पटुता भएका नेताहरूलाई दिन्थ्यो। तर, यसपालि उसले यसअघि कहिल्यै नगरेको ‘प्रयोग’ गर्‍यो। कार्यक्रम सञ्चालकका रूपमा पूर्वमिस नेपाल सदिक्षाको प्रयोग एमालेले नयाँ पुस्ताका शहरी मतदातामा आफ्नो प्रभाव बढाउने उपायका रूपमा गर्नखोजेको देखियो भने ओलीसँगको ‘लाइभ डिबेट’का लागि पूर्वब्यांकर अनिलकेशरी शाहको प्राथकितापूर्ण प्रयोग शहरिया उच्चवर्गलाई रिझाउने उपायका रूपमा। 

यही जोडघटाउकै कारण ओलीसँग एमालेको इतिहासदेखि वर्तमानसम्मको भूमिका र भोलिका अजेण्डा र योजनामाथि बहस अरू कसैले होइन, तिनै ‘शहरिया उच्चवर्गका’ प्रतिनिधि शाहले  गरे। त्यो बहसमा झण्डै डेढ घण्टा समय खर्चेका ओलीले पाँचतारे होटेलबाट गरिबको जीवनस्तर उकास्ने योजना सुनाए, एमाले घोषणापत्रमा परेको र यसअघि आफैले धेरैपटक भन्दै आएको ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने उद्गार दोहोर्‍याए। 

इन्टरनेटमार्फत यसलाई प्रत्यक्ष हेरिरहेका–सुनिरहेका एमालेजन नै यो परिदृश्यबाट मर्माहत बनेका भेटिए। तिनैमध्येका एक नेताले सुनाए, “चुनाव हो, कहिले जित्ने कहिले हार्ने त स्वाभाविक हो। यसपालि हामी हार्छौं भन्ने डरले जे पनि गर्न त नहुने थियो। आज पार्टीले जे गर्‍यो, त्यो हामीले कल्पना नगरेको अवस्था थियो।” 

ती नेताले उल्लेख गरे झैँ एमाले पंक्ति सम्भावित हारको संशयले यतिसम्म रक्षात्मक बनेको छ कि त्यसलाई टार्न वा छोप्न सम्भव वा असम्भव सबै नीति अख्तियार गर्न अग्रसर छ। सिद्धान्त, विचार र तदनुरूपका जनमुखी कार्यक्रम अघि सारेर मतदाता आकर्षित गर्ने पार्टीका रूपमा परिचित एमाले मतदातालाई आकर्षित गर्न उपलब्ध कुनै कसर नछाड्ने ‘मुड’मा देखिन्छ। 

उसको यस्तो ‘मुड’लाई अझ प्रष्टसँग बुझ्ने अर्को प्रसंग हेरौँ। 

समकालीन पार्टीहरूमा नेकपा एमाले त्यस्तो पार्टी हो जसका पार्टी कार्यालय अरूका भन्दा भव्य, आकर्षक, व्यवस्थित र सुविधासम्पन्न छन्। केन्द्रीय कार्यालयको मात्र के कुरा, धेरैजसो जिल्लामा एमालेका आफ्नै स्वामित्वमा कार्यालय भवन छन्। ललितपुर, च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सञ्चालनमा आएको एमालेको नयाँ मुख्यालय त अरू कुनै पनि पार्टीका कार्यालयभन्दा आकर्षक र सुविधासम्पन्न छ। ३४५ जना केन्द्रीय सदस्य नै एकसाथ सहभागी भएर केन्द्रीय कमिटी बैठक बस्न सक्ने शानदार हल, प्रशस्त पार्किङ सुविधा, अनि भवनको भित्री भागमा आकर्षक सजावट पनि उस्तै।

यति शानदार कार्यालयबाटै घोषणापत्र सार्वजनिक गर्दा आमरूपमा जस्तो सन्देश जान्थ्यो, त्योभन्दा बढ्ता लाभ आफूलाई पाँचतारे होटेलमा कार्यक्रम गर्दा हुने निष्कर्षमा एमाले किन पुग्यो?

मंगलबारको घोषणापत्र सार्वजनिक कार्यक्रममा देखापरेका परिदृष्यबारे कुरा गर्न सम्पर्क गर्दा एमाले अध्यक्ष ओलीनिकट एक नेताले पनि भोट बढाउन चुलिएको ‘हुटहुटी’ लुकाएनन्। “हामीले ६ प्रतिशत भोट बढाउने लक्ष्य नै निर्धारण गरेका छौँ, त्यसका लागि पुरानो भोटब्यांक होइन, नयाँ भोटब्यांकमा हिट गर्नुपर्छ। नयाँ पंक्तिमा, नयाँ पुस्तामा जानैपर्छ, त्यसकै लागि हामीले अनिलकेशरी शाह र सदिक्षा श्रेष्ठजस्ता फेस भ्याल्यू भएका व्यक्ति रोजेका हौँ”, उनले भने, “तपाईं नै भन्नुस्, अब अनिलकेशरी र सदिक्षाहरूले कसलाई भोट हाल्लान्? उनीहरूका फ्यानफलोइङ्गले कसलाई हेर्लान्? पार्टीलाई जोगाउने र भोट थप्ने हो भने हामी यसखालको फ्यानफलोइङ्गमा नगई हुन्न। हेर्दा नराम्रो देखिए पनि यथार्थ यही हो।” 

पाँचतारे होटेल नै रोज्नुको कारण पनि उनले अर्थ्याए। “हामीले एमालेनिकट पाहुना मात्र बोलाएका थिएनौँ, पूर्वराजदूत शम्भुराम सिम्खडाजस्ता कतै नखुलेका पाहुनाहरू, त्रिविका प्राध्यापकहरू निम्त्याएका थियौँ। उहाँहरूलाई पार्टी कार्यालयभन्दा होटेलमै आउन सहज हुन्छ भन्ने हाम्रो विश्लेषण रह्यो”, उनले भने, “होटेल भन्दैमा धेरै खर्च हुन्छ भन्ने पनि होइन, त्यसमाथि खर्च त सजिलै जुट्छ पनि।” 

मंगलबार पाँचतारे होटेलको तामझामबीच एमालेले सार्वजनिक गरेको घोषणापत्रमा जे जति र जे जस्ता लक्ष्य प्राथकितासाथ अघि सारिएको छ, तीमध्ये अधिकांश नयाँ छैनन्। धेरैजसो त २०७४ को निर्वाचनकै घोषणापत्रबाट आएका छन्। यसको अर्थ के हो भने एमालेले अहिलेका प्राथमिकता र अजेण्डा पाँच वर्ष पहिल्यै खुट्याइसकेको थियो। त्यसले एमालेको ‘भिजनरी’ क्षमता पनि देखाउँछ। यसले प्रश्न पनि सँगै उब्जाउँछ, ती प्राथमिकता र अजेण्डालाई उसले पाँच वर्षसम्म किन वाचाभन्दा अगाडि लैजान सकेन?

यसपालिको घोषणापत्रमा एमालेले ‘ग्यारेन्टी’ नै भनेर ३९६ पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल आफ्नो सरकार बनेको दुई वर्षभित्र निर्माण गरिसक्ने घोषणा गरेको छ। जबकि ओली प्रधानमन्त्री हुँदा, २०७७ मंसिर १५ मै यी अस्पताल शिलान्यास भएका थिए। एमाले आफै सरकारको नेतृत्वमा हुँदा ती अस्पताल निर्माण किन हुन सकेनन्? २०७४ मै गरिएका चुनावी वाचा पूरा गर्न झण्डै साढे तीन वर्ष एकल सरकार चलाउँदा किन इमानदार पहल गरिएन? यस्ता प्रश्नमा घोत्लिएको भए एमाले सम्भवतः कम्युनिस्ट पार्टीबाट कर्पोरेट अवतारमा पदार्पण अवस्थामा आइपुग्नुपर्ने थिएन। 

एमालेका नेताहरू नै भन्छन्– यो चुनावी रणनीतिमात्र नभएर पार्टीको एकखालको ‘डिपार्चर’ हो। तर, रक्षात्मक अवस्थामा पुगेको एमालेलाई यसले साँच्चै त्राण देला त? एमालेको यस्तो ‘डिपार्चर’ कति कामयाब हुन्छ या हुन्न भन्ने मंसिर ४ को निर्वाचन परिणामबाट छर्लंग हुनेछ। 


सम्बन्धित सामग्री