Monday, April 29, 2024

-->

परको देशमा
‘विदेशमा पनि सजिलो छैन, फर्किन चाहनेहरू धेरै हुन्छन्’

‘नेपालीहरू विदेशमा आइसकेपछि ‘ओहो, मैले गल्ती गरेँ कि क्या हो!’ भनेर सोच्ने रहेछन्। ४०/५० वर्षका मान्छेमा त्यो सोचाइ झन् बढी हुने रहेछ। त्यति बेला नेपालमा रहेका बाआमा पनि बुढाबुढी भइसकेका हुन्छन्।’

‘विदेशमा पनि सजिलो छैन फर्किन चाहनेहरू धेरै हुन्छन्’

दैनिक करिब दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गर्ने योजना छ। यस शृंखलाको पहिलो सामग्री–


‘द ग्रेट नेपाली डायस्पोरा’की संस्थापक हुन् प्रीति अधिकारी। विश्वभर फैलिएका नेपालीलाई जोड्ने उद्देश्य राखेको यो गैरनाफामूलक संस्था हो, जसले विशेषगरी नेपालीबीचको सम्बन्ध, सहकार्य र सौहार्दतालाई प्राथमिकतामा राख्छ। सन् २०२२ मा स्थापना भएयता दुई हजार गैरआवासीय नेपाली यसको सदस्य बनिसकेका छन्। संसारभर यसका ५० वटा च्याप्टर्स छन्। प्रीतिले येल स्कूल अफ म्यानेजमेन्टबाट ‘एड्भान्स म्यानेजमेन्ट’मा स्नातकोत्तर र ब्रिटिश कोलम्बिया विश्वविद्यालयबाट एमबीए गरेकी छन्। उनीसँग ‘टेक स्टार्टअप’, बैंकिङ र गैरनाफामूलक क्षेत्रमा १७ वर्षभन्दा लामो समय काम गरेको अनुभव छ। सकारात्मक सामाजिक र आर्थिक प्रभाव पार्न सक्ने समुदाय–संचालित उद्यमहरूमा उनको विशेष चासो छ। हाल अमेरिकास्थित न्युजर्सी बस्दै आएकी प्रितीसँग विदेशमा रहेका नेपालीका विविध आयामबारे उकालोका लागि किरण दहालले गरेको कुराकानी–

तपाईं ‘द ग्रेट नेपाली डायस्पोरा’को अध्यक्ष हुनुहुन्छ, बिदेसिएका नेपालीले यसको सदस्य किन बन्ने?
नेपालीबारे बेलाबेला सुनिन्छ– उनीहरू सहयोगी हुँदैनन्, गफ मात्र दिन्छन्, खुट्टा तान्छन्, पूर्वाग्रही हुन्छन् आदि–आदि। हामी यस्ता नकरात्मक पाटोलाई छाडेर खुला दिमागले अरू नेपालीलाई भेट्न चाहन्छौँ। नेपालीबीचको सम्बन्धलाई दीर्घकालीन बनाउने हाम्रो चाहना हो। यो एकअर्कासँग साथी हुने, गफ गर्ने र सहयोग गर्ने साझा संस्था हो।

यो संस्था स्थापना गर्ने सोच कसरी आयो?
येल स्कुल अफ म्यानेजमेन्टबाट स्नातक गरेपछि एउटा संस्थामा मास्क परियोजनाको लागि काम गरेँ जसको उद्देश्य कोभिड–१९ को महामारीमा नेपालजस्तो विकासोन्मुख देशमा मास्कको प्रयोगलाई प्रोत्साहित गर्नु थियो। कोभिडलाई धेरै नेपालीले हेलचेक्राइँ गरिरहेका थिए, मलाई डर पनि लागिरहेको थियो। त्यति बेला नेपालमा केही प्रभावकारी काम गर्नुपर्छ र त्यसका निम्ति नेपाली डायस्पोरा एकजुट हुनुपर्छ भन्ने सोच पलायो। सन् २०२२ अगष्टमा मैले औपचारिक रूपमा ‘द ग्रेट नेपाली डायस्पोरा’ शुरू गरेँ।

यो नाम कसरी राखियो?
नेपाली संसारभर फैलिएका छन् र जहाँ–जहाँ पुगे पनि लोभलाग्दो प्रगति गरिरहेका छन्। आम्सटर्डम, न्युयोर्क वा रूवान्डा पुगेकाहरूलाई हेरौँ– उनीहरूको काम प्रशंसनीय छ। नेपाल दुई विशाल देश भारत र चीनको बीचमा छ भनेर कमजोर महसुस गर्नुपर्ने कारण छैन। देशभित्र पनि हामीले गर्व गर्नुपर्ने कुरा धेरै छन्। उच्चारण गर्दा पनि आफूलाई गर्व हुने नाम खोजिरहेका थियौँ, अन्ततः यो नाम राखियो।

नेपालमा बसेकाले कहिलेकाहीँ युरोप, अमेरिकातिर जानेहरूलाई गाली गरेको सुन्दा कस्तो लाग्छ?
भौतिक रूपमा हामी नेपालमा छैनौँ होला तर भावनात्मक रूपमा हरदम त्यहीँ छौँ। जहाँसुकै बसे पनि नेपालीलाई देशको मायाले नछाड्ने रहेछ। बाहिर बसेर जतिसुकै सफल भए पनि उनीहरूमा ‘म नेपालमा बसिनँ, नेपाललाई केही सहयोग गरिनँ’ भन्ने दुविधा भएको देख्छु। यही सिलसिलमा धेरै नेपाली देश फर्किन्छन्। धेरैको स्वदेश फर्किनसक्ने स्थिति हुँदैन किनभने जिम्मेवारीलाई पनि ख्याल गर्नुपर्छ। बाहिर जानेहरू विभिन्न जिम्मेवारी र अवसरले घेरिएका हुन्छन्। नेपालभित्र बसेकाले नेपाललाई राम्रो बनाउन प्रयत्न गरिरहेका छन् भने बाहिर बसेकाको पनि त्यही प्रयास छ। हामीले दुवै पक्षलाई मिलाउन सक्यौँ भने राम्रो हुन्छ। हामी सबै नेपाली एउटै पजलको फरक–फरक पाटो हौँ। हामीले पक्ष लिएर ‘तँ भर्सेस म’ भन्यौँ भने विभाजनतिर गइन्छ, एकअर्काको नकरात्मक वा कमजोरीतिर बढी केन्द्रित भइन्छ। एकअर्कालाई गाली वा निषेध नगरौँ, अलि फरक ढंगबाट सोचौँ न!

तपाईंहरूले बनाएको यो संस्थाबाट तपाईंहरू आफैँलाई कतिको सहयोग भएको छ? विदेशमा यस्ता संस्थाको जरूरत किन पर्छ?
यस्ता संस्थाको निर्माण नयाँ कुरा हैन। विगतदेखि नै विदेश आएका थुप्रै नेपाली जहाँ बसे पनि र जुन क्षेत्रमा भए पनि विभिन्न संस्थामा जोडिन थाल्छन्। अहिले अमेरिका, युरोप वा अस्ट्रेलिया जाने विद्यार्थी पनि नेटवर्क बनाइहाल्छन्। विगतमा एकअर्कालाई भेट्न गाह्रो थियो, वा झण्झट हुन्थ्यो। घुलमिल गर्ने वा सहयोग गर्ने संस्कृति कम थियो। ग्रेट नेपाली डायस्पोरा सबैलाई जोड्ने केन्द्र बनिरहेको छ। सहयोग माग्ने र सहयोग दिने मान्छे एउटा व्यवस्थित संस्थालाई माध्यम बनाएर जोडिइरहेका छन्। 

हाम्रो संस्थाको ‘अनलाइन’ र ‘अफलाइन’ भर्जन छ। अनलाइनको माध्यमबाट मानिस एकअर्कामा संवाद गरिरहेका हुन्छन्, त्यसका लागि हामीले विशेषगरी ‘लिङ्टइन’ वा ‘स्ल्याक’को प्रयोग गर्छौं। तर हाम्रा हरेक ‘च्याप्टर्स’का सदस्य भौतिक रूपमै पनि भेटघाट गरिरहेका हुन्छन्। यो दुवै पक्षलाई हामीले सँगसँगै अघि बढाइरहेका छौँ। गुगल, जुम वा अरू माध्यमहरू जतिसुकै प्रभावकारी भए पनि मान्छे–मान्छे भेट्दाको जस्तो अनुभव हुँदैन।

यो संस्थाले उच्च आर्थिक हैसियत भएका वा पढेलेखेका नेपालीलाई मात्र समेट्छ कि खाडीमा मजदुरी गर्नेलाई पनि समेट्छ?
उहाँहरूलाई हामी अर्को फेजमा समेट्छौँ, त्यसका निम्ति हामीसँग योजना छ। उहाँहरूलाई छुट्याउन खोजेको हैन। स्टेप–१ मा नेपालबाहिरका नेपालीहरूलाई एक ठाउँमा ल्याउने हो। स्टेप–२ मा नेपालमा कसरी अर्थपूर्ण र योजनाबद्ध ढंगले ‘कनेक्सन’ बढाउने भन्ने छ। स्टेप–३ मा खाडीका कामदारदेखि अमेरिकामा उभर चलाउनेलाई पनि आबद्ध गर्छौँ। मध्यपूर्वमा नेपाली भन्यो कि ‘माइग्रेन्ट वर्कर’ सोचिन्छ। तर त्यहाँ नेपालीले व्यावसायिक रूपमा निकै प्रगति गरिरहेका छन्। उहाँहरूले त्यहाँ पनि बेलाबेला विभिन्न कार्यक्रम गरिरहनु हुन्छ।

हाम्रो एउटा महत्कांक्षी योजना ‘डायस्पोरा म्यापिङ सर्भे’ हो। हामीले काम पनि गरिरहेका छौँ। त्यसबाट कुन देशमा कति नेपाली छन्, कस्तो क्षेत्रमा काम गरिरहेका छन् लगायत जानकारी थाहा पाउन सकिन्छ।

अहिले छोराछोरी, नातिनातिना वा परिवारका अन्य सदस्यसँग विदेश जाने वृद्धवृद्धा पनि धेरै छन्। त्यहाँ उनीहरूले भोग्नुपर्ने अप्ठ्यारो नेपाल बसेर पनि अनुमान लगाउन सकिन्छ। ती वृद्धवृद्धाबारे पनि ‘द ग्रेट नेपाली डायस्पोरा’ले केही काम गर्छ?
सन् १९७० वा ८० को दशकामा अमेरिका आएर बसेका नेपाली धेरै हुनुहुन्छ। हामीले उहाँहरूको अनुभव, सिकाइ वा भोगाइलाई नयाँ पुस्तासँग जोड्न खोजिरहेका छौँ। जो मान्छे आफ्ना बच्चाबच्चीसँग अमेरिका आउनुभएको छ, हामीले उहाँहरूलाई पनि कसरी हाम्रो संस्थासँग जोड्न सकिन्छ भनेर काम गरिरहेका छौँ। वृद्धवृद्धाहरू अमेरिकामा फ्रस्टेट हुने अवस्था पनि छ। उहाँहरू यहाँ आउँदा परिवारसँग रमाइलो त होला तर त्यसबाहेकको जिन्दगीचाहिँ अलि तनावपूर्ण हुनेरहेछ। किनभने उहाँहरूको सोसल सर्कल, वा साथीसंगी कोही हुँदैनन्। नेपालमा भएको सम्बन्धजस्तो यहाँ हुँदैन। त्यो उमेर समूहका मानिसलाई कसरी घुलमिल गराउने भन्ने ठूलो चुनौती छ अहिले।

नेपालबाट विदेश गइसकेपछि त्यहीँको समाजसँग घुल्न कतिको गाह्रो हुनेरहेछ? पहिचानको संकट पनि हुन्छ?
जिन्दगीका विभिन्न चरण हुन्छन्, त्यसमा भर पर्छ। विद्यार्थी भएर आउँदा पहिचानभन्दा ‘सर्भाइभल’ ठूलो कुरा हुन्छ। आफ्नो अध्ययनमा बढी केन्द्रित हुनुपर्ने भएकाले अन्य पक्षबारे सोचिँदैन।

बाहिर गएपछि सबैथोक सजिलो हुन्छ भन्ने कुरा गलत हो। सजिलो हुँदैन। भिजा लाग्नु त पहिलो खुट्किलो हो, त्यसपछि चढ्नुपर्ने खुट्किला झनै गाह्रा हुन्छन्। विदेशमा विशेषगरी दुईथरी नेपाली भेटिन्छन्– पहिलो, नेपालीले नेपालीसँग मात्र भेटघाट गर्छन्, त्यो ‘कम्फर्ट जोन’ पनि हो। उनीहरूले पछिपछिसम्म पनि नेपालीसँग मात्र सरसंगत गरिरहेका हुन्छन्। दोस्रो, नेपालीको त मुख पनि हेर्दिनँ भन्नेजस्तो गर्छन्। हामीले आ–आफ्नो समयमा त्यो अनुभव गरेका छौँ।

रमाइलो कुरा के छ भने अहिले नेपालीहरू ‘ग्य्राजुएसन’देखि लिएर अन्य कार्यक्रममा पनि नेपाली पोशाक लगाउँछन्। भनेसुने अनुसार येल स्कुल अफ म्यानेजमेन्टमा स्नातक गर्ने म पहिलो नेपाली महिला रे ! त्यति बेला मैले नेपाली सारी लगाएको थिएँ। आफू एक्लै भए पनि नेपाली झल्किने पोशाक लगाउन मन लाग्छ।

तपाईं देश फर्किने योजना छैन? देश फर्किनेबारे त्यहाँ बस्ने अरूको योजना के हुन्छ?
अहिले नै देश फर्किन्छु कि फर्किन्नँ भनेर निर्क्यौल गर्न नमिल्ला। बसिरहेको ठाउँ चटक्क छाडेर फर्किन सबैलाई गाह्रो हुन्छ। तर धेरै मान्छे नेपाल फर्किरहेका पनि छन्। कतिपय एकदुई वर्ष नेपाल गएर बस्ने त्यसपछि पुनः फर्किने पनि हुन्छन्। कोहीकोही बाक्लै यताउता गरिरहने समेत छन्। मेरो मामलामा पनि यताउता भइरहने देख्छु।

नेपालीहरू विदेशमा आइसकेपछि ‘ओहो, मैले गल्ती गरेँ कि क्या हो! नेपालमै बस्नुपर्ने थियो’ भनेर सोच्ने रहेछन्। ४०/५० वर्षका मान्छेमा त्यो सोचाइ झन् बढी हुने रहेछ। त्यति बेला नेपालमा रहेका बाआमा पनि बुढाबुढी भइसकेका हुन्छन्। भावनात्मक रूपमा पनि त्यतिबेला मानिसले देश खोजिरहँदो रहेछ। धेरै जनाको मामलामा विदेशमा अलिकति व्यवस्थित हुने र नेपालमा बढी समय बिताउने गरेको देखिन्छ। १०/१५ वर्ष विदेश बसिसकेको मान्छे विभिन्न रूपमा नेपाललाई विभिन्न रूपमा सहयोग गर्न पनि चाहँदोरहेछ।

दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने तथ्यांक छ। युवाले देश छाडेभन्दा नेपालभित्र रहेकाहरू खिन्न हुन्छन्। विदेशमा बस्नेलाई चाहिँ कस्तो लाग्छ?
मलाई पटक्कै खुशी लाग्दैन। नेपाल छाड्ने मात्र हैन, नेपाललाई कुन अवस्थाका कारण छाडिरहेका छन् भन्ने विषय एकदम महत्त्वपूर्ण छ। त्यहाँ भएका युवापुस्तालाई ‘नेपाल बसेँ भने मेरो केही पनि उन्नति/प्रगति हुँदैन, बाहिर जान पाएँ भने सबै कुरा राम्रो हुन्छ’ भन्ने हतास छ, यो दुखद् पक्ष हो। सामूहिक रूपमा हामीले देशलाई त्यो अवस्थासम्म पुर्‍याएका छौँ। नेपालमा अवसरको अभाव छ र निराशा पनि छ– यो सत्य हो। तर सामाजिक संजालले यस विषयलाई थप गिजोलेको छ। नेपालबाहिरको जिन्दगी पनि सजिलो छैन।


सम्बन्धित सामग्री