भाषा मानवजातिको अद्वितीय सम्पत्ति हो। भाषाले नै मानवजातिलाई अन्य प्राणीबाट अलग बनाउँछ। मानवजातिको विकासको इतिहास केलाउने हो भने भाषा नै सर्वश्रेष्ठ उपलब्धि मानिन्छ किनभने परिष्कृत भाषा प्रणाली र प्रकार्यको वैज्ञानिक संरचना अत्यन्त जटिल प्रक्रिया हो। सञ्चारको प्रमुख माध्यम, सोच्ने तरिका, मानिसमाझ अन्तरसम्बन्ध स्थापित गर्ने कडी, संस्कृतिको धरोहर, शिक्षाको माध्यम, व्यापारको संवाहक र सूचना प्रविधिको अपरिहार्य साधन भएकाले मानवजातिका लागि भाषा सर्वोत्कृष्ट संसाधन मानिन्छ। भाषाको परिष्कृत र जटिल प्रणाली विश्लेषण गर्न एउटा गम्भीर वैज्ञानिक विधाका रूपमा भाषाविज्ञान विकास भएको हो, जसको लामो इतिहास छ। र विश्वमा करिब तीन दर्जनभन्दा बढी भाषावैज्ञानिक सिद्धान्त प्रतिपादित छन्।
सैद्धान्तिक अनुसन्धान
अनुसन्धानमा सिद्धान्तको महत्त्वपूर्ण भूमिका हुन्छ। यसले सम्बन्धित विषयको वर्णन गर्नुका साथै उक्त विषयको गहिराइमा गएर सत्यतथ्य बुझ्ने र कारणसमेत स्पष्ट पार्ने प्रयास गर्छ। तसर्थ, विश्वविद्यालयस्तरीय अनुसन्धान सामान्यतः सिद्धान्त–सञ्चालित हुनुपर्छ। मेरो पीएचडी पनि अनुसन्धान सिद्धान्तमा आधारित छ। विश्वकै सर्वश्रेष्ठ मानिने भाषाशास्त्री प्राध्यापक नोम ए चोम्स्कीद्वारा प्रतिपादित ‘ट्रान्फर्मेसनल जेनेरेटिभ ग्रामर’को तत्कालीन सबैभन्दा प्रभावशाली संस्करण ‘थिएरी अफ गभर्मेन्ट एन्ड बाइन्डिङ’को ढाँचाका आधारमा मातृभाषा मैथिलीलगायत अन्य केही भाषाका वाक्यको विश्लेषण गरेको छु। यस अनुसन्धानमा यी भाषातथ्यका आधारमा प्रतिपादित भाषावैज्ञानिक सिद्धान्तको अनुभवजन्य पर्याप्तता या यथार्थको परीक्षण गर्दा ती सिद्धान्तमा केही आवश्यक तात्त्विक परिवर्तन गर्नुपर्ने कुरा प्रस्ताव गरेको छु।
यो पीएचडी अनुसन्धानपश्चात् समय–समयमा नेपाली, मैथिली र अन्य केही भाषाका तथ्यका आधारमा चोम्स्केली सिद्धान्तको नवीनतम संस्करण (मिनिमालिस्ट थिएरी)को निरूपण कार्यमा व्यक्तिगत या समूहगत रूपमा संलग्न रहँदै आएको छु। मैथिलीको क्रिया ‘मेलरसंगति’ अन्य कुनै पनि भारतीय आर्यभाषाको तुलनामा सबैभन्दा जटिलमध्ये एक हो। यस भाषामा कर्ता र कर्ता-इतर उद्देश्य, अन्य मुख्य युक्ति र गैरयुक्ति पनि क्रियासँग सन्दर्भित छन्।
जनगणना र भाषिक विविधता
थुप्रै भाषा एवं भाषिकाले सुसज्जित दक्षिण एशिया विश्वकै अत्यधिक बहुभाषी क्षेत्र हो। दक्षिण एशियामा क्षेत्रफलमा सानो हिमाली राज्यका रूपमा अवस्थित नेपाल पनि बहुभाषिकताबाट वञ्चित छैन। विगतका आठ वटा जनगणना (२००९/११-२०७८)मा भाषा संख्या निर्धारणको स्थिति यस प्रकार छः ४४ (२००९/११०), ३६ (२०१८), १७ (२०२८), १८ (२०३८), ४१ (२०४८), ९२ (२०५८), १२३ (२०६८) र १२४ (२०७८)। नेपालमा बोलिने भाषाको संख्यामा आएको यस्तो उल्लेख्य वृद्धिका विभिन्न कारण छन्।
२०४६ सालको प्रजातन्त्र पुनर्स्थापनापछि आदिवासीलगायत भाषिक अल्पसंख्यक समुदायमा आफ्नो मातृभाषाप्रतिको जागरणमा निरन्तर वृद्धि भएको छ। तिनका जातीय संस्थाले आफ्नो भाषा तथा सांस्कृतिक पहिचानको संरक्षण र संवर्द्धनमा जागरण ल्याउन सक्रिय भूमिका खेलेका छन्। जनगणनापछि भाषाहरूको राम्ररी पहिचान गर्न केही भाषाविद्सँग पनि सल्लाह लिइएको थियो। नेपालका भाषा सन्दर्भमा देखिएको यो अनिश्चितता र अघिल्ला पाँच जनगणनामा घटेको संख्याका कारणमध्ये मातृभाषाका वक्तामा मातृभाषाको महत्त्वका बारेमा जागरण, ज्ञान एवं आवश्यक सूचनाको अभाव तथा पञ्चायत काल र त्यसअघि राज्यले लिएको ‘एक राष्ट्र एक भाषा’ नीतिलाई मुख्य मान्न सकिन्छ।
अन्तरनिर्भरताको सिद्धान्तअनुरूप नेपालमा बृहत् सांस्कृतिक, पर्यावरणीय तथा जैविक विविधतासँगै भाषिक विविधता पनि विद्यमान छ। नेपालका भाषाहरूमध्ये अधिकांश पूर्ण रूपमा वा मुख्य रूपमा नेपालमा बोलिन्छन् भने वर्तमान कामकाजी भाषा नेपालीसहित करिब ४० वटा भाषा भारत र अन्यत्रसमेत गरी एकभन्दा बढी मुलुकमा ‘अन्तरसीमावर्ती भाषा’का रूपमा बोलिन्छन्।
कुसुन्डा भाषाबाहेक २०५८ को जनगणनामा उल्लेख भएका नेपालका भाषाहरू चार भाषा परिवारसँग सम्बन्धित छन्– भारोपेली, चीन-तिब्बती, आग्नेशियाली र द्रविड। कुसुन्डा भने अहिलेसम्म पारिवारिक सम्बन्ध निश्चित गर्न नसकिएको एकल भाषा हो।
कुनै पनि राष्ट्रले भाषिक विविधतालाई अनावश्यक समस्या नठानेर एउटा वरदानका रूपमा लिनुपर्छ (रोबिन्सन २००३ ई.)। भाषालाई सामाजिक संसाधनका रूपमा लिन सकिन्छ, जसको उचित परिचालनबाट राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धन, शिक्षामा सहजता र लोकप्रियता, विभिन्न भाषिक समुदायबीच पारस्परिक सम्पर्कको अभिवृद्धि सम्भव छ। यस स्रोतको पूर्ण उपयोगका लागि विकासलक्षित अन्य कार्यक्रमजस्तै ‘भाषा विकास’ पनि योजनाबद्ध रूपमा हुन आवश्यक देखिन्छ। यसै उद्देश्यअनुरूप त्रिभुवन विश्वविद्यालय, भाषाविज्ञान केन्द्रीय विभागले नेपालको भाषिक सर्वेक्षणअन्तर्गत समाज-भाषावैज्ञानिक अध्ययन सम्पन्न गरेको छ।
अभिलेखीकरण
नेपालका केही भाषाहरूको मात्र समृद्ध लेख्य परम्परा छ। तिनमा नेपाली, मैथिली, तिब्बती र शेर्पा, नेवार, लिम्बू, भोजपुरी, अवधि र लेप्चा मुख्य छन्। यी सबैको लिखित साहित्यको लामो परम्परा छ र यी भाषा विभिन्न लिपिमा लेखिन्छन्। नेपालका अधिकांश भाषा कथ्य रूपमै सीमित छन्। नेपालका हरेक भाषामा लामो समयदेखि मौखिक परम्परामा पुरानोबाट नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएका लोककथा, लोकगीत जस्ता लोकसाहित्यिक सम्पदाको समृद्ध भण्डार छ। साक्षरतामा वृद्धि र भाषा प्रसारणसँगै यस्ता सामग्री लोप हुँदै गइरहेका छन्। यसैले लोप हुनुअघि नै यिनको अभिलेखीकरण गरेर भावी पुस्ताको लागि सुरक्षित राख्ने काम गर्न ढिलो भइसकेको छ।
भाषा अभिलेखीकरण भन्नाले सामान्यतया कुनै भाषाका पाठसंग्रह, व्याकरण, शब्दकोश र शब्दसूची निर्माण बुझिन्छ। नेपालमा अभिलेखीकरण भएका भाषाहरूको संख्या ज्यादै न्यून पाइएको छ। तर गत दशकदेखि त्रिवि, भाषाविज्ञान केन्द्रीय विभाग, नेपाल प्रज्ञाप्रतिष्ठान मातृभाषा विभाग, भाषा आयोग, आदिवासी-जनजाति विकास प्रतिष्ठान, मदन पुरस्कार पुस्तकालय संलग्न भाषा प्रविधि केन्द्रलगायत संस्थाहरूको संलग्नतामा विभिन्न भाषामा अध्ययन-अनुसन्धानको गतिविधि बढेकाले बहुभाषिक शब्दकोश र व्याकरणको संख्या बढ्ने क्रममा देखिन्छ।
मदन पुरस्कार पुस्तकालय, त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभाग र काठमाडौँ विश्वविद्यालय कम्प्युटर विज्ञान र इन्जिनियरिङ विभाग जस्ता तीन वटा संस्थाले गरेको सहकार्य हो भाषा प्रविधि केन्द्र। यी तीन संस्थाले सन् २००४ देखि विभिन्न भाषा प्रविधिको अध्ययन अनुसन्धानमा सँगै मिलेर काम गरेका छन्। यी अध्ययन अनुसन्धानमध्ये प्यान स्थानीयकरण पनि एक हो। यस्तै, भाषा सञ्चार मदन पुरस्कार पुस्तकालय तथा त्रिभुवन विश्वविद्यालय भाषाविज्ञान केन्द्रीय विभागको सहकार्यमा सम्पन्न भएको थियो। यस अनुसन्धानमा ओपन युनिभर्सिटी- यूके, ल्यान्कास्टर युनिभर्सिटी- यूके, गोटेनबर्ग युनिभर्सिटी-स्वीडेन, इएलआरए-फ्रान्सजस्ता धेरै अन्तर्राष्ट्रिय साझेदार थिए।
यो योजनाअन्तर्गत एक करोड ४० लाख शब्दको नेपाली राष्ट्रिय पाठसंग्रह निर्माण गरिएको छ। यसमा नेपाली भाषाका कथ्य र लेख्य दुवै प्रकारका पाठ समावेश छन्। संग्रहित सबै पाठलाई युनिकोडमा परिवर्तन गरी तिनको संकेतन गरिएको छ। यस पाठसंग्रहमा आधारित शब्दकोशीय र व्याकरणिक अनुसन्धान गर्ने कार्य हुँदै आएको छ। सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशाला (केयू) ले मदन पुरस्कार पुस्तकालयसँगको सहकार्यमा अंग्रेजीबाट नेपाली वेबमा आधारित मेसिन ट्रान्सलेसन, दोभासे सञ्चालन गरेको थियो। यसका अतिरिक्त, भाषा प्रविधि केन्द्रले भविष्यमा अन्य केही भाषा प्रशोधनसँग सम्बन्धित कार्य गर्ने लक्ष्य राखेको छ।
संकटग्रस्त भाषा संरक्षणमा डिजिटल डकुमेन्टेसन अत्यन्त सहयोगी हुन्छ। उदाहरणका लागि युनिभर्सिटी अफ लन्डनको प्राविधिक सहयोगमा त्रिवि भाषाविज्ञान विभागले बराम भाषाको डिजिटल डकुमेन्टेसनअन्तर्गत यस भाषाको पाठसंग्रह, व्याकरण, शब्दकोश र संस्कृतिसम्बन्धी अध्ययन प्रस्तुत गरेर भाषाको संरक्षणमा योगदान गरेको छ। यस्तै किसिमका कार्यहरू पुमा-छिन्ताङ, मनाङे/न्यासाङ्ते, ग्याल्सुम्दो, मनाङ/गुरुङ र नार-फु आदि अल्पसङ्ख्यक भाषामा पनि भएका छन्।
भाषाको लोप र संरक्षण
भाषा निरन्तर हुनेतर्फ उन्मुख हुन्छ। एकातिर सशक्त भाषाहरू हुन्छन् भने अर्कातिर मृतप्राय: वा मृतभाषा हुन्छन् र, दुवैका बीचमा अन्तर्सम्बन्धित क्रमका भाषाहरू रहन्छन्।
हालसालै नेचर इकोलोजी एन्ड इभोल्युसन (२०२१) जर्नलमा लिन्डेल ब्रोम्ह्याम र अन्य अनुसन्धानकर्ताहरूले विश्वमा भाषाको लोपोन्मुखताबारे निम्न तथ्य औँल्याएका छन्। -भाषाहरू लोप हुने मुख्य कारण यातायातको वृद्धिले गर्दा मानिसको बसाइँसराइमा तीव्रता र मातृभाषाइतर भाषाका माध्यमबाट दिइने दीर्घकालीन औपचारिक शिक्षा हुन्।
-आगामी ४० वर्षमा भाषाको लोप हुने दर तीन गुणाले बढ्छ।
-प्रत्येक दुई हप्तामा एउटा भाषाको लोप हुन्छ।
-यो शताब्दीको अन्त्यसम्म संसारभरिका १५०० भाषाहरू लोप हुनेछन्।
नेपालका अधिकांश भाषाहरू सङ्कटग्रस्त कोटीमा र केही सशक्त कोटीमा पर्छन्। अधिकांश संकटग्रस्त भाषाको लेख्य परम्परा छैन र, ती भाषा कुनै न कुनै रूपमा एक पीढीबाट अर्को पीढीमा सर्दै मौखिक कुराकानीमा सीमित छन्। यस्ता अल्पसङ्ख्यक भाषा सीमान्तकृत भएकाले लोप हुने स्थितिमा पुग्न सक्छन्। तर, भारतको सीमामा बोलिने कतिपय साझा भाषा अन्य मुलुक वा क्षेत्रमा बोलिने भएकाले यी भाषाका वक्ता नेपालमा अल्पसङ्ख्यक भएतापनि सङ्कटग्रस्त भने भन्न मिल्दैन।
२०७८ को जनगणना अनुसार १२४ भन्दा बढी भाषामध्ये करिब २० वटा भाषा कुल जनसंख्याको ९७ प्रतिशतले बोल्छन् भने १०४ भन्दा बढी भाषा तीन प्रतिशतले बोल्छन्। न्यून बोलिने भाषाभाषीहरू छिटो लोप हुन सक्ने भएकोले तिनको संरक्षण अत्यावश्यक छ।
शिक्षामा भाषा प्रयोग
संकटग्रस्त भाषाको संरक्षणका लागि ती भाषालाई शिक्षामा प्रयोग गर्नु अनिवार्य देखिन्छ। शिक्षा नै प्रयोगको सरल र सशक्त माध्यम हुन सक्छ।
आज विश्वमा कुल ७,१६४ भाषा बोल्ने गरिन्छ (एथ्नोलग २०२४)। यी मध्ये दुई तिहाइ भाषा एसिया र प्रशान्त क्षेत्रमा बोलिन्छन्। एसिया र प्रशान्त क्षेत्रका धेरै देशले पाठ्यक्रममा स्थानीय मातृभाषाको प्रयोग गरेको पाइन्छ। अधिकांश बालबालिका आफ्नो मातृभाषाबाहेक अर्को कुनै भाषा वा विदेशी भाषामा अध्ययन गर्न बाध्य छन्। शैक्षिक दृष्टिकोणबाट हेर्ने हो भने निरक्षर, अल्पसङ्ख्यक र शरणार्थी समुदायमा यो अवस्था झनै भयावह छ। आफ्नो मातृभाषाभन्दा फरक भाषामा अध्ययन गर्दा विद्यार्थीका लागि दुई समस्या उत्पन्न हुन्छन्– एक त नयाँ र अपरिचित भाषा सिक्नुपर्छ र अर्को, आफ्नो वातावरणभन्दा फरक, नयाँ र अपरिचित ज्ञान सिक्नुपर्छ। परिवेशमा हुने यस्तो परिवर्तनबाट बालबालिकाको संज्ञानात्मक विकासमा नकारात्मक प्रभाव पनि पर्न सक्छ।
बालबालिकालाई विद्यालयमा सिक्न सजिलो होस् भनेर बहुभाषिक समुदायमा सङ्क्रमणीय बहुभाषिक शिक्षा प्रचलनमा रहेको पाइन्छ। राष्ट्रिय भाषा नीति सुझाव आयोगको प्रतिवेदन (२०५१) र केही अन्य अध्ययनले सुझावका रूपमा ‘सङ्क्रमणीय बहुभाषिक शिक्षा’ नीति लागू गर्ने प्रस्ताव गरेको छ। यस नीतिको कार्यान्वयन निम्न तीन चरणमा हुन्छन्:
चरण १: कक्षाकोठामा पूर्णतया मातृभाषा (पूर्व प्राथमिक कक्षादेखि कक्षा तीनसम्म) मार्फत अध्यापन गर्ने।
चरण २: बच्चालाई आफ्नो मातृभाषामा खेल्ने र लेख्ने सिप विकास गर्न र अर्को भाषा नेपाली (कक्षा चारदेखि कक्षा आठसम्म) सँग परिचित गराउन एउटा विषयको रूपमा सिकाउने।
चरण ३: नेपाली भाषामा बोल्न र साक्षर हुन सिकाउने र अंग्रेजी माध्यम (कक्षा नौदेखि कक्षा १२ सम्म) को रूपमा सुरु गर्ने।
विद्यालयमा शिक्षणको माध्यम भाषा मातृभाषा भएमा बालबालिकाले निम्न उपलब्धि हासिल गर्न सक्छन्: बुझ्न र सिक्न सजिलो, छिटो संज्ञानात्मक र बौद्धिक विकास, उच्च शैक्षिक सफलता दर, नयाँ भाषा सिक्न सजिलो, तथा अतिरिक्त लाभका रूपमा मातृभाषाको विकास र संरक्षण। नेपाली भाषा सिकेर सरकारी जागिर प्राप्त गर्न, सरकारी कामकाज, सूचना सम्प्रेषणमा र राष्ट्रिय स्तरमा सहज सम्पर्क र पहुँच हुन सक्छ।
विश्वका अधिकांश देशमा प्राविधिक शब्दावली अंग्रेजी भाषामा मात्र उपलब्ध छ। आर्थिक, राजनीतिक, शैक्षिक तथा अन्य कारणले अन्तर्राष्ट्रिय बसाइँसराइ तीव्र गतिमा बढिरहेको छ। यस्तो अवस्थामा विभिन्न भाषा बोल्नेहरूमाझ सम्पर्क स्थापित गर्न र विश्वव्यापी अन्तरक्रियालाई सहज तुल्याउन अंग्रेजी भाषाको ज्ञान आवश्यक भएको छ। विभिन्न विधामा जानकारी प्राप्त गर्नका लागि पुस्तकालयमा उपलब्ध पुस्तक, पत्रिका आदि मूलतः अंग्रेजी माध्यममा पाइन्छन्।
अर्थात् अंग्रेजी भाषालाई ‘पुस्तकालयको भाषा’ भनिन्छ। जनवरी २०२४ सम्म वेबसाइटहरूमा प्रयोग गरिएका भाषामध्ये अंग्रेजी सबैभन्दा सामान्य भाषा (५२.१% भन्दा बढी) हो। यही भाषाका आधारमा अंग्रेजी भाषाले विश्वमा सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता पाएको छ। यसको अर्थ के हो भने अंग्रेजीमा निपुण व्यक्तिले मात्र वेबसाइटमा उपलब्ध पाठ्यपुस्तक बुझ्न सक्छन्।
विभिन्न संकटग्रस्त भाषाको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षालगायत सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ। तर तिनको संरक्षण र सम्वर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ।
(मदन पुरस्कार गुठीद्वारा 'जगदम्बा श्री सम्मान २०८०' प्राप्त प्राध्यापक यादवले बिहीबार ललितपुरमा आयोजित समारोहमा व्यक्त मन्तव्यको सम्पादित अंश।)