अर्थ-राजनीति
उक्त सम्भावनाको तिनले चर्चा गर्दा राजा त्रिभुवन तथा युवराजाधिराज महेन्द्र अचम्मित भएका थिए। बाबुछोराको प्रतिक्रिया थियो, ‘यहाँ के छ र त्यो हेर्न पर्यटक आउने?’
मार्टिन चौतारीद्वारा प्रकाशित (२०२४), प्रत्युष वन्त, लोकरञ्जन पराजुली तथा मार्क लिचेटीद्वारा सम्पादित पुस्तक ‘नेपाल इन दि लङ १९५० ज्’। उक्त पुस्तकको अन्तिम अध्यायको आलेख ‘दि कि टु एन ओरीयन्टल ओर्ल्ड: बोरिस लिस्नेबिच, काठमान्डुज् होटल रोयल एन्ड दि गोल्डेन एज अफ टुरिजम्’लाई वैदेशिक लगानीको चस्मा पहिरेर ‘केस स्टडी’ को रूपमा रूपमा प्रस्तुत गरिएको छ।
लेखक मार्क लिचेटी युनिभर्सिटी आफ इलिनोइस, सिकागोसँग आबद्ध सांस्कृतिक मानविकीशास्त्रका प्राध्यापक हुन्। उनी ‘सुबेदी प्राइज २०२३’, अमेरिकी एन्थ्रोपोलोजी एसोसिएसनद्वारा सन् २०१९ को ‘एडवार्ड बर्नर बुक प्राइज’ तथा केको नोरोजी ‘बुक एवार्ड फर हिमालयन लिटरेचर’जस्ता पुरस्कारद्वारा सम्मानित प्राध्यापक हुन्। लिचेटीद्वारा नेपाल सम्बन्धमा लेखिएका तीन पुस्तक (फार आउट काउन्टर कल्चरल सिकर्स एन्ड टुरिस्ट इन्काउन्टर इन नेपाल (२०१७), आउट हेय इन् काठमाडौँ तथा सुइटेब्लि मोर्डन: मेकिङ मिडिल क्लास कल्चर इन अ न्यु कन्जुमर सोसाइटी प्रकाशित भइसकेका छन्। नेपालको पर्यटन इतिहाससम्बन्धी उनको पुस्तक प्रकाशित हुँदैछ। उनी सन् १९९७ देखि मार्टिन चौतारीद्वारा प्रकाशन गरिने जर्नल ‘स्टडिज इन् नेपाली हिस्ट्री एन्ड सोसाइटी’मा सहसम्पादकका रूपमा कार्यरत छन्।
सन् १९०५ मा ओडेसा (युक्रेन) को सम्भ्रान्त परिवारमा जन्मिएका थिए बोरिस लिस्नेबिच। अक्टोबर क्रान्तिको राप र तापकै कारणले गर्दा जन्मभूमिबाट पलायन भएका उनको जीवन शरणार्थीका रूपमा बित्दै थियो। तिनले प्यारिसस्थित रुसी ब्याले कम्पनीमा ब्याले डान्सर हुने अवसर पाए। ब्याले डान्सर भएबापत तिनी धेरै राष्ट्रमा कार्यक्रम प्रदर्शन गर्दै घुमे। यही क्रममा बोरिस भारतको कलकत्ता पुगे। कलकत्ताका धनाढ्य व्यक्तिहरूका लागि अहोरात्र मनोरञ्जन गर्ने स्थानको आवश्यकता तिनले देखे।
भारतका एक दर्जन महाराजहरूमध्ये कुक्षबिहार प्रमुख थिए। तिनै महाराजाको सहयोगमा बोरिसले अति विशिष्ट ८० स्थायी सदस्य रहेको ‘३०० क्लब’ स्थापना तथा सञ्चालन गरे। उक्त क्लबका सदस्यमध्ये एक थिए नेपालका महावीरशमशेर जंगबहादुर राणा। कलकत्तामा व्यवसाय सञ्चालन, राणा शासनविरोधी गतिविधिमा सक्रिय सहभागी तथा जनक्रान्तिमा शुवर्णशमशेर पछिको प्रमुख दाता थिए राणा। भारतमा शरण लिएका राजा त्रिभुवनसँग महावीरशमशेरले बोरिसलाई परिचय गराए। निर्वासित जीवन बिताउँदै गरेका राजा तथा राणा शासनविरुद्ध क्रान्तिको तयारीमा जुटेका नेताबीच भेटघाट गर्ने गोप्य थलो बोरिसको निवास तथा ३०० क्लब भएको थियो। नेपालमा क्रान्तिको सफलतापछि राजा त्रिभुवनको अतिथिको हैसियतमा बोरिस काठमाडौँ भित्रिए। तिनलाई काठमाडौँको सौन्दर्य तथा वातावरणले मोहित तुल्यायो।
प्राध्यापक लिचेटीले बोरिसको जीवनी तथा चारित्रिक विशेषतालाई विगतको बिलासी जीवन शैलीलाई निरन्तरता दिन प्रयत्नशील एक असफल उद्यमीको रूपमा प्रस्तुत गरेका छन्। बोरिसले नेपालमा पर्यटन भित्र्याउन गरेका संघर्षको बिस्तृत वर्णन गरेका छन् लेखमा लेखकले। शून्यभन्दा न्यून भौतिक पूर्वाधार, तालिम जनशक्ति तथा होटल सञ्चालनका निमित्त साधनको चरम अभाव थियो त्यसताक। स्थापना तथा सञ्चालनलगत्तै होटल रोयालप्रति पर्यटकीय आकर्षण बढ्यो। विश्वका प्रख्यात पत्रपत्रिका, लेखक र उपन्यासकारले होटल रोयालको वर्णन गर्न थाले। पर्यटकमाझ बोरिसले ‘सिलिबरेटोरी स्टाटस’ आर्जन गरे। होटल रोयालको ‘याक एन्ड यति’ बार पर्यटक, विदेशी कूटनीतिज्ञ, अन्तर्राष्ट्रिय जासुस, नेपालमा रहेका विदेशी तथा काठमाडौँका सम्भ्रान्त वर्गका निमित्त मिलन थलोमा परिणत भयो। होटल रोयालले उक्त ‘शिखरावस्था’ लामो समय टिकाउन सकेन। १५ वर्ष (१९५४-१९६९) को अल्प अवधिमै होटल धराशायी भई बन्द भयो।
बोरिसको जीवनका केही महत्त्वपूर्ण पक्ष हुन्, रौसे स्वभाव, जोखिम उठाउन नडराउने क्षमता, ‘जंगलभित्रको काठ देख्ने’ दुरदर्शीता तथा विगतमा बाँच्न चाहने व्यक्तित्व आदि। तर तिनमा अधिकांश व्यवसायीमा हुने बनियाँपनको भने प्रचुर अभाव थियो। उडन्ते भनौँ अथवा दिलदार स्वभावका कारण पैसाले तिनको जीवनमा महत्त्व पाउन सकेन। आखिर तिनी एक सिर्जनशील कलाकार थिए। व्यावसायिक जीवन शुरू गर्दा पनि तिनले नयाँनयाँ परीक्षण तथा अभ्यास गरिरहे। हाल विश्वकै उत्कृष्ट कहलिएको क्याथे प्यासेफिक एयरलाइन्सको स्थापनामा भारत रहँदाताक तिनको अगुवाको भूमिका थियो। यद्यपि, यो सन्दर्भ भने लेखमा छुटेको छ। त्यसैगरी, बोरिसकै सहयोगमा महावीरशमशेरले भारतमा हिमालयन एभिएसन नामको निजी हवाई कम्पनी स्थापना गरेका थिए। लेखमा यो तथ्यले पनि स्थान पाउन सकेको छैन।
बोरिसले हासिल गरेको सफलता तथा तिनले भोगेका असफलताको मूल्यांकन गर्दा तिनको सम्पूर्ण चारित्रिक गुणलाई आत्मसात् गर्नु आवश्यक हुन्छ।
नेपालमा पर्यटक आगमनको बृहत् सम्भावना देख्ने उनै प्रथम व्यक्ति थिए। उक्त सम्भावनाको तिनले चर्चा गर्दा राजा त्रिभुवन तथा युवराजाधिराज महेन्द्र अचम्मित भएका थिए। बाबुछोराको प्रतिक्रिया थियो, “यहाँ के छ र त्यो हेर्न पर्यटक आउने?”
बोरिसले नेपालमा पर्यटन उद्योगमात्र स्थापना गरेका होइनन्। तिनले मदिरा उद्योग, ट्रेकिङ कम्पनी, ट्राभल एजेन्सी (कान्छा अधिराज कुमारको स्वामित्वमा रहेको थर्ड आई टुर), अत्याधुनिक वधशाला एवं मासु प्रशोधन उद्योग (लेखमा सो तथ्य उल्लेख छैन) को स्थापना गरे। नयाँनयाँ प्रयोग गर्ने बोरिसले नवजातका सागसब्जी तथा आधुनिक सुँगुर (बंगुर) पालन व्यवसाय शुरू गरे। चितवनको राजौरियामा बोरिसले गरेको व्यावसायिक पशुपालन फार्म तथा हेटौँडामा औद्योगिक क्षेत्रमा स्थापना गरेको अत्याधुनिक वधशालालाई लेखकले आलेखमा स्थान दिएका छैनन्।
नेपाल आगमनपछि बोरिसले हासिल गरेको सफलताका निम्ति राजा त्रिभुवन तथा नवनियुक्त उद्योगमन्त्री महावीरशमशेरसँगको तिनको मैत्री सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको थियो। तिनी कंगाल अवस्थामा पुग्नुमा जति तिनको चारित्रिक कमीकमजोरी तथा व्यवस्थापन क्षमताले भूमिका खेलेको पाइन्छ, त्यति नै धेरै तिनले हासिल गरेको सफलतामा अरूको व्यक्तिगत ईर्ष्या, शासकको अवसरवादी प्रवृत्ति, कानूनी शासनको अभाव तथा तिनले विश्वास गरेका सहयोगीबाट प्राप्त भएको धोकाले महत्त्वपूर्ण भूमिका खेलेको थियो। उक्त वास्तविकतालाई लेखकले बोरिसको मनमौजी चरित्र तथा व्यवस्थापन क्षमताको अभावको घुम्टोले छोपी दिएका छन्।
नेपालमा वैदेशिक लगानी भित्र्याउने प्रथम उद्यमीको चस्मा पहिरेर बोरिसको जीवनीलाई अध्ययन गर्दा बोरिसलाई सरकारले उतिखेर नियम कानूनको रोजीरोजी प्रयोग गरिने गरेको पाइन्छ। आवश्यक परेको बेला काखा र नपरेको बेला पाखा लगाउने रवैयाको तिनी भुक्तभोगी हुन्। राजा त्रिभुवन शक्तिशाली हुँदा नै बोरिसले असम्भव अवस्थामा होटल रोयाल स्थापना गरे। महेन्द्र सत्तासीन हुँदा तिनको होटल रोयालले ख्याति प्राप्त गर्यो। तिनको व्यावसायिक जीवन ओरालो उन्मुखचाहिँ राजा महेन्द्रको शासनकालमा भयो।
बोरिसलाई विराटनगरमा मदिरा उद्योग स्थापना तथा उत्पादन गर्न ‘लाइसेन्स’ दिइयो। उद्देश्य थियो–घरायसी रक्सी उद्योगमा बन्देज लगाएर सरकारको राजस्व बढाउने। स्थानीयको विरोधपछि उक्त उद्योग सञ्चालनमा सरकारले रोक लगायो। बोरिसको लगानी फस्यो, तर फेरि उनलाई नै कर नतिरेको अभियोगमा नजरबन्द गरियो। लगत्तै, राजा महेन्द्रको राज्याभिषेकमा आएका अतिथिलाई सेवासुविधा उपलब्ध गर्न बोरिसको सेवा अपरिहार्य ठानियो। तिनलाई जेलमुक्त गरेर तिनकै दक्षता तथा व्यवस्थापनमा विदेशी पाहुनाको भव्य स्वागत सत्कार गरियो।
बेलायती महारानीको भ्रमण सफल तुल्याउने कार्यको जिम्मेवारी पनि बोरिसलाई नै दिइएको थियो। उक्त दुवै कार्य तिनले सफलतापूर्वक सम्पन्न गरे। त्यसैगरी जीवनको उत्तरार्द्धमा तिनलाई मूर्ति चोरीको आरोपमा जेल सजायको भागीदार तुल्याइयो। प्रमाणको अभावका कारणले गर्दा सरकार पछि हट्यो र तिनी रिहा भए। पाँच दशक नेपालमा रहेका बोरिसको ८० वर्षको उमेरमा (अक्टोबर २०, १९८५ का दिन) मृत्यु भयो।
बोरिसले दुःख झेले, संघर्ष गरे, विपन्न भए, तर नेपाल छोडेनन्, जबकि अन्य कतिपय लगानीकर्ता नेपालबाट सदाका लागि बिदा भए भने केही भाग्न बाध्य भए। व्यवसाय छाडेर छाड्नेका केही प्रतिनिधिमूलक उदाहरणको चर्चा गरौँ।
६० को दशकमा भारतको प्रसिद्ध औद्योगिक घराना बीर्ला ब्रदर्सले सिमरामा कपडा उद्योग स्थापनाका निमित्त शुरू गरेको निर्माण कार्य अधुरै छोडेर भारत फर्किए। सरकारी नियम कानूनमा एकरूपताको अभाव देखाउँदै उनीहरू फर्केका थिए। ८० को दशकमा प्रसिद्ध अमेरिकी चुइङ्गम कम्पनी रिग्लीज् नेपालमा प्रवेश पूर्व नै फर्कियो। त्यसैगरी ९० को दशकमा फिल्मी रिल तथा क्यामेरा उत्पादनमा उतिखेरको प्रसिद्ध कोडाक कम्पनी हेटौडा औद्योगिक क्षेत्रमा उद्योग स्थापना कार्य शुरू गर्दागर्दै फर्कियो। अरूको ईर्ष्याको प्रतिफल भोग्ने एक उदाहरण हो– टाटा मोटर्सको आधिकारिक एजेन्ट उमेस जैन। टाटा मोटर्सले आर्जन गरेको मुनाफा देखेर जैनलाई लखेटेर सो कम्पनी दरबारियाले हडपे। त्यसैगरी दक्षिण कोरियाली कम्पनी लोट्टे चिल्सुङ बिभरेज उत्पादन शुरू गर्दा साथै माओवादीको कोपभाजनमा परेर लखेटियो।
नेपाल भित्रेका वैदेशिक कतिपय लगानीकर्ताले भोगेका गाथाहरू बोरिसको ५०-६० को दशकको भोगाइभन्दा धेरै पृथक पाइँदैन। त्यसो नहुँदो हो त सन् ५० कै दशकमा सुनौलो किरणझैँ उदाएको पर्यटन उद्योगको योगदान आजको दिनसम्म आइपुग्दा सात प्रतिशतको हाराहारीमात्रै सीमित हुने थिएन। न तब वैदेशिक लगानी कुल अर्थतन्त्रको ०.२ प्रतिशतमा सीमित हुने थियो। हेक्का होस्, वैदेशिक लगानीमा जाहेर गरिएको प्रतिबद्धताको एक तिहाइभन्दा कम हुने अवस्था आउने थिएन।
अहिलेको अवस्थामा आशावादी हुँदाहुँदै पनि ५० को दशकले अझै निरन्तरता पाउँदै गरेको अनुभूति हुन्छ। आशा गरौँ, भविष्यका इतिहासविद्हरूले उक्त दशकको प्रभावमा क्रमभंग भएका प्रमाण प्रस्तुत गर्न सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Good story idea but badly written piece. When will our journalists learn to write well? This is not a research paper! You don’t need to front load a bunch of information that is irrelevant to readers. Go to the gist, talks about his work and life. Don’t need to provide tedious date and numbers for the sake of it!
Seijan A
2 months, 2 weeks ago