Friday, March 29, 2024

-->

अन्तर्वार्ता
सुमन सायमिलाई प्रश्न- बालेन शाहविरुद्ध किन उत्रिनुभयो?

३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि।

सुमन सायमिलाई प्रश्न- बालेन शाहविरुद्ध किन उत्रिनुभयो

काठमाडौँमा सडक विस्तारका कारण विस्थापित बनेकाहरूको नेतृत्व गरेर सुमन सायमि लामो समयदेखि आन्दोलन गरिरहेका छन्। आइतबार काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्धको प्रदर्शनको नेतृत्व उनले नै गरेका थिए। गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुख र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ८ बाट उनी उम्मेदवारसमेत बनेका थिए। तर दुवै निर्वाचनमा पराजित भए। महानगर प्रमुखमा पराजित भएपछि उनी बालेन शाहलाई बधाई दिएर विजय जुलुसमा सहभागीसमेत भएका थिए। अभियन्ता सुमन सायमिसँग उकालोका लागि सुनीता साखकर्मीले गरेको अन्तर्वार्ता:

काठमाडौँ महानगर प्रमुख बालेन शाहविरुद्ध किन प्रदर्शन थाल्नुभयो?
बालेन शाहको योजना विचार सबै राम्रो छ। उहाँको काम गराइको प्रक्रिया नमिलेको कारण असन्तुष्टि भएको हो। पार्किङ व्यवस्थित गर्नु धेरै राम्रो हो। तर विकल्पबिनाको व्यवस्थापनको कारण जनताले गरिखान पाएनन्। व्यवसायीहरूलाई समस्या भयो। ट्राफिक ज्यादती धेरै बढ्यो। १ मिनेट रोकेको हुँदैन, १५ सय रुपैयाँ जरिवाना तिराउनुहुन्छ। हामीले नै महानगरलाई, सरकारलाई कर तिर्नुपर्ने, जरिवाना पनि तिर्नुपर्ने, अनि सरकारले आफ्नो दायित्व ननिभाउने भएपछि असन्तुष्टि भयो। 

शंखमुलमा निजी सम्पत्तिमा डोजर चलाइयो। त्यहाँ बिनाआधार, बिनाप्रमाण, बिनासूचना, बिनापूर्जी संरचना हटाउन नगर प्रहरी आइपुग्यो। निजी सम्पत्ति राज्यले लिन आधार चाहियो। संविधानले नै धारा २५ र ३७ मा सम्पत्तिको हक र आवासीय हक दिएको छ। 

महानगरले डोजर चलाएको जुन जग्गा छ, त्यसको विषयमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ। काठमाडौँ महानगर, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाएर दर्ता गरेको मुद्दामा २०७४ असोज २ गते फैसला भएको हो। यो जग्गामा जीएलडी (गाइडेड ल्यान्ड डिभलपमेन्ट) लागू भएका कारण डोजर चलाएको भन्ने पनि आयो, तर हामीलाई पत्र आएको छैन। जीएलडी  भनेर उपत्यका विकास प्राधिकरणले २०४५ सालमा कल्पना गरेको योजना हो। त्यसको वैधता दुई वर्ष मात्रै हो। जीएलडी लिन पनि जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आउनुपर्छ। क्षतिपूर्ति तथा मुआब्जा दिनुपर्छ। कि सहमति कायम गराउन सक्नुपर्छ। त्यो गरेको अवस्था छैन।

क्षेत्राधिकार पनि नाघेको अवस्था देखिन्छ, जुन क्षेत्राधिकार उपत्यका विकास प्राधिकरणलाई मात्रै छ। महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले ‘हाम्रो क्षेत्राधिकारभित्र पर्दैन’ भनेर दिएको लिखित जबाफ पनि हामीसँग छ। महानगर प्रमुख परिवर्तन भएपछि स्थानीय सरकार सञ्चालन ऐन परिवर्तन भएको हो कि? त्यो जानकारी त हुनुपर्यो नि। ‘बालेनजी सच्चिनुस्, काम गर्दा गल्ती हुन सक्छ, तर त्यसलाई महसुस गर्नुस्’ भन्दा उहाँले भेटघाटै गर्नुहुन्न। फोन उठाउनुहुन्न। 

सार्वजनिक जग्गा अतिक्रमण गरेकाहरूलाई हटाएको भए जनता पनि खुशी हुन्थे। काठमाडौँ–१४ रविभवनस्थित लिंकन स्कुलले १२/१३ आना जग्गा मिचेर पर्खाल लगाएकोमा महानगरमा हामीले ६ महिनाअघि नै पत्राचार गरेका थियौँ। लिंकन स्कुलमा बालेनजीको आँखा किन पुगेन? त्यहाँ किन डोजर चलाइएन? कि उहाँले ठूलालाई चैन, सानालाई ऐन भन्नुपर्‍यो।

काठमाडौँ महानगरको प्रमुखमा विजयी बनेपछि बालेन शाहबाट के अपेक्षा थियो?
बालेनजी जस्तै त्यतिबेला म पनि महानगर प्रमुख पदको स्वतन्त्र उम्मेदवार थिएँ। हामी परिवर्तन चाहन्थ्यौँ। ठूला दलले काम गरेनन्, स्वतन्त्र भयो भने दबाब र प्रभाव कम हुन्छ भनेर हामीले उम्मेदवारी दिएका थियौँ। त्यतिबेला हामी प्रतिद्वन्द्वी थियौँ। निर्वाचनमा हार–जित स्वाभाविक हो। जब उहाँ (बालेन)ले जित्नुभयो, राम्रो काम र राम्रो विचारको लागि हामीले सहयोग गर्नुपर्छ भनेर म बधाई दिन गएको थिएँ। अहिले आएर उहाँले गैरकानूनी कामहरू गरेर जनतालाई गरिखान नदिने अवस्था निम्त्याएपछि आवाज त उठाउनुपर्‍यो। राम्रो कामको लागि, जनताको मौलिक हक सुनिश्चित गर्नको लागि अहिले पनि उहाँलाई साथ दिन्छौँ। तर उहाँले गरेका गलत काम सच्याउन जरुरी छ। 

बालेनजीबाट मैले पनि अपेक्षा गरेको थिएँ। शिक्षित युवा इन्जिनियर हुनुहुन्छ, जोश पनि छ भनेर कल्पना गरेका थियौँ। तर उहाँले भत्काउनु मात्रै भयो, बनाउनतिर ध्यान नै दिनुभएन। 

प्रशासनिक क्षेत्रमा सिन्डिकेट छ भन्ने त ३०औँ वर्षदेखि थाहा छ नि। ३० वर्षको गल्तीलाई ३० दिनमै समाधान गर्छु भनेर हिँड्नुभएको छ। धैर्य नभएपछि समस्या समाधान गर्न गाह्रो हुन्छ। एक जनाले मात्रै बिगारेको अवस्था छैन, सबैले बिगारेका छन्। सिन्डिकेट तोड्न जनताको मन जित्नुपर्ने थियो। जनताले खोजेको आधारभूत कुराहरू हुन्। त्यसको लागि शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा निशुल्क वा सर्वसुलभ गराइदिएको भए जनता त्यसै खुशी हुन्थे नि। 

बालेन शाह निर्वाचित भएपछि बधाई दिन पुगेका सुमन। फाइल तस्वीर

पुराना समस्याहरूलाई एकैपटक समाधान गर्छु भनेर जाने उहाँको बानी छ, जसले गर्दा उल्टै महानगरलाई नै नराम्रो पनि भएको छ। तयारीका साथ नजाँदा सुकुमवासी बस्तीमा नगरप्रहरीले नै कुटाइ खाए। भूमि आयोगसँगको सम्झौता विपरीत क्षेत्राधिकार मिचेर सुकुमवासीलाई हटाउन लाग्नुभयो। साँचो सुकुमवासी पहिचान गर्ने दायित्व सरकारको हो। साँचो सुकुमवासीलाई त रोजगारीसहित पुनर्स्थापना गर्नुपर्ने हो। त्यो विवाद अहिलेसम्म बल्झिरहेको छ। विकल्प नदिइकन नहटाउनू भनेर भूमि आयोगबाट पनि पत्र आएको छ। 

काठमाडौँका रैथानेलाई महानगरपालिकाले उठिबास लगाएको छ। ३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि। आवाज उठाउनुपर्ने ठाउँमा आवाज उठाउनुभएन। विकास जनताको लागि हो। कुनै विकासले जनतालाई रिझाउन सकेन भने त्यो त विकास भएन, विनाश भयो। उहाँले यसलाई बुझ्नुपर्छ। 

बालेन शाहले गरिरहेका कामका विषयमा सामाजिक सञ्जालमा विरोधभन्दा पनि धेरै समर्थन गरेको देखिन्छ नि? 
बालेनजीको सोचविचार र घोषणापत्रमा लेखिएका कुराहरूमा म एकदमै खुशी हो। पार्किङ खोल्छु भन्दा खुशी भएको हो। तर दशैँ तिहारको मुखमा धमाधम हटाउनू भन्दा दुई महिना कुरेको भए केही फरक पर्दैनथ्यो। जनताको सम्पत्ति पनि राज्यकै सम्पत्ति हो। उहाँको अनुगमनमा कमी कमजोरी छन्। 

उहाँले टुकुचा खोला खोल्छु भन्दा म खुशी भएको हो। तर त्यहाँ पनि अध्ययनबिना नै योजना बनाउनुभएको रहेछ। त्यहाँ १३५ वर्षअघि राणाशासनको पालादेखि नै गुम्बज शैलीमा बनाएको (सुरुङ) रहेछ। त्यहाँ जग्गा किन्नेलाई लालपूर्जा दिने सरकार नै रहेछ। निर्माणको अनुमति दिने सरकार नै रहेछ। प्रमाण नै नहेरी बसोबास गरिरहेकालाई अतिक्रमणकारी भनेर जसरी बिल्ला लगाइयो, त्यो गलत भयो।

कसैको पनि जग्गा, बाटोका लागि या अन्य प्रयोजनका लागि होस्, लिने प्रक्रिया छ। कानूनअनुसार क्षतिपूर्ति वा मुआब्जा दिनुपर्ने अवस्थालाई अनदेखा गर्न मिल्दैन। योजनाबद्ध रूपमा नजाँदा टुकुचा फुटाएर त्यसै राख्नु परेको अवस्था छ। भोलि त्यहाँ कुनै दुर्घटना भयो भने जिम्मेवार को हुन्छ? 

बालेनजीले काम त गर्न खोज्नुभएको हो, तर दूरदर्शी पनि हुनुपर्छ। उहाँको काममा हामीले अदूरदर्शीपन् देख्यौँ। हामीलाई जेब्रा क्रसिङबाट बाटो काट्न भनिएको छ, तर जेब्रा क्रसिङ नै बनाइएन भने कहाँबाट बाटो काट्ने? महानगरले दायित्व पूरा नगर्ने, जनतालाई मात्रै दुःख दिने काम भयो। त्यसैले सचेत गराउन जरुरी भयो।

नयाँ स्थानीय सरकार गठन भएको झन्डै नौ महिना पूरा भएको छ। यो अवधिमा उहाँको नेतृत्वमा भएका काम सबै यस्तै हुन् त?
बालेनजी महानगरवासीप्रति उत्तरदायी हुनुहुन्न। उहाँ संयमित हुनुहुन्न, सहनशील पनि देखिनुहुन्न। कसैले केही भन्यो भने तुरुन्तै रिस देखाइहाल्नुहुन्छ। सल्लाह दिने मान्छेलाई नि विरोधी सोच्नुहुन्छ। समस्यामा रहेको मान्छेले भेट्न खोज्यो भने भेट्नु नै हुन्न। सूचनाको हक प्रयोग गरेर जानकारी लिन खोज्दा पनि दिनुहुन्न। 

शंखमुलमा निजी जग्गामा रहेको पर्खाल भत्काएको घटनामा पीडित त्यही दिन महानगर गएका थिए। बालेनजीलाई भेट्न, सूचनाको हकअन्तर्गत जानकारी लिन गएको थियो। ल बालेनजी व्यस्त हुनुहुन्थ्यो होला रे, भेट्नुभएन, तर सूचना त दिनुपर्ने हो नि। सूचना पनि दिइएन। यो महानगरपालिकाको गैरजिम्मेवारी हो। 

टुँडिखेल सेनाले कब्जा गरेको छ। खुलामञ्चमा पार्किङ बनाउने योजना ल्याउनुभएको छ। वातावरण जरुरी कि पार्किङ? सार्वजनिक ठाउँमा काम अघि बढाउनु अघि विज्ञसँग छलफल गर्नुपर्ने थियो। सार्वजनिक सुनुवाइ गर्नुपर्ने हो। तर गर्नुभएन। यस्तो कुराहरूले गर्दा उहाँ अदूरदर्शी देखिनु भयो। उहाँको अदूरदर्शी पाराका कारण जनताले सास्ती भोग्नुपर्छ भन्ने छैन। 

तपाईं आफ्नो स्वार्थको लागि बालेनविरुद्ध उत्रिएको भनेर पनि आलोचना गर्छन् कतिपयले। आगामी चुनावलाई लक्षित गर्नुभएको हो?
हामी भूमिहीनहरूको लागि लडिरहेको १० वर्ष भइसक्यो। कांग्रेस, माओवादी, एमाले जुनसुकै सरकार आए पनि गलत गरेको बेलामा लडेका छौँ। अहिले पनि हामीले बालेनजीलाई समर्थन नै गरेको हो, तर उहाँको काम नै गलत भइसकेपछि विरोधमा उत्रिएका हौँ। न्याय, अधिकारको लागि जुनसुकै सरकार आए पनि लड्छौँ।

निर्वाचन भनेको एउटा पाटो मात्रै हो। निर्वाचन नै नलड्दा पनि हामी गलत कुरा भएको ठाउँमा जहिले लडेका छौँ। छायाँ मेयरको रूपमा काम गरिरहेका छौँ। 

१०औँ वर्षदेखि हामीले सतहबाट अध्ययन गरेर आइरहेका थियौँ। हामीलाई काठमाडौँको माटो एक–एक थाहा छ। कुन ठाउँमा अतिक्रमण भयो, कहाँ हटाउनुपर्छ, कुन ठाउँमा सडक चाहिन्छ भन्ने थाहा छ।

गिलासमा कति पानी हाल्ने भन्ने त अध्ययन गर्नुपर्छ। अध्ययन नगरेपछि धेरै पानी हाल्यो भने पनि पोखिन्छ। काठमाडौँको हकमा यस्तो अध्ययन नै भएन। काठमाडौँको क्षमता नबुझी काम भएको छ। काठमाडौँ विनास हुनुको कारण त्यही हो। बालेनले पनि त्यही गर्दै हुनुहुन्छ। त्यसैले उहाँ सम्हालिन जरुरी छ। 

संविधान निर्माणपछि बनेका पहिलो प्रमुख विद्यासुन्दर शाक्य र दोस्रो प्रमुख बालेन शाहको कामकारबाही नियाल्नु भएको छ। दुई जनामा कस्तो समानता वा भिन्नता पाउनुहुन्छ? 
विद्यासुन्दरको पालामा हामीले बोल्नै पर्दैनथ्यो, लिखित जवाफ आउँथ्यो। अहिले बालेनजीले काम गर्न खोज्नुभएको छ, इच्छाशक्ति पनि देखिन्छ। तर उहाँले कानूनी कुरा अध्ययन गर्नुपर्ने देखिन्छ। प्रक्रिया नपुर्‍याएपछि त विरोधीले विरोध गर्छ। हामीले सुध्रनको लागि घच्घचाएको हो। 

बालेनजीमा तानाशाहा प्रवृति देखियो। पहिले त विरोध भयो भने क्षतिपूर्ति र मुआब्जा दिन्थ्यो। अहिले सूचनाबिना, पूर्जीबिना नै भत्काएको देखिन्छ। जुन ठाउँमा पनि डोजर लगेको अवस्था छ। जनताको ५०औँ लाखको नोक्सान गरिदिएको छ। हामीलाई टाउको दुख्यो भने औषधि–उपचार गर्ने कि टाउको नै काटेर फाल्ने? गर्नुपर्ने त उपचार हो, तर यहाँ टाउको नै काटेर फाल्ने प्रवृति देखियो। 

बालेनले सुधार गर्नुपर्ने कुराहरू के–के छन्?
बालेनजीले उपत्यकाको अध्ययन गर्नुपर्छ। उपत्यका कसरी बनेको छ र यहाँको हावापानी कस्तो छ भन्ने अध्ययन गर्नुपर्छ। यहाँको मौलिकता जोगाउँदै सह–अस्तित्वको सम्मान गर्नुपर्छ भन्ने उहाँलाई थाहा हुनुपर्छ। महानगरवासीको आत्मनिर्भरताका लागि कदम चाल्नुपर्छ। 

कुन ठाउँमा सडक विस्तार गर्ने, कुन ठाउँ संरक्षण गर्ने भनेर अध्ययन गर्नुपर्छ। कुनै पनि निजी जग्गामा केही गर्ने हो भने अध्ययन गरेर प्रक्रिया पुर्‍याएर जग्गाधनीलाई आधारसहितको पूर्जी दिएर मात्रै गर्नुपर्छ। अध्ययन नगरी विस्थापित गर्दा के असर पुग्छ भन्ने थाहा हुँदैन, त्यसैले शुरूमा त अध्ययन नै गर्नुपर्छ। कसैलाई विस्थापित गर्नुअघि उसको क्षतिपूर्ति दिनुपर्छ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमै भएका कुरा हुन्। आदिवासी जनताको हकमा त झन् धेरै प्रक्रिया पूरा गर्नुपर्छ। यस्तो कुराहरू उहाँले बुझ्नुपर्यो नि।


सम्बन्धित सामग्री