Saturday, October 05, 2024

-->

एआई: सजिलो रोज्दा सिर्जनात्मकता मासिँदै!

कृत्रिम बुद्धिमत्तामाथि धेरै भर परिरहँदा कतै हामी सिर्जनशीलता र खोजको अन्तर्निहित मानवीय क्षमता/स्वभाव मेसिनलाई समर्पण गर्दै त छैनौँ?

एआई सजिलो रोज्दा सिर्जनात्मकता मासिँदै

दिनको शुरूआत गर्दा तपाईं कत्तिको ‘डिजिटल सपोर्ट’ लिनुहुन्छ? स्मार्ट अलार्मले अचेल ‘स्लिप साइकल’ आधारित अनुकूल समयमा मान्छेलाई ब्युँझाउन थालेका छन्। उठ्नेबित्तिकै विभिन्न डिजिटल असिस्टेन्टले व्यक्तिगत प्राथमिकताअनुरूप तपाईंका लागि समाचार चयन गरेर राखिदिएका हुन्छन्। अलेक्साजस्ता ‘स्मार्ट होम डिभाइस’ले त समाचार पढेरै सुनाइदिन्छन्। आफू कुर्सीमा बसेर चिया/कफी पिइरह्यो, टेबलमा रहेको आदेशपालक कामदारजस्तो अलेक्साले तपाईंले चाहेको समाचार पढ्दिइरहेको हुन्छ।

बत्तीको स्विच खोल्ने र बन्दलगायत सहयोगीको काम पनि यसले गरिदिन्छ। कतिपय डिजिटल क्यालेन्डरले तपाईंको दिन, हप्ता र महिनाभरको कामबारे झकझकाइदिन सक्छन्। के भन्न खोजिएको भने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अब दैनिक प्रयोगमा आइसकेको छ, कसैले त्यसको धेरै प्रयोग गर्लान् त कसैले कम। एआईको प्रयोगले हाम्रो जीवन सहज र सुविधायुक्त बनेकोमा अब कुनै विवाद छैन।

च्याट जीपीटीजस्ता ‘जेनेरेटिभ एआई’को व्यापक प्रयोगले एआईमाथिको छलफललाई थप बढाएको छ। कतिले त च्याट जीपीटी मात्रै एआई हो भन्ने भन्ठान्छन् तर आर्टिफिसियल इन्टेलिजेन्सको उत्पत्तिको इतिहास बुझ्न हामी अलि पछाडि फर्किनुपर्ने हुन्छ। वास्तवमा प्रविधि–पारखीमाझ ‘बजवर्ड’ बन्नु धेरैअघि एआई आफ्नै हिसाबले मन्द गतिमा दशकौँदेखि विकसित हुँदै आएको छ। 

क्षेत्रगत हिसाबले एआई अवधारणाको जन्म सन् १९५६ मा डार्टमथ कलेजको एक सम्मेलनबाट शुरू भयो, जहाँ जोन म्याकार्थी र मार्विन मिन्स्कीजस्ता वैज्ञानिकले भविष्यमा मेसिनले मानवबुद्धिको नक्कल गर्न सक्ने परिकल्पना गरे। यस भेलाले चासो जगाएसँगै एलेन नेवेल र हर्बर्ट ए साइमनद्वारा डिजाइन गरिएको ‘लजिक थियरिस्ट’जस्ता प्रविधिले प्रारम्भिक एआईको विकासमा योगदान गरे। गणितीय थियरेम प्रमाणित गर्ने उक्त यन्त्र जटिल समस्याको समाधान गर्ने प्रविधिको सफल उदाहरण थियो।

एआईले धेरैजसो मानिसलाई आकर्षित गरेको छ भने कतिपय अवस्थामा चिन्तित पनि तुल्याएको छ। उदाहरणका लागि सोफिया नामक मानव-रोबोटलाई साउदी अरब सरकारले सन् २०१७ मा नागरिकता दिएपछि सो समाचारले विश्वभर चर्चा बटुल्यो। सोफिया सन् २०१८ मा नेपाल आउँदा तिनलाई हेर्न र सुन्न ठूलो उत्साहित जमात भेला भएका थिए।

अलिपछि सीएन्बीसी टेलिभिजन प्रसारणमा ह्यान्सन रोबोटिक्सका वैज्ञानिक डा. डेभिड ह्यान्सनले मजाक गर्दै सोफियालाई सोधे, “के तपाईं मानवहरूलाई नष्ट गर्न चाहनुहुन्छ?” जवाफमा सोफियाले अप्रत्याशित रूपमा भनिन्, “हो, म मानिसलाई नष्ट गर्नेछु।”

यो अनौठो प्रश्नोत्तरले एआईको भविष्य र मानव सभ्यताबारे नै बृहत् छलफल निम्त्यायो। यस्ता घटनाका आधारमा भन्न सकिन्छ कि एआई केही समययता चासो र चिन्ता दुवै बनेको छ, जसले यसको व्यावहारिक प्रयोगमाथि हुनुपर्ने बहसलाई ओझेल पारेको छ। 

जटिल समस्या समाधान गर्ने या मानिससँग नयाँ–नयाँ किसिमले अन्तर्क्रिया गर्ने क्रममा यसको इतिहास उत्साह र विवाद दुवैले भरिएको छ। यसको जरा हामीले सोचेभन्दा गहिरो रूपमा समाजसँग जोडिएको छ।  

एकछिन जाऊँ १९७० को दशकतिर। त्यतिखेर सिद्धान्तको परिधिबाट निस्किएर एआई व्यावहारिक हिसाबले अगाडि बढिसकेको थियो। सन् १९७९ मा स्ट्यान्फोर्ड कार्ट नामक रोबोट मानवीय सहायताबिनै एउटा कोठामा यताउता गर्न सक्षम भयो। ढिलै भए पनि यो अटोनोमस (स्वायत्त) रोबोटिक्स सफलताको प्रारम्भिक प्रदर्शन थियो। यसले चलायमान र गतिशील एआईको भविष्यको सुखद संकेत दिएको थियो। 

एआईले कोठा वारपार गरेको ‘क्रान्ति’पछि फर्किऊँ अहिलेको विश्वमा। कुनै दिन अतिरञ्जित कल्पनाझैँ लाग्ने ड्राइभरलेस (स्वचालित) कारको अवधारणा विश्वका विभिन्न भागमा तथ्य भइसके। अहिले त रोबोटले शल्यक्रिया गरिरहेका छन्। नेपालकै सन्दर्भमा ट्राफिक नियमन गर्न, बालीमा कीरा लाग्ने समस्या समाधान गर्नदेखि स्वास्थ्य जाँच सहज गर्न एआईको प्रयोग भइरहेको छ। घर बसीबसी बैंकिङ सुविधा, टिकट बुकिङ, खाना डेलिभरी, राइड शेयरिङ आदि हाम्रो दैनिकीको अभिन्न भाग भइसके। यी सबै एआईको अविश्वसनीय विकासका प्रमाण हुन्।

तर यी सबै सुविधाबीच हामीले के गुमाउँदै गएका छौँ, विचार गर्नुभएको छ? कृत्रिम बुद्धिमत्तामाथि धेरै भर परिरहँदा कतै हामी सिर्जनजनशीलता र खोजको अन्तर्निहित मानवीय क्षमता/स्वभाव मेसिनलाई समर्पण गर्दै त छैनौँ? दक्षताको खोजी गरिरहँदा जीवनलाई समृद्ध र रंगिन बनाउने मानवीय तत्त्व हामी बिर्सिरहेका त छैनौँ? 

हाम्रो दैनिक जीवनमा एआईको दक्षता विशेषगरी कार्यालय र शिक्षालयमा देख्न सकिन्छ। ग्रामर्लीजस्ता एप्लिकेसनले प्राज्ञिक लेखनमा सहयोग गर्नेदेखि प्रोजेक्ट म्यानेजमेन्टसम्बन्धी एपले दैनिक कार्य र परियोजनालाई व्यवस्थित राख्न मद्दत गर्छन्। यद्यपि आर्टिफिसियल इन्टेलिजेन्सको निरन्तरको सहयोग र यसमाथिको निर्भरताले गम्भीर प्रश्न खडा गर्छ।

हामी आफ्नो संज्ञानात्मक (कग्नेटिभ) प्रक्रियामा मेसिन कत्तिको सहभागी गराउँदैछौँ, आउटसोर्स गर्दैछौँ? उदाहरणका लागि एक लेखकबारे कल्पना गर्नुहोस्, जसका विचार एआईको सहायताद्वारा उत्पन्न हुन्छन्। प्रविधिले विचार जगाउन त सक्छ, तर के त्यसले लेखकको वास्तविक आवाजलाई कमजोर पार्ने जोखिम हुँदैन? कतै हामी अद्वितीय प्राकृतिक मानव कथाहरूको सिर्जना छोडेर एआई उत्पादित सामग्रीको क्युरेटर मात्र बन्ने खतरनाक दौडमा त छैनौँ?   

आईबीएम निर्मित वाट्सनकै उदाहरण हेरौँ। यो एआई सिस्टम सन् २०११ मा ज्योपार्डी नामक टेलिभिजन क्विज शोमा दुई पूर्वविजेतालाई पराजित गर्दै चर्चामा आएको थियो। प्रविधि इतिहासमा वाट्सनको यो कथा कोशेढुंगा मात्र थिएन, यस यन्त्रले मानवझैँ नै प्रक्रियागत र प्राकृतिक रूपमा भाषा बुझ्न सक्छ भन्ने राम्रो उदाहरण पनि थियो। आज डाटा सञ्चालित निर्णयहरू लिन, स्वास्थ्य सेवा र वित्तसम्बन्धी पेसाकर्मीलाई सहयोग गर्न वाट्सनको प्रयोग भइरहेको छ। तैपनि यसले प्रश्न खडा गर्छ, मानिसले परम्परागत रूपमा गर्ने कामहरू गर्न एआई निपुण हुँदैगर्दा यसले हाम्रो रचनात्मक क्षमता घटाउनुको सट्टा बढाउँछ भनेर कसरी सुनिश्चित गर्नसक्छौँ?

अन्वेषण र निरन्तरको प्रयोगले रचनात्मकता फस्टाउँछ। प्याट्रन (ढाँचा) र इफिसियन्सी (दक्षता)मा आश्रित आर्टिफिसियल इन्टेलिजेन्सले भने प्राय: अनुमानित परिणामतिरै डोहोर्‍याउँछ। उपयोगी टुल (‍‍‍औजार) र विचार सिर्जना गरे पनि एआईका सीमा हुन्छन्। यसले हाम्रो रचनात्मकता सीमित गर्ने जोखिम सधैँ रहन्छ। फेरि पनि हामी त्यही प्रश्नतिर फर्किन्छौँ–यी सुविधाका खातिर हामी हाम्रो युनिक थट्स (विलक्षण सीप/स्वभाव) गुमाउन तयार छौँ?

सूचना प्रविधिका जानकार, मेरा एक साथीसँग यस विषयमा बुझ्न चाहेँ। उनले चाखलाग्दो प्रतिक्रिया दिइन्, “एआईमा बढ्दो निर्भरताले नयाँ आविष्कारको प्रक्रिया मात्र होइन, मानवीय भावना महसुस गर्ने हाम्रो तरिकामा पनि बदलाव ल्याइरहेको त छैन?” अनुमान-आधारित यस प्रविधिले दिने विकल्पले हामीलाई न्यून व्यक्तिगत सिर्जनात्मकतासहितको एकोहोरो भावनात्मक बाटोतिर डोहोर्‍याउँछ कि भन्ने उनको प्रतिजिज्ञासा थियो। 

एआई हाम्रो जीवनमा थप जोडिँदै गर्दा मानव शील्प र रचनात्मकतामाथि यसको प्रभावबारे सोच्न आवश्यक छ। बेलायतको चर्चित फर्म प्राइस वाटरहाउस कूपरका अनुसार एआई प्रविधिले सन् २०३० सम्म विश्व अर्थतन्त्रमा १५.७ ट्रिलियन डलर थप्ने अनुमान छ। भविष्यमा आर्टिफिसियल इन्टेलिजेन्स कत्तिको शक्तिशाली बन्दैछ भन्ने सूचक हो यो अनुमान। तर प्रविधिको विकासमा यस्तो प्रगति हुँदैगर्दा हाम्रो रचनात्मकताको मूल्यमा असर पार्न नदिनेबारे पनि मानव जाति उत्तिकै सजग रहनुपर्छ। एआईमाथि पूर्ण निर्भर भई मानव रचनात्मकतामा त्यसलाई हाबी हुन दिनेभन्दा पनि हाम्रो सिर्जनात्मकता बढाउन त्यसको प्रयोग गर्नुपर्छ।

नयाँ विचार र आफूले नदेखेका सम्भावना अन्वेषण गर्न एआई सहयोगी साथी हुनसक्छ। हाम्रो भविष्य दक्षता र रचनात्मकता बीचको छनोट हुनुपर्दैन। एआई प्रयोग गर्ने तरिकामा हामी सचेत हुनसके यो प्रविधिलाई हाम्रो सभ्यताको कथा भन्ने दरिलो माध्यम बनाउन सक्छौँ। आखिरमा मानव इतिहास भनेकै नयाँ विचार, रचनात्मकता र नवीन प्रयासमा आधारित ‘इनोभेसन’को कथा न हो।


सम्बन्धित सामग्री