Sunday, July 13, 2025

-->

एसईई: शिक्षाको अवधारणामै गम्भीर समीक्षा जरुरी

बिहानै एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरी हतार–हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई अन्य विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसंगत छ?

एसईई शिक्षाको अवधारणामै गम्भीर समीक्षा जरुरी

यो वर्षको एसईई परीक्षाको नतिजा प्रकाशन पनि चर्चा, चासो अनि विश्लेषण र समीक्षाको पाटोबाट गत सालभन्दा अलग रहेन। शुक्रवार प्रकाशन भएको परीक्षाफलको विषय अहिले पनि 'बर्निङ' नै छ। सम्भवतः निजी कलेजहरूले कक्षा ११ मा विद्यार्थी भर्ना गरेर नसिध्याएसम्म यसमा पूर्णविराम लाग्ने छैन।

पछिल्लो चरणमा विद्यालय शिक्षाको संरचनालाई आधारभूत र माध्यमिक गरी दुई तह बनाइसकिएको छ। आधारभूत तहको अन्तिम परीक्षा  कक्षा आठको अन्तिममा लिइन्छ भने माध्यमिक तहको १२ कक्षाको अन्तिममा। माध्यमिक तहको बीचमा पर्ने एसईईको महत्त्व निकै कम भैसकेको छ। तर विगतमा फलामे ढोका (आइरन गेट) भनेर अनावश्यक मनोवैज्ञानिक त्रास सिर्जना गरिएको यो परीक्षाले एसएलसीबाट एसईईमा झर्दासम्म पनि परीक्षाफलको सन्दर्भमा भने आफ्नो पुरानो वैभव कायमै राखेको छ।

विद्यालयहरूबीच तुलना
तुलनात्मक रूपमा पोहोरभन्दा सुधारिएको रिजल्ट यसपालि देखियो। यसमा जस लिनेहरूको होडबाजी चलिसकेकै छ। प्रधानमन्त्रीसम्मले यसमा जस लिने प्रयास गर्नुभयो। यही मेसोमा थुप्रै तथाकथित बुद्धिजीवी र शिक्षाविद्हरू संस्थागत र सामुदायिक विद्यालयबीच परीक्षाफलको अंकगणितलाई आधार मानेर तुलना गर्न कम्मर कसेर लागिसकेका छन्। 

शिक्षाको माध्यम भाषा अङ्ग्रेजी हुनुलाई नै शिक्षाको गुणस्तर मान्ने निकै ठूलो जमात छ र यो अझै बढ्दो क्रममा छ। त्यसमाथि अहिलेको परीक्षाफललाई आधार मानेर उत्कृष्ट र कमजोर विद्यालयको 'डिमार्केसन' गर्नुले हामीले चाहेको शिक्षाको गुणस्तर के कस्तो हो भन्नेबारे धेरै कुरा भन्छ। अधिकांश निजी विद्यालयले एसईईको 'उत्कृष्ट रिजल्ट' निकाल्नकै लागि परीक्षा केन्द्रको कुन हदसम्म दुरुपयोग गर्छन् भन्ने विषय हामी कसैबाट लुकेको छैन। तर यो पाटो हामी बिर्सन्छौँ। बिहानदेखि साँझसम्म विद्यार्थीलाई विद्यालय या छात्रावासमा थुनेर 'पम्पिङ' गरिएको सूचना (ज्ञान होइन) परीक्षामा गएर 'डिस्चार्ज' गरेपछि सकिन्छ। परीक्षाफल गज्जब आउँछ, तर उक्त विद्यार्थीमा ज्ञानको तह कस्तो हुन्छ भन्ने थाहा पाएरै हैरान भइन्छ। 

फलामे अनुशासनमा राखेर घोटेर पिलाएर विद्यार्थीको दिमाग सूचनाले भर्ने र परीक्षा सकिएसँगै पुनः दिमाग खाली गर्ने प्रक्रियालाई गुणस्तरीय शिक्षा मान्नुको पनि आफ्नै दुख छ। 

वर्गीय समाजमा शिक्षा वर्गीय नै छ। निजी विद्यालयमा तुलनात्मक रूपमा उपल्लो वर्गको पहुँच बढी हुन्छ। उपल्लो वर्ग आफ्नो बालबच्चाको आधारभूत आवश्यकता सहजै पूर्ति गर्ने ल्याकत राख्छन्। स्वास्थ्यमा आवश्यक ध्यान दिन सक्छन्। गुणस्तरीय भोजन उपलब्ध गराउन सक्छन्। 'होम ट्युसन' धान्न सक्छन्। अनि विद्यालयबाट प्रदान गरिने शिक्षा सहज ग्रहण गर्न सक्छन्। तीमध्ये कतिपयका लागि सामाजिकीकरण अनावश्यक विषय हो।

अर्कोतिर, उत्कृष्ट नतिजा ल्याएका सामुदायिक विद्यालयकै विषय पनि प्रशंसित छ। सामुदायिक विद्यालयको उत्कृष्ट रिजल्ट नि:सन्देह प्रशंसाको विषय हो। तर ती विद्यालयहरूको प्रशंसा गर्दा परीक्षाफल कमजोर देखिएका अन्य सामुदायिक विद्यालयहरूलाई 'सामुदायिक विद्यालय भएरै पनि फलानो स्कुलको रिजल्ट देख्यौ? तिमी मास्टरहरू के पढाउँछौँ?' भन्दै खिसीटिउरी गर्ने अभ्यासमा गम्भीर त्रुटि छ। अपवादबाहेक प्राय: ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको रिजल्ट कमजोर छ। अनि धेरैजसो सहरी अनि अर्धसहरी क्षेत्रका सामुदायिक स्कुलको रिजल्ट राम्रो। यस्तो किन हुन जान्छ भन्ने विषयमा सोच्ने फुर्सद स्वनामधन्य विश्लेषकहरूलाई उपलब्ध छैन।

निजी विद्यालय र सहर केन्द्रित सामुदायिक विद्यालयसँग छनोटको सुविधा छ। अर्थात् उपलब्ध विद्यार्थीहरूमध्येबाट प्रवेश परीक्षाको नाममा 'उत्कृष्ट' विद्यार्थीलाई विद्यालय छिराउने सुविधाको भरपुर उपयोग गरिरहेकै छन् उनीहरू। उत्कृष्टहरूलाई पढाएर उत्कृष्ट रिजल्ट निकाल्नु तुलनात्मक रूपमा सहज कार्य हो। प्रायः सहर केन्द्रित सामुदायिक विद्यालयहरूमा दरबन्दीको उपलब्धता पनि पूर्ण नै हुन्छ। अर्कोतिर, ग्रामीण भेगका विद्यालयहरूमा विद्यार्थी भर्नामा छनोटको कुनै सुविधा छैन। जति छन् गाउँघरमा विद्यार्थी, ती सबैलाई तिनले पढाउनै पर्छ। (सबैलाई पढाउनु कर्तव्य हो, तर परीक्षाफलको विश्लेषणको लागि यो विषय यहाँ उल्लेख गरिएको मात्र हो)। बिहान उठेर एक भारी घाँस या एक डोको दाउरा बटुलेर आफै खाना तयार गरेर हतार हतार घन्टौँ परको स्कुल भ्याउने विद्यार्थीले प्राप्त गर्ने उपलब्धिलाई माथि उल्लिखित दुई प्रकारका विद्यालयका विद्यार्थीको उपलब्धिसँग तुलना गर्नु कत्तिको न्यायसङ्गत हुन्छ होला? आज पनि धेरै ग्रामीण भेगमा एक देखि दुई घण्टाको पैदल दुरी सामान्यजस्तै लाग्छ विद्यालय जान। 

दुर्गम भेगमा शिक्षक दरबन्दी पूरा भएका माध्यमिक विद्यालयहरूको सिलो खोज्नुपर्छ। प्राथमिक तहमा सिफारिस भएका शिक्षकहरूले माध्यमिक तहमा पढाउनु सामान्य कुरा हो ती विद्यालयको लागि। अझै थुप्रै पाटा छन्, जसले रिजल्टमा प्रत्यक्ष असर गर्छन्। यी पाटाहरूबारे मौनता साँधेर निरपेक्ष तुलना गर्दै सामुदायिक विद्यालयहरूलाई खिसीटिउरी र चर्को आलोचना गर्ने आम प्रवृत्ति आफैँमा आलोच्य छ।

'परीक्षाफल सो अप्' 
एसईईको परीक्षाफल सार्वजनिक हुनेबित्तिकै देखिने अर्को लहर भनेको परीक्षाफलको प्रदर्शन हो। व्यक्तिगत रूपमा विद्यार्थी स्वयं या अभिभावकले आफ्नो या आफ्नो बालबच्चाको परीक्षाफल त प्रदर्शन गर्छन् नै। यो लहरमा विद्यालयहरू पनि अग्रपङ्तिमै आउँछन्। आजकल त सम्बन्धित स्थानीय तहहरू समेत यो लहरमा देखिन थालेका छन्।

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले परीक्षाफलको अनावश्यक प्रदर्शनीप्रति सचेत रहन गरेको आग्रहलाई तोडमरोड गरेर गालीगलौजमै उत्रिए कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता। हाम्रो बौद्धिकताको स्तर नाप्ने स्केल पनि यो हो। एक जना सामाजिक सञ्जाल इन्फ्लुएन्सरले त सामाजिक सञ्जाल नियमन गर्ने सरकारी तयारीको आलोचना गर्ने सुमनाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गराउनुपर्ने अभिव्यक्ति दिएको भन्नेसम्मको आरोप लगाए। ती तथाकथित इन्फ्लुएन्सरलगायत अन्य थुप्रैले अभिव्यक्ति स्वतन्त्रताको नाममा सम्बन्धित विद्यार्थीहरूको गोपनीयताको हकको गम्भीर उल्लंघन भइरहेको तथ्य थाहा पाउनै सकेनन्। या थाहा पाएर पनि नपाएजस्तो गरे।

सामाजिक सञ्जालमा विद्यालय तथा सम्बन्धित तहले विद्यार्थीहरूको नाम र फोटो नराखीकन सूचनाको तहमा नतिजा सार्वजनिक गर्नु राम्रो विषय पनि होला। यसको प्रभावबारे पनि सोच्नु त पर्छ नै। तर कुनै पनि विद्यार्थीसँग अनुमति नलिई उनीहरूको जीपीएसहित पूर्ण नतिजा फोटोसहित सार्वजनिक गर्नु संविधान सम्मत ठहर्छ? मौलिक हकको रूपमा लिपिबद्ध सूचनाको हकले के भन्छ? सूचनाको हक सम्बन्धित अभिभावक, विद्यालय अनि स्थानीय तहलाई मात्र हुन्छ कि विद्यार्थीहरूलाई पनि हुन्छ? यसरी विद्यार्थीहरूको नतिजाको पूर्ण विवरण सार्वजनिक गर्दा विद्यार्थीहरूसँग अनुमति लिइएको होला त? सायदै छ होला!

अर्को पाटोबाट हेरौँ। धेरै विश्लेषकहरू भन्छन् "धेरैजसोको मत यस्तो छ कि अभिभावकहरू आफ्नो सन्तानको उपलब्धिमा खुशी हुने हक राख्छन्। राम्रा नतिजा ल्याएका विद्यालय र स्थानीय तहले नतिजा सार्वजनिक गर्दा अरूलाई राम्रो गर्न हौसला मिल्छ। प्रोत्साहन हुन्छ।" यसको अर्को पाटो पनि हुन्छ। उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरेर पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेका विद्यालयहरूलाई यसले निराश बनाउने सम्भावना छ कि छैन? अनि अभिभावक खुसी हुन पाउने सर्तमा अरूमाथि पर्ने असर भुल्न मिल्छ कि मिल्दैन? यो विषय कानुनी र कम नैतिक ज्यादा हो। सम्भ्रान्त महिलाले तीजमा सुनको थुप्रोमा पुरिएर नाच्दा नुनको जोहो गर्न नसक्नेहरूलाई पर्ने असर नजरअन्दाज गर्न सकिन्छ? यो खुल्ला प्रश्न हो।

मूल कुरा त आफ्ना सन्तानको रिजल्टको पूर्ण विवरण खुसीसाथ शेयर गर्ने अभिभावकले ती अबोध सन्तानहरूमाथि गम्भीर मनोवैज्ञानिक दबाब सिर्जना गरिरहेका छन्। उत्कृष्ट विद्यार्थी भनेर यसरी अभिभावकले घोषणा गरिदिएपछि उसले आगामी दिनमा त्यो लय कायम राख्नै पर्छ। आफन्त अनि साथीभाइको उक्त विद्यार्थीप्रति अपेक्षा बढ्छ। अनि केही कारणवश अपेक्षा पूरा नभए उ अपहेलित हुन पुग्छ। उसमाथि ठूलो मनोवैज्ञानिक दबाब बढ्छ। आफ्नो इच्छाभन्दा अभिभावक र आफन्तको अपेक्षाको भारी बोकेर जीवनलाई घिसार्न बाध्य पारिन्छ त्यस विद्यार्थीलाई। यो अहिले सोचिएजस्तो सामान्य विषय होइन।

तेस्रो पाटोबाट पनि हेरौँ। चर्चित बलिउड फिल्म 'थ्री इडियट्स'मा एउटा डायलग छ। परीक्षाफल प्रकाशनपछिको फोटोसेसन ( जहाँ विद्यार्थीको नतिजाअनुसार बस्ने आसनको निर्धारण हुन्छ) मा कलेजको प्रिन्सिपलसँग एक चंख विद्यार्थी सोध्छ, "ज्वरो आएको बिरामीलाई डाक्टरले औषधि दिन्छ कि तँलाई यति डिग्रीको ज्वरो आएको छ भनेर सूचना पाटीमा टाँस गर्छ? विद्यार्थीको सबल र कमजोर पक्षको पक्षको प्रचार गर्ने कि उपचार?" अहिले यो डायलगको सान्दर्भिकता बढेको महसुस हुन्छ। मूलतः विद्यालय र स्थानीय तहले विद्यार्थीलाई टोनिक दिइरहेका छन् कि रोगको प्रचार गरेर आत्मरति लिइरहेका छन्? सफल विद्यार्थीको फोटो स्कुलको ब्यानरमा छापिँदा बिरामी परेर या अनेकौं जायज कारण असफल भएको विद्यार्थीको मनमा के बित्छ? 

जीपीए अनि करिअरको सम्बन्ध
नेपालमा सफलताको मापक मानिने सरकारी कर्मचारी, स्थायी शिक्षक, प्राध्यापकलगायतको सङ्ख्याको विश्लेषणात्मक अध्ययन गरौँ। विशिष्ट श्रेणी (पहिलाको हकमा), चार जीपीए (अहिलेको हकमा) ल्याउनेहरू कति प्रतिशत उल्लिखित स्थानमा होलान्? नेपालमा कति प्रतिशत रहेका होलान् या नेपाल बाहिर गएका भए पनि देश फर्कने योजनामा रहेकाहरूको सङ्ख्या कति होला? अझ यसरी पनि हेरौँ–विशिष्ट श्रेणी या चार जीपीए वालामध्ये कति विद्यार्थीले उच्च शिक्षालाई निरन्तरता दिएका छन्? तीमध्ये कति सफल छन्? सायद यी सूचकहरू सकारात्मक छैनन्। किन यस्तो भइरहेको छ? कतै हाम्रो मूल्याकंन प्रणालीमा गम्भीर त्रुटि त छैन? 

जबसम्म विद्यार्थीको अनुशासन 'क्यारेक्टर सर्टिफिकेट' नामक एक पन्ना कागजले नाप्छ र उसको ज्ञान लब्धाङ्क पत्र नामक चिर्कटोले निर्क्योल गर्छ, तबसम्म यी तमाम विषयले प्रश्रय पाइरहन्छ। समाजको आवश्यकता अनुरूपको ज्ञानको मृत्यु भइरहनु अनि ज्ञानको नाममा 'गुगलीय सूचना'को आडम्बरले सम्पूर्ण पक्षलाई मोहित पारिरहनु अहिलेको यथार्थ हो। यो तितो सत्य फेर्न शिक्षासम्बन्धी अवधारणामै गम्भीर समीक्षा जरुरी छ।

(लामिछाने शिक्षक हुन्।) 


सम्बन्धित सामग्री