Thursday, January 16, 2025

-->

नेपाली दल, मिडिया र रासोमोन इफेक्ट

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मिलन हुनुपर्ने त्यस्तो के अभूतपूर्व संयोग जुर्न गयो होला र अहिलेको गठबन्धन बन्यो होला?

नेपाली दल मिडिया र रासोमोन इफेक्ट

जापानी लेखक र्‍युनोसुके अकुतागावाका दुई चर्चित पुस्तक ‘इन अ ग्रोभ’ र ‘रासोमोन’को मिश्रण गरेर लेखिएको पटकथामा निर्देशक अकिरा कुरोसावाले सन् १९५० मा एउटा सिनेमा बनाए— ‘रासोमोन’। एक जना महिलामाथि शारीरिक हिंसा र उनको पतिको हत्यापछि एउटा चोर पक्राउ पर्छ। जंगलमा पहिलो पटक शव देख्ने व्यक्ति एउटा दाउरे हुन्छ। ती महिला र ‘मृतकको समेत बयान’ (मृतकको बयान कुनै माध्यमद्वारा देखाइएको)को चर्चा भइरहेको छ सिनेमामा। र, चर्चा गरिरहेका छन् पुजारी र दाउरे। चर्चामा एउटा गरिब गाउँले पनि सम्मिलित हुन्छ।

हत्या त भएकै हो, तर चारै जना (मृतक, मृतककी पत्नी, दाउरे र चोर)ले त्यो घटनाको विवरण आ–आफ्नै तरिकाले मात्र सुनाउँदैनन् कि एकदमै विरोधाभासपूर्ण तरिकाले सुनाउँछन्। निर्देशक कुरोसावाले खासमा भएको चाहिँ के हो नभनेर नै कथाको अन्त्य गरिदिन्छन्, निर्णय गर्ने जिम्मा दर्शकलाई नै छोडेर। 

यही सिनेमाको नामबाट पछि अंग्रेजीमा शब्दावली नै बन्यो ‘द रासोमोन इफेक्ट’। कुनै उही घटनालाई संलग्न व्यक्तिहरूद्वारा नै फरक विवरणसहित फरक-फरक तरिकाले प्रस्तुत गर्नुलाई यो रासोमोन इफेक्ट भनिन्छ।    

आजभोलि नेपाली राजनीतिकर्मीले देश, समाज र आमनागरिकलाई त्यही ‘रासोमोन इफेक्ट’बाट भ्रमित गरिरहेका छन्— जो आफूलाई आदर्शवान् तवरले प्रस्तुत गर्दै गजबले झूटो नै बोलिदिन्छन् र घटनाको फरक व्याख्या र विवरण आफ्नो सुविधाअनुसार दिन्छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मिलन हुनुपर्ने त्यस्तो के अभूतपूर्व संयोग जुर्न गयो होला र अहिलेको गठबन्धन बन्यो होला? संविधान संशोधन, स्थायित्व आदि इत्यादि भनिए पनि अहिले सय दिन बढी भइसक्दा पनि तत्सम्बन्धी कुनै ठोस कदमको त के कुरा कुनै छलफलसम्म पनि भएको सुनिएको छैन। गजब त यो छ कि, ओली–देउवा सहमतिको भेउसम्म नपाएका दोस्रो/तेस्रो वरीयताका नेता पनि उक्त घटनालाई केले प्रेरित गरेको थियो र उद्देश्य के हो भन्ने आफ्नो अनुकूलको विवरण प्रस्तुत गर्दै छन्।

आज कुनै पनि राजनीतिक घटनाक्रमलाई लिनूस्, हरेकसँग आ–आफ्नै सुविधाअनुसारका तर्क छन्; एमालेले कुनै व्यवसायीसँग दानमा लिएको जग्गा होस्, रास्वपाका सभापतिको सहकारी ठगीको घटना होस् वा माओवादी केन्द्रको सरकारमा हुँदा र नहुँदाको भाष्य होस्— जति पात्र, त्यति नै किसिमको व्याख्या र विवरण। कांग्रेस सभापति देउवा भन्छन्, ‘(ओली) सरकारले एकदम राम्रो काम गरिरहेको छ, (कांग्रेस) कार्यकर्ता खुशी छन् देशैभरि।’

उनकै कार्यकर्ता नै सायद चकित होलान्, उनको उक्त कथनमा खुशी हुनुपर्ने हो कि दुःखी। त्यसै पनि कम बोल्ने देउवा नागरिकबारे बोल्दैनन्, आममानिसको सरोकारबारे सबैभन्दा निरपेक्ष नेता नेपालमा आजका दिनमा कोही छ भने ती सायद देउवा नै हुन्। बाँकीले जनता र देशका बारेमा कुरा गरे पनि व्यवहार भने पूर्णतः उल्टो छ। दलहरूझैँ कार्यकर्ता पनि हुने भए। आ–आफ्ना दल र नेताझैँ उनीहरू पनि रासोमोन इफेक्टअनुसार नै भाष्य स्थापित गर्न लागिपरेका छन्। 

आमनागरिक भने रनभुल्ल छन्, रासोमोन सिनेमाको सोझो गाउँलेझैँ, जसले केचाहिँ भइरहेको छ भन्ने भेउ नै पाउन सकेका छैनन्। हरेक घटना र मुद्दालाई नेपाली दलहरूले आ–आफ्नै तरिकाले जसरी वर्णन गरे पनि जनताचाहिँ उनको प्राथमिकतामा छैनन् नै।

राजनीतिक दल र राजनीतिकर्मीका आफ्नै अभीष्ट हुन्छन्; अपेक्षा के मात्र हो भने आफ्नो उद्देश्य पूर्तिका लागि उनीहरूले आधारभूत नैतिक मूल्यमान्यताहरू कायम राखिदिऊन्। जनताका सरोकारप्रति संवेदनशील भइदिऊन् र लोकतन्त्रप्रति साँच्चिकै जिम्मेवार हुन् भने भाषणले होइन, कामले पनि देखाऊन्।

यहीबीच सबैभन्दा सोचनीय के भइदिएको छ भने, दलहरूले सिर्जना गरेको रासोमोन इफेक्टबाट आमनागरिकलाई बाहिर निकालेर राजनीति र समाजको यथार्थ चित्रण गरिदिन पर्ने मिडिया नै रासोमोन इफेक्टबाट ग्रस्त हुँदै गएको छ। 

संसारभर मिडियाको विश्वसनीयतामा प्रश्न उठिरहेका बेला नेपालमा पनि मिडियाका चुनौती नबढेका हैनन्। लोकतान्त्रिक अभ्यासमा पछि परिरहेको र लोकतन्त्रमाथि दलीय स्वार्थ चरम रूपमा हाबी भइरहेको अवस्थामा एउटै घटनालाई आफ्नो सुविधाअनुसार प्रस्तुत गरिदिने अथवा वकिल र न्यायाधीशझैँ प्रस्तुत भइदिने बढ्दो प्रचलन नेपाली मिडियामा पनि देखिनु उत्तिकै चिन्ताजनक छ।

चर्चित अमेरिकी पत्रिका वासिंटन पोस्टका प्रकाशक जेफ बेजोजले हालै आफ्नै पत्रिकामा एउटा लेख लेखेका थिए, जहाँ उनी भन्छन्, ‘हामी (पत्रिका) सही हुनुपर्छ, अनि हामी सही छौँ भन्ने विश्वास पनि गरिनुपर्छ। तितो भए पनि सत्य के हो भने हामी दोस्रो अपेक्षामा असफल भइरहेका छौँ।’ उनी थप्छन्, ‘पत्रकार र मिडियाको विश्वसनीयता यो वर्षको सर्वेक्षणमा कंग्रेस (अमेरिकी विधायिका)भन्दा पनि तल छ।’

यस्तै विषयमा नेपालमा त्यस्तो कुनै सर्वेक्षण भएझैँ लाग्दैन तर आम रूपमा दल र राजनीतिकर्मीप्रति बढ्दै गएको अविश्वासबीच तिनले आफ्नै सुविधाका लागि गर्ने विश्लेषण र व्याख्यालाई नेपाली मिडियाले पनि सन्दर्भ र प्रसंगबिना नै आममानिसका अगाडि पस्कँदै जाने हो भने मिडियाको विश्वसनीयता अझै घट्दै नै जानेछ।

हालै काठमाडौँमा आयोजित एक कार्यक्रममा भारतीय विचारक योगेन्द्र यादव भन्दै थिए ‘मिडिया नै संसारभरि लोकतन्त्रका लागि अहिले समस्या भएको छ।’ भारतीय परिप्रेक्ष्यमै भनेको भए पनि मिडियाले प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्न चुक्यो भने लोकतन्त्रले राम्रो काम गर्न नसक्ने उनको भनाइ नेपालका लागि पनि उत्तिकै सान्दर्भिक छ। 

मिडिया नागरिक र समाजबाट चाहिँ टाढा हुँदै जाने अनि दल, राजनीतिकर्मी र सरकारसँग नजिक हुँदै जाने हो भने यसले पाठक र श्रोताको विश्वास झनझनै गुमाउँदै जाने जोखिम मात्र हैन, लोकतन्त्रका लागि अपरिहार्य विचार, तर्क र संवादको ठाउँ पनि निमिट्यान्न हुने खतरा पनि सृजना गर्छ । 

आम नागरिकलाई रासोमोन इफेक्टले भ्रान्त बनाइरह्यो भने समाजको क्रमागत आलोचनात्मक चेतको विकास रोकिने सम्भावना त रहन्छ नै, त्यसले ‘डेमागग’ र रूढिवादी नेतृत्वका लागि उर्वर जमिन दिन्छ, पपुलिस्टका लागि स्थान जन्माउँछ। यस्तै परिस्थितिमा नै हो मिडियाको भूमिका झनै महत्त्वपूर्ण र मुखर भएर आउने। आमनागरिक र समाजप्रति उत्तरदायी हुनुपर्ने मिडिया दल र नेताको ‘मेगाफोन’ बन्नमा सीमित भयो भने लोकतन्त्र कुण्ठित हुनुमा उनीहरूको पनि उत्तिकै भागिदारी हुन आउने छ।

दल र नेताले खडा गरेको ‘इको च्याम्बर’मा मिडिया पनि अल्झिएर रासोमोन इफेक्टमै काम गर्न थाल्यो भने उसले आफूप्रतिको विश्वास गुमाउने त छ नै, देश र समाजका लागि पनि त्यो घातक हुनेछ।

नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक संरचनामा सबैभन्दा बढी सम्मान पाएको एउटा क्षेत्र कुनै हो भने त्यो मिडिया नै हो र उक्त सम्मान र आफूप्रतिको विश्वसनीयता कायम कसरी राख्ने भन्ने जिम्मेवारी पनि उसकै हो। रासोमोन सिनेमाको अन्त्यतिर जब उही दाउरेले मन्दिरमा छाडिएको बच्चालाई घर लगेर पाल्ने निर्णय लिन्छ, त्यो बेला पुजारीले एउटा उद्घोष गर्छ कि मानिसमाथि हराउँदै गएको उसको विश्वास फेरि जागेर आएको छ।

नेपाली दल र नेता सच्चिन जरुरी त छ नै, मिडियाले पनि आम मानिसको आफूप्रति हराउँदै गएको विश्वास जित्न सही बाटो समाउनै पर्छ। विश्वसनीय भएर मात्र पुग्दैन, देखिनु पनि पर्छ, रासोमोन इफेक्टबाट माथि उठ्नै पर्छ।


सम्बन्धित सामग्री