Friday, September 20, 2024

-->

फेरि पनि लालुकै कुरा!

लालुराजको पहिलो पाँच वर्षमै हजारौँ वञ्चितले पक्की घर पाएका थिए, लाखौँ गरिबका बच्चाबच्चीको पहिलोचोटि स्कुलसँग साक्षात्कार भएको थियो। समाजको दायराबाहिर रहेकालाई आफ्नो हिस्सा दाबी गर्न अगाडि ल्याएका थिए।

फेरि पनि लालुकै कुरा

लालुले तपाईंलाई खान दियो? 

–छैन

घर दियो? 

–छैन 

लुगा दियो? 

–छैन

तपाईंहरूका लागि के काम गर्‍यो त? 

–उहाँले हामीलाई स्वर दिनुभयो।

(लालुका आलोचक र सर्वसाधारणबीचको संवाद, गोपालगन्ज से रायसीना, लालुप्रसाद यादव, नलिन वर्मा)  

स्वर दिनु मात्र पनि सानो कुरा थिएन, तीन दशकअघिको बिहारी समाजको पिँधमा रहेकाहरूले ठालुका हवेली अघिल्तिरबाट गुज्रँदा खुट्टामा लगाएको चप्पल हातमा बोक्नपर्ने समाजमा। दलित समुदायको बेहुला घोडा चढेर आफ्नो घर अघिल्तिरको बाटोबाट गुज्रँदा तथाकथित उच्च जातकाले पिटपाट गरेका समाचार अहिले पनि देख्न/सुन्न पर्ने भारतको पनि पुछारमा रहेको बिहारमा त्यस बखत दलितको अवस्था कल्पना गर्दा पनि कहालीलाग्दो सुनिन्छ। 

यस्तो अवस्थाको बिहारमा आफ्नो १५ वर्षे शासनको दौरान पिँधको वर्गमा जुन आत्मविश्वास लालुप्रसादले भरे, तिनका लागि सो करोडौँको थियो। यस्ता लालुसँग दुई वर्षअघि मात्रै राजनीतिमा हाम्फालेका रवि लामिछानेसँग तुलना गर्नु सर्वथा अनुचित हुन्छ। लालुप्रसादले मुख्यमन्त्री हुनेबित्तिकै गरेको ‘स्टन्ट’ र देखाएका सपना र अन्ततोगत्वा ‘चारा घोटाला’मा अभियोग प्रमाणित भई चुनावै लड्न अयोग्य घोषित भएको घटना रवि एन्ड राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सान्दर्भिक बनाउन मात्र अघिल्लो लेखमा खोजिएको थियो। (स्पष्टीकरण: आफ्नै अघिल्लो लेखको सफाइका रूपमा यो लेखलाई बुझ्नूस्, जसमा प्रतिक्रिया स्वरूप समृद्ध घिमिरेको अर्को लेख प्रकाशित थियो।)

‘त्यो भयंकर गर्मीको दिन थियो। पार्टीको प्रचारको क्रममा एउटा मुसहर गाउँ पुनपुन पुगेको छु। रमिता हेर्न आएको भीडमा फाटेका लुगा लगाएकी लक्ष्मीनियाँ काखमा बच्चा बोकेर उभिएको देख्छु। सुरक्षाकर्मी र पार्टीका स्वयंसेवकलाई मनाउँदै मेरा नजिकतिर आउन प्रयास गरिरहेकी लक्ष्मीनियालाई देख्नेबित्तिकै नजिक आउन दिन आदेश दिन्छु।

लक्ष्मीनियाँ यहाँ के गरिरहेकी?

–भैया मेरो बिहा भयो, यहीँ। तपाईं आउने सुनेरै भेट्न आएकी हुँ।

बहिनी कहाँ छे?

–उसको पनि यतै नजिकै बिहा भएको छ।’

तिमीले चाहेको बेला भेट भइहाल्छ भन्दै मुख्यमन्त्री लालु बहिनीलाई पनि लिएर आउन भन्छन्। उसको बच्चालाई एक छिन काखमा लिएर दुई सय रुपियाँ हातमा हाल्दिन्छन्। 

‘लक्ष्मीनियाँका आँखा आँसुले भिजे, खुशीका आँसु थिए,’ लालुप्रसाद लेख्छन्, ‘मैले उसलाई बच्चालाई स्कुल पठाउनुचाहिँ भने।’ (लालुप्रसादकै आत्मकथा, गोपालगन्ज से रायसीनाबाट)

लालुले बाल्यकालदेखि आफ्नो बन्दोबस्त नभएसम्म बिताएको पटनाको पशु चिकित्सा महाविद्यालयको चपरासी क्वार्टर नजिकैको मुसहरी (मुसहर बस्ती) की थिइन् लक्ष्मीनियाँ, जहाँ लालु खेल्न र गफ चुट्न पुगिरहन्थे। ‘मैले लक्ष्मीनियाँलाई बच्चालाई पढाउनु त भनेँ तर तिनका लागि स्कुल नै कहाँ थियो र?’ लालु लेख्छन्, ‘मुसहर, पासी, चमार, नोनिया, कहार आदिलाई त अछुत मात्रै मानिएको थिएन, पढ्न अयोग्य ठहर्‍याइएको थियो।’ 

उनले ती समुदायका बालबालिका पढ्न तीन सय स्कुल खोल्ने निर्णय गरे, पहिलो स्कुल लक्ष्मीनियाको गाउँ पुनपुनमा खुल्यो। गाईबस्तु हेरचाह गर्नुपर्ने भई स्कुल जान नसक्नेका लागि १५० चरवाहा विशेष विद्यालय खोलिए। दलित विद्यार्थीका लागि मासिक १०० भारु भत्ताको व्यवस्था गरियो। गरिब विद्यार्थी अब गाई, भैसी, सुँगुर, बाख्रासहित स्कुल जानसक्थे। चरननजिकै चरवाहा स्कुलको व्यवस्था गरियो। गाईबस्तु चर्थे, नजिकै स्कुलमा बालबालिका पढ्थे। यी स्कुलमा ‘मिड डे मिल’को बन्दोबस्त गरियो। किताब, कापी र पेन्सिल निःशुल्क थियो। सन् १९९१–१९९३ मै सीमान्तकृत समुदायका ४१ लाख बालबालिका स्कुल भर्ना भए।

नाबालिग लालुलाई ईंटको टुक्राले स्लेटमा केही कोर्दै गरेको देखेपछि स्थानीय जमिनदारले कुनै दिन ‘घोर कलयुग, अब ग्वार (यादव) को बच्चो पनि पढ्न थाल्यो। ब्यारिस्टर बनाउने विचार छ?’ भन्दै कुनै बेला व्यङ्ग्य कसेका थिए। जम्माजम्मी एक बिघा जमिन, पशु चौपायाभन्दा बढी भन्ट्याङभुन्टुङ बालबालिका भएको परिवारमा जन्मिएका लालु मुख्यमन्त्री भएपछि आमासँग संवाद–

लालुः माई, हम मुख्यमन्त्री बन गयिनी (आमा म मुख्यमन्त्री भएँ)

आमा: इ का होला (यो भनेको के हो?)

 लालुः इ जे हथुआ महाराज बाडन, उनको से बड  (हथुआ महाराजभन्दा पनि ठूलो)

आमा: अच्छा ठिक बा जाय दे, लेकिन तहरा  सरकारी नौकरी ना नु मिलल (त्यो त ठिकै छ कि, तर तैंले सरकारी जागिर थोडै पाइस्) 

यस्तो सामाजिक पृष्ठभूमिबाट आफूलाई रूपान्तरण गर्नतिर लागेनन्। पटना विश्वविद्यालयमा विद्यार्थी राजनीति शुरू गरेका लालुप्रसाद सन् सत्तरीको दशकमा जयप्रकाश नारायण नेतृत्वमा भएको ‘सम्पूर्ण क्रान्ति’ (सडक आन्दोलन) बाट उदाए, सन् १९७५ मा प्रधानमन्त्री इन्दिरा गान्धीले इमर्जेन्सी घोषणा गरेपछि जेल परेका उनी सन् १९७७ मा जनता पार्टीको टिकटमा छपराबाट मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय हतकडीमै पुगेका थिए। 

यसो हुँदा, लोकतन्त्रको लागि भएको सडक आन्दोलनमा ढुंगा हान्नेहरूलाई गिज्याउँदै राजनीति शुरू गरेकासँग लालुप्रसादको राजनीतिक जीवनको तुलना गर्ने कुरै हुँदैन। पिछडावर्गको सशक्तीकरणमा लालुप्रसादले जे गरे, ‘ब्यालेट’बाट प्राप्त शक्तिकै भरमा गरे। नेपालमा यत्तिकै सशक्तीकरणमा माओवादीले दशक लामो सशस्त्र युद्ध गर्‍यो, जसको मूल्य साह्रै चर्को भयो। फेरि हतियार बिसाएपछि माओवादीका लागि सीमान्तकृत समुदाय सत्ताबाट बाहिरिनुअघि गरिने भावुक भाषणमा सीमित हुँदै गएको छ।

लालुराजको पहिलो पाँच वर्षमै हजारौँ वञ्चितले पक्की घर पाएका थिए, लाखौँ गरिबका बच्चाबच्चीको पहिलोचोटि स्कुलसँग साक्षात्कार भएको थियो। समाजको दायराबाहिर रहेकालाई आफ्नो हिस्सा दाबी गर्न अगाडि ल्याएका थिए उनले। ती समुदायका कतिपयले त पहिलोचोटि भोट दिन पाएका थिए। पाँच लाख घरबारविहीनलाई घर बनाउन सघाइएको थियो, रिक्सा चालक–दिहाडी मजदुरका लागि १०० रैनबसेरा (धर्मशाला) बनाइएको थियो। लालु नेताभन्दा पनि परोपकारी सुनिन्थे। (द ब्रदर्श बिहारी, संकर्षण ठाकुर)

सीमान्तकृत समुदायले जन्मजन्मान्तर नबिर्सिने काम गरेका लालुप्रसादको समीक्षा उनका असल–कमसल पक्ष उधिनेर गर्न पर्ने हुन्छ, न कि देवत्वकरण। उनको शासनकालमा बिहारको आर्थिक विकास दर एक प्रतिशत हाराहारीमा रह्यो। शान्ति सुव्यवस्थाको यस्तो खस्ता हालत कि भएका उद्योगधन्दा बन्द गरी व्यवसायी पलायन हुन बाध्य भए। लालुराजमा बिहारी अपराधीद्वारा वीरगन्जबाट अपहरणमा गरेका व्यवसायी मनोज दास र राकेश चाचानलाई गतिलो फिरौती नदिई कसैगरी मुक्त नभएको रिपोर्टिङ आफैँ गरियो। 

एकचोटि अपराधीको चंगुलमा परिसकेपछि बिहारमा फिरौती नदिई सुख्खै थिएन। अपराधीजति राज्य सरकार संरक्षित थिए। पीडित पक्षकै सूचना संयन्त्रले भरपर्दो सूचना दिए पनि मुक्त गराउन बिहार पुलिस उदासीन हुनेगर्थ्यो। शिवानमा मोहम्मद शाहबुद्दीनको राज चल्थ्यो, पुर्णियामा पप्पु यादवको। यस्तै गुण्डाहरूको समर्थन लालुलाई हुन्थ्यो, लालुको संरक्षण यिनीहरूलाई। यसैले १५ वर्षे लालुराजलाई आलोचकहरू जंगलराज भन्ने गर्छन्। 

यसैले पनि सन् २००४ मा सत्ताबाट बाहिरिएपछि लालुराज फर्किन सकेको छैन। लालुप्रसादका सामाजिक न्यायको अजेन्डालाई छाड्दै नछाडेका नितिशकुमारले शान्ति–सुव्यवस्थामा सुधारसँगै पूर्वाधार निर्माणलाई प्राथमिकता दिएपछि पछाडि फर्किनुपरेको छैन। सोही कारण पल्टूराम छविका बाबजुद भख्खरै सम्पन्न लोकसभा चुनावमा नितिशकुमारको जनता दलले १२ सिट जित्दा लालुप्रसादको राष्ट्रिय जनता दल (राजद)ले चार सिट मात्र जित्न सक्यो।

लेखक संकर्षण ठाकुरले द ब्रदर्श बिहारीमा बिहारमा जंगलराज लालुअघिका जगन्नाथ मिश्रकै पालामा उचाइमा पुगिसकेको तथ्यांक र केही प्रतिनिधिमूलक घटनासहित विश्लेषण गरेका छन्। सन् १९८० नोभेम्बरमा केही विपक्षी विधायक गोलीले घाइते विधायक रामदेव सिंहलाई स्ट्रेचरमा लिएर विधानसभामै पुग्छन्। कांग्रेसबाट निर्वाचित सिंहलाई मिश्र नेतृत्वको कांग्रेस सरकारमै वित्त राज्यमन्त्री प्रभुनाथ सिंहको आदेशमा गोली हानिएको थियो। गोली हनाउने प्रभुनाथलाई पछि मन्त्रालय परिवर्तन गरी ‘दण्डित’ गरिएको थियो। 

राजनीतिको अपराधीकरण उतिबेलै भइसकेको थियो। १९८०–९० को दशक शासन चलाउँदा कांग्रेसले ६ चोटि मुख्यमन्त्री फेरबदल गर्‍यो। ‘प्रत्येकले कुशासन थप्न योगदान गरे,’ ठाकुर लेख्छन्, ‘आफ्नो हिस्साको त्रासदी थपे।’ १२ सय बढीको ज्यान जानेगरी भागलपुर दंगा यही कालखण्डमा भयो (अक्टोबर १९८९)। ‘जंगलराज जगन्नाथ मिश्रको पालमै थियो,’ लेख्छन्, ‘फरक यत्ति हो, उति बेला जंगलको शेर ब्राह्मण, राजपूत र भूमिहार हुन्थे, लालुकालमा फरक जातिका शेर भए।’  

पिछडा वर्ग/समुदायका मसिहा लालुप्रसादले चारा घोटालामा अभियोग पत्र दर्ता भई पद त्याग्नपर्ने भएपछि निरक्षर श्रीमतीलाई मुख्यमन्त्री बनाउन आफ्नो पार्टी जनता दल नै फुटाए– पार्टीको केन्द्रीय नेतृत्व रावडीदेवीलाई मुख्यमन्त्री बनाउन रेडी नभएका कारण। लालुले श्रीमतीलाई ‘भोलि मुख्यमन्त्री मुख्यमन्त्रीको शपथ लिनु छ’ भनेपछि श्रीमान‍्लाई भ्रष्टाचार मुद्दा लागेर तनावमा रहेकी रावडीदेवी डाँको छोडेर रोएकी थिइन्। उनी यति आत्तिएकी थिइन कि घरमा लगाउने चप्पलमै मुख्यमन्त्रीको शपथ लिन पुगेकी थिइन्। ‘साहेबको अर्डर छ र यो झन्झट उठाइरहेकी छु,’ मुख्यमन्त्री छँदा उनी भन्ने गर्थिन, ‘मलाई कहाँ फसाइदिए भने!’ 

कटु आलोचक मृत्युञ्जय शर्मा (लेखक, ब्रोकन प्रमिसेज) का अनुसार मुख्यमन्त्री भई बडेबडे वादा गरेको केही दिनमै लालुप्रसादलाई लाग्यो– यो विकास भन्ने त बडा लम्बेतान प्रक्रिया हुन्छ, आज शुरू गर्‍यो नतिजा आउने त कहिले–कहिले। त्यसपछि लालुप्रसाद चुनाव जित्ने, भोट बैंकको राजनीति शुरू गर्छन्। यादव, मुस्लिमसहित पिछडा र अति पिछडा समुदायलाई संगठित गरी भोट ग्यारेन्टी गर्ने सोसल इन्जिनियरिङको राजनीति। झन्डै २० प्रतिशत पिछडा, ३२ प्रतिशत पिछडा र १२ प्रतिशत मुस्लिम आबादी भएको बिहारमा कुनै बेला ४० प्रतिशत भोट त लालुको गोजीमै थियो।  

पत्नीलाई मुख्मन्त्री बनाउन अड्डी कस्दै आरजेडी बनाएका उनले पार्टीलाई पारिवारिक बनाएका छन्। दुईचोटि उपमुख्यमन्त्री भइसकेका कान्छा छोरा तेजस्वी पार्टीका नेता छन्, जेठा छोरा तेजप्रताप आरजेडी दुईचोटि नितिश सरकारमा रहँदा मन्त्री रहे। भख्खरै सम्पन्न लोकसभा चुनावमा उनका दुई छोरी मिसा भारती र रोहिणी आचार्यले प्रतिस्पर्धा गरेकामा मिसा चुनाव जित्न सफल भइन्। दिल्लीदेखि पटनासम्मै सन्तानलाई स्थापित गराउने लालुको प्रयत्न जारी छ। आफ्ना छोराछोरी राजनीतिमा सक्रिय हुनु उनलाई सामान्य लाग्छ। ‘वकिल, लेखक, प्रोफेसर, डाक्टरका सन्तानले अभिभावकको पेसा अपनाउँदा त गलत लाग्दैन त,’ आत्मकथामा उही घिसापिटा स्पष्टीकरण दिन्छन्, ‘मातापिताको पेसा व्यवसाय अपनाउँदा अभिभावकको कर्तव्य हुन्छ उसलाई सघाउनु।’  तेजस्वी 'बडे नेता' बन्ने दिशामा छन् भन्दै उनी आत्मकथामा गर्व गर्छन्। 

लालु बाल्यकालमा खेलमा हार स्विकार्थेनन्, टिमले हार्न थालेपछि झेली गरेर खेलै भाँड्ने उनको बानी थियो। खुराफातमा बाल्यकालदेखि माहिर उनी ताडी सित्तैमा पिइदिन्थे। कसैले दिएन भने एयर राइफलले मट्का फोर्दिन्थे। राजनीतिमा पनि उनको यस्तो बरकरार रह्यो। विशेषज्ञको टिम बनाएर सुशासन/पूर्वाधार निर्माण आदिलाई प्राथमिकतामा राख्ने रुचि देखिएन। चारा घोटालाकै लागि पुर्पक्षका लागि जेल जान पर्ने भएपछि गेस्ट हाउसलाई जेल घोषणा गरियो, मुख्यमन्त्री आवासमा उपलब्ध सबै सेवासहित उनले तथाकथित जेलबाटै राजकाज चलाए। अदालतले कडा आपत्ति जनाएपछि वास्तविक जेलमै पनि बस्न त बसे, तर सेवा/सुविधाका साथ राजकाज चलाइरहे।


सम्बन्धित सामग्री