Monday, December 02, 2024

-->

सुरक्षित कार्यस्थल कसको जिम्मेवारी?

कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने अभ्यास नेपालमा मात्रै नभएर संसारका प्राय: सबै देशमा छ। तर के अन्य देशमा जस्तै नेपालमा काम गर्ने स्थान सुरक्षित र मर्यादित छन् त?

सुरक्षित कार्यस्थल कसको जिम्मेवारी

“म सर्ट फिल्म एकदमै मन पराउने मान्छे। कहिलेकाहीँ त दिनमै पाँचसात वटा सर्ट फिल्म हेरिभ्याउँथेँ। एक दिन त्यस्तै एउटा चलचित्र हेर्दै थिएँ। जहाँ देखाइएको एक दृश्यले मेरो मनमस्तिष्क हल्लाइदियो। त्यस्तै व्यवहार केही वर्षअगाडि काम गर्ने ठाउँमा मैले भोगेकी थिएँ। खासमा मलाई म्यानेजरको व्यवहार अलि असहज त त्यतिबेलै लाग्थ्यो, तर मैले मेरै हितका लागि हो भन्ने बुझेकी थिएँ। जब मैले त्यो चलचित्र हेरेँ तब मलाई डर लाग्न थाल्यो। म पाँचसात वर्षअघिको समयमा पुगेँ। केही काम गर्दैगर्दा म्यानेजर आएर ढाडमा धाप मार्ने, ब्रा वरपर सुमसुम्याउँदै ‘अनि काम सकियो त? कस्तो हुँदैछ?’ भन्दै शरीर पूरै टाँसेर कुरा गर्थ्यो। मैले केही राम्रो गरेँ भने पनि अलि फरक तरिकाले ‘ल बधाई छ’ भन्थ्यो। अनि साँझ अफिस छुट्टी भएपछि ‘कफी खान जाम्, सिनेमा हेर्न जाम्’ भन्ने गर्थ्यो। धेरै पटक म ऊसँग कफी खान गएको छु। मैले थाहा नपाउने गरी मेरो स्तनमा हात लैजाँदा र लडेजस्तो गरेर यौनांगमा हात पुर्‍याउँदासमेत उसले जानेर त्यसो गरेको भन्ठान्दैनथेँ, तर उसको त नियतमै खोट रहेछ। त्यो चलचित्र हेरेपछि मलाई एकदमै रिग्रेट हुन थाल्यो। भनौँ कसलाई भनौँ, नभनौँ यही कुराले आफूलाई भित्रभित्रै खाइरहेको छ।”

यति भनिनसक्दै उसको अनुहार निन्याउरो बनिसकेको थियो। आँखा टिलपिल भइसकेका थिए। पक्कै पनि उनको मनमा ‘भनौँ भने यतिका समय लगाएर बिर्सिन खोजेको कुरा, नभनौँ कतिन्जेल मनमा गुम्साएर बस्ने?’ भन्ने दोधारले छटपटी पैदा गरिरहेको होला। यस्तो दोधार उनको अनुहारमै आएर बसेजस्तो प्रस्टै देखिन्थ्यो। उसलाई एकटक हेरिरहेका हामी एकअर्कालाई बेलाबेला पुलुक्क हेर्थ्यौं। हामीले उनका पुराना कुरा कोट्याएर गलत पो गर्‍यौँ कि भन्दै आफैँलाई पनि प्रश्न गर्‍यौँ।

तर लामो संवादपछि उनी आफ्ना कुरा सुनाउन तम्तयार भएर हामीसँग भेट्न आएकी थिइन्। सायद मनको बाँध खोल्न उनलाई दकस परेको होला। एकछिन आँसु झारेपछि उनले आफैँले काम गर्ने ठाउँमा आफूजस्तै कर्मचारीबाट कसरी दुर्व्यवहारमा परिन्, सो कथा सुनाउन थालिन्। 

गुलाबी संवाद पडकास्ट शुरू गरेपछि हामीसँग कैयन् श्रोताहरू जोडिएका थिए। तीमध्ये धेरैले आफ्नो परिचय शुरूमै खुलाउन अप्ठ्यारो मान्थे। खासगरी फेसबुक र इन्स्टाग्राममार्फत जोडिएकामध्ये केहीले आफूमाथि विभिन्न कालखण्डमा भएका यौनहिंसा र दुर्व्यवहारका घटना कहिले संक्षेपमा त कहिले संकेतमा बताउँथे। कतिपयले यस्ता घटनाको थोरै हिस्सा सुनाएर संवादबाटै गायब हुन्थे। कोही भने भेटेर मात्र सबै कुरा सुनाउन र मन हलुंगो पार्न चाहन्थे। एक जना यस्तै अर्की युवती थिइन्, जो हामीसँग सामाजिक सञ्जालको संवादपछि भेट्न तयार भएकी थिइन्। 

एउटा कफीसपको कुनामा हामी बसेका थियौँ। उनको अनुहार फुंग उडेजस्तो देखिन्थ्यो। तर उनले दुवै हात यसरी जोडले मुट्ठी पारेकी थिइन कि उनी आज सबै कुरा सुनाएर मन हलुंगो पार्छु भन्नेमा अडिग देखिन्थिन। सामान्य औपचारिक संवाद र एक सुर्को कफीपछि जब उनी बोल्न थालिन्, हामी मौन बस्यौँ। 

“जाडो मौसमको साँझ। अफिस छुट्टी भैसकेको थियो। सबै जना घर जाने तरखरमा थिए। म भने सक्नैपर्ने काम भएकाले एकैछिन बसेर भए पनि सक्ने तयारीमा थिएँ। १५ मिनेट जतिमा मैले काम सकेँ। बाहिर अँध्यारो भइसकेको थियो। फटाफट कम्प्युटर बन्द गरेँ, ब्याग ठिक्क पारेँ अनि निस्किएँ। पार्किङमा राखेको स्कुटर निकाल्दै थिएँ, सँगै एउटै कोठामा बसेर काम गर्ने एक जना सिनियर स्टाफले ‘के छ त?’ भन्दै पछाडिबाट मलाई च्याप्प समायो। म डरले शीतांग भएँ। उसको हात मेरो छातीमा थियो। बेस्सरी बल गरेर मैले उसको हात झट्कार्दै कराएँ। अनि ऊ त्यहाँबाट केही नभएझैँ गरेर लुसुक्क निस्कियो।”

यति कुरा सुनेपछि हामीले लामो सास तान्यौँ र आँखाको भाकामा एक अर्कासँग भन्यौँ, ‘धन्न उनले यति प्रतिवाद भए पनि गरिन्।’ त्यो लुसुक्क भाग्ने जुम्सोले त्यसपछि त पक्कै केही गरेन होला भनेर हामीले अनुमान मात्रै के लगाएका थियौँ तर उनको भोगाइ यतिमै सकिएको रहेनछ। 

उनले सुनाउन थालिन्, “यस्तो शृंखला त्यतिमै रोकिएको थिएन। बेलामौका ऊ मलाई त्यसरी नै छुने, फेसबुकमा घिनलाग्दा मेसेज र नांगा फोटा पठाउने गर्थ्यो। मैले उसलाई फेसबुकमा ब्लक गरेँ, बोल्न छोडेँ। समय क्रममा मैले अफिस नै छोडेँ। उसको आसपास नै गइनँ। तर, जति उसलाई ब्लक गरे पनि, ऊ आसपास नगए पनि, आफैँले अफिस छोडे पनि उसले पठाएका मेसेजले पिछा छोडेनन्। उसले छोएका शरीरका अंगले मेरो साथ छोडेनन्। म त्यो कुरा जीवन अन्त्य हुने बेलासम्म पनि सम्झिरहन्छु होला।”

हामीले सुनेका यी दुई केवल प्रतिनिधि घटना मात्र हुन्। आफूले काम गर्ने ठाउँमा विभिन्न बहानामा शारीरिक तथा मानसिक दुर्व्यवहार भोग्ने कति होलान्? तपाईं/हामीले पनि के उनीहरूले जस्तै दुर्व्यवहारको साक्षी हुनुपरेको छ? के हामीले पनि थाहा पाएर या नपाएर यस्ता व्यक्तिको घिनलाग्दो हरकत सहनुपरेको छ? के हामीले उनीहरूले आफूलाई दुर्व्यवहार गरेका हुन् भनेर बुझ्न सकेका थियौँ वा छौँ त?

यस्ता थुप्रै अनुत्तरित प्रश्नहरू धेरै कामकाजी; विशेष गरी महिला र किशोरीसँग छन्। किनकि माथिका दुई व्यक्ति भेट्दा उनीहरूले यतिसम्म दुर्व्यवहार भोगेका होलान् भन्ने हामीले कल्पनासम्म गरेका थिएनौँ, त्यो पनि घरजस्तै सुरक्षित कार्यस्थलमा। तर सत्य त्यही थियो। वर्षाैंअघि भोगेको दुर्व्यवहारले उनीहरूलाई वर्षौं पछिसम्म पनि लखेटिरहेको थियो। उनीहरूको मनलाई विचलित पारिरहेको थियो।  

धेरैलाई लाग्न सक्छ, पढेलेखेका र देश दुनियाँ बुझेका मान्छेबाट अफिसभित्र कसरी यौनहिंसा वा दुर्व्यवहार हुनसक्छ? अनि यौनहिंसा र दुर्व्यवहारका लागि एकान्त ठाउँ नै चाहिन्छ भन्ने बुझाइ पनि कतिपयको हुनसक्छ। तर अफिसभित्रै वा अफिस परिसरमै यौनहिंसा वा दुर्व्यवहार हुनसक्छ। हिंसा र दुर्व्यवहार छोएर वा घर्षणबाट मात्रै हुँदैन। कार्यालयभित्र हुने यौनहिंसा वा दुर्व्यवहारबारे नेपालको कानून पनि अनभिज्ञ छैन। 

कार्यस्थललाई सुरक्षित बनाउने, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकार सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण गर्न २०७१ भन्दैमा ‘कार्यस्थल यौनजन्य दुर्व्यवहार निवारण ऐन २०७१’ ल्याइयो। त्यसलाई २०७५ मा संशोधन गरियो। यस ऐनअनुसार कार्यस्थल भन्नाले सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संगठित संस्था, प्रचलित कान‍ूनबमोजिम स्थापना भएको निकाय वा संगठित संस्था, कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानूनबमोजिम अनुमति प्राप्त गरेको या दर्ता भएको फर्म, निकाय या संगठित संस्था हुन्। र यस्ता संस्थामा काम गर्ने सम्पूर्ण कर्मचारी कामदार यसका हिस्सा हुन्छन्। उनीहरूकै सुरक्षाका लागि कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण ऐन ल्याइएको हो। 

यस ऐनमा प्रस्ट रूपमा उल्लेख भएअनुसार यौनजन्य आशयले हेर्नु, छुनु हुँदैन, इसारा गर्नु हुँदैन, जिस्क्याउनु हुँदैन, यौनजन्य सामग्री अडियो, भिडियो तथा पाठ्यसामग्री वाचन गर्नु पनि हुँदैन। यदि दुर्व्यवहार गरेको ठहर भयो भने उसले गरेको कसुरको आधारमा ६ महिना कैद या ५० हजार जरिबाना या त दुवै सजाय हुनसक्छ। 

तर के यो ऐन आउँदैमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार कम भएका छन् त? के यस ऐनमा भनिएझैँ सुरक्षित, मर्यादित र सम्मानजनक कार्यस्थल छन् त? पक्कै पनि छैनन्। माथिका दुई युवतीका कुरा सुन्ने हो भने पनि ऐनमा व्यवस्था भएका कुरा कागजमा मात्रै सीमित छन्। 

हुन त अपवादबाहेक धेरैजसो कार्यस्थलमा उनीहरूका आफ्नै नीतिनियम हुन्छन्। कार्यस्थलको मर्यादा, सीमा र आचारसंहिता पनि बनाइएको हुन्छ। तर पनि किन बारम्बार दुर्व्यवहारका घटना दोहोरिइरहन्छन् त? ‘बालिका दुलही होइनन्’ भन्ने अभियानकी राष्ट्रिय संयोजक निरिजना भट्ट भन्छिन्, “दुर्व्यवहार मानिसको नियतको कुरा हो।” उनका अनुसार, नियत खराब भएको मान्छेले व्यवहारमा जुनसुकै अवस्थामा पनि व्यक्त गर्छ र व्यवहारमा देखाउँछ। त्यसैले सबैभन्दा पहिले त मानिसको नियत र व्यवहार कस्तो छ भन्नेमा प्रस्ट हुनु आवश्यक छ।

लैंगिकतामा आधारित हिंसा बढी मात्रामा महिला, यौनिक तथा लैंगिक अल्पलसंख्यक समुदायका व्यक्तिहरूलाई भएको सुन्छौँ। अनौपचारिक रूपमा या साथीभाइसँगको कुराकानीमा ‘आज यस्तो भयो’ भन्ने खालका उत्पीडनका अनुभव सुनिन्छ तर त्यसको सही रिपोर्ट हुन नसक्दा यौनहिंसाको यकिन तथ्यांक पाउन सकिँदैन। त्यसैले कार्यस्थलमा हुनसक्ने मानसिक तथा शारीरिक हिंसा कम गर्न सबैभन्दा पहिले त हरेक संघसंस्थाले आफूले बनाएको आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्छ। अनि नेपाल सरकारले यसविरुद्ध जुन कानून र नीतिनियम बनाएको छ, त्यसको प्रचारप्रसारमा पनि उत्तिकै ध्यान दिनुपर्छ। 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था प्लान इन्टरनेसनल नेपालमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको विषयविज्ञका रूपमा कार्यरत नीराजन खड्काका अनुसार हरेक संस्थामा कार्यस्थलमा हुने यौनजन्य हिंसाविरुद्ध आफ्नै खालको नीतिनियम हुन्छ। त्यसो हुँदाहुँदै पनि यस्ता घटना दोहोरिनुको अर्थ हिंसा अथवा दुर्व्यवहारलाई एकदमै सामान्यीकरण गर्ने, ठूलो कुरा होइन, के गरेको छ र भन्ने खालको बुझाइ कारक हो। उनको बुझाइमा कतिपय व्यक्तिमा तिनले गर्ने व्यवहार दुर्व्यवहारका स्वरूप हुन सक्छन् र त्यसले अर्को व्यक्तिलाई शारीरिक, मानसिक र भावनात्मक हिसाबले असर पार्न सक्छ र त्यसले उनीहरूको मानवअधिकार पनि हनन हुन्छ भन्ने स्वचेतनाको कमी छ। त्यस कारण पनि त्यस्ता घटना बारम्बार दोहोरिएका हुन सक्छन्। 

नीतिनियम एकातिर र व्यवहार अर्कोतिर भएकाले पनि कार्यस्थलनमा हुने अनेकन् शैलीका हिंसाले निरन्तरता पाइरहेका छन्। कतिपय संघसंस्था आफैँ अग्रसर भएर यस्ता हिंसा वा दुर्व्यवहार रोक्न अघि सरे पनि ती पूर्ण भने छैनन्। कतिपयले त आचारसंहिता र नीति कागजी प्रयोजनका लागि मात्रै बनाइरहेका छन्।

केही समयअघि राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार भएको एउटा घटनालाई हामी उदाहरणका रूपमा हेर्न सक्छौँ। केन्द्रीय बैंकका उच्च कर्मचारीका लागि स्ट्रेस म्यानेजमेन्ट भनेर नगरकोटमा राखिएको कार्यक्रममा एक पुरुष कर्मचारीले महिला कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए। त्यस्तो व्यवहार ती महिला कर्मचारीलाई मन परेन। आफूमाथि गलत व्यवहार/हिंसा भयो भन्ने लागेपछि महिलाले आफूमाथि भएको हिंसाविरुद्ध आवाज उठाइन्। उनी हिंसामा परेको र उनको आवाजमाथि राष्ट्र बैंकले तत्काल सुनवाइ नगरेको विषयमा उकालो डटकममा विस्तृत रिपोर्ट प्रकाश भएको कैयन् दिनपछि मात्र दुर्व्यवहार गर्ने पुरुषलाई सेवाबाट हटाइयो।  

दुर्व्यवहार गर्ने व्यक्तिले सामान्य मानेको व्यवहारले भोग्ने मान्छेको अवस्था कस्तो हुन्छ भन्ने कुरा हामीसँगको कुराकानीमा विभिन्न व्यक्तिले सुनाउनुभएको अनुभवबाट पनि अड्कल काट्न सकिन्छ। कुनै कालखण्डमा यौनहिंसा या दुर्व्यवहारमा परेकै कारण मानिसमा फरक खालका स्वभाव पनि विकास भइरहेको हुनसक्छ। जस्तो कि: आफूले गर्नुपर्ने काम गर्न नसक्ने, कुनै पनि कुरामा ध्यान दिन नसक्ने, कार्यालय, घरपरिवारका व्यक्तिलाई समेत विश्वास गर्न नसक्ने, आफैँमा हीन भावना विकास हुने, मानसिक रूपमा कमजोर महसुस गर्ने आदि। कतिपय अवस्थामा त यस्ता व्यक्तिहरू आफैँलाई अहित हुनसक्ने सम्म कदम चाल्न पछि पर्दैनन्।

कार्यस्थलमा हुने दुर्व्यवहारबारे कुरा गर्दैगर्दा कतिलाई कहाँ उजुरी गर्ने र सोबारे कसलाई भन्ने भन्नेसम्मको ज्ञान पनि हुँदैन। अधिवक्ता सरोज गिरिका अनुसार उजुरी गर्ने दुइटा पाटा छन्। एउटा गुनासो हो भने अर्को उजुरी हो। घटना घटेको १५ दिनभित्र घटना घटेको कार्यालयको प्रमुख या व्यवस्थापककहाँ गएर गुनासो गर्न सकिन्छ। र सम्बन्धित कार्यालयले पीडितलाई थप पीडा नहुने गरी न्याय प्रदान गर्नेगर्छ। तर त्यसबाट पनि चित्त बुझेन र आफूलाई थप पीडा भएको महसुस भयो, व्यवस्थापकले प्रदान गरेको न्याय प्रक्रिया चित्त बुझेन भने सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष घटना घटेको ९० दिनभित्र उजुरी दिन सकिन्छ। 

तर यति प्रक्रियाबारे पनि मानिसलाई जानकारी नहुँदा कार्यस्थलमा आफूले भोगेको यौनजन्य दुर्व्यवहारबारे बोल्न र उजुरी गर्न सक्दैनन्। जसले गर्दा उनीहरू पीडामाथि पीडाको भारी बोकेर हिँडिरहनुपरेको छ। कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने अभ्यास नेपाल मात्रै नभएर संसारका प्राय: सबै देशमा छ। तर के अन्य देशमा जस्तै नेपालमा काम गर्ने स्थान सुरक्षित र मर्यादित छन् त?

(लेखकहरू यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका विषयमा बहस गर्ने पडकास्ट ‘गुलाबी संवाद’का निर्माता तथा प्रस्तोता हुन्।)


सम्बन्धित सामग्री