भारतको सत्ताले पुनश्चः जर्ज सोरोसलाई ‘शैतान’ करार गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका ‘अच्छे मित्र’ गौतम अदाणी र उनीसँग जोडेर प्रतिपक्षी नेता राहुल गान्धीले निरन्तर ‘फायरिङ’ गरिरहेका बेला सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले सोरोससँग गान्धीलाई जोडेर जवाफी फायर खोलेको हो।
“मुद्दा बडा गम्भीर छ,” आलोचकहरूबाट ‘मुखाले’ र ‘बकलोल’जस्ता पगरी गुथाइएका भाजपा प्रवक्ता सम्बित पात्रा आइतबार पत्रकार सम्मेलनमा भन्छन्, “मुद्दा भाजपाको मात्र हैन, भारतवर्षको हो। भारतवर्षलाई तोड्न षडयन्त्र भइरहेको छ।”
प्रवक्ता पात्राले भारत वर्षलाई नै तोड्न षड्यन्त्र गरिरहेका भनिएका पात्रचाहिँ ९३ वर्षीय अर्बपती सोरोस हुन्। सोरोसलाई यसै पनि देखिनसहने भाजपा सत्ता गत वर्ष म्युनिखको एउटा सम्मेलनमा ‘भारतीय प्रधानमन्त्री मोदीको दाहिने हात गौतम अदाणीको खराब दिन चलिरहेकाले मोदी सरकार कमजोर हुने, अनि भारतमा लोकतन्त्र पुनर्जीवित हुने’ भनेर भाषण ठोक्दिएपछि झन आगो छ।
“न्युयोर्कमा बस्ने एउटा वृद्ध उद्योगपति आफूले जे सोच्यो त्यो सारा संसारभरि लागू हुनुपर्छ भन्ठान्छ,” उतिबेलै विदेशमन्त्री एस जयशंकरले टिप्पणी गरेका थिए। तत्कालीन मन्त्री स्मृती इरानीले पत्रकार सम्मेलन गरी भारतविरुद्ध गतिविधि गर्न सोरोसले भारतको प्रभाव रहेका देशहरूमा समेत गरी एक अर्ब डलर खन्याइरहेको बताएकी थिइन्।
“सोरोस त विस्फोटक आरडीएक्ससहित पाकिस्तानबाट छिरेको आतंकवादी हो जस्तो पो गर्न थाले बा!” त्यही बेला युट्युबर आकाश बनर्जीले व्यंग्य छेडेका थिए, “यस्तो करारा जवाफ त सोरोसले ९० प्लस उमेरमा पहिलोचोटि पाए होलान्।”
सोरोसः शरणार्थीदेखि दानवीरसम्म
सोरोस सन् १९३० मा हंगेरीको राजधानी बुडापेस्टमा जन्मिए थिए। सन् १९४४ मा नाजी सेनाले हंगेरी कब्जा गरेपछि ज्यान जोगाउन उनको परिवार भाग्न बाध्य भएको थियो। यहुदी पहिचान लुकाउन क्रिश्चियन देखिने नक्कली कागजात बनाई लुकिछिपी परिवारै बेलायतमा शरणार्थी भएका थिए।
‘लन्डन स्कुल अफ इकनोमिक्स’मा पढाइ गरी युवा उमेरमा अमेरिकामा इन्भेस्टमेन्ट बैंकरको करिअर थालेका उनले तीव्र गतिमा पैसा कमाए। कमाएको अकुत सम्पत्ति सन् १९८० को दशकदेखि उदार लोकतन्त्र प्रवर्द्धन, मानव अधिकार रक्षा, अल्पसंख्यक/सीमान्तकृतको समानताको अधिकार, सशक्तीकरण अभियानमा खन्याउन थालेका थिए।
लन्डन स्कुल अफ इकोनोमिक्समा आफ्ना गुरु कार्ल पोप्पर एवं उनको किताब ‘द ओपन सोसाइटी एन्ड इट्स इनेमी’बाट अति प्रभावित सोरोसले फाउन्डेसनको नामै ‘ओपन सोसाइटी फाउन्डेसन’ राखे। सन् २०१७ मै फाउन्डेसनलाई १८ अर्ब डलर दान गरेका उनले त्यसमार्फत ३२ अर्ब डलर दान गरिसकेका छन्। फाउन्डेसनले १२० देशमा गरी १८ अर्ब डलरभन्दा बढी त खर्च नै गरिसकेको छ।
बाल्यकालमै नाजी अत्याचार देखे/भोगेका र कम्युनिजम नजिकबाट नियालेका उनी फासीवाद मात्रै होइन राष्ट्रवाद र कम्युनिजमको पनि प्रखर आलोचक सुनिन्छन्।
सन् १९८० को दशकभरि उदार लोकतन्त्र प्रवर्धनका लागि कम्युनिजमविरुद्ध अभियान छेडेका उनी सोभियत संघको विभाजनयता अनुदारवादी (कन्जरभेटिभ) को विरोधमा सक्रिय छन्। सन् २०१५ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पसँग भिडेकी हिलारी क्लिन्टनलाई उनले ६० लाख डलर चन्दा दिएका थिए।
उनी ‘नाजी हुन् वा सोभियत कम्युनिस्ट, अन्तिम सत्य आफनो सिद्धान्तलाई नै ठान्छन् र देशमा लाद्न खोज्छन्’ भन्ने निष्कर्षमा पुग्दै तिनको विरोधमा उदार लोकतन्त्र प्रवद्र्धन गर्न कमाएको सारा सम्पत्ति स्वाहा पार्न कस्सिएको ठानिन्छ। कार्ल पोपरको ‘वैज्ञानिक तथ्य पनि अर्कोले गलत सावित नगरेसम्म सही हो’ (साइन्स इज अल्वेज वेटिङ फर फल्सिफाई)’ र ‘ज्ञानमा एकाधिकार हुँदैन, एकाधिकार जमाउन खोज्नेहरू खुला समाजका दुश्मन हुन्’ भन्ने मान्यताका अनुयायी हुन् सोरोस।
उनले सन् १९७९ मा अश्वेत दक्षिण अफ्रिकीहरूलाई छात्रवृत्ति दिएर परोपकारी काममा हात हालेका थिए। फाउन्डेसनको वेबसाइटका अनुसार कम्युनिस्ट शासन रहेको हंगेरीका बौद्धिकहरूको पश्चिमी देश भ्रमण प्रायोजन र सांस्कृतिक समूहहरूलाई मद्दत गरेर स्वतन्त्र विचारको समर्थन थालिएको हो। बर्लिन पर्खाल ढलेपछि फाउन्डेसनले आलोचनात्मक विचारलाई उत्प्रेरित गर्न सेन्ट्रल युरोप विश्वविद्यालय स्थापना गर्यो। १०० विद्यार्थीबाट शुरू गरिएको विश्वविद्यालयमा अहिले करिब १५ सय जना अध्ययनरत छन्। धेरैजसोले फाउन्डेसनबाट छात्रवृत्ति पाउँछन्।
शीतयुद्ध समाप्तिपछि सोरोसले परोपकारी कामलाई अफ्रिका, एशिया, ल्याटिन अमेरिका र संयुक्त राज्य अमेरिकामा विस्तार गरे। फाउन्डेसनले भनेको छ, “निष्पक्ष, खुला र लोकतान्त्रिक समाज निर्माण गर्ने सत्प्रयासमा सोरोसले समर्थन गरे।”
सोरोसको दानबाट लाभान्वित हुनेमा ग्लोबल विटनेस, इन्टरनेसनल क्राइसिस ग्रुप, द युरोपियन काउन्सिल अन फरेन रिलेसन्स, इन्स्टिच्युट फर न्यु इकोनोमिक थिंकिङसहितका स्वतन्त्र संस्थाहरू पर्छन्। चीनमा समेत सुधारको काम गर्न अनुमति पाएको फाउन्डेसन कम्युनिस्ट पार्टीभित्रको सुधारवादी र अनुदारवादी (‘प्रो’ र ‘एन्टी’) समूहबीच द्वन्द्वको घानमा परी तियानमेन स्क्वायरको दमनअघि (सन् १९८९ मा) बाहिरिन परेको थियो।
सोभियत संघको पतनसँगै त्यहाँका वैज्ञानिक संस्थाहरू कमजोर बनेपछि सोरोसले सन् १९९३ मा ‘इन्टरनेसनल साइन्स फाउन्डेसन’ स्थापना गरी वैज्ञानिक अनुसन्धानमा सघाउन २० करोड डलर दान गरेका थिए। पुटिन युग शुरू भएपछि फाउन्डेसनलाई बाहिर निस्किने बाटो देखाइएको थियो।
रंगभेदी शासन समाप्तिपछि सन् १९९४ मा दक्षिण अफ्रिकामा सक्रिय भएको फाउन्डेसनले मेलमिलाप, कानूनी सुधार, शिक्षा, स्वास्थ्य र मिडियामा १५ करोड डलरभन्दा बढी खर्च गरेको थियो। युरोपको रोमा समुदायमाथि कायम विभेदविरूद्ध सन् १९९७ देखि काम गरिरहेको छ।
युरोपको सबैभन्दा ठूलो र बहिष्कृत समुदाय रोमाहरूको निम्ति अवसर सिर्जना गर्न पैसा खर्च गर्छ। फाउन्डेसनले सन् २०१७ मा रोमाहरूको कला र संस्कृति संरक्षणका निम्ति बर्लिनमा ‘युरोपियन रोमा इन्सिच्युट फर आर्टस् एन्ड कल्चर इन बर्लिन’ खोलेको छ।
नेपालमा पनि सोरोस
सोरोसको फाउन्डेसनले पैसा खर्चिएको १२० देशमा नेपाल पनि पर्छ। सन् २००७ देखि नेपालमा शिक्षा सुधार, स्वतन्त्र सञ्चारमाध्यम, खोज पत्रकारिता, मानव अधिकार र द्वन्द्वपीडितको न्यायका लागि सघाएको फाउन्डेसनको वेबसाइटमै उल्लेख छ। फाउन्डेसनको नेपाल कार्यालय चाहिँ सन् २०१९ मै बन्द भइसकेको छ।
ट्रम्पको उदयसँगै सोरोसको प्राथमिकता परिवर्तन भएपछि उनले अमेरिकामै आफ्नो अभियानलाई केन्द्रित गर्दै लगेका छन्। ‘संसारैभर लोकतन्त्र मजबुत हुन पहिला अमेरिकामै मजबुत हुनुपर्छ, अहिले अमेरिकामै लोकतन्त्र कमजोर अवस्थामा छ’ भन्दै उनी अमेरिका केन्द्रित अभियानमा लागेका हुन्।
फाउन्डेसनले सन् २०१२ मा संविधानसभा विघटन भई २०१३ नोभेम्बरमा सम्पन्न निर्वाचनताका विभिन्न समूहहरूलाई २ लाख २१ हजार डलर दिएको थियो। सन् २०१३–१५ मा मौलिक अधिकार रक्षाका निम्ति १ लाख २८ हजार डलर खर्चिएको थियो। “२००७ देखि हामीले स्वतन्त्र पत्रकारिता र स्थानीय सामुदायिक रेडियो स्टेशनहरूलाई १३ लाख ९० हजार डलर सहयोग गरेका छौँ,” वेबसाइटमा भनिएको छ।
नेपालमा महिला र दलितलाई स्थानीय निकायमा उम्मेदवारको रूपमा समावेश गर्न अभियान पनि चलाएको फाउन्डेसनको भनाइ छ। सन् २०१५ र २०१६ मा पनि फाउन्डेसनले नेपालमा सहयोग गरेको थियो।
उसले भनेको छ, “हामीले अपांगता भएका व्यक्तिको अधिकार रक्षार्थ वकालत गर्ने वकिल र कार्यकर्ताहरूलाई दुई लाख २४ हजार डलर दिएका छौँ।” कम्युनिकेशन कर्नर (उज्यालो रेडियो/अनलाइन), हिमाल साउथ एशिया, मार्टिन चौतारी, सोसल साइन्स बहा, समता फाउन्डेसनदेखि हेर्ने कथा, बोजुबजै जस्ता कार्यक्रम पनि फाउन्डेसनबाट लाभान्वित भएका छन्।
निशानामा पर्ने कारण
भाजपाले भारतकै अखण्डतामा सोरोसले धावा बोलेको आरोप लगाएको छ। ‘विश्वमा भारतको शिर उँचो नहोस् भन्ने चाहने तत्व’ भनेर समेत आरोपित गरेको छ।
नेपालमा सत्ता, राजनीतिक दल वा संस्था/संगठित समूहले सोरोसको वा उनको ‘फन्डिङ’को विरोध गरेको सुनिँदैन। सामाजिक सञ्जालतिर सोरोसको पैसामा चलेको भनेर आलोचना (खासमा गालीगलौज) गर्नेको कमी छैन, फाउन्डेसनको फन्डिङ कुनै फिरौतीको रकम हो जस्तै गरी। क्रिश्चियनमा धर्मान्तरण गर्न नै उनले पैसा बाँडेको ठान्नेहरूको पनि कमी छैन। जबकि, उनी स्वयम क्रिश्चियन नभई यहुदी हुन्।
त्यसो त, सोरोस र विवादको पुरानै सम्बन्ध छ। सन् १९९२ मा इंल्यान्डको केन्द्रीय बैंक (बैंक अफ इंल्यान्ड)लाई नै संकटमा पार्ने उनको धन्दा निकै विवादास्पद मानिन्छ। उनले इंल्यान्डका बैंकहरूबाट पाएसम्म ऋण लिई पाउन्ड बेचेर जर्मन मार्क खरिद गरेपछि बैंक अफ इंल्यान्ड संकटमा परेको थियो। उनले चाहिँ एक अर्ब डलरभन्दा बढी मुनाफा गरेका थिए। त्यस्तै धन्दा थाइल्यान्ड र मलेशियामा पनि गरे। उनको त्यो धन्दा गैरकानूनी नभए पनि अनैतिक मानियो।
मिडियासम्बद्ध अनुसन्धानमा संलग्न सेयरकास्ट इनिसिएटिभका प्रमुख कार्यकारी अधिकृत मधु आचार्यका अनुसार सोरोसको आलोचना वैचारिक र नितान्त व्यक्तिगत तहको दुईखाले छ। उदार लोकतन्त्र, बजार अर्थतन्त्र, अल्पसंख्यक/सीमान्तकृतको सबलीकरणमा फन्डिङ गर्ने भएकाले कन्जरभेटिभहरूले उनलाई देखिसहन्नन्।
अमेरिकामै न ट्रम्पलाई सोरोसले देखिसहन्छन् न सोरोसले ट्रम्पलाई नै। सोरोसकै फाउन्डेसनको छात्रवृत्तिमा अक्सफोर्ड पढेका भिक्टर ओर्बान नै हंगेरीका राष्ट्रपति भएपछि उनको दुश्मन बनेका छन्। सोरोसले आप्रवासीहरूको बिजोग बनाएको भन्दै आलोचना गरेपछि आगो भएका कन्जरभेटिभ विचारधाराका ओर्बानले उनलाई नै लक्ष्यित गरी विदेशबाट फन्डिङ लिने गैरसरकारी संस्थाहरूले आफूलाई ‘विदेशी एजेण्ट हुँ’ भनेर घोषणा गर्नुपर्ने कानून पारित गराएका थिए।
वामपन्थीहरू उनको आलोचक हुनुमा पनि वैचारिक कारण नै छ। फेरि दुवै विचारधारालाई सोरोसले पनि फुटेको आँखाले देखिसहन्नन्। “अर्का थरीचाहिँ अरूले पाए पनि आफूचाहिँ फन्डिङबाट वञ्चित हुनु परेकै कारण गालीगलौजमा उत्रिनेवाला हुने गर्छन्,” उनी सुनाउँछन्।
सोरोसले प्रवर्धन गर्ने उदार लोकतन्त्र, खुला बजार अर्थतन्त्रले नभई अमेरिकी सत्तासँग असहमत सरकार ढाल्न पनि लगानी गर्ने भएको हुँदा वामपन्थीहरू सोरोसको आलोचक बनेको विश्लेषक झलक सुवेदी बताउँछन्। जर्जियालगायत पूर्व सोभियत देशहरूमा उनले अमेरिकी एजेन्सीहरूसँग मिलेर त्यस्तो काम गरेका थिए भन्ने उनको आरोप छ।
सोरोसको विरोधमा वैचारिकभन्दा पनि डाह, इष्र्या हाबी भएको भन्दै विश्लेषक सिके लाल पानी जसरी पैसा खन्याउँदा आफूले नपाएपछि विरोध गर्ने धेरै भएको बताउँछन्। विदेशी सहायता/लगानी जस्तोसुकै रूपमा आए पनि सँगसँगै ‘बाइप्रडक्ट’को रूपमा वैचारिकी पनि भित्रिहाल्ने लाल सुनाउँछन्।
विदेशी पैसा लिने कुरामा सैद्धान्तिक असहमति राख्ने लाल नेपालजस्तो देशमा त्यो अपरिहार्य ठान्छन्। सोरोसको पैसालाई छिछिदूरदूर गर्नुअघि सम्झिनुपर्छ, त्यही पैसाको कारणले मार्टिन चौतारीजस्ता संस्थाले अनुसन्धान गर्न पाएका छन्। फन्डिङको विरोध गर्नुअघि अनुसन्धान, विभेदविरुद्धका अभियान आदि सत्कर्ममा आफैले हैसियतअनुरूप दान दिने संस्कार बसाल्नुपर्छ।
“हामी नेपालीमाझ १० हजारको दारु पिलाउने मान्छे भेट्न उति मुश्किल पर्दैन, जति अनुसन्धानमा त्यति नै चन्दा दिने भेट्न मुश्किल छ,” लाल भन्छन्, “सरकारले पनि दिने होइन, अनि कानूनको परिपालना गरी फन्डिङ लिनुचाहिँ कसरी गलत?”
भारतमा त भाजपाले प्रतिपक्षी नेता गान्धीलाई ‘ट्रेटर अफ द हाइएस्ट अर्डर’ (सबैभन्दा माथिल्लो तहको देशद्रोही) घोषणा गर्दिसक्यो। भाजपा प्रवक्ता पात्राले अमेरिकाको एजेन्सीहरूसहित सोरोसको फाउन्डेसनको एउटा कोण, फाउन्डेसनसमेतको फन्डिङमा सञ्चालित ‘अर्गनाइज्ड क्राइम एन्ड करप्सन रिपोर्टिङ प्रोजेक्ट’ (ओसीसीआरपी) अर्को कोण र राहुल गान्धी तेश्रो कोण मिलेर भारतविरुद्ध गतिविधि गर्ने त्रिकोण सक्रिय रहेको आरोपित गरेका छन्।
आलोचकहरूले यसलाई अदाणी अमेरिकामा कानूनी कारबाहीमा फसेपछि ध्यान अन्यत्र मोड्न गरेको कमजोर चालबाजी ठानेका छन्। पात्राले राहुल गान्धीलाई देशद्रोही करार गर्न पेश गरेका ‘सबुत’ निम्छरा छन्। ब्राजिलले कोभिडकालमा भारतबाट किन्न लागेको कोभ्याक्सिनको अर्डर रद्द गरेको थियो। यो समाचार प्रकाशित गरी ओसीसीआरपीले भारतको छवि बिगार्न खोजेको र कांग्रेसले भोलिपल्टै पत्रकार सम्मेलन गरी प्रधानमन्त्री मोदी तथा कोभ्याक्सिन उत्पादकलाई लाञ्छित गरेको विषयलाई पात्राले देशद्रोहको पहिलो आधार बनाएका थिए।
यस्तै, इजरायली गुप्तचर सफ्टवेयर पेगाससको प्रयोग भारतमा प्रतिपक्षी नेता तथा आलोचक पत्रकारको जासुसीका लागि प्रयोग गरेको समाचार पनि ओसीसीआरपीले प्रकाशित गरेको भोलिपल्टै गान्धीले पत्रकार सम्मेलन गरेकोलाई अर्को आधार बनाएका थिए। “गान्धी प्रतिष्ठित उद्योगपतीहरूलाई बुलिङ गरेको गर्यै छन्,” पात्राले भनेका थिए।
सोरोसको फाउन्डेसनका भाइस प्रेसिडेन्ट सलिल सेठी गान्धीको भारत जोडो यात्रामा उनीसँगै पदयात्रा गरेको फोटो र भारतप्रति आलोचक बांग्लादेशी पत्रकारले गान्धीसँग लिएको सेल्फीलाई बडा गम्भीर सबुतका रूपमा उनले पत्रकार सम्मेलनमा पेश गरेका थिए। विदेश यात्रका क्रममा ओसीसीआरपीमा आबद्ध पत्रकारसँग भेटेको भनिएको थियो, देशद्रोहको अर्को आधारका रूपमा।
निम्छरा तर्क र तथ्यका बाबजुद ‘गोदी मिडिया’ भनेर आलोचित भारतीय मिडिया र सामाजिक सञ्जालमा बलियो उपस्थितिमार्फत गलतै सही, गोयबल्श शैलीमा भाष्य स्थापित गर्न भाजपा माहिर छ। यसैले त सोरोसका साथी भनिएका कांग्रेस नेता शशी थरुरले ‘राजनीतिमा आएपछि त एकचोटी मात्रै त्योपनि मन्त्री हरदीपसिंह पुरी (भाजपा) को घरमा भेटेको हुँ’ भनेर मिडियासमक्ष स्पष्टीकरण दिएका छन्।