गत जेठ दोस्रो साता ललितपुरमा आयोजित सम्पदा पुनर्स्थापना राष्ट्रिय सम्मेलनमा मलाई एउटा ‘सेसन’ सञ्चालन गर्ने अवसर मिल्यो। विषय थियो– ‘अनकभरिङ द ट्रेल अफ थेफ्ट : एक्टिभिजम, इन्भेस्टिगेसन एन्ड सोसल मिडिया’ अर्थात् सम्पदा चोरी बारेको जागरण अभियानमा खोज–अनुसन्धान र सामाजिक सञ्जालको भूमिका।
उक्त प्यानलमा राष्ट्रिय-अन्तर्राष्ट्रिय अभियन्ता, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता थियो। त्यहाँ कला सम्पदा विषयक समय–सान्दर्भिक मुद्दामा अत्यन्त महत्त्वपूर्ण तहमा छलफल भयो। मुख्यतः कलाकृतिको व्यवस्थित अभिलेखको अभाव र वित्तीय स्रोत–साधनको सीमिततामाथि वक्ताहरूले आफ्नो धारणा राखे। सम्पदा विषयक कार्यक्रम पहिलो पटक सञ्चालन गर्दा के थाहा पाएँ भने यहाँ अभियन्ता, विचारक र सरकारी अधिकारीहरूबीच प्रशस्त मतभिन्नता छ। अभियन्ताहरूबीच नै सोच र अभियानबारे एकरूपता छैन। यसलाई अझ सजिलो गरी भनौँ– हामीले चाहेको के हो, स्वयम् प्रस्ट छैनौँ।
अन्तर्संवादका अवसरमा स्रोतको संरक्षण, सूचना र अभिलेखमा सामाजिक सञ्जालको भूमिकामाथि पनि राम्रो चर्चा भयो। भनिहालौं, व्यक्तिमा रहने सूचनाको शक्तिमाथि विश्वास म गर्छु। त्यो शक्तिलाई एकत्रित गर्न प्रविधि र सामाजिक सञ्जालले ठुलो योगदान पुर्याएको छ। पछिल्ला केही वर्ष विचार, विषय र बहसलाई एक ठाउँमा ल्याउँदै सरकारी निकाय, पद्धति र सम्बद्ध अधिकारीलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बनाउन सामाजिक सञ्जाल आफैँमा एउटा शक्तिशाली माध्यम बन्दै आएको छ, यो सर्वस्वीकार्य तथ्य हो।
सर्वसाधारणको स्वैच्छिक र स्वतःस्फूर्त प्रयासमार्फत कलाकृति, मूर्ति तथा सम्पदाको संग्रह गर्नु एउटा सराहनीय कदम हो। यद्यपि उपलब्ध सबै सूचना वा जानकारी व्यवस्थित गर्न एक भरपर्दो संगठित प्रणाली (पद्धति) जरुरी पर्छ। सिंगो राज्यले यस्तो प्रणालीको विकासमा ध्यान दिनु जरुरी छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लाग्छ– सिंगो काठमाडौँ एक जीवन्त सङ्ग्रहालय हो। यो कुरा उनले बारम्बार भन्दै आएका छन्। मेरो अनुभवले पनि यसै भन्छ। स्वअनुभव र भोगाइका आधारमा मेरो स्मृतिको जिउँदो सङ्ग्रहालयबारे केही भन्न सक्छु।
मेरो बाल्यकाल ठमेलमा बित्यो। जब म हुर्किँदै थिएँ– अशन, इन्द्रचोक, वसन्तपुर र नयाँ सडक नपुगेको दिन हुँदैन थियो। सम्पदा, सभ्यता र संस्कृतिले भरिपूर्ण ठाउँ हुन् यी। अहिले सोच्छु– मेरो सिंगो बाल्यकाल ‘सम्पदा पदयात्रा’मा बितेको रहेछ। वास्तवमा सिनेमामा देखाइने कलात्मक दृश्यजस्तो परिवेशमा म बाँचेको रहेछु। यहाँ सम्पदा र मान्छेको बसोबासलाई छुट्याउने कुनै रेखा थिएन। दुवै एक आपसमा मिलेर बसेका थिए, सिक्काको दुई पाटोझैं।
कस्तो रमाइलो दृश्य हुन्थ्यो भने सामाजिक, सांस्कृतिक र धार्मिक रूपले निकै महत्त्वपूर्ण मूर्ति र चैत्य भएका चोकहरूमा पनि मानिसको बसोबास देखिन्थ्यो। तर, समयान्तरमा तीव्र सहरीकरण र अव्यवस्थित बसोबासको परिपाटीले यो विशेषतालाई क्रमशः कमजोर पार्दै लैजान थाल्यो। प्राचीन सम्पदा आधुनिकताको चेपुवामा पर्दै जान थाले, सम्पदाको महत्त्व र महिमा आफैँमा फितलो र धुमिल बन्दै गयो। कतिपय सम्पदा नासिँदै गए अथवा भत्काइए पनि। ठुलाठुला शहरी संरचना निर्माण गर्ने क्रममा कति जानीजानी भग्नावशेष बन्दै गए। बाहिरी विकसित मुलुकका सहरहरूझैँ आफ्नै घरआँगनमा आधुनिक सहर बन्ने–बनाउने आसमा उपत्यकावासीले कतिपय विकृत बन्दै गएका दृश्यलाई समेत ‘अनदेखा’ गरे।
हिजोसम्म ‘अनदेखा’ गरिएका कतिपय अहम् सरोकार र मुद्दाहरू आज आएर उत्खनन भएझैं केही सकारात्मक संकेत अहिले देखा पर्न थालेका छन्। काठमाडौँ महानगरपालिकाले पछिल्ला दिनमा नक्सालका धार्मिक सम्पदा उत्खननको प्रक्रिया सुरु गरेको छ। उत्खननबारे आसलाग्दो समाचार हो। ‘नक्साल–चारढुङ्गे’ नाम आफैँमा सम्पदाझैँ स्थापित छ, जुन सडक विकासको नाममा दशकौंसम्म कहींकतै दबिएको थियो।
नक्सालको इतिहास हाडिगाउँ, विशालनगर र देवपाटन क्षेत्रको महत्त्व तथा इतिहाससँग पनि जोडिन पुग्छ। सांस्कृतिक हिसाबले अत्यन्त अर्थपूर्ण यी स्थान काठमाडौँ उपत्यकाको सम्पदागत वैभवमा जोडिएका हिजो–आज–भोलीका चिनारी स्तम्भसमेत हुन्।
तीन दशकअघि भोटाहिटी/रत्नपार्क क्षेत्रमा ‘अन्डरपास’ निर्माण गर्दा लिच्छविकालीन पानीका धारा र अरू ऐतिहासिक महत्वका अवशेष फेला परेका थिए। तर, स्थानीयहरूले त्यसलाई गम्भीर रूपमा लिएनन्। ती पुरातात्त्विक सम्पत्ति पुनर्स्थापना गर्दै जर्गेना गर्नुको साटो पुनः माटोमुनि गाडिएको थियो। यो घटनाको स्मरण गर्दा पनि हाम्रो सरकार (पद्धति) र सम्पदा संरक्षण आबद्ध निकायहरूको प्राथमिकता र बुझाइबारे प्रस्ट हुन सकिन्छ।
हिजोआज हरेक बिहान–बेलुका हाडिगाउँ, काठमाडौँदेखि धुलिखेलसम्मको यात्रामा निस्कने गर्छु। यस यात्रामा थुप्रै पुरातात्त्विक सम्पदा र मौलिक पहिचानका आधार स्तम्भहरू भेटिन्छन्। हामीमाझ पनौती र त्रिवेणीघाट छन्, भक्तपुर–पाटन–वसन्तपुर दरबारक्षेत्रदेखि पशुपतिनाथ क्षेत्रमा अझै पनि नखोजिएका र बिर्सिएका महत्त्वपूर्ण सम्पदाजन्य चिजबिज छन्। यहाँका सानासाना संरचना र स्थान विशेष पनि स्थानीयका लागि अमूल्य रहिआएका छन्। तर, तिनीहरू कुनै न कुनै प्रकारको उपेक्षामाझ बसिरहेका छन्। तिनको जीर्णोद्धार पनि छैन, संवर्द्धन पनि देखिन्न। विश्व सम्पदा सुचीमै परेका ‘अब्जेक्ट’को पनि 'हरिहालत' छ।
काठमाडौँ उपत्यकाबाट धुलिखेल आवतजावत गर्दा हरेक बिहान–बेलुका त्रिवेणीघाट हुँदै अघि बढ्नुपर्छ। पनौती त्रिवेणीघाट हरेक बाह्र वर्षमा लाग्ने मेला र पर्वका लागि प्रख्यात छ, जहाँ देशभरबाट लाखौं श्रद्धालु र सर्वसाधारण आउने गरेका छन्। पनौती स्वयम् विश्व सम्पदा क्षेत्रमा सूचिकृत हुन तम्सिरहेको छ। तर, त्यही प्रस्तावित सम्पदा क्षेत्रस्थित पवित्र खोला पुण्यमाताको माझैमाझ केही समय पहिले ढलको पाइप बिच्छ्याइयो। त्यसलाई अझैसम्म राम्रोसँग पुरिएको छैन। बर्खा याममा यो खोला दुर्गन्धित बन्ने निश्चित छ। यो बिरूप तस्बिर केही दिन अगाडी सामाजिक सञ्जालमा राखेको थिएँ। यो प्रकारको इन्जिनियरिङ प्रविधि र पद्धतिले धेरैलाई छक्क पारेको थियो, सञ्जालमार्फत केहीले आक्रोश पनि व्यक्त गरेका थिए।
(फोटा १ र २)
जगातीस्थित फल्चा
अर्को एउटा उदाहरण हेरौँ। म साँगाबाट काठमाडौँ ओर्लँदै गर्दा जगातीमा सडकको देब्रेतिर एउटा हिटी र दाहिनेतिर फल्चा देखिन्छ। यसले इतिहासको कुनै कालखण्डमा कतै लामो यात्रामा निस्केका यात्रुलाई कति ओत र भरोसा दियो होला। केहीले फल्चामा रात बिताए होलान्। कतिले यहाँ बसेर घण्टौँ बात मारे होलान्।
फल्चामा बसेर नजिकैको हिटीमा आँत भरिने गरी पानी पिए होलान्। यो भरथेगले उनीहरूको यात्रा पक्कै सहज भयो होला। तर, यतिबेला त्यो हिटी र फल्चाको हालत निकै खराब छ–जराजिर्ण। त्यसमाथि अहिले अरनिको राजमार्ग विस्तारको काम चलिरहेको छ। सडक विस्तार जतिजति हिटी र फल्चातिर अघि बढ्छ, मेरो मनमा उतिउति चिसो पस्छ। यसैगरी, आधुनिकताले हाम्रो सांस्कृतिक विगत र धरोहरलाई टक्कर दिने निश्चित छ। र, यसमा कहींकतैबाट प्रतिरोध नभए यो इतिहास चाँडै धुलिसात हुने निश्चित छ।
जगातीस्थित हिटी
सामान्यतः हामी खराब नतिजा बेहोरिसकेपछि मात्रै कोलाहल सिर्जना गर्छौँ। मृत्युपछि मात्र जीवनको आराधना गरेझैं! खासमा यस्ता ऐतिहासिक सम्पदा र सम्पत्ति नामेट हुनअघि नै हामीमा सचेतना देखिनु जरुरी छ। निरन्तर लेखेर, बोलेर वा सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराएरै भएपनि— आवाज जागृत भइरहनुपर्छ।
सामाजिक सञ्जालमा मैले दोहोर्याउँदै भग्नावशेष सम्पदाहरूको तस्बिर राख्नाको कारण पनि यही हो– समय रहँदै सबै सचेत बनौँ। यसरी सामाजिक सञ्जालमा राखिएका सरोकारमा सम्बन्धित निकाय वा अधिकारीले सधैं ध्यान देलान् भन्ने पनि हुन्न। तर, यस्तो सरोकार भने ज्यूँदो रहनैपर्छ।
सानोठिमीको व्यस्त सडक छेउमा जीर्ण फल्चा र हिटी छ। हरेक दिन त्यस सडक हुँदै यात्रा गर्दा त्यसले मेरो ध्यान खिच्छ। परबाट हेरेर मात्रै पुगेन, एक दिन त्यहाँ पुगेर यताउता नियाले। अचम्म ! यो जीर्ण फल्चा र हिटीको पुनर्निर्माण थालिए पनि बीचमै काम छाडिएको रहेछ। नयाँ तथा प्रयोग नगरिएका इँटा, ढुङ्गा र छानाका टाईलको थुप्रो त्यही जिर्णकाय सम्पदाको छेउमा राखिएको थियो। यो स्थिति किन उब्जियो होला?
सानोठिमीस्थित फल्चा
कारण जेसुकै होस्। एउटा राम्रो काम हुँदै थियो, एकाएक अलपत्र पारियो। सम्पदाको मात्रै होइन, हाम्रो इतिहास र पहिचान समेतको अपमान हो यो। मैले यसबारे त्यहाँ भेटिएका एक स्थानीयवासीसँग कुरा गरें। उनका अनुसार, ती सम्पदा निर्माण अलपत्र बन्नाको दुई कारण छन्: एक, ठेक्कापट्टामा आर्थिक विवाद छ। दुई, हिटी र फल्चाको स्वरूप परम्परागत धार्मिक/सांस्कृतिक मान्यताअनुसार छैन। र, यो सरोकार अहिले कानुनी लडाइँका बनेर सर्वोच्च अदालतसम्म पुगेको छ।
मैले माथि उल्लेख गरेका स्थानहरू विगतमा खास निश्चित समुदायका लागि पवित्र स्थल थिए। आज यिनै स्थानले महत्त्व मात्रै गुमाएका छैनन्, बरु ‘अपवित्र’ समेत बनेका छन्। तिनीहरूलाई जानीजानी उपेक्षा गरिएको छ। यहाँ हामीले आफैंमाथि प्रश्न गर्ने बेला आएको छ। "के हामीले हाम्रो मूल्यवान् सांस्कृतिक इतिहास गहिरोसँग बुझेका छौँ त?",यो प्रश्न हामी स्वयमाथि उठ्नुपर्छ, सिंगो राज्य पद्धतिमाथि पनि उठ्नुपर्छ। यो पद्धतिभित्र संस्कृति मन्त्रालय, पुरातत्त्व विभाग र सम्बद्ध निकायहरू पनि स्वभावतः पर्छन् नै।
सहरीकरण र आधुनिकताको वेगलाई हामी कसैले पनि रोक्न वा छेक्न सक्दैनौं, यो स्वाभाविक छ। तर, यसो भन्दैमा हामीसँग जोडिएका सम्पदाजन्य इतिहास र संस्कृतिगत पहिचानलाई यसैगरी भुल्दै र अनदेखा गर्दै जाने हो भने हामी सबै कुनै पहिचानबिनाका पुस्ता भनेर चिनिने छौं, अनि कुनै यान्त्रिक सहर र कृत्रिम मानववस्ती मात्रै हामीसँग रहनेछ।