Wednesday, July 24, 2024

-->

कहाँ छ ‘सनातन’ को जरो?

शिवलिंगसँग ठ्याक्कै मिल्ने कैयन् संरचनामध्ये एक चौथो शताब्दीको संरचना मथुराको संग्रहालयमा राखिएको छ, जहाँ स्पष्ट रूपमा लेखिएको छ, ‘बुद्ध स्तूपको चौकी’।

कहाँ छ ‘सनातन’ को जरो

भारत र नेपालमा आजकल संस्कृति तथा धर्म पुनर्जागरण बहसको विषय बनेको छ। यसबीच ‘सनातन परम्परा’ शब्दको धेरै प्रयोग हुन थालेको छ। हाम्रो हकमा नेपाली र पूर्वीय सभ्यताको इतिहास जान्नु र बुझ्नु आवश्यक पनि छ।

कार्ल मार्क्सदेखि भारतीय संविधानका मस्यौदाकार अम्बेडकरलगायत आफ्नो इतिहास नजान्नेले इतिहास रच्न सक्दैन भन्छन्। मार्क्स र अम्बेडकरको तर्कले हामीलाई हाम्रो इतिहास (जरो) पहिल्याउन प्रेरित गर्छन्।

विश्व इतिहास हेर्दा व्यक्ति र समाजमा जन्मने सोच र विश्वासले कालान्तरमा विभाजन, वैर, हिंसा र दुःखलाई पनि जन्म दिन्छन्। त्यस कारण विचारको मन्थन र शुद्धीकरण हुनु जरुरी पनि छ। 

यहाँनिर उल्लेख गर्न आवश्यक छ, वैज्ञानिक प्रमाणले सबै मानवको पुर्खा साझा रहेको देखाउँछ। तर पनि ती मानव पुर्खा कसरी विकसित हुँदै र विभाजित हुँदै गए प्रश्न उठ्नु स्वाभाविक छ।

विकासको चुलीमा रहेका पश्चिमा देशमा पनि सोह्रौँ शताब्दीसम्म चर्च र बाइबलमा लेखिएका कुरालाई नै इतिहास र तथ्य मान्नु वाद्यकारी रहेछ। त्यसमा असहमत हुँदै सन् १५४८ मा इटालीमा जन्मेका जिओर्दानो ब्रुनोले प्रकृतिको अवलोकन र अध्ययन गर्दै जीवन र ब्रह्माण्डसम्बन्धी वस्तुगत विचार पेश गरेका रहेछन्। १७औँ शताब्दीसम्म अझै धेरै विद्वान र वैज्ञानिकले त्यहाँ अनेकन् आविष्कार गरेछन्।

भारत अनि नेपालमा सोह्रौँ शताब्दीमा अंग्रेज आइपुग्दासम्म पुराण र महाभारतजस्ता ग्रन्थलाई ‘सत्याधार’ मान्दै इतिहास र तथ्य खोजिने अवस्था रहेछ। त्यो अभ्यास अझै पनि छ। ती ग्रन्थका विवरणबाट प्रेरित भएर अलेक्जेन्डर कनिंघम र जेम्स प्रिन्सेपजस्ता पुरातत्त्वविद्ले व्यापक सर्वेक्षण र उत्खनन गरेका रहेछन्। तर उत्खननबाट महाकाव्यमा उल्लेखित वर्णनसँग मिल्ने प्रमाण नभेटिएपछि यस क्षेत्रको विगतलाई सही रूपमा पुनर्व्याख्या/पुनर्लेखन गर्ने आवश्यकता तिनले औँल्याएका रहेछन्।

प्रमाणको खोजी
त्यही सिलसिलामा त्यति बेलासम्म गुमनाम सम्राट् अशोक (२३२ ईसापूर्व) र मौर्यकाल र सिन्धु उपत्यका सभ्यताको पुरातात्त्विक अवशेष/प्रमाण भेटिएको रहेछ, जसलाई हडप्पा सभ्यता पनि भनिन्छ। यो सभ्यता हालको पश्चिम तिब्बत-कैलाश क्षेत्र हुँदै वर्तमानको भारत, पाकिस्तान हुँदै वहने सिन्धु नदीको छेउछाउ फस्टाएर आधुनिक अफगानिस्तानसम्म फैलिएको भेटिएछ। त्यही समयमा नेपालमा लुम्बिनी पत्ता लागेको रहेछ।

बुद्धको तीन शताब्दीपछि सम्राट् अशोकको शिलालेखमा युद्धप्रति हिनतावोध, समाज सेवा र शान्तिको विषय उल्लेख छ। अनि शाक्यमुनि बुद्धभन्दा अघि पनि अघिका बुद्धहरूबारे पहिलो पटक भरहुत स्तूपमा उल्लेख गरेको भेटिन्छ, जसमा लेखिएको छ: ‘...भगवतो विपस्सिनो  बोधि…( भगवान् विपस्सीको बोधि रूख… )’

नेपालको निग्लिहवामा रहेको अशोक स्तम्भमा लेखिएको छ, "आफ्नो शासनकालको १४औँ वर्षमा राजा पियदसी (अशोक)ले दोस्रो पटक बुद्ध कनकमुनिको स्तूप विस्तार गरे र आफ्नो शासनकालको २०औँ वर्षमा व्यक्तिगत रूपमा आएर श्रद्धाञ्जली दिँदै ढुंगाको स्तम्भ स्थापना गरे।" 

अनि भाब्रू (भारत)को लघु शिलालेखमा सम्राट् अशोकले लेखाएका छन्, ‘...बुधसि धमसि संघसि… (बुद्ध, धर्म र संघमा मेरो श्रद्धा र विश्वास धेरै महान् छ…।)’

बुद्धको समयमा वस्तु-विषयको अवलोकन र अध्ययनबाट तिनको समस्याको मूल पहिचान अनि तिनको समाधान भेटिन्छ भन्ने शिक्षालाई 'अरियो सच' वा आर्य सत्य भनिएको छ। आठ अंगको आर्य मार्गमा हिँड्ने वा पारंगत व्यक्तिलाई अरियो, आर्य, श्रेष्ठ वा ज्ञानी भनिएको छ। नजान्ने, असंस्कृत र गलत संगत गर्नेलाई चाहिँ अनार्य भनिएको छ। साधारण जीवनयापनभन्दा पर जीवन जगत‍्को अर्थ खोज्ने ज्ञानी र गुणीलाई वामन (ब्राह्मण) भनिएको छ। भलै, आजको दिनमा ब्राह्मणको सो अर्थ बिलकुलै फरक भइसकेको छ। एउटा जात समुदायमा जन्मनेबित्तिकै कोही ब्राह्मण हुन्छ र फरक समुदायमा जन्मनेबित्तिकै गैरब्राम्हण। 

हालका वैदिक वा हिन्दू मतालम्बीका अनुसार दक्षिण भारतमा जन्मेका आदि शंकरको शिक्षाबाट हिन्दू वर्ण व्यवस्था अनि वेद आदि सिकाइएको मानिन्छ, जसको समय ७८८ इस्वी संवत‍्लाई मानिएको छ। उनको नाममा पाइने वेद भाष्य भने महीधर सायणमार्फत चौधौँ शताब्दीतिर मात्र जनमानसमा देखा परेको थियो। यसै समय मनुस्मृतिको जाति व्यवस्था लागु भएको देखापर्छ। बुद्ध र अशोक कालमा भने वामन, पण्डित, खतीय वा आर्य आदि शब्द वा वर्ग भेटिए पनि तिनको अहिलेझैँ उतिखेर जातिसूचक अर्थ रहेको भेटिँदैन।

अद्वैत वेदान्तीहरू उपनिषद्मा मण्डुक्यकारिका वा गौडापदकरिका वा आगमशास्त्र भनेर चिनिने ग्रन्थलाई आफ्नो सिद्धान्तको मूल उत्पत्ति स्रोत मान्छन्। तर रवीन्द्रनाथ टेगोरका शिष्य तथा प्रोफेसर विदुशेखर भट्टाचार्य लेख्छन्, “अहिलेसम्म तीन जना इतिहासमा प्रमाणित बौद्ध साहित्यकारहरूले गौडपादलाई उद्धृत गरेका छन्, भावविवेक ( इ.स. ५०० - ५५०), सान्तरक्षित ( ७०५ - ७६२) र उहाँको शिष्य कमलशील (७४० - ७९५ )। अनि गौडपादले पनि लगभग पूर्ण वा पर्याप्त रूपमा २०० इस्वी र ४०० ईस्वीबीचका प्रसिद्ध बौद्ध शिक्षकहरू, नागार्जुन र असांग लगायतको लेख/ग्रन्थबाट उद्धृत गरेका छन्” (गौडापदको आगमशास्त्र , १९४३. कलकत्ता विश्वविद्यालय)।

उनका अनुसार गौडापदको ग्रन्थ नागार्जुनकै शिक्षामा आधारित छन्। अर्को कुरा, प्राचीन भारतका प्रमुख तीन वटै पुरातन विश्वविद्यालय (तक्षशिला, नालन्दा र विक्रमशील)को उत्खनन गर्दा त्यसबेला अस्तित्वमा बुद्ध सभ्यता मात्र देखिन्छ। 

वेदमा सबैभन्दा पुरानो पाण्डुलिपि ऋग्वेदको मिलेको छ, जसको मिति १४६४ इ.सं. जनाइएको छ, जुन भण्डारकर इन्स्टिच्युट, भारतमा रहेको छ। अर्को कुरा, वेदादिको शुरूआती लेखकबारे एउटा नाम भेटिन्छ- कृष्ण द्वैपायन, जसलाई वेदव्यास भनेर पनि चिनिन्छ।

शिव, बुद्ध, देवता र ईश्वर
शैव पन्थहरूमा आजकल पुजिने शिवलिंगको प्रमाण तेह्रौँ शताब्दीअघि भेटिँदैन। तर शिवलिंगसँग ठ्याक्कै मिल्ने कैयन् संरचनामध्ये एक चौथो शताब्दीको संरचना मथुरा नजिकैको गौकर्णेश्वर डाँडाको उत्खननबाट प्राप्त भएको रहेछ। यो मथुराको संग्रहालयमा राखिएको छ, जहाँ स्पष्ट रूपमा लेखिएको छ, ‘बुद्ध स्तूपको चौकी’ ( स्रोत-मथुरा संग्रहालय)। 

यसैगरी, हिमाचल प्रदेश (भारत)को लाहौल स्पीति जिल्लाबाट ३७ किलोमिटरको दूरीमा रहेको पहिलो शैवपीठ ‘त्रिलोकीनाथ’मा अवलोकितेश्वरको मूर्ति छ, जसको निधारमा वुद्ध‍चित्र अंकित छ। अनि केदारनाथ मन्दिरपछाडि आदि शंकरको समाधिस्थलमा स्थापित शंकराचार्यको मूर्ति हेर्नुहोस्, जो बुद्धको वितर्क मुद्रामा छ। 

आदिम समाजमा मान्छेले आफ्नो बुझाई र नियन्त्रणबाहिरको अवस्था, प्राकृतिक प्रकोप र मृत्यु आदिको सामना गर्ने क्रममा नै दैवी वा असुरहरूको कल्पना भएको बुझिन्छ। त्यो विश्वास/प्रथा कुनै न कुनै नाम/रूपमा हरेक समाजमा जीवितै छ।

देवीदेवता वा असुरको आकृति मनमस्तिष्कमा उत्पन्न गराई तिनमा भक्ति जगाउँदा आफ्नो अहम्, डर र चिन्ता निस्तेज हुँदै एक किसिमको आन्तरिक सुखानुवोध हुने रहेछ। पहिलो शताब्दीमा उदाएका इसाईहरूले सुख अनुभूतिको त्यो अवस्थालाई ईश्वरको राज्य (किङडम अफ गड) भने। इस्लाम मतालम्बीहरूले अल्लाह र हिन्दूहरूले अनेक ईश्वरको नाम दिए। 

तर त्यही क्षणिक आनन्दमा व्यक्तिको चेतना सीमित रहे त्यसले मन्त्रमुग्ध र लट्ठ पार्ने रहेछ, मादक पदार्थले झै। यसमा वस्तु विषयको बुझाई धुमिल हुँदै अरूप्रति  द्वेष र क्रोध पनि जाग्ने रहेछ। सम्भवतः सोही कारण धर्म/विश्वासलाई माओ र मार्क्सहरूले अफिमसँग तुलना गरे। तर भक्ति/आस्थामा विवेकको प्रयोग गर्दा भने यी अवस्थाबाट अझ विशिष्ट स्तरको बोध हुँदै करुणा, बिधिचित्त, ज्ञान र गुणहरू पनि खुल्ने रहेछन्। बुद्धको विपश्यना ध्यानको शिक्षामा यो कुरा भेटिन्छ।

बुद्धको समयसम्म प्रारम्भिक जनजातिमध्ये 'नाक'को उल्लेख गरिएको भेटिन्छ, जसको राजाहरू शिसुनाक (शेषनाग) थिए। नाक वा नागहरूको नाम भारतभरि पछिसम्म र १२औँ शताब्दीसम्म जुम्ला र गुगे राज्यमा पनि देखा पर्छन् (दुल्लु, दैलेखको मिति १३५४ को कीर्तिस्तम्भ)। यही समय दुल्लु, दैलेखका साउन कार्की र सौका कार्क्यानी ले स्थापना गरेको देवलमा बुद्धको मूर्ति अहिले प्रख्यात छ। कर्णालीका  प्रायजसो पुरानो गाउँ, ठकुरी, खस,  ब्याँसी र दलित  होस् या ब्राम्हण गाउँहरूको छेउ, पुराना स्तूपहरू भेटिन्छन्।

सूर्यमणि अधिकारीको द खस किङ्डम, अ ट्रान्स हिमालयन एम्पायर अफ द मिडल एजका अनुसार एड्विन एटकिन्सनले कुमाउँमा लगभग २५० खसिया ब्राह्मण र राजपूतबारे अध्ययन गरेका थिए। तिनका अनुसार खासमा खसियालाई क्षेत्री जातिमा परिवर्तन गर्ने प्रथा जुम्लाका कल्याल राजा गगनिराजद्वारा जारी सोह्रौँ शताब्दीको उत्तरार्धको दस्ताबेजमा रहेको पाइन्छ, जहाँ ब्राह्मण पुजारीले जनै प्रदान गर्न सक्ने भनिएको रहेछ। यसरी नेपाली संस्कृति र भाषाको मुलथलो सिंजा ( कर्णाली)कै वासीहरू वुद्धमार्गी रहेको तथ्यहरूले देखाउँछ। यी कुरा धेरैलाई पाच्य नहुन सक्छ, तर तथ्य खोज नगरी सुख पनि छैन।

केही असमञ्जसता
हामीले पढ्दै आएको नेपाली इतिहासमा राजा मानदेवका अभिलेख सहजै भेटिन्छ, जहाँ उनी एक वैष्णव मतावलम्बी भएको उल्लेख छ। तर प्रारम्भिक खोजमा अध्येताद्वय सिल्भाँ लेभी ‍र भगवान् इन्द्रजीले आधा टुटेको स्थितिमा रहेको चाँगुनारायणको शिलालेखको मूल लेखको भाग, आधार भागभन्दा नौलो थियो भनेका छन्। तर मन्दिरको पुजारीले भने त्यसैको 'नक्कल' बनाएर दिई पठाएको रहेछ, जसलाई मानदेवकै मानी इतिहास लेखिँदै गएको रहेछ। 

तिनमा असमञ्जसता के छ भने मानदेवको नामको मानदेव संस्कारित चक्र महाविहार पाटनमा अझै थियो र उनको र उनको पुर्खाको खास्ति, बौद्ध चैत्य, स्वयम्भू (सिंगु) अनेक चैत्य, विहार स्थापनाको इतिहास र सम्बन्ध थियो। तर त्यसबीच अमिल्दो अभिलेखकै भावमा, मानदेवकै भनिएको अर्को शिलालेख हाडीगाउँमा रहेछ, जहाँ लेखकले अप्रत्याशित रूपमा गुमनाम एक सन्तलाई सम्बोधन गर्छन्—द्वैपायन यानकि वेदव्यास… ( कैलाश, अ जर्नल अफ हिमालयन स्टडिज , इ.सं. १९७५ ,  भोल्युम ३ ,  पाना ३८ - ४१)। 

भट्टाचार्य र पालका अनुसार हिन्दू तन्त्रहरूमा मौलिक बौद्ध देवीहरू उग्रतारा, तारा (एकजता) र छिन्नमस्ताका मन्त्रहरू र मञ्जुघोषलाई शिवको रूप मानी समावेश गरिएको छ ( भट्टाचार्य १९३०, पाना.  १२९२ -  १२९५, १९३२, पाना १५९ - १६१, र पाल, पाना ८३ )।  

यसैगरी लिखित स्रोतअनुसार पुराणहरूमा बुद्धलाई विष्णुको अवतारको रूपमा उल्लेख गरिएको आठौँ शताब्दीदेखि मात्र हो (गेल १९६९, पृष्ठ ९२३, भट्टाचार्य १९८२, पाना ३८७, ३८८ , वुनयान गुडुन, इन्डो-इरानी जर्नल ४३. २०००, पृ. २७, ४३):।

यिनै ग्रन्थमध्ये श्रीविद्यार्णव तन्त्र, शारदातिलक, र बृहत्स्तोत्ररत्नाकरमा उल्लेख छ :   

पुरा पुरानम असुरम विजेतम।
सम्भाव्यन चिवराचिह्नवेसम।
चकारय सास्त्रम अमोघकल्पम्।
तं मूलभूतम् प्रणाममी बुद्धम्।।

‘जसले पहिले (भिक्षुको) चीवर लगाएर पुरातन राक्षसहरूलाई जित्न एउटा शास्त्र तयार पारेको थियो, जुन अपराजयी देखियो- म अग्रगामी बुद्धलाई प्रणाम गर्दछु।’

यस श्लोकमा लेखकले बुद्धको स्तुति गाए पनि धर्मशास्त्रको माध्यमबाट दानवहरूलाई भ्रमित र दमन गर्ने उद्देश्यले विधर्मी शिक्षा दिएको उल्लेख गरेको भने बुझिन्छ। १२औँ शताब्दीदेखि १५औँ शताब्दीको यही समय मुसलमान शासकहरूबाट पुरातन बौद्ध शिक्षालयहरू ध्वंस पारिएको थियो। 

आफ्नो वास्तविक संस्कृतिबाट विमुख ती समाजमा यी नयाँ लेखनको प्रभावले नै हुनुपर्छ, भारत र नेपालमा यसपछि बुद्धलाई आदर गरियो, तापनि उनको शिक्षाको पालन प्राय: गरिँदैन। तर यी ग्रन्थहरूको परिवेश नेपाल भारतको इतिहाससँग १३औँ शताब्दीमा टुङ्गिएर उता इरान, युनानतिर मोडिन्छ। ज्ञात होस्, भविष्य पुराणमा महारानी भिक्टोरिया र अकबर आदीको चर्चा छ। यस अर्थ पनि धेरै इतिहासकारहरू मुगल कालमा पुराण लेखिएको आकलन गर्छन्। 

तर धर्मलाई धन्दा बनाउनेहरू सबै धार्मिक समाजमा हुने रहेछन्, छन्। निजी सम्पत्ति र मोज नै त्यसको सार कारण होला। शायद यिनै कारणले गर्दा बुद्धदेखि मार्क्सले समेत निजी सम्पत्तिबिरूद्ध आफ्ना विचार राखे। 

नयाँ नजर
इतिहासको खोजलाई मोडेर नयाँ नजरले हेरौँ। मानव विकासको प्रारम्भिक काल हुँदै पाषाण काल र पछिको अवधिमा भारतमा हडप्पा सिन्धु सभ्यता , चीनमा येलो रिभर र मध्यपूर्वमा मेसोपोटामिया सभ्यता देखिए। अनि सिन्धु सभ्यतादेखि बुद्ध, मौर्यकाल, कुषाणकाल हुँदै यता किरातकाल, लिच्छविकाल (नेपाल र जुम्ला) हेर्दा कैलाश क्षेत्रसम्म तिनको पुरातत्त्वमा निरन्तरता र सामञ्जस्य छ। 

त्यसरी नै तेस्रो शताब्दीतिर बुद्धको ध्यान (चान/चिआन) चीन पुग्नु र चीन देशको नाम रहनुमा पनि सो शब्दको सम्बन्ध छ भन्ने निर्क्योल कतिपय भारतीय विद्वानको छ। हिमालीहरू आफैँ र आफ्नो ठाउँलाई जनाउने शब्द हो बोध, जसको अर्थ हो बुद्धभूमि, बुद्धमार्गी, ज्ञानमार्गी वा तिनमा पारंगत आर्य। तर बाहिरबाट आएकाहरूले बोधलाई बिगारेर भोट बनाए। 

त्यसरी नै बुद्ध ज्ञान रुस पुग्दा बुदीत (जाग्नु) भयो भने लिथुआनिआ‍ पुग्दा बुदति (जान्नु)। स्लोवानीमा बुदिति (जान्नु) भयो भने चेक र क्रोसियामा धर्म भनियो। धर्मको अर्थ पनि जान्नु नै हो। अवेस्तामा बोदयति (जान्नु) भनियो भने जापान पुग्दा ध्यान जेन भयो। त्यति मात्रै होइन, स्रमण परम्परासँग पनि जर्मन वा स्रमनको सम्बन्ध छ। बौद्ध दर्शनको थेरलाई अंग्रेजीमा थ्योरी भनियो भन्ने भारतीय इतिहासकार, भाषाविद् राजेन्द्र प्रसादको दाबी छ (डा. राजेन्द्र प्र. सिंह,  प्राचीन भारतको बौद्ध इतिहास )।

यो सन्जोग नहुन सक्छ, सनातन शब्दको सबैभन्दा पुरानो अभिलेख बुद्ध वचनमै भेटिन्छ - धम्मपद , यमक वग्गोमा, जहाँ पालि भाषामा यसो भनिएको छ: 

मनोपुब्बङ्गमा धम्मा मनोसेट्ठा मनोमया।

मनसा चे पसन्नेन भासति वा करोति वा।

ततोनं सुखमन्वेति छाया’ व अनपायिनी।।  

सबै धर्महरू (विषय, वस्तु) पहिले मनमा उत्पन्न हुन्छन्, मन मुख्य कुरा हो ....जब मानिस सफा मनले बोल्छ वा काम गर्छ, तब खुसीले उसलाई छायाजस्तै पछ्याउँछ ....।

अकोच्छि मं अवधि मं अजिनि मं अहासि मे।
य च तं उपव्हन्ति वेरं तेसं न सम्मति।। 

मलाई सरापे, पिटे, मलाई हराए,मलाई लुटे
जसले मनमा यसरी गाँठो बाँधी राख्छ
उसको वैर, दुस्मनी शान्त हुँदैन।

अकोच्छि मं अवधि मं अजिनि मं अहासि मे।
ये च तं नुपनव्हन्ति वेरं॑, तेसूपसम्मति।।

मलाई सरापे, पिटे, मलाई हराए,मलाई लुटे‍
जसले मनमा यसरी गाँठो बाँधी राख्दैन
उसको वैर, दुस्मनी शान्त हुन्छ।

न हि वेरेन वेरानि सम्मन्तीध कु दाचनं।
अवेरेन च सम्मन्ति, एस धम्मो 'सनन्तनों।।'

वैर वैरले कहिल्यै शान्त हुँदैन
अवैरले नै वैर शान्त हुन्छ 
यही संसारको सनातन नियम हो।

(बौद्ध ध्यान परम्पराका अध्येतासमेत रहेका लामा ग्रामीण विकासविद् र पर्यटन व्यवसायी हुन्।)


सम्बन्धित सामग्री