यस वर्ष मनसुन भित्रिन ढिलो हुने

नेपालमा सामान्यतया जुन १३ मै भित्रिसक्नुपर्ने मनसुन यस वर्ष पश्चिमी वायुको सक्रियता र प्रशान्त महासागरमा विकसित ‘एल निनो’को प्रभावका कारण केही दिन ढिलो गरी भित्रिने भएको छ।

काठमाडौँ– नेपालमा यस वर्ष मनसुनको आगमन केही दिन ढिलो हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भू-उपग्रहबाट प्राप्त तथ्याङ्क र गणितीय मौसम पूर्वानुमानको विश्लेषण गर्दा नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको हो।

नेपालमा सामान्यतया (सरदर) जुन १३ तारिखमा मनसुन भित्रिने गर्दछ। तर, जुन १५ (असार १ गते) भइसक्दा पनि मनसुन प्रणाली नेपाल भित्रिएको छैन। हाल देशमा पश्चिमी वायुको सक्रियताका साथै स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ। जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ।

‘एल निनो’ का कारण मनसुन कमजोर हुन सक्ने
प्रशान्त महासागरमा ‘एल निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा रहेकाले यस वर्षको मनसुन प्रणाली कमजोर हुन सक्ने पूर्वानुमान विभागको छ। एल निनोका कारण नेपालसहित दक्षिण एसियाकै मनसुन आगमन र वर्षाको मात्रामा समेत प्रभाव पर्ने देखिएको छ।

विगतका वर्षहरूमा पनि एल निनोको प्रभाव रहँदा मनसुन आगमन ढिलो हुने गरेको मौसमविद्हरू बताउँछन्। विभागका अनुसार सन् १९७२ देखि २०२३ सम्मका विभिन्न १२ वर्षहरूमा एल निनोका कारण मनसुन जुन १४ देखि जुन २७ सम्म मात्र नेपाल भित्रिएको रेकर्ड छ। यसअघि सन् २०२३ मा जुन १४ मा र सन् २०१९ मा जुन २० मा मात्र नेपालमा मनसुन भित्रिएको थियो।

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र सोहीअनुसार नियमित रूपमा मौसम सूचना अद्यावधिक (अपडेट) गरिने विभागका प्रवक्ता विभूती पोखरेलले जानकारी दिइन्।