तिजले महिलाको सामाजिक–सार्वजनिक स्पेस र दृष्टिकोणलाई विस्तार गरेको छ। एक दिनको व्रत–भोजनभन्दा पर तिज अब महिलाको संगठन, बहस र उत्सवमार्फत सामूहिक चेतना जगाउने अभ्याससमेत बनेको छ।
पुरुष खाने रक्सी बियर महिलाले नि खाका छौ
सोझासाझा श्रीमानलाई कुट्नी भाका छौ
देखेनौ महिलाले स्वयं आफै गल्ती गरेको
देखेनौ महिलाले आफ्नो इज्जत आफै फालेको
डेढ दशकअगाडि गायक प्रजापति पराजुलीले गाएको ‘करिमै हो हाम्रो’ बोलको तिज-गीतको उल्लेखित पुरुष टुक्काले दुई थरी पितृसत्तात्मक दृष्टिकोण प्रस्तुत गर्छ। पहिलो, रमाउनको लागि महिलाले स्वतन्त्र हिसाबले छनोट गरेको विकल्प पुरुषवादी दृष्टिले स्विकार्न सक्दैन। दोस्रो, समाजद्वारा पुरुषको जस्तोसुकै व्यवहारलाई सामान्यीकरण गरिन्छ र महिलाको उही व्यवहारलाई उसको इज्जत र नैतिकतासँग जोडिन्छ। तिजको मनोरञ्जनको लागि लेखिएका यी गीति टुक्कालाई सुन्नेहरूले यसलाई ठट्यौलीका रूपमा लिए पनि यिनमा सामाजिक मनोवृत्ति झल्कन्छ।
पुरुषको खास क्रियाकलापलाई सामान्य, तर महिलाको त्यही क्रियाकलापलाई गलत/अनैतिक ठान्ने दोहोरो मानदण्ड विगतका तिज-गीतमा मात्र होइन, सामाजिक तर्कहरूमा पनि झल्किन्छ। सामाजिक सञ्जालमा महिलाहरूले ‘तिजको नाममा विकृति फैलाएको, दर नभएर 'दारू'मा ‘डुबेको’, महिना दिनदेखि पार्टी प्यालेस धाएर घरभान्सा अस्तव्यस्त छाडेको’ गुनासा गर्नेमा पुरुषसँगै स्वयम् महिला पनि बराबर सक्रिय पाइन्छन्। फेसबुकमा स्मृति तिमल्सिना नामको आइडीमा 'तिजमा दारु खाँदै नाच्नेहरू, कस्तो बाउआमाले हुर्काको होला? संस्कारका हत्याराहरू महिलाहरू बुहारी भएर घर आए भने बरबाद' लेखिएको छ। उषा बस्ताकोटी खनालको फेसबुक आइडीबाट ‘लज्जा र विकृत हरितालिका’ शीर्षकको यस्तो कविता स्यर गरिएको छ:
सोझी ती हरितालिका शहरकी मैयाँ बनिन् रे अब
धोकी दारु खुलेर लर्बर हुँदा हुन्नन् अरे लज्जित
संस्कारी हरितालिका हृदयमा देवी बनी बस्दथिन्
बेसर्मी बनिछन् तिनी र अहिले छिछि र छ्या छ्या भइन्
आफ्ना मौलिक गीतका लयसँगै नाच्ने कला बिर्सिइन्
ऐयासी हरितालिका शहरका होटेलमा खुम्चिइन्।
उल्लेखित अभिव्यक्तिमा पुरुषको बहुल हिस्सा ‘आजको विकृत हरितालिकालाई नंगाइदिएर कडा प्रहार गरिदिएकोमा’ धन्यवाद प्रकट गर्छन् कमेन्टमार्फत। महिलाले होटेल र पार्टी प्यालेसमा तिज मनाएको प्रसंगमाथि प्रकट सार्वजनिक तिक्त विचार पूर्णतः गलत पनि होइनन्, तर पूर्णतः सही पनि होइनन्। महिलाले घर बाहिर गएर खाएको र नाचेको प्रसंगलाई यथास्थितिवादी दृष्टिबाट विकृति, छाडापन र भड्किलोपन देख्न सकिन्छ भने प्रगतिशील दृष्टिबाट महिलाले नाचगानमार्फत महिला मुक्ति र स्वतन्त्रताको आन्दोलन गरिरहेका देख्न सकिन्छ। त्यसैले, आज तिज मनाइरहेका महिलालाई हेर्ने दृष्टिबाट पितृसत्तात्मक लेन्स हटाउनु जरुरी छ।
तिज पर्वको सन्निकट हुने यस्ता जमघटमा मनोरञ्जनमात्र नभई वैचारिक बहस र तार्किक छलफलसमेत हुने गरेको तथ्य महत्त्वपूर्ण छ। तर महिलाको सामाजिकीकरण जसरी भएको छ, त्यसरी नै भेटघाटमा गरिने कुरा निर्धारित हुन्छन्। उदाहरणका लागि राजनीतिमा सक्रिय महिलाले चर्चामा रहेको राजनीतिक वा अन्य कुनै विषयमा छलफल गर्दै दर खाइरहेका देखिन्छन्।
सामाजिक चेतना र महिला आवाजको निर्माण
जर्गेन हाबरमासको 'पब्लिक स्फेयर' अवधारणासँग तिज पर्वलाई जोड्न सकिन्छ। पब्लिक स्फेयर त्यस्तो साझा ठाउँ हो, जहाँ मानिसले निजी चासोभन्दा पर गएर सामूहिक समस्या र राज्यसँगको सम्बन्ध लगायतबारे छलफल गर्छन्। हाबरमासका अनुसार सन् १७०० तिर युरोपमा संसद्, राजनीतिक क्लब र संगठन, साहित्यिक बैठक वा सलोन (कपाल काट्ने ठाउँ), सार्वजनिक सभा, पब र कफी हाउस, बैठक हल र अन्य सार्वजनिक स्थल सार्वजनिक मत निर्माण गर्ने ठाउँ बनेका थिए। केही दशकयता महिलाले तिज मनाउने ठाउँहरू पनि नाचगान र भोजभतेरको सीमा नाघेर सामाजिक–राजनीतिक प्रश्नमा छलफल हुने 'पब्लिक स्फेयर'का रूपमा विकसित हुँदै गएका छन्।
तिजले महिलाको सामाजिक–सार्वजनिक स्पेस र दृष्टिकोणलाई विस्तार गरेको छ। एक दिनको व्रत–भोजनभन्दा पर तिज अब महिलाको संगठन, बहस र उत्सवमार्फत सामूहिक चेतना जगाउने अभ्याससमेत बनेको छ।
विगतमा तिज विशेषतः हिन्दू महिलाले घरभित्र सीमित भएर मनाउने धार्मिक र सांस्कृतिक अभ्यास थियो। आज महिलाले तिजलाई प्राइभेट स्फेयर (घर-परिवार) बाट निकालेर पब्लिक स्फेयर (सार्वजनिक ठाउँ, सभा र मिडिया आदि) मा ल्याई समाजलाई आफ्नो आवाज सुनाउने मञ्च पनि बनाएका छन्। आमालाई वा आमा नभए दिदीबहिनीलाई सुनाउने वेदनाहरू सार्वजनिक ठाउँमा गीत वा वक्तृताको माध्यमबाट भनिरहेका छन्।
दाजुभाइ र बा नभएकी, श्रीमानसँग सम्बन्धविच्छेद भएकी एक महिलाले तिज विशेष कार्यक्रममा अघिल्लो हप्ता भावुक मुद्रामा भनिन्, "समाजले बाटो हिँड्दा पनि हेप्छ। तर नआत्तिनुस्, अगाडी बढ्नुस्। दुःख पर्दा कोही साथमा हुँदैन। ड्याडीको वार्षिकी सक्काएँ, अहिले तीन तले घर बनाइरहेको छु। केही मान्छेले अवरोध गरे पनि लडिरहेको छु। जति नै पीडाको पहाडले थिचे पनि उभिन सक्छन् छोरी मान्छे। (यसो भन्दा उनी हात उठाएर मुठ्ठी कस्छिन्।) हिम्मत गर्नुपर्छ। दुःख हुन्छ जीवनमा, तर पीडालाई पन्छाएर हिँड्न सक्नुपर्छ। तिजको शुभकामना।"
यसरी महिलाले व्यक्तिगत आँट, साहसका प्रेरणादायी अनुभव र भोगाइ साझा गर्ने वैकल्पिक ठाउँ (अपोजिसनल पब्लिक स्फेयर) निर्माण गरेका छन्। तिज-गीतलाई प्रयोग गरेर महिला माथिको हिंसा, लैंगिक समानता र अधिकारजस्ता कुरा सार्वजनिक बहसमा समेत ल्याएका छन्।
पर्वको बहानामा आन्दोलन
विभिन्न आन्दोलन र अभियानले आफ्ना मुद्दा जनमानसमा पुर्याउने अवसरको रूपमा खास चाडपर्वका जमघटलाई प्रयोग गरेका उदाहरण संसारभर छन्। महिला आन्दोलनले पनि चाडपर्वलाई रचनात्मक तरिकाले राजनीतिक-सांस्कृतिक मञ्च वा स्टेजमा परिवर्तन गरेका छन्। ब्राजिलमा हरेक वर्ष मनाइने 'कार्निभल'मा त्यहाँका महिलावादीले ट्रान्सजेन्डर महिला र अफ्रोवंशका महिलाविरुद्ध उच्च रहेको यौन उत्पीडन तथा अति उत्तेजक (हाइपर सेक्सुअलाइज्ड) पोसाक र सुन्दरताकी रानी (कार्निभल क्वीन) का रूपमा वस्तुकरण गर्ने बिम्बविरुद्ध अभियान चलाउँछन्।
यसैगरी, अमेरिकाका विभिन्न सहरमा इरानी (पर्सियन/फारसी) पात्रोको नयाँ वर्ष उत्सव (नौरोज) मनाउने क्रममा महिला अधिकारको लागि भएका विश्वव्यापी आन्दोलनहरू सम्झिइन्छ। न्यूनतम महिला अधिकारको अभावमा जिइरहेका अफगानी र इरानी महिलाबारे कुरा गरिन्छ। हिजाब सही तरिकाले नलाएको आरोपमा प्रहरी हिरासतमा परेर त्यहीँ शंकास्पद रूपमा मृत्यु भएकी इरानी महिला जीना महसा अमिनीहरूको बलिदानी सम्झिइन्छ।
पञ्चायतविरुद्धको आन्दोलनमा तिजलाई रचनात्मक मञ्चको रूपमा प्रयोग गरियो, किनकि महिलालाई त्यस बेला अरू बेला जम्मा गराउनै गाह्रो थियो। तिजको अवसरमा ठुलो संख्यामा एकत्रित महिलाले क्रान्तिकारी गीत गाउँदै, मुठ्ठी उठाउँदै नाच्दै पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाए। तिज मनाउनु राजनीतिक रूपमा कति सही हो, त्यसको अलग विमर्श हुनसक्छ, तर व्यवस्था परिवर्तनको आवश्यकताको बिगुल सार्वजनिक ठाउँमा हुने तिजी गीतहरूमार्फत फुकिन्थ्यो।
खासगरी तिज मनाउन महिला भेला भएका मन्दिर र सभाजस्ता ठाउँमा गएर कम्युनिस्ट पार्टीहरूले विभिन्न राजनीतिक-लैंगिक-सांस्कृतिक मुद्दा र महिला सशक्तीकरणका गीत गाउन र नाच्ने थाले। यो क्रम मूल रूपमा बहुदलीय व्यवस्था सुरु भएपश्चात् सुरु भयो (हिसिला यमी सँगको कुराकानीमा आधारित)। यस साल पनि फरक दलका फरक महिला र विद्यार्थी संगठनहरूले समेत दर खाने कार्यक्रम आयोजना गरेकै छन्। २०४८ सालमा अखिल नेपाल महिला संघको एकता राष्ट्रिय सम्मेलन तयारी समितिले प्रेरणा महिला परिवारमार्फत तत्कालीन समयको बलात्कार, बहुविवाह र महँगीविरुद्ध लेखिएका तिज गीत बिशेषांक निकाल्यो, जसमा मीरा पौड्यालले 'महँगीको चपेटाले आकाश नघायो' बोलको यस्तो गीत लेखेकी थिइन्:
वर्ष दिनको तिजमा बाबा लिन आउँथे
बाबा लिन आउँथे, आन्दोलनमा परेथे
प्रजातन्त्र ल्याउन शहीद भएथे
भाइ लिन आउँथ्यो, आन्दोलनमा परेथ्यो
प्रजातन्त्र ल्याउन शहीद भएथ्यो
यसपालिको तिजमा को लिन आउने हो
तिजको बेला आयो बरिलै
बूढी आमा आउँथिन् होलिन्, कोशी नदी बढेछ
कोशीको बाढीले बाटो छेकेछ…
उल्लेखित गीतमा प्रजातन्त्रका लागि गरिएको बलिदान स्मरण गरिनुले महिलाको राजनीतिक चेतना तिज-गीतमा पनि गुन्जन्थ्यो भन्ने बुझिन्छ। महिलाले घरपरिवार भित्रको सम्बन्ध र बुहार्तनको भोगाइका अलावा राजनीतिक आन्दोलन र शहादतको अर्थसँग पनि दिलचस्पी राख्थे/राख्छन् भन्ने तथ्य यी टुक्काहरूबाट प्रस्ट हुन्छ।
संघर्ष, प्रतिरोध र सामूहिकतामा आधारित परिवर्तनलाई व्यक्त गरेको लक्ष्मी श्रेष्ठको 'वर्ष दिनको तिजमा' गीतचाहिँ यस्तो थियो:
पुरुष प्रधान देशका हामी महिला मिलेर
सुरु गरौँ महिला मुक्तिको बाटो खनेर
वर्षौँदेखि थिच्दैमिच्दै आएको यो चलन
कहाँ छोड्थे पुरुषले गल्ती गरन
अन्याय र अत्याचारमा परेका चेली हो
आऊ जाऊँ एक गठ भई संसार हाम्रै हो
जीवनदेखि तर्सिएर अब भाग्न हुँदैन
कालो रित नतोडी त हुँदै हुँदैन।
मन्दिर र समुदायहरूमा आयोजीत तिजी कार्यक्रमहरूमा समेत गुन्जिएका उल्लेखित महिलावादी प्रतिरोध–गीतहरूले राजनीतिक मञ्चका भाषणभन्दा बढी प्रभाव पारी महिला र आम जनमानसको चेतनामा गहिरो छाप छोडे।
यसरी, महिलाले तिजमा विकृति सिर्जना गरेका होइनन्, बरु शासन व्यवस्थाले उत्पन्न गरेका विकृतिविरुद्ध दशकौँदेखि शब्द, स्वर र नृत्यमार्फत धेरै वर्षयता खबरदारी गरिरहेका छन्। उनीहरूले 'तिज खाइरहेका बेला' लैंगिक पीडामात्र होइन, राजनीतिक असमानता र शासनको असफलतामाथि पनि निरन्तर स्वर सार्वजनिक रूपमा उठाएका छन्।
खासगरी २०५४ र ५५ सालतिर खुलामञ्चमा तिज कार्यक्रम गर्ने, रातभर लेखेर लगिएका तिज-गीत गाउने गरेको सम्झना रेखा शर्मा र जयपुरी घर्तीमगर (युद्धकालीन माओवादी महिला संघकी अध्यक्ष एवं पूर्वमन्त्री) हरूमा पनि छ। २०५५ र २०५६ सालतिर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को केन्द्रीय समितिले नै तिज मनाउन जिल्ला र गाउँ स्तरमा सर्कुलर जारी गर्ने, पार्टीका कलाकारले नै गीत लेख्ने, गाउने, टोलटोल लाने गर्दै गीत संगीत र नाचमार्फत तिज नमनाउने समुदायमा तिजसँगै जागरण बिस्तार गरे। माले-एमाले र अन्य वाम पार्टीका महिला संगठनले पनि त्यस्ता प्रयास गरेका थिए।
गैरहिन्दू समुदायमा तिजको फैलावटबारे विविध आलोचनात्मक बहस भएका छन्। तर त्यति बेला नेकपा माओवादीको सांस्कृतिक टोलीले ‘विचारमूलक प्रगतिशील तिज-गीत’, ‘तिजका कोसेली’लगायत विभिन्न तिज-गीतका किताब निकाले। ती गीतमा राज्यआतंकको विरोधदेखि देशमा जनवाद ल्याउने कुरा पनि गरिन्थे (नवीन विभासको 'मगर बस्तीमा माओवादीले कसरी विस्तार गर्यो तिज?' मा आधारित)। राजनीतिक रूपमा सक्रिय महिलाले तिजलाई राजनीतिक हिसाबले सदुपयोग गरेको यहाँ थाहा हुन्छ।
विश्वविद्यालयमा विद्यार्थी संगठनहरूले तिज विशेष कार्यक्रम आयोजना गर्दै यसको धार्मिक पक्षलाई आलोचनात्मक दृष्टिले विश्लेषण गरेका छन्। प्रगतिशील वैचारिक निर्माणमा योगदान दिएका उदाहरण छन्। भूमिगत जीवनपश्चात् स्ववियु सचिवको हैसियतमा तिजको कार्यक्रम गराएकी मानुषी यमी भट्टराईका अनुसार, क्याम्पसमा तिज-गीत र नाचमा कलात्मक प्रतिस्पर्धा आयोजना गरिन्थ्यो, प्रगतिशील विचार बोकेका कलाकार र निर्णायक समूह छानिन्थ्यो र पुरस्कार वितरण गरिन्थ्यो। त्यस्ता कार्यक्रममा खानपानको व्यवस्था भए पनि ‘यो दर खुवाएको होइन है’ भनिन्थ्यो, किनकि दर खाने परम्परा पुरुषको नाममा निराहार व्रत बस्नुसँग जोडिएको थियो। यसरी नयाँ शब्द निर्माण र प्रयोग गरेर दरको भाषिक र सांस्कृतिक अर्थमा हस्तक्षेप गर्दै सार्वजनिक रूपमा तिजप्रति आलोचनात्मक सामूहिक चेत निमार्ण गर्ने, तिजलाई पुनर्व्याख्या गर्ने चलन बढिरहेको छ।
विद्यालयजस्ता सार्वजनिक स्थानमा छात्रा र महिला शिक्षकले तिज-गीत प्रतियोगितामा उभिएर विकासका मागको सार्वजनिक स्वर दिएका छन्। जस्तोकि, विद्यादेवी घिमिरे (शक्ति मावि, बेलकोटागढी, नुवाकोट) नेतृत्वको शिक्षक समूहले गत हप्ता एक प्रतियोगितामा गाएको गीत यस्तो थियो:
जतासुकै जग्गा जमिन बाँझो हुन लाइसक्यो
खेतीयोग्य जमिन पनि जंगल भइसक्यो
कृषि प्रधान देश हाम्रो कृषि क्षेत्रै पछाडि
आधुनिक खेति गरौँ बढौँ अगाडी।
नेपाली स्वास्थ्य क्षेत्रका बलिया आधार स्तम्भ भइकन पनि सरकारबाट आर्थिक शोषणमा परिरहेका महिला स्वास्थ्य स्वयं सेविकाहरूले तिजलाई स्वास्थ्य चेतना फैलाउने अवसरका रूपमा समेत प्रयोग गर्छन्। प्रौढ शिक्षा सिक्दै अक्षर चिन्न थालेका महिला स्वयंसेवक शान्ता लामिछाने र उनका साथीहरूले उल्लेखित प्रतियोगितामै गाएको गीतचाहिँ यस्तो छ:
घरमा बच्चा नजन्माऊँ, स्वास्थ्य संस्था जाऊँ भन्छौँ
सुत्केरीलाई भिटामिन ए आइरन खाऊँ भन्छौँ।
स्वास्थ्य बिमा गर्नलाई गर्छौँ जनचेतना
तर कसले बुझिदिने हाम्रो वेदना!
सोही प्रतियोगितामा सूर्यमती मावि समूहको तिजी गीतले शिक्षा र विद्यालय सुधारलाई सार्वजनिक बहसमा ल्याउन महत्त्वपूर्ण प्रयत्न गरेको छ:
सरकारी स्कुल देशकै गौरव है
हाम्रै साथ र सहयोगले अब्बल बन्छ है
यी पछिल्ला केही दृष्टान्त हुन्। यसबाट महिलाहरू सार्वजनिक स्पेसमा केवल ‘दर’मात्र खाइरहेका छैनन्, मुलुकका विविध विषयमा तर्कसंगत बहस र आवाज उठाइरहेका छन् भन्ने बुझिन्छ।
राजनीतिमा सक्रिय र नीति निर्माता महिला पनि अचेल तिज कार्यक्रममा सहभागी हुन्छन्। ठुलो समूहबीच आफ्नो राजनीतिक विचार फैलाउने अवसर पनि हो तिनका लागि तिज। तिजका कार्यक्रमले सामान्य महिला र नेतृत्वमा रहेका महिलालाई जीवनसँग सम्बन्धित सरोकारका विषयमा छलफल गर्न प्लेटफर्म उपलब्ध गराउँछन्। जस्तोकि, एक महिला युवा नेताका अनुसार उनी सामेल भएको तिज कार्यक्रममा महिलाहरूले बच्चाको स्कुल शुल्क धेरै महँगो भएको कुरा उठाउँदै सरकारी स्कुलमा भर्ना गर्ने विकल्प र चर्को शुल्क तिर्न बाध्य बनाइनुको कारणबारे गफ गरिरहेका थिए।
दर खाने कार्यक्रममा सहभागी महिला राजनीतिज्ञले तिजलाई केवल धार्मिक पर्व नभई समाज सुधार र परिवर्तनको अवसरका रूपमा लिन प्रेरित गरिरहेका छन्। पछिल्ला वर्षहरू पार्टीहरूले तिज कार्यक्रम आयोजना गर्ने क्रम बढेसँगै, तिजमा हुने सार्वजनिक छलफल र कुराकानीको क्षेत्र झन् व्यापक बन्दै गएको छ।
त्यसैले तिज केवल कतिपय पुरुषले पूर्वाग्रही दृष्टिले हेरेझैँ ‘महिलाले खाने, पिउने, रमाइलो गरेर सामाजिक सञ्जालमा पोस्ट गर्ने र तिजको मौलिक प्राण हत्या गर्ने’ गतिविधिमा मात्र सीमित छैन।
घरको संघार नाघेको तिज
दशकौँ अघिका महिलाको तुलनामा आजका महिलाको हातमा थोरै भए पनि पैसा आएको छ। उनीहरू आफै काम गरेर कमाएका छन्। नभए, उनीहरूले घर परिवार सम्हालेका कारण पुरुषले भित्र्याएको रेमिटेन्स रकम उनीहरूको हातमा परेको छ। त्यस कारण, तिज मनाउने तौरतरिकामा पनि पक्कै फेरबदल आएको छ। शोषण भोगिरहने धरातलबाट उठेर प्रतिवाद गर्ने स्तरमा उभिन सिक्दै छन् महिला। ‘वेदना र गनगन आधारित तिज’ अब भंग हुँदैछ। महिलाको रुवाइ र वेदना सुन्न/हेर्न बानी परेको पुरुषवादी नजरलाई किशोरदेखि वृद्ध उमेर समूहका महिलाले प्रत्यक्ष वा टिकटकलगायत संजालमार्फत् कम्मर भाँचेर, साता दिन भए पनि जीवन स्वादले बाँचेर देखाएर खिस्रिक्क पारिदिएका छन्। समग्रमा पितृसत्तात्मक स्रोता/दर्शकको अपेक्षालाई तिजका महिलाले तोडिदिएका छन्।
धुलोमैलो कपडामा चर्को घाममा काम गरिरहेका मजदुर महिलासँग तिजमा नाचिरहेका महिलासँग तुलना गर्दै कतिपयले आलोचनासमेत गरिरहेका छन्। यो पूर्वाग्रही दृष्टिकोण हो। वर्षभरी काम गरिरहँदा पनि तिजको दुई दिन आरामले बसेर/मिठो खान पुग्ने आम्दानी कसैले जुटाउन सकिरहेका छैनन् भने तिनको श्रम शोषण गर्ने, श्रममा ठगी गर्ने रोजगारदातालाई प्रश्न गर्ने हो। न्यूनतम ज्याला नदिईकन काममा घोटाउने पुँजीपति मालिकलाई नियमन नगरेकोमा राज्यलाई प्रश्न गर्ने हो। घरदेखि कार्यस्थलको दोहोरो बोझ बोकेर दुई पैसा आर्जन गरेर तिजमा आफैमाथि लगानी गर्ने महिलालाई आलोचना गर्नुको अर्थ छैन।
वास्तवमा तिज मात्र होइन, विवाह, व्रतबन्ध, जन्मदिनजस्ता सबै उत्सवमा तडकभडक र उपभोगवाद हाबी भइरहेको छ। यस कारण आलोचनात्मक बहस तिजसँगै अन्य सामाजिक-सांस्कृतिक आयाममा पनि उठाउन जरुरी छ।
अन्त्यमा, तिजको वैचारिक स्वरूप पूर्णतः पितृसत्तात्मक छ, जसको उद्देश्य महिलालाई 'पुरुष–पूजक' बनाउनु हो। पतिपरायणता र पतिप्रतिको समर्पणलाई महत्त्व दिने, लोग्ने/पति नै भगवान् हो भन्ने धारणा महिलाको चेतनामा पुनर्विजारोपण गर्ने, लोग्नेमानिस पूज्य हो, त्यसैले ‘अधीनस्थ रहेर शिरमा राख्दै पुजिरहनु’ भन्ने चेतनाको पुनः प्रोग्रामिङ गर्ने चाड हो तिज। तिज केबल सांस्कृतिक पर्व नभई महिलाको मानसिक संरचना नियन्त्रण गर्ने पितृसत्ताको दार्शनिक यन्त्र हो, जसले महिलाको स्वतन्त्र अस्तित्व नभएको र जीवनको एकल उद्देश्य पति कै सेवा र पूजा अर्चना मात्रै हो भन्ने विश्वासमा बाँधिराख्न उद्धत रहन्छ।
यसर्थ, चेलीबेटीलाई दर खुवाउने र दाजुभाइ सँगको सम्बन्ध प्रगाढ बनाउने कुरा बहाना साबित हुन पुग्छ। त्यति मात्र नभई पुराण कथामा इन्द्रले गरेको 'पापको भारी महिलालाई बोकाइ', तिनको महिनावारीलाई पाप करार गर्ने कुरा आफैमा स्त्रीपिडक छ। लिंग र सप्तऋषिका नाममा पुरुष पुजनले फेरि पनि महिलालाई दोस्रो बनाउने पुरातन प्रयास प्रस्ट छ। तर तिजले घरको संघार नाघेर सबै लिंगका निजी चासोलाई सामूहिक विमर्शमा रूपान्तरण गरी लैंगिक सशक्तीकरण, सामाजिक न्याय र राजनीतिक चेतनाको निर्माणमा भूमिका खेलिरहेको छ। योचाहिँ तिजको सकारात्मक पाटो हो।
अन्त्यमा,
हात मेरो दुखायो झिलिमिली चुराले
बुझेका छौं झुक्याउँदौ छौ जाली कुराले।
(प्रणेता नागरिक अभियन्ता हुन्। उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
