Monday, May 06, 2024

-->

बजारको पञ्जामा पिल्सिएको प्रेम

खास गरी युवा पुस्ता मादक पदार्थको कुलतको रमझममा फसेको दुर्व्यसनीझैँ उपभोक्तावादी रंगरसमा अलमलिएको छ। यता राज्यसत्ता भने बेपरवाह सत्ताको 'रट्ठाबट्ठा' मिलाउनमै अभ्यस्त देखिन्छ।

बजारको पञ्जामा पिल्सिएको प्रेम

-प्रेमकुमार गैरे 'क्वान्टम'

ग्रेगोरियन पात्रोको दोस्रो महिनाको दोस्रो हप्ता 'भ्यालेन्टाइन सप्ताह' विश्वभरिका अधिक युवा पुस्तामाझ मौलाउँदै गएको संस्कृतिका रूपमा देखिएको छ। साथी 'सर्कल'बीच मात्र होइन, सामाजिक सञ्जालका अनेकौँ 'प्लेटफर्म'मा अन्य पुस्तासमेत यो सप्ताहसम्बन्धी साहित्य/सामग्री हेर्न,सुन्न या पढ्न बाध्य छन्। 

बजारवादको पंजा र सत्ताको उपेक्षामा युवा
५०० वर्षको आसपासदेखि सामन्तवादी युगको गर्भबाट जन्मेको व्यापारिक पुँजीवाद क्रमशः औद्योगिक र एकाधिकार हुँदै भूमण्डलीकृत पुँजीवादको उपयुगमा दौडिरहेको छ। पहिले व्यापारीहरू सामान उत्पादन गर्ने व्यक्ति (दस्तकार) का सामान बस्तीहरूमा लगेर बेच्थे, एक प्रकारले सेवा गर्थे। तर सन् १७७५ ताका युरोपमा जेम्स वाटले अर्धस्वचालित वाष्प इन्जिन आविष्कार गरेसँगै उत्पादनमा भएको अस्वाभाविक वृद्धिका कारण उत्पादित सामानलाई कुनै निश्चित स्थानमा थुपारेर बेच्नुपर्ने स्थिति पैदा भयो, जसलाई हामी 'बजार' भन्छौँ। यसरी प्रादुर्भाव भएको बजारको अवधारणा भूमण्डलीकृत पुँजीवादको उपयुगसम्म आइपुग्दा 'बजारवाद'को स्तरमा पुगेको छ। 

विभिन्न प्रचार-प्रसार माध्यम प्रयोग गरी अनावश्यक सामान किन्ने माहौल र मनस्थिति पैदा गराई प्रयोगकर्तालाई उपभोक्तावादी संस्कृतिमा फसाएर फजुल खर्च गर्न बाध्य पार्ने नीति नै बजारवाद हो। जस्तो: तपाईँ नुनको खाँचो परेर कुनै 'डिपार्टमेन्टल स्टोर'मा जानु भयो, त्यहाँ झिलिमिली पारेर सजाइएका सरसामान र अन्य मानिसले किनमेल गरेको माहौल देख्दा तपाईँको मस्तिष्कमा पनि अनावश्यक सामानहरू किन्ने धारणा स्वाभाविक रूपमा जन्मिन्छ र चाहिने/नचाहिने सामानहरू खरिद गर्नुहुन्छ। बजारबाट तपाईँ घर फर्कँदा नुनसमेत बिर्सेर आउने सम्भावना रहन्छ, किनकि तत्क्षण तपाईँ आवश्यकता भन्दा बढी बजारवादको विवशतामा फसिसकेको विलासी पात्र बन्नुहुन्छ। 

यसरी बाल, युवा वा वृद्धलगायत हरेक पुस्ता बजारवादले निम्त्याएको उपभोक्तावादी संस्कृतिको दुष्प्रभावबाट बच्न सकेको स्थिति देखिँदैन। खास गरी युवा पुस्ता बजारवादी भासमा यसरी भासिएका छन् कि न त्यसबाट उनीहरू निक्लने परिस्थिति छ, न त निक्ले तयारी वा प्रक्रिया नै। यो पुस्ता मादक पदार्थको कुलतको रमझममा फसेको दुर्व्यसनीझैँ उपभोक्तावादी रंगरसमा अलमलिएको छ। यता राज्यसत्ता भने बेपरवाह सत्ताको 'रट्ठाबट्ठा' मिलाउनमै अभ्यस्त देखिन्छ। युवा पुस्तामा निहित ऊर्जाशील र उर्वर समय, क्षमता र प्रतिभाको भरपुर उपयोग गर्न यथोचित वैचारिकी र वातावरण निर्माण गर्नुको सट्टा 'चालिस कटेसी रमाउँला' भन्ने सपना देखाउँदै राज्य कसैलाई हातमा राहदानी थमाइदिन्छ, कसैलाई दलाल बनाइदिन्छ त कसैलाई हप्ता भरी 'भ्यालेन्टाइन डे'मा अल्झने अल्लारे र बेरोजगार। संसद्‌वादी दलले युवा शक्तिलाई चुनावी माहौलमा होहल्ला गर्ने 'माईक', भोटको 'रबरस्ट्याम्प' र अन्य समयमा आफ्नो रिमोटको इशारामा चल्ने 'रोबर्ट' सिवाय केही होइनन् भनेझैँ व्यवहार गरेका अनेकौँ प्रमाण हामीसामु प्रशस्त छन्। 

'भ्यालेन्टाइन डे' र प्रेमबीचको फरक
'भ्यालेन्टाइन डे' किन र केका लागि दिवसकै रूपमा मनाउन थालियो भन्नेबारे इतिहास केलाउँदा सपाट किसिमका तथ्य भेटिँदैनन्। एक पक्षको दाबी छ: इटलीको टेर्नी इलाकामा भ्यालेन्टाइन नामका लोकप्रिय पादरी-गुरु थिए, जसले जनहितमा काम गर्थे। त्यस समयका रोमन सम्राट् क्लाउडियस द्वितीय युद्ध गर्ने रणनीतिका साथ अघि बढेको हुँदा तिनले राज्यका युवाहरूलाई बिहे नगर्न उर्दी जारी गरेका थिए। तर ती पादरी गुरुले प्रतिबन्धित अवस्थामै धमाधम युवाहरूको विवाह गरिदिए। यसै सन्दर्भमा सम्राट्सँगको भेटमा पादरीले सम्राट्लाई क्रिश्चियन बन्न प्रस्ताव राखेकै कारण सन् २७० फेब्रुअरी १४ मा उनलाई फाँसी दिइएको सम्झना स्वरूप यो पर्व मनाउने प्रचलन चल्यो। 

अर्कातर्फ, रोमनहरू 'लुपरकेलिया' नामको पर्व फेब्रुअरी १४ मै मनाउँथे र त्यस साम्राज्यको पतनसँगै पहिलेकै जनविश्वासको आधिकारिकता लिएर नयाँ शासकहरूले कृश्चियन मत हाबी बनाए र रोमन संस्कृतिलाई दमन गर्दै सोही दिन 'भ्यालेन्टाइन डे' मनाउने प्रचलन प्रारम्भ भयो भन्ने किम्बदन्ती पनि छ। प्रसंग वा घटना जे जसरी घटेको होस्, यहाँ वाञ्छनीय कारण खोतल्दा के निष्कर्षमा पुग्न सकिन्छ भने यी मिथकहरूले कृश्चियन धर्मको पक्षमा वकालत गर्न खोजेको प्रस्ट बुझिन्छ। हाम्रो प्रश्न कहाँ हुनुपर्छ भने कुनै धर्म विशेषको प्रचार प्रसार, संवर्द्धन वा विश्वासलाई जीवन्त राखिदिने हाम्रो दायित्व हो? के उक्त घटना हाम्रो जीवनकालमा घटेको, उत्प्रेरित हुने स्तरको वा सान्दर्भिक  छ? सो घटनामा हाम्रो जीवनलाई अघि बढाउने के कति वैज्ञानिक आधार भेटिन्छन्? के प्रेम कुनै मुहूर्तमा गरिने कर्मकाण्ड हो? गुलाफको फुललाई नै हामीले प्रेमको प्रतीक मानिदिनु पर्ने हो? 

यीलगायत यावत् प्रश्नको श्रृङ्खला अबका युवा पंक्तिले केवल 'भ्यालेन्टाइन डे'बारे मात्र होइन बर्थ डे, इन्गेजमेन्ट डे, एनिभर्सरी डे, बेबी सावर आदीलाई समेत तेर्स्याउनु अत्यावश्यक देखिन्छ। यस्तै तिखा प्रश्न हाम्रो समाजले मान्दै आएका कतिपय चाडबाड र प्रचलनबारे पनि तेर्स्याउन सकिन्छ। टर्रो नै लागोस्, थुप्रै पेचिला प्रश्न वैशाख एकको नयाँ वर्ष, जनवरी एकको न्यु यर वा टोपी दिवस मनाउनेहरूलाई पनि सोध्नै पर्छ। 

'प्रेम'को अवधारणा पुँजीवादको उदयसँगै स्वाभाविक हिसाबले स्थापित भएको इतिहाससिद्ध छ, किनकि सामन्तवादी समाजमा मानिसहरूको जीवन एउटै श्रम क्षेत्रमा मेहनत  गर्दागर्दै बित्ने गर्थ्यो। भूदास कृषकहरू रुग्ण चेतनासहित 'इलाकावाद'भित्र रुमल्लिएका थिए। 'भ्रातृत्व र भाइचारा' र 'महिलाको स्वतन्त्रता'को नारा दिएर पुँजीवादले बिस्तारै हजारौँ महिला र पुरुष मजदुरहरूलाई एकै ठाउँमा एकीकृत गर्दै गयो, किनकि नयाँ व्यवस्थालाई अब कारखानामा काम गर्दै श्रमको मूल्य लुट्न दिने मजदुरहरू आवश्यक थियो। सामन्तवादी युगमा अभिभावक, आफन्त, लमी आदिले विवाह सम्बन्ध जोडिदिने गर्थे। पुँजीवादी युग आएपछि भने युवायुवतीलाई विवाह, यौन र प्रेम सम्बन्धमा रहन न कुनै लमी चाहियो न त खोज्ने नै फुर्सद। 

प्रेम स्वतःस्फूर्त रूपमा प्रकट हुँदै झाँगिन थाल्यो र यो बिलकुल नयाँ तर स्थापित सामाजिक सम्बन्ध बन्न गयो। यसरी वर्गीय आवश्यकताले निर्माण हुन पुगेको प्रेमका तीन आधारभूत पक्ष हुन्छन्। एक,जोडी रोज्ने अधिकार। सामन्तवादी युगमा यस्तो अधिकार नपाएका जोडीले आफ्नो इच्छा र चाहना अनुसारको मानिस छान्ने अवसर पाउनु आफैँमा प्रगतिशील कदम त थियो। अझ नारीको पक्षबाट हेर्ने हो भने त पितृसत्ता विरुद्ध निकै क्रान्तिकारी हमला थियो। 

दुई,लैंगिक समानताको दिशातर्फ गतिशील सम्बन्ध। पितृ सत्ता कमजोर गर्नलाई दावानल बनेको प्रेम सम्बन्धले महिला र पुरुषबीचको लैंगिक असमानतामा आधारित तिक्ततापूर्ण सम्बन्ध क्रमशः आत्मीय र सौहार्दपूर्ण बन्दै गयो। तीन, सम्बन्ध विच्छेदको प्राधिकार। माथि एक नम्बर बुँदामा उल्लेख गरिसकिएको छ कि जोडी छान्ने अधिकार दुवै पक्षलाई रहन्छ। यसको विपरीत जोडी त्याग्ने अधिकार पनि स्वतः रहने नै भयो।

यहाँ उजागर गर्न खोजिएको मुद्दा के हो भने बिलकुल फरक परिस्थिति र युग चेतनामा आधारित साढे सत्र सय वर्ष अगाडिको कुनै एउटा धार्मिक मतको मिथकमा आधारित पर्व 'भ्यालेन्टाइन डे' र करिब पाँच सय वर्ष अघि उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आएको आमूल परिवर्तनका कारण महिला-पुरुषबीच विकसित नयाँ र विज्ञानसम्मत प्रेम सम्बन्ध र यसको अवधारणाको  ऐतिहासिकताबारे कहीँ-कतै अन्तरसम्बन्ध वा अझै प्रस्ट भाषामा भन्दा  गोरु बेचेको साइनो समेत छैन।

सांस्कृतिक हस्तक्षेप र अर्थ राजनीतिक पटाक्षेप
पश्चिमा मुलुकहरूले भारत र चीनसँगको व्यापारिक मार्गका रूपमा पहिले टर्कीको सामुन्द्रिक मार्ग प्रयोग गरेता पनि पन्ध्रौँ शताब्दीको अन्त्यतिर वैकल्पिक मार्ग खोजियो। पोर्चुगलका भास्को डिगामाले सन् १४९८ मा वैकल्पिक मार्ग पत्ता लगाए भने स्पेनका कोलम्बसले सन्  १४९२ मा भारत खोज्दै आउँदा अमेरिका भेट्टाए र यही समयबाट उपनिवेशवादको पुँजीवादी-साम्राज्यवाद पूर्वीय मुलुकहरूमा शुरू भएको मानिन्छ। भनिन्छ, कुनै पनि ठाउँका जनतालाई शासन गर्नु छ भने सबैभन्दा पहिले सांस्कृतिक रूपमा हमला गर्नुपर्छ। पुँजीपति-साम्राज्यवादीहरूले पनि यही नीति अनुसार वैचारिक हतियारका रूपमा धर्मलाई परिमार्जित गर्दै नाफाको धन्दा मच्चाउन थाले। 

एक अफ्रिकी नेता बन्टु स्टेफेन बिको अर्थात् स्टिभ बिकोको लोकप्रिय भनाई छ "उत्पीडकको सबैभन्दा सशक्त हतियार नै उत्पीडितको चेतना स्तर हो।" विशेष गरी पूर्वी मुलुक भारत र यस क्षेत्रका मुलुकहरू पहिलेदेखि नै धार्मिक अन्धता र रूढताले ग्रस्त थिए। यही क्षेत्रमा साम्राज्यवादी संस्कृति स्थापित हुने र फैलिने अवसर पाएको देखिन्छ। साम्राज्यवादले कतै उपनिवेश खडा गरेर त कतै साम्राज्यवादको दबदबा कायम राखेर सांस्कृतिक रूपमा जनताको भावनामाथि खेलबाड गर्दै एउटै पर्वलाई अनेकन् कलेवरमा लुट्न थालेको देखिन्छ। 

जस्तै: साम्राज्यवादले प्रेमको प्रतीकको रूपमा गुलाफको फूललाई स्थापित गरेको पाइन्छ। पहिले रोमन साम्राज्य र पछि कृश्चियन धर्ममा 'पवित्र फूल'को रूपमा ग्रहण गरियो गुलाफलाई। युरोपमा नपाइने सयौँ प्रजातिका फूल फुल्ने भूगोलमा बसेका हामीले अब त्यही फूललाई प्रेमको प्रतीक मानिदिनुपर्ने? 'चकलेट डे' भनेर हाम्रो संस्कृतिमै नभएको खानाको परिकार उपहार दिनुपर्ने र काट्नु पर्ने? 

नव वैचारिकी निर्माण
हाम्रो अर्थतन्त्र, राजनीति र संस्कृतिमाथिको साम्राज्यवादी हस्तक्षेपलाई यही अवस्थामा स्विकार्दै जाने हो भने हाम्रो भविष्य अँध्यारो छ। टी.आर.माल्थस नामका अंग्रेजी अर्थशास्त्रीले २०० वर्ष अघि भने,  "मानिसका चाहना असीमित छन्।" माल्थसको भनाइलाई उपयोग गर्दै पुँजीवादीको उपभोक्तावादी संस्कृति प्रेमजस्तो भावनात्मक सम्बन्धलाई समेत पुतलीका रूपमा बजारमा बेचेर पुस्तौँ-पुस्ता लुट्ने ध्याउन्नमा छ। तर मानिसको जीवन नै सीमित छ भने चाहना कसरी असीमित हुनसक्छ भन्ने प्रश्नसहितको वैचारिकी र चेतना निर्माण गर्ने बेला हो यो। त्यसो गर्न सक्दा बजारले 'कस्मेटिक' वस्तु बेच्न बनाएका यस्ता 'डे' र दिवस स्वतः खारेज हुँदै जानेछन्। चेतनशील र जागरूक जनको प्रयास त्यसतर्फ हुनुपर्छ।


सम्बन्धित सामग्री