युवा बलिदानी त्यसै खेर जाने त होइन!

एक-दुई हप्तासम्म लुकेर बसेका उनीलगायत व्यक्तिहरू फेरि चम्कीचम्की युवालाई धम्की दिन थालिसके। उसैगरी उखान टुक्का हाल्न थाले, मानौँ देशमा केही भएकै थिएन।

"ओहो दाइ, तपाईं त कस्तो परिवर्तन हुनुभएको," एक जना भाइ मेरो सामु उभिए। उनी को हुन् भन्नेबारे मैले ठ्याक्कै अनुमान लगाउन सकिनँ। धेरै वर्षपछि दशैँमा टीका लगाउन यस पटक गाउँ छिरेको थिएँ।

"मैले तपाईंलाई चिनिनँ नि? यहाँको परिचय!" असहज मान्दै सोधेँ। ती भाइले उत्साहित हुँदै भने, "तपाईंले गर्दा त हो नि एसईईमा 'ए' आएको, तपाईंलाई सुनाउन मन थियो, तपाईंको मोबाइल नम्बर नपाएर सुनाउनै पाइनँ।"

उनी त मैले त्यस्तै ७/८ वर्षअघि ट्युसन पढाएका विद्यार्थी रहेछन्। कृष्ण काकाका छोरा रजत। रूप पनि धेरै बदलिएको। उनको दाहिने हातमा ब्यान्डेज बाँधेको पनि थियो।

"अहो! हो र! अनि हातमा के भयो? रुखको घाँस काट्न जाँदा भाँच्यौ कि कसो? अनि अहिले के कति पढ्दै छौ? गाउँघर पनि खाली भएछ, तिमीहरूले चाहिँ गाउँ नछाड्नु है। म पनि यतै आउनेबारे सोच्दै छु।"

उसलाई धेरै कुरा भन्न नदिई आफ्ना कुरा खरर राखिहालेँ। सिनियर भई टोपल्नुको रवाफ देखाइहालेँ। 

"धेरै पछि भेट भयो। आउनुस् दाइ, कतै बसेर गफ गरौँ।"

हामी एउटा चिया पसलमा बस्यौँ। उनले कुरा सुरु गर्न थाले। "दाइ, म पनि जेनजी आन्दोलनमा गएको थिएँ।" यसबीचमा हामीले चिया अर्डर गर्‍यौँ।

सशङ्कित भएर मैले सोधेँ, "अनि हात?"

"नपत्याउनुहोला, मेरो हात भाँचिएको होइन, गोली लागेको हो।" उनले त्यति भन्दासमेत भाइले कतै बनावटी कुरा त गरेनन् भनेर एक मनमा शंका लागिरह्यो।

उनले बताए, "म गाउँमै बस्न चाहन्थेँ, पढाइ राम्रै भएकाले निरन्तरता दिन चाहन्थेँ। तर सकिनँ। १० वटा गाई ल्याएर पाल्न थालेँ। त्यो पनि पहिरोले बगायो। झन्डै आफैँ मरिनँ। अनि विदेश जानपर्‍यो भनेर काठमाडौँको एउटा म्यानपावर एजेन्सीमा धाउँदै थिएँ। त्यही बीचमा जेनजी आन्दोलन भयो। अरू त सबैलाई थाहा छँदैछ।" 

उसका कुरा सुनेर मलाई निकै नराम्रो लाग्यो। उनी भन्दै थिए, "काठमाडौँमा हुँदा तपाईंलाई समेत भेट्न प्रयास गरेँ। तपाईंको नम्बर मैले चिनेको कोहीसँग पनि रहेनछ।" 

"अनि अनि…?," मैले सोधेँ। 

"मेरो त हातमा गोलीमात्र लागेको हो। मसँग रूममा बस्ने साथीको त ज्यानै गयो दाइ।"  यसो भन्दै गर्दा उनले रूँलाझैँ गरेँ। मैले नियालेँ। उनका शरीरका रौँ ठाडा भएका थिए।

"मेरो साथी १२ सकेर काठमाडौँकै एउटा कलेजमा पढ्थ्यो। २३ गतेको आन्दोलनमा हामी दुवै गएका थिएनौँ। तर २३ गते विद्यार्थीहरू मारिएपछि उ आक्रोशित थियो, म पनि। भोलिचाहिँ जाने नै हो आन्दोलनमा भनेर हामी सँगै गएका थियौँ।"

अनि अनि…? 

"बानेश्वरको भीडमा हामी सँगै थियौँ, म पहिलो पटक काठमाडौँ गएको मान्छे। मलाई लोकेसनबारे पनि केही पनि थाहा थिएन, उसले आफ्नो कलेजमा अघिल्लो दिन नै सबै योजना बनाएको रहेछ, तर मलाई सो कुरा भनेकै थिएन। आन्दोलनमै उसका कलेजका साथीहरूसँग मेरो भेट गरायो। कार्टोन/कार्डबोर्डमा 'फलानो चोर देश छोड'लगायत आक्रोशपूर्ण नारा लेखेर ल्याएका थिए उनीहरूले। हामी झुरुप्प भएर नारा लगाउन थाल्यौँ। अघिल्लो दिनको हिंसाप्रति आक्रोश प्रकट गर्‍यौँ। यस बीचमै मेरो दाहिने हातमा गोली लाग्यो। कतिखेर गोली लाग्योसमेत पत्तो भएन। रगत बगेपछि मात्र मैले ख्याल गरेँ। मासुमात्र लुछिएको रहेछ। मलाई साथीहरूले अत्तालिएर अस्पताल लगे। घटना सिरियस नभएकाले त्यसै दिन म घर फर्केँ। अझै बिसेकचाहिँ भएको छैन।"

"अनि के भयो रजत?," मैले थप चासो दिँदै प्रश्न गरेँ।

"मध्य दिउसो भएको हुनुपर्छ। भीड बढ्दै जाँदा आक्रोश बढ्यो। मलाई गोली लाग्नुअघि नै उ भीडमा हराएको थियो। त्यस दिन बेलुका मेरो साथी घर आएन। मोबाइल लागेन। भोलिपल्ट मलाई अस्पतालबाट फोन आयो। उसको त त्यही दिन बानेश्वर क्षेत्रमै मृत्यु भएको रहेछ। अहिले पनि अनौठो लागिरहेछ। सपनाझैँ लागिरहेछ। सँगैको साथी बित्यो। उसको बाआमा र उसको भर्खर कक्षा ६ मा पढ्दै गरेकी बहिनीको चित्कार भुल्न सकेको छैन दाइ। त्यो ६ कक्षामा पढ्दै गरेकी बहिनी भेट्नुभयो भने तपाईं पनि रुनुहुनेछ दाइ।"

उसले यसो भन्दा मेरो मुटु कुँडियो।  

उनले भने, "मेरो घाउ त अब बिसेक हुन थालिसक्यो। तर दर्जनौँ बिते। सयौँ घाइते भए। तर दुई चार हप्तामै बानेश्वर हत्याकाण्ड हुनुमा जिम्मेवार तत्कालीन सरकार प्रमुख पहिलेझैँ मनलागी बोलिरहेका छन्। एक-दुई हप्तासम्म लुकेर बसेका उनीलगायत व्यक्तिहरू फेरि चम्कीचम्की युवाहरूलाई धम्की दिन थालिसके। उसैगरी उखान टुक्का हाल्न थाले, मानौँ देशमा केही भएकै थिएन। थोरै पनि गम्भीरता तिनमा देखिन्न। जेनजीले राजनीतिका पुराना अनुहारको बिदाइ चाहेको हो। तर सबैजसो पुराना अनुहार नै मिडियामा छाउन थाले। मिडियाले समेत तिनकै समाचार प्राथमिकतासाथ प्रसार गरिरहेका छन्।"

उनी आक्रोश पोख्दै थिए, "हुँदाहुँदा तिनै मिति गुज्रेका नेताका आसेपासे नै आफूलाई जेनजीका नेता ठहर गरिरहेका छन्। जेनजी आन्दोलनको बलिदानको यति छिटै हुर्मत लिइन्छझैँ लागेको थिएन दाइ। २०४६ को जनआन्दोलन, २०५२ को जनयुद्ध, ६२/६३ को जनआन्दोलनको यो अवस्था भएको थिएन। यो त अजिब भयो। के भइरहेको छ, म आफै बुझ्नै सकिरहेको छैन।"

आन्दोलनमा बितेको साथीलाई सम्झँदै उनले भने, "आन्दोलनको अघिल्लो दिन उसले खाना बनाउने क्रममा मलाई विदेश नजान सम्झाएको थियो। मिलेर केही गरौँ भनेको थियो। किन आत्तिन्छौ यार भन्दै सम्झाएको थियो। अहिले त उ धुवाँमा उडेर गइसक्यो। तर म यहाँ अन्योलपूर्ण भविष्य बोकेर थप अन्योलपूर्ण राजनीतिक भविष्य पर्खिरहेछु।"

हामी कुरामा भुलिरहँदा चिया सेलाइसकेको थियो। चिया खान उनैले सुझाए र भने, "पहिले चिया सक्काऊँ दाइ।"

मैले सोधेँ, "अब के गर्ने विचार छ त?"

उनी थप निराश सुनिए, "जेनजी आन्दोलनपछि विदेशबाट पनि रोजगारीका डिमान्ड घटेका छन् रे। मेरो म्यानपावर एजेन्सीले केही महिनापछि आउनुस्। हामी नै फोन गर्छौँ भनेर फर्काइदियो। अब के गर्ने होला दाइ! घरबाट ल्याएको पैसा त सकिइसक्यो। म त आत्तिएको छु दाइ। तपाईं त यतै बसिरहेको मान्छे, कतै जागिर पाइएला त मलाई?"

म आफै विद्यार्थी। उनको सोधाइले अन्यमनस्क भएँ। कानून पढेका नाताले देशमा कानुनी र संवैधानिक झमेला बढ्दै जाँदा हामीजस्ता कानूनी क्षेत्रका व्यक्तिहरूको त राम्रो कमाइ पनि होला। केही नभए सामान्य गुजारा त पक्कै चल्ला, तर देशका अधिकांश मानिस घाटामा पर्नेछन्। स्थायित्व र सुशासनले नै त हो देश सुन्दर हुने। पर्यटक आउने। युवाहरू देशमा रहने।

तर पनि मैले उनलाई ढाडस दिँदै भने, "अब त पक्कै परिवर्तन आउला। तिम्रा साथीले बगाएको रगतको उच्च मूल्यांकन अवश्य हुनेछ।" मनभित्र हुण्डरी चल्दै गर्दा मैले उनलाई शब्दले थुमथुम्याउन मात्र सकेँ। 

चिसो चिया हामीले सकाएर अर्को तातो चिया अर्डर गर्‍यौँ, तर माहौललाई थप न्यानो तुल्याउन सकेनौँ। रजतका कुरा जायज थिए, तर मसँग समाधान थिएन। देशको राजनीतिक माहौल थप अन्योलपूर्ण देखिँदै थियो।  

बेलुका मामा घर पुगेर ओछ्यानमा पल्टिँदासम्म मनमा रजत नै आइरहे। निदाउनै गार्‍हो पर्‍यो। जेनजी आन्दोलनमा शहीद भएका उनको साथी को होलान् भनेर जान्न मन लाग्यो। तर थप बुझेर र जानेर मैले गर्न सक्ने केही पनि थिएन। थप पीडा मात्र थियो। 

कुशासन र जीर्ण नेतृत्वबिरूद्ध आवाज उठाउने युवा विद्यार्थीहरू मारिए। तर तिनै युवाको हत्या हुँदा त्यसको कुनै दायित्व लिने तयार नभएको नेतृत्व फेरि सलबलाउँदै छ। यति गैरजिम्मेवार र दम्भी शासकहरूले पुनः शिर ठाडो पार्ने कुरा युवाहरूलाई स्वीकार्य छैन। यिनको पुनरागमनले त देश पुनः थप द्वन्द्वमा जानेझैँ देखिन्छ। त्यसमा सबै सचेत तप्काको खबरदारी जरुरी छ।

(दाहाल काठमाडौँ विश्वविद्यालय स्कुल अफ लमा अध्ययनरत छन्। उकालोको विचार खण्डमा छापिएका सामग्री व्यक्तिका निजी हुन्।)

बलिदानी केइ छैन । बेकारको कुरा हो । सब अपराधीकरन भाको छ ।

Para chhetri

7 hours, 21 minutes ago