बिदेसिएका नेपाली कलाकृतिको पुनरागमन जति सुखद छ, त्यसको प्रक्रियागत व्यवस्थापकीय पक्ष त्यतिकै चुनौतीपूर्ण छ। फिर्ता आउने क्रममा रहेका कलाकृति ढुवानीका लागि बजेट अभाव भएका उदाहरण पनि छन्।
यो समारोहका लागि कला सम्पदा केन्द्रित विद्वत् प्रवचन तयार गर्नुपर्नेबारे सूचना आएका बेला म अमेरिकामा थिएँ। अमेरिकाको विभिन्न सङ्ग्रहालय भ्रमण, अवलोकन गर्ने क्रममा नेपाली कलाकृति कसरी विदेशका सङ्ग्रहालयमा पुग्छन्, कुन कुन जटिल प्रक्रियाबाट ती विभिन्न कलाकृतिलाई नेपाल फर्काइन्छ भन्ने विषयमा पुनः एकपल्ट घोत्लिँदै थिएँ।
स्वदेशी र विदेशीहरूको पहलमा विभिन्न संस्थाको प्रयत्नबाट लामो प्रक्रिया र धेरै वर्षपछि विभिन्न देशका केही कला कृति फर्काएर छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयको एउटा ठूलो हलमा प्रदर्शन गरिएको छ। विदेशबाट फर्किएका धेरै वटा कलाकृति हनुमान ढोकाको ढुकुटीमा पनि संरक्षित अवस्थामा छन्। छाउनी सङ्ग्रहालयमा प्रदर्शन गरिएका ५७ वटा ती कलाकृतिबारे अध्ययन अनुसन्धान गरेर संयुक्त रूपमा मैले लेखेको पुस्तक 'आर्ट हेरिटेज अफ नेसनल म्युजियम-पार्ट सिक्स' नेपाली र अङ्ग्रेजी दुवै भाषामा २०७९ र २०८० मा प्रकाशित भइसकेको छ। छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयबाट प्रकाशित त्यस पुस्तकमा विस्तृत चर्चा छ।
नेपाली कलाकृति, देवीदेवताका मूर्तिहरू चोरिएर, बिक्री भएर वा उपहार स्वरूपमै भए पनि विदेश पुग्दा हाम्रो अमूल्य वस्तु, सामान हराएको मात्रै हैन, ती प्रतिमा-मूर्ति, चित्रसँग जोडिएको हाम्रो आस्था विश्वास, परम्परा र जात्रा सबै नै रोकिन्छन्। यो साह्रै संवेदनशील विषय हो। पुर्खासँगै आफूले कैयौँ वर्षदेखि पुज्दै आएका, खट र रथमा राखेर टोलटोल परिक्रमा गराएका, विशेष पूजा र देवालीमा परिवारका विभिन्न सदस्यहरूसँगै बसेर थरीथरीका परिकार प्रतिमालाई चढाएर भोज खाइएको हुन्छ।
त्यस्ता महत्त्वपूर्ण सम्पदा चोरिँदा थुप्रै सामाजिक तथा सांस्कृतिक आस्था र विश्वासमा आघात पर्छ।
ती प्रतिमा/सम्पदाबारे लेख्दा र बोल्दा पनि घाँटीमा गाँठो परेर आउँछ। मन भारी हुन्छ, भक्कानिन्छ। आफूलाई गाह्रो पर्दा, कसैको सहारा खोज्दा, केही चिजको आवश्यकता पर्दा रोएर, कराएर, गाएर नाचेर, घण्टी बजाएर बोलाउने, ध्यान आकर्षण गर्ने आफ्नो देव प्रतिमा नै लुप्त हुँदा स्वयं विक्षिप्त हुने अवस्थामा पुगिन्छ। यो सारै संवेदनशील विषय हो। चोरी रोक्न, कम गर्न हामी सबैले प्रण गर्नुपर्छ। हाम्रै घरदैलोबाट यस कार्यको सुरुवात गर्नुपर्छ। हामी साहित्य र संस्कृतिका सम्पूर्ण अनुयायीहरूलाई आफ्नो हात छातीमा राखेर आफ्ना सम्पदाप्रति अपनत्वको भाव जगाउन, संरक्षणको दायित्व लिन अनुरोध गर्छु। मेरो मठमन्दिर, मेरो विहार, बहाल (बही:), मेरो मूर्ति, मेरो ढुङ्गे धारा, मेरो पाटीपौवा, यी सबै मेरा हुन्, यिनको संरक्षणप्रति म सधैँ सचेत र जागरूक हुनुपर्छ।
…
कलाको प्रसङ्ग आएपछि योसँग जोडिएको यसका विविध आयाम खुल्दै जान्छन्, प्रस्ट हुँदै जान्छन्। कला मानव सभ्यतासित जोडिएको दूरदृष्टि भएको, ऊर्ध्वगामी सोच भएको कर्मठ मानिसको पहिचान हो। मानिसले आफूलाई अभिव्यक्त गर्ने सर्वोत्कृष्ट माध्यम हो कला।
सिर्जनाको परिचायक त पक्कै हो कला, त्यो सँगसँगै मानिसका विविध व्यवहार जनाउने मूल शब्द पनि हो। त्यसैले निर्धक्कसँग भन्न सकिन्छ, बोल्नु, हिँड्नु, प्रभावकारी ढङ्गले प्रस्तुत हुनु, प्रस्ट र राम्रा अक्षर लेख्नु पनि कला हो। लय हालेर छन्दमा अभिनयसहित कविता वाचनसँगै वेद, विभिन्न पुराण, नामसङ्गिति, बाइबल, कुरान र ग्रन्थसाहिब हातको हाउभाउसहित सस्वर पाठ गर्नु पनि कला हो।
विसं २०८१ मा प्रकाशित मेरो पुस्तक (सह लेखन) 'नेपालको सांस्कृतिक इतिहास'मा उल्लिखित केही विषय सान्दर्भिक भएकोले उद्धृत गर्ने अनुमति चाहन्छु। “कला मानिसको रचना सिप हो, जुन विभिन्न उद्देश्य, माध्यम, शैली र स्वरूपमा प्रकट हुने गर्छ। प्रत्यक्ष रूपमा देखिने अर्थात् स्पर्श गर्न सकिने ठोस माध्यममा बनेको विभिन्न कला मूर्तिकला हो भने अमूर्त कला भावनात्मक हुन्छ, जसलाई छुन र देख्न सकिँदैन। कला मानिसको विचार अभिव्यक्त गर्ने माध्यम तथा सीप भएकोले यसैबाट मानिसको सिर्जना प्रकट हुन्छ। त्यसैले कलालाई संस्कृतिको वाहकको रूपमा लिने गरिन्छ।”
नेपाली कला-वास्तुकलाको निर्माणमा सनातन र बौद्ध दुवै दर्शनको मूल चुरो प्रकट भएको छ। कला कलाको लागि र कला जीवनको लागि भन्ने भनाइ विश्वभर नै प्रसिद्ध छ। शैव तन्त्रमा ६४ वटा कला र शास्त्रमा चन्द्रमाको १६ वटा कलाको वर्णन छ। चन्द्रमाको कलामा अमृत रहेको वर्णन छ। कलाको विभिन्न स्वरूप भए पनि मानिसको सिप र सिर्जना नै कला हो।
प्रतिमा विज्ञान
विविध कला, मूर्तिकला, वास्तुकलाको कुरा गर्दा प्रतिमा विज्ञान, हस्तपूजा र प्रतिमाको प्राण प्रतिष्ठाको विषय पनि उठान गर्नु सान्दर्भिक हुन्छ। उपवेदअन्तर्गत पर्ने प्रतिमाशास्त्रमा वास्तुकारहरूलाई सम्मान गरेर देवताको दर्जा दिइएको छ। पूर्व वैदिक कालमा मूर्ति पूजाको प्रसङ्ग छैन तर परमात्मा परमेश्वरको ऊर्जावान् स्वरूपको बयान छ, आह्वान छ। त्यही स्वरूपलाई स्मृति कालमा विविध रूपमा निर्माण गर्ने र पूजा गर्ने प्रचलन हुँदै आयो। वेद, उपनिषद्, स्मृति, पुराण र महाकाव्यहरूमा भगवान्को विग्रह, मूर्ति, प्रतिमा, सालिक निर्माण गर्ने निर्देशन दिइएको छ। वृहत्संहिता, विष्णुधर्मोत्तर पुराण, मत्स्य पुराण, अग्निपुराण, विश्वकर्मा पुराण, विश्वकर्मा संहिता र शास्त्र, रूपमण्डन, अपराजितपृच्छा, शिल्परत्न, मयदीपिका, मयमत, प्रतिष्ठातन्त्र, शिल्पशास्त्र विधान, मानसार, समराङ्ग सूत्रधार र साधनमाला आदि पुस्तकमा वर्णन गरिएको, निर्देशन गरिएको नियमलाई पूर्ण रूपले पालन गरेर कलाकारले मूर्ति र चित्र निर्माण गरेको देखिन्छ।
आफूलाई मन लागेजस्तो चित्र र मूर्ति निर्माण गर्ने छुट छैन कलाकारलाई। उसले प्रतिमा विज्ञानका पुस्तकमा वर्णन गरेअनुसार नै मूर्ति निर्माण गर्नुपर्छ। शास्त्रले निर्देशन गरेको भन्दा विपरीत ढङ्गले मूर्ति निर्माण गरेमा पूजा योग्य मानिँदैन। लिङ्ग, स्थान विशेष र व्यवसायअनुसार प्रतिमाको शारीरिक बनोट र तालमान बनाउनुपर्ने निर्देशन कलाकारलाई छ। अपराजितपृच्छा र रूपमण्डनमा प्रतिमा बनाउँदा पालन गर्नुपर्ने नापको सविस्तार वर्णन छ। एक ताल (१२ अङ्गुल) देखि १६ तालसम्मको प्रतिमा बनाउने निर्देशन रूपमण्डनमा छ। कुनै पनि मूर्ति बनाउँदा सर्वप्रथम मुख नापेर त्यही अनुसार सम्पूर्ण शरीरको आङ्गिक अनुपात मिलाउनु पर्छ। मत्स्य पुराणमा यस विषयलाई अझ प्रस्ट पारिएको छ। सौम्य स्वभाव र उग्र स्वभावका देवी देवताका मूर्तिको आङ्गिक अनुपात फरक फरक हुन्छ।
छाने शैलीका मन्दिरको टुँडालको सबैभन्दा तल्लो भागमा लौकिक कला कृति एवम् कामकलाका दृश्यहरू अङ्कित कलाले सम्मानजनक स्थान पाएका छन्। महर्षि वात्स्यायनको कृति कामसूत्र मानव जीवन, गृहस्थ आश्रम र दर्शनको एउटा सबल पक्ष हो। नेपाली वास्तुकलामा वात्स्यायन दर्शनले टुँडाल र स्वतन्त्र मूर्ति निर्माण परम्परामा आफ्नो गहन छाप छोड्न सफल भएको छ। बौद्ध धर्म दर्शनसँग सम्बन्धित कला र वास्तुकलामा समेत यौनासन, आलिङ्गनमा बाँधिएका मूर्तिहरू निर्माण भएका छन्। संवर, महिष संवर, डाकिनी, स्त्री शक्ति र पुरुषका युगल मूर्तिहरू यसका केही उदाहरण हुन्।
प्रसिद्ध नाटककार बालकृष्ण समले नेपाली कला र वास्तुकलालाई प्रतीकात्मक रूपमा काव्यसित तुलना गर्नुभएको छ। कविताको आत्मामा सौन्दर्य छ, त्यसै गरी कलाकृति, वास्तुकला, सङ्गीत, धून, सबै कला क्षेत्रमा सौन्दर्यानुभूतिलाई शक्ति मानेर साधकहरू साधना गर्छन्। पूर्वीय कलामा देवीदेवताका आयुधहरू, महत्त्वपूर्ण पुस्तक र वाहनहरूलाई मनुष्य-आकृतिमा प्रस्तुत गर्ने प्रचलन छ।
देवी देवताका आयुध
देवी देवताहरूले हातमा लिने विविध आयुधलाई साक्षात् रूपमा प्रस्तुत गर्ने विधान प्रतिमा शास्त्रमा पाइन्छ। पशुपति आर्यघाटको पूर्वतर्फ राम मन्दिर छ। त्यस मन्दिरको गर्भगृहमा भगवान् विष्णु र उनका आयुधहरू कुँदिएका छन्। लव कुशसहित राम भगवान्को रूपमा यस मूर्तिले पूजा सम्मान पाएको छ तर प्रतिमा विज्ञानको आधारमा आयुध पुरुषहरू सहितको विष्णु भगवान्को मूर्ति हो यो। अष्टताल विधिअनुसार आयुध पुरुष र आयुध स्त्रीमूर्तिहरू कुँद्ने चलन छ। आयुध पुरुष र आयुध स्त्रीको हातमा, शिरमा, शिर पछाडि र शरीरको पृष्ठभूमिमा आयुधहरूको चिह्न कुँदिन्छ।
आयुधहरूको नाम उच्चारण गरेर व्रत बस्ने विधान पनि छ। यस्तो व्रतमा भगवान्का आयुधहरूको पूजा गरिन्छ। चाँगुनारायणको विश्वरूपको मूर्ति, कुटुबहाल चाबहिलको विश्वरूपको मूर्ति र धूमबाराहीको बराह मूर्तिमा पृथ्वीको उपस्थिति देखाइएको छ। ती कलाकृतिमा निर्माण गरिएको पृथ्वी मातालाई डल्लो आकृतिमा नदेखाएर सुन्दर स्त्री रूपमा दर्साइएको छ।
काठमाडौँका मन्दिर, दरबार र पाटीहरूको मूल ढोकामा गङ्गा र जमुना नदीलाई सुन्दर स्त्री रूपमा प्रस्तुत गरिएका उदाहरण प्रशस्तै छन्। पशुपति मन्दिरको पश्चिमपट्टि रहेको शिखर शैलीको ब्रह्माको मन्दिरको मूल ढोकाको दायाँबायाँ गङ्गा-जमुनालाई आआफ्नो वाहन मकर र कछुवामाथि स्त्री रूपमा उभिएको देखाइएको छ।
सिम्रौनगढमा प्राप्त भएका वैष्णव मूर्तिहरूमा स्त्री र पुरुष स्वरूपका आयुधहरू कुँदिएका छन्। काठमाडौँ उपत्यका भित्रका तीन वटै दरबार (काठमाडौँ, पाटन र भक्तपुर) का चोकहरूमा गङ्गा-जमुनाको सुन्दर स्त्री रूपको मूर्ति स्थापना गरिएको देखिन्छ। यस प्रकारका उदाहरण अरू पनि छन्।
नेपाली कलामा शङ्ख, चक्र, गदा, पद्म, त्रिशूल, वृक्ष, नदी र पृथ्वीलाई साक्षात् देव रूपमै प्रस्तुत गरिन्छ। उमामहेश्वर मूर्तिफलकमा पनि नन्दीलाई वृष र मनुष्य स्वरूपमा कुँद्ने चलन छ। गरुड चरालाई सम्पूर्ण रूपमा मनुष्य आकृतिमा दर्साइन्छ। चाँगुनारायण मन्दिरको अग्रभागमा रहेको गरुडको मूर्तिलाई पाँचौँ शताब्दीका लिच्छवि राजा मानदेवको प्रतिकृति मानिन्छ। यस गरुडको मूर्तिको ओठमाथि पुरुषहरूकै जस्तै जुँगा पनि बनाइएको छ।
लिच्छवि राजा मानदेवले अभिलेख र मिति उल्लेख गरेर विष्णु विक्रान्तको मूर्ति लाजिम्पाट र पशुपति तिलगङ्गामा स्थापना गरेका थिए। नेपालमा आजसम्म प्राप्त धार्मिक मूर्तिहरूमा यी दुवै मूर्ति सबैभन्दा प्राचीन हुन्। लौकिक मूर्तिमा भने मालीगाउँमा प्राप्त संवत् १०७ को जयवर्माको पूर्ण कदको मूर्ति सबैभन्दा प्राचीन हो।
मिति नभएको तर शैलीको हिसाबले प्राचीन मानिने मूर्तिहरूमा राष्ट्रिय सङ्ग्रहालयको राजपुरुष, यक्ष, पूर्णकलश, कुमार सम्भवका मूर्तिफलक, तिलौराकोटको श्रीलक्ष्मी, पाटन च्यासलको गजलक्ष्मी र पशुपतिको विरुपाक्षको मूर्ति पर्छ। उत्खननमा प्राप्त प्राचीन मूर्तिहरू प्रायः माटाका छन्। त्यसपछि प्रस्तर, काष्ठ र धातुका मूर्ति प्राप्त भएका छन्।
प्राण प्रतिष्ठा
मन्त्र, यज्ञ, ध्यान र आह्वानद्वारा नयाँ मूर्तिलाई भगवान्को चेतनासँग जोड्ने विधिलाई प्राण प्रतिष्ठा विधि भनिन्छ। प्राण प्रतिष्ठा नभएको मूर्ति पूजा योग्य मानिँदैन। बजारबाट ल्याएको मूर्ति प्राण प्रतिष्ठा गरिएन भने सजावट गर्नमात्रै मिल्छ। यो संस्कार प्रायः स्थान शुद्धि, स्नान संस्कार, वैदिक मन्त्र, यन्त्र, पूजा विधि र ध्यानमार्फत गरिन्छ। मुख्य चरणहरू यस प्रकार छन्:
स्थान शुद्धि
मन्दिर वा पूजा स्थललाई पवित्र पारिन्छ। कलश, मण्डल र वेदी, केराका बोट, तुलसी, बेलपत्र, पूजा सामान, पञ्चामृत आदि गोबरले लिपेको शुद्ध स्थानमा राखिन्छ।
प्रतिमा शुद्धि (स्नान संस्कार)
प्रतिमालाई जल, दूध, दही, घिउ, मह आदिले अभिषेक गरी शुद्ध गरिन्छ।
अङ्गन्यास र करन्यास
वैदिक मन्त्र उच्चारण गर्दै प्रतिमाका विभिन्न अङ्गमा मन्त्र शक्ति स्थापित गरिन्छ। पुरोहितले आफ्ना प्रमुख अङ्गस्पर्श गर्दै भगवान्को प्रतिमाको अङ्ग छोएर त्यसमा प्राण सञ्चालन भएको भाव मन्त्रद्वारा व्यक्त गर्छन्।
प्राणप्रतिष्ठा मन्त्र जप
ऋग्वेद, यजुर्वेद, नारायणोपनिषद् आदि ग्रन्थमा उल्लिखित मन्त्र उच्चारण गरेर देवताको प्राण आह्वान गरिन्छ। देवताको प्राणलाई कलश वा पुस्तकबाट निकालेर मूर्तिमा स्थानान्तरण गरिन्छ।
नेत्र प्रतिष्ठा
प्रतिमामा आँखा कोर्ने वा पट्टी बाँधेको खोल्ने कार्य प्राण प्रतिष्ठाको महत्त्वपूर्ण अङ्ग हो। आँखामा दुबोले मह लगाएर पनि यो कार्य गरिन्छ।
न्यास र होम (अग्नि संस्कार)
अग्निमा आहुति दिई देवताको स्थापनालाई दृढ पारिन्छ।
अन्तिम अर्चना र आरती
देव प्रतिमालाई फूल, माला, वस्त्र, आभूषण, दीप, धूप, नैवेद्य अर्पण गरेर घण्टी बजाउँदै पूजा सम्पन्न गरिन्छ। यसपछि भगवान्को प्रतिमालाई जीवित स्वरूप मानिन्छ र नियमित पूजा, आरती गरिन्छ। आह्वान मन्त्र, प्राण प्रतिष्ठा मन्त्र, नेत्र प्रतिष्ठा मन्त्र, प्राण प्रतिष्ठा बीज मन्त्र, समर्पण मन्त्र आदि मन्त्र विधिपूर्वक उच्चारण गरेर प्राण प्रतिष्ठा विधि पूर्ण गरिन्छ। “🕉 अस्मिन् विम्बे महादेवस्य (विष्णोः दुर्गायाः) दिव्याय चैतन्यमावाहयामि स्थापयामि” मन्त्र विभिन्न मन्त्रमध्ये एक हो।
हस्तपूजा
मूर्ति बनाउने कलाकारले आफ्ना हातलाई शुद्ध बनाएर मात्रै देव प्रतिमा कुँद्न सुरु गर्छन्। मूर्ति निर्माण गर्ने हातहरूलाई विभिन्न मन्त्र प्रयोग गरेर शुद्ध गर्दै सम्मान गरिन्छ। कलाकारका हातलाई शुद्ध, पवित्र र दिव्य कार्यको लागि साधन र माध्यम बनाइएको मानिन्छ। आचार्य, गुरुले कलाकारको हातलाई मन्त्रसहित पूजन गरी पवित्र बनाउने चलन छ। हस्तपूजाको ठूलो महत्त्व छ। शुद्धीकरण अर्थात् मूर्ति निर्माणमा हातले गरेका कर्मलाई पवित्र स्विकार्ने अभ्यास। कलाकारको हातलाई ईश्वरको कृपा प्राप्त हुने प्रतीक र वरदान मानिन्छ।
हस्तपूजालाई कर्तव्य हस्तान्तरणको रूपमा पनि लिइन्छ। कलाकारको हातलाई जलले पखालेर फूल अक्षता, चन्दन र अबिरले पूजा गरेर सम्मान गरिन्छ। पूर्वीय दर्शनमा हामीले गर्ने सम्पूर्ण कार्य ईश्वर परमात्माद्वारा निर्देशित हुने मानिन्छ। आँखा पनि ईश्वर कृपाबिना झिम्काउन सक्तैनौं भनिन्छ। परमात्मा परमेश्वरकै अनुकम्पाबाट मात्रै हरेक कार्य सम्भव हुने दर्शनमा विश्वास राख्ने भएकाले कुनै पनि सिर्जनामा नाम राख्नु आवश्यक ठानिएन, नामको लालसा भएन कलाकारहरूमा।
कलाकारको रूपमा अरनिकोको नाम प्रसिद्ध भए पनि अरू कलाकारको नाम औँलामा गन्न सकिने मात्रै छ। काठमाडौँ उपत्यकाका केही मल्लकालीन मूर्तिहरूमा कलाकारको नाम कुँदिएको छ। त्यसमा नन्दपाल, राजमुल्मी र नयत (जयत) मुल्मी, जयसिंहराम पर्छन्। देउपाटनको गौरीको मूर्तिको पादपीठमा नन्दपालको नाउँ छ। बनेपाको सूर्यको मूर्तिको पादपीठमा राजमुल्मी र नयत (जयत) मुल्मी, पाटन ढुङ्गेधाराको विष्णु मूर्तिमा जय सिंहरामको नाम अङ्कित छ।
छिमेकी राष्ट्र भारत र नेपालका प्रस्तर मूर्तिहरूको प्रसङ्ग आउँदा गरुड, हनुमान् र नरसिंहको उल्लेख बिना अधुरो नै रहन्छ। गरुड र हनुमान् विष्णु भक्त वाहनको रूपमा चर्चित छन् भने नरसिंहलाई विष्णु भगवान्कै चौथो अवतारको रूपमा पुजिने गरेको छ।
गरुड
गरुडको उल्लेख वेद, भागवत पुराण, विष्णु पुराण, रामायण, महाभारत आदि ग्रन्थमा पाइन्छ। कश्यप ऋषि र विनताका छोरा गरुडको जन्मको रोचक प्रसङ्ग शास्त्रहरूमा उल्लेख छ।
अण्डजबाट गरुडको जन्म भएको वर्णन पनि धेरै नै रोचक छ। शास्त्रमा गरुडको साहस र पराक्रमको जस्तो वर्णन छ, त्यस्तै मूर्तिहरू बनेको पाइन्छ। पखेटा फिँजाएर उड्न लागेको, अञ्जली मुद्रामा दुवै हात जोडेर विष्णु र लक्ष्मीसँगै उभिएको वा घुँडा मोडेर बसेको गरुडका मूर्ति धेरै पाइन्छन्। धेरै संघसंस्थाले गरुडको आकृतिलाई आफ्नो प्रमुख चिह्न (लोगो) को रूपमा प्रस्तुत गरेका छन्। मदन पुरस्कार गुठीले पनि पखेटा फिँजाएर उड्न लागेको गरुडको चिह्न नै रोजेको छ।
गरुडलाई सम्पूर्ण पंक्षी र सम्पूर्ण मानव रूपसँगै मानव र पंक्षीको संयुक्त स्वरूपमा दर्साउने चलन छ। प्रतिमा विज्ञानका पुस्तकमा गरुडलाई काल्पनिक पंक्षीको रूपमा प्रस्तुत गरिएको छ। गरुडको मूर्तिमा नागको उपस्थिति अनिवार्य मानिन्छ। पौराणिक आख्यानको आधारमा सम्पूर्ण सर्प जाति नातामा गरुडको दाइ भए पनि व्यवहारले गर्दा शत्रु भएका थिए। गरुडले दुवै बाहुले सर्पलाई समातेर दमन गरेको, आफ्नो बसमा पारेर घाँटीमा बेरेको प्रतिमा मन्दिरको मूलद्वारमाथि रहने तोरणको सबैभन्दा माथिल्लो भागमा राखिन्छ। विष्णुको मन्दिरमा ढोका बाहिर भक्त र वाहनको रूपमा कुँदिएका साना ठूला आकृतिका गरुड मूर्तिको सङ्ख्या १५० भन्दा बढी रहेको तथ्याङ्क कलाबारे राम्रो अध्ययन गर्ने प्रतापादित्य पालले प्रस्तुत गरेका छन्।
गरुडलाई दिव्य आकाशीय पंक्षीको रूपमा चित्रण गरिएको भए पनि नेपालमा दुई प्रकारका गरुड मूर्तिहरू नै बनाउने प्रचलन छ; मानव आकृति (एन्थ्रोपोमोरफिक) र मानिस, पशु वा पंक्षीको संयुक्त रूप (थेरियनथ्रोपिक)। मल्लकालका केही गरुड मूर्तिहरूमा तान्त्रिक प्रभाव पनि प्रस्ट देखिन्छ। गरुडको मानव आकृतिमा कुँदिएका मूर्तिहरू प्रशस्त छन्। गरुडको मानव आकृतिका मूर्तिमा दर्साइएका एक जोडी पखेटाले मात्रै पंक्षी भनेर थाहा पाउन सकिन्छ। प्रतापादित्यपालले गरुडको मुखको बनोट आकाशमा उड्ने देवपुत्रसँग दाँजेका छन्। नेपालका गरुड मूर्तिको एउटा विशेषता बालकको जस्तै भुकुल्ले र कलिलो अनुहार बनाउनु पनि हो। तर गरुडका यस्ता मूर्तिहरू पनि छन्, जसमा जवान केटाको जुँगासहित अनुहार बनाइएको छ। चाँगुनारायणको मूल मन्दिर अगाडि घुँडा मारेर अञ्जली मुद्रामा बसेको गरुड मूर्तिमा दायाँबायाँको पखेटाबाहेक अरू सबै लक्षण एउटा लक्का जवान र स्वस्थ युवकको जस्तै छ। चौडा छाती, ठूला पाखुरा र तिघ्रा, घुम्रिएको लामो कपाल, ओठमाथि मसिना मिलेका जुँगा आदि सम्पूर्ण लक्षण एउटा युवकको जस्तै छ।
यस मूर्तिले पाँचौँ शताब्दीका लिच्छवि राजा मानदेवको अनुहारको प्रतिनिधित्व गरेको विषय धेरै विद्वान्हरूले चर्चा गर्नुभएको छ। नेपालका सिद्धहस्त कलाकारले स्थापना गरेका देवमूर्तिमा राजाको अनुहार दर्साउन खोजेको अनुमान सहजै गर्न सकिन्छ। पी पालले हाँडीगाउँको सत्यनारायण मन्दिर अगाडिको स्तम्भको गरुडमूर्ति पनि भक्त राजाको प्रतिकृति हुनसक्ने कुरा उल्लेख गरेका छन्। लिच्छवी कालमा राजा, सामन्त वा सर्वसाधारण मानिसहरूको प्रतिमा बनाउने प्रचलन थिएन। अपवादको रूपमा राजा मानदेवका समयमा निरपेक्षले आफ्ना बाबुआमाको सालिक बनाएको भनी चर्चा गरिएको अभिलेख प्राप्त भएको छ तर मूर्ति भने प्राप्त छैन। मालिगाउँबाट प्राप्त जयवर्माको सालिक लौकिक कलाको एउटा दुर्लभ उदाहरण हो।
नेपालमा २, ४, ६ र ८ वटा हात भएका गरुडका मूर्ति र चित्र प्राप्त छन्। रूपमण्डन र विष्णुधर्मोत्तर पुराणमा पनि गरुडका चार वटा हात र आयुधबारे चर्चा गरिएको छ। विष्णु र लक्ष्मीलाई ढाडमा बोकेर उड्न लागेको भावका चित्र र मूर्तिहरू नेपालमा निकै छन्। शैलीको हिसाबले गरुड मूर्ति ४/५ प्रकारका प्राप्त छन्:
१. विष्णु र विष्णुको अवतार स्वरूपका प्रतिमाहरू स्थापना गरिएका मन्दिरको मूल ढोका अगाडिको स्तम्भमा नमस्कार मुद्रामा भक्तिपूर्वक घुँडा मारेर बसेका गरुड।
२. स्थानक विष्णु, श्रीधर विष्णु मूर्तिफलकमा बायाँपट्टि नमस्कार मुद्रामा उभिएका गरुड।
३. विष्णुका विभिन्न अवतार वामन, नरसिंह, राम, कृष्ण र विश्वरूपका मूर्तिफलकमा सानो स्वरूपमा कुँदिएको गरुड मूर्ति।
४. विष्णु भगवान्को वाहनको रूपमा आफ्नो काँधमा लक्ष्मीसहित वा एकल विष्णुलाई बोकेर आकाशमा उड्न लागेको गरुड।
चाँगुनारायण मन्दिरको गरुड मूर्ति र हाँडीगाउँ सत्यनारायण मन्दिरको स्तम्भमाथि आसीन गरुड मूर्तिको विविध पक्षबारे विशेष चर्चा गरिन्छ। सत्यनारायण मन्दिरको गरुड स्थापना गरिएको स्तम्भमा लिच्छविकालीन अभिलेख भएकोले पनि त्यसको महत्त्व बढ्न गएको हो। यस अभिलेखमा द्वैपायनको स्तुति गरिएको छ। पाटन कृष्ण मन्दिर, भक्तपुरको दत्तात्रेय मन्दिर र शङ्खमूलको जगतनारायण मन्दिरको स्तम्भमा भएका गरुडहरू विशेष कलाका कारण चर्चित छन्। चित्रकलाका विविध माध्यम, हस्तलिखित ग्रन्थ, गाता चित्र, पौभा चित्र र भित्ते चित्रमा पनि आकर्षक रङरोगनमा गरुडको उपस्थिति पाइन्छ।
हनुमान
शिवका अंश स्वरूप जन्मिएका हनुमानको उल्लेख वैष्णव पुराण, रामायण (वाल्मीकि रामायण, तुलसीदासकृत रामचरितमानस, अध्यात्म रामायण, कम्ब रामायण, योग वाशिष्ठ रामायण, आनन्द रामायण र अद्भुत रामायण) नरपतिजयचर्या, महाभारत आदिमा पाइन्छ। रामकथामा आधारित संस्कृतका ललितकाव्य र नेपाली भाषाका ललितकाव्य (आदर्श राघव महाकाव्य, राघवालंकारस्तव काव्य, मेरो राम खण्ड काव्य, सीताहरण महाकाव्य, भरतमिलाप महाकाव्य) आदिमा हनुमानको भक्ति, वीरता र समर्पणको सम्पूर्ण गाथा छ।
भगवान् रामको परम भक्तका रूपमा हनुमानको चित्रण रामायण र महाभारतमा छ। वैष्णव धर्मको विकासका क्रममा हनुमानलाई पनि दैवीकरण गरियो। भारतमा मारुती पूजाको एउटा सम्प्रदाय नै बन्यो। उत्तर भारतमा हनुमानको पूजापाठ गर्ने र मूर्ति स्थापना गर्ने चलन व्यापक छ।
काठमाडौँ, पाटन, भक्तपुरका मल्ल राजाहरूले आआफ्ना दरबार बाहिर मूल ढोकामा हनुमानको प्रतिमा स्थापना गरेर अभिलेख राखी पूजाआजाको व्यवस्था गरेका थिए। शाह राजाहरू र राणा प्रधान मन्त्रीहरूले पनि आआफ्नो दरबारको मूल ढोकामा हनुमान स्थापना गरेर नित्य पूजा गर्ने गर्थे। नरपतिजयचर्याको हनुमद्विधिमा हनुमानको प्रतिमा बनाउने नियमको उल्लेख छ। हनुमानको मूर्ति, चित्र बनाउँदा उनको छातीमा रामको नाम लेख्ने, मूलमन्त्र लेख्ने र राम भक्तको रूपमा प्रस्तुत गर्ने कुराको चर्चा पाइन्छ।
नयराज पन्तले मल्लकालमा नरपतिजयचर्याको ठूलो प्रसिद्धि रहेको उल्लेख गरेका छन्। भक्तपुरका राजा जगर्ज्योति मल्लले नरपतिजयचर्याको स्वरोदय नामक अध्याय काशी, तिरहुत आदि ठाउँसम्म मान्छे पठाएर सार्न लगाएका थिए। राजा जगर्ज्योति मल्ल आफैले नेवारी भाषामा त्यसको अनुवाद समेत गरेका थिए। मल्ल राजाहरूले भूतप्रेतबाट आफ्नो दरबारको रक्षा गर्न र लडाइँमा शत्रुलाई हराउनका लागि हनुमानको स्थापना गरेका थिए।
रामायणका सात काण्डमध्ये किष्किन्धा काण्ड, सुन्दर काण्ड र युद्ध काण्डमा पवनपुत्र हनुमानको प्रसङ्ग बढी छ। बालब्रह्मचारी, शास्त्रका ज्ञाता र आफ्नो कर्तव्यबाट च्युत नहुने, स्वामीभक्त गुणले गर्दा हनुमान अजर र अमर छन्। अष्टचिरञ्जीवी (अश्वत्थामा, बलि, व्यास, विभीषण, कृप, परशुराम र मार्कण्डेय) मा उल्लिखित पवनपुत्र, अञ्जनी पुत्र हनुमानको विशेष पूजाआजा मंगलबार र जन्मदिनमा गरिन्छ। कम्ब रामायणमा हनुमान जन्मँदा नै कानमा कुण्डल लगाएर जन्मिएको प्रसङ्ग छ। वर्णनअनुसार अञ्जनाको गर्भमा वायुपुत्र हनुमान छन् भन्ने कुरा नारदबाट बलिले थाहा पाए। बलीको मनमा हनुमानप्रति कुभावना जाग्यो।
वानर राज्यमा आफ्नो स्वच्छन्द एकाधिकार समाप्त हुने डरले भाइलाई नै खत्तम गर्ने विचारले पञ्चधातुको मिश्रण झोलको घोल बनाएर बलिले अञ्जनालाई खान दिए तर घटनाले अर्कै मोड लियो। अञ्जनाको गर्भ तुहिनुको सट्टा कानमा लगाउने सुन्दर कुण्डल भयो र हनुमानको जन्म कुण्डलसहित नै भएको वर्णन छ। हनुमानको प्रतिमा बनाउँदा बाङ्गो चिउँडो बनाउने निर्देशन पनि छ। रामायणमा हनुमानको बाङ्गो चिउँडोबारे पनि उल्लेख छ। बालक हनुमानले फल ठानेर उदाउँदै गरेको सूर्य र ऐरावत हात्ती निल्न खोज्दा इन्द्रको बज्रको मार खप्न परेको वर्णन रामायणमा छ। बज्रको मारपछि बालक हनुमान मूर्च्छा परे। हनुमानका पिता वायु रिसाएकाले उनलाई खुशी पार्न सम्पूर्ण देवताले हनुमानलाई विभिन्न वरदान र उपहार दिएको प्रसङ्ग रामायण र महाभारतमा छ।
ब्रह्माले हनुमानलाई लामो आयु र गरुडको भन्दा पनि शारीरिक बल बढी हुने वरदान दिए। त्यसैले बलको काम गर्दा हनुमानको पाठ र पूजा गर्ने प्रचलन छ। महाविष्णुले ईश्वरको अनन्य भक्त हुनसक्ने, इन्द्रले कुनै पनि हातहतियारले घाउ नबनाउने, अग्निले नजलाउने, मृत्युले छुन नसक्ने, वायुले हनुमानलाई तेजमा कसैले भेट्न नसक्ने वरदान दिए। यसरी विभिन्न देवताबाट वरदान प्राप्त हनुमान शारीरिक तेज र बौद्धिक ज्ञानमा पनि अग्रणी भए। (मदन पुरस्कार गुठीबाट प्रकाशित नेपाली पत्रिका (१५९औँ अङ्क) मा हनुमानबारे प्रकाशित सामग्रीबाट केही अंश यस आलेखमा साभार गरिएको छ।) सूर्य हनुमानका गुरु हुन्। चारै वटा वेद र शास्त्रको ज्ञान हनुमानले सूर्यबाट प्राप्त गरेको बताइन्छ।
हनुमानले सूर्यलाई शिक्षा प्रदान गर्न अनुरोध गर्दा उनले एक सर्तमा सो मञ्जुर गरे। रथमा सूर्य घुमिरहँदा हनुमान पनि सँगसँगै उडेर शिक्षा ग्रहण गर्नुपर्ने सर्त थियो। यस्तो गाह्रो सर्त मञ्जुर गर्दै हनुमानले सूर्यको राप र कठिन दौड घण्टौँसम्म खपेर शिक्षा प्राप्त गरे। अद्भुत रामायणमा हनुमानको गायन तर्फको दक्षताबारे एउटा रोचक प्रसङ्गको उल्लेख छ। कठिनभन्दा कठिन काम गर्न हनुमान अघि सर्थे। राम-रावण युद्धमा मूर्च्छा परेका लक्ष्मणलाई जडीबुटी ल्याएर ब्युँताउने कामदेखि राम वनवासबाट फर्केर अश्वमेध यज्ञ गर्न लाग्दा छोडेको घोडाको संरक्षणमा हिँडेका शत्रुघ्नलाई राजा वीरमणिले मूर्च्छा पार्दा हनुमानले हिमालयबाट ‘द्रोण’ बुटी ल्याएर ब्युँझाएका थिए। उत्तर भारत र नेपालमा शारीरिक शक्ति प्राप्त गर्न र भूतप्रेतबाट छुटकारा पाउन हनुमानको पूजा आराधना गर्ने प्रचलन छ।
हनुमानको ४/५ प्रकारका मूर्ति निर्माण गर्ने विधान छ:
१. रामभक्त हनुमानका रूपमा घुँडा टेकेर अञ्जली मुद्रामा राम मन्दिरबाहिर स्थापित मूर्ति।
२. भगवान् विष्णुका मन्दिर बाहिर स्तम्भमा वाहनका रूपमा स्थापित हनुमानको मूर्ति।
३. रामको परिवारसहित मन्दिरको गर्भगृहमा स्थापित हनुमानको मूर्ति।
४. राम मन्दिर भएका स्थलहरूमा पहाड बोकेर उड्दै गरेका वा नमस्कार गरेर बसेका हनुमानको मूर्ति।
५. मन्दिरको गर्भगृहमा स्थापित हनुमानको मूर्ति।
हनुमान ढोका दरबारको मूलद्वारमा नेपाल संवत् ७९२ (विसं १७२९) मा राजा प्रताप मल्लले स्थापना गराएको हनुमानको प्रतिमा, हनुमान ढोका क्षेत्रमै ठूलो घण्टाको सामुन्ने प्रताप मल्लले नै स्थापना गरेका सानो हनुमान प्रतिमाबारे धेरैलाई थाहा छ। तर भक्तपुर दरबार क्षेत्रको सङ्ग्रहालयको मूलद्वारमा स्थापित नेसं ८१८ (विसं १७५४) मा राजा भूपतिन्द्र मल्लले स्थापना गर्न लगाएको हनुमान मूर्तिको चर्चा भने कमै गरिन्छ। काठमाडौँ उपत्यकामा प्राप्त मूर्तिहरूमध्ये भक्तपुरको यस मूर्तिमा मात्रै सिन्दूरलेप नगरेकोले गरगहना, वस्त्र र शारीरिक बनोटबारे धेरै कुरा बताउन सकिन्छ।
नरवाहनमाथि उभिएको चार वटा हात भएको, त्रिशूल र अक्षमाला लिएको, गरगहनाले सुसज्जित र शिर पछाडि बनाइएको प्रभावले गर्दा हनुमानलाई पूर्ण रूपमा शिवको अवतारको स्वरूपमा देखाइएको छ। यस प्रस्तर मूर्तिको पादपीठमा भएको अभिलेखबाट पनि त्यो कुराको सङ्केत पाइन्छ।
उपसंहार
पुरातत्त्वले मानिसको विगतलाई प्रमाणसहित उजागर गर्छ। अधिकांश देशले एक शताब्दी पुराना विविध वस्तुहरूमात्र पुरातात्त्विक महत्त्वका सूचीमा राखेको पाइन्छ। पुरातात्त्विक महत्त्वका वस्तुहरूको संरक्षण होस्, अवैध रूपमा तिनको ओसारपसार रोकियोस् भनेर नेपाल सरकारले लिखित रूपमा ऐनकानुनको व्यवस्था गरेर लागू गरेको छ। पुरातात्त्विक विविध सामग्री र स्थानमाथि राज्यको हक हुन्छ। कुनै पनि देशका जनताले ती महत्त्वपूर्ण वस्तुमा आफ्नो भावनात्मक सम्बन्ध दर्साउन सक्छन्, तर आर्थिक वा अन्य उद्देश्यले बेचबिखन वा उपहारस्वरूप कसैलाई दिन सक्दैनन्। पुरातत्त्वको क्षेत्र विशाल छ, यहाँ कलाको सानो पक्षबारे मात्रै केही बताइयो।
विश्वका सम्पूर्ण मूर्तअमूर्त सम्पदाको अभिभावक युनेस्को हो। हराएका वा उपहारस्वरूप कुनै पनि राष्ट्रका कलाकृति अर्को देशमा पुगेमा त्यसलाई कानूनी रूपले फर्काउने दायित्व युनेस्कोको हो। हराएका सम्पदा फिर्ता गर्ने काममा पनि युनेस्कोको सन् १९७० को महासन्धिको भूमिका विशेष छ। 'सांस्कृतिक सम्पत्तिको स्वामित्व, अवैध आयतनिर्यात र स्थानान्तरणको निषेध र रोकथामसम्बन्धी महासन्धी'को पक्ष राष्ट्रको रूपमा नेपालले हस्ताक्षर गरेको कारण नै नेपालको सांस्कृतिक सम्पदाहरू फिर्ता भएका हुन्। बिदेसिएका कलाकृति फेला पर्दै स्वदेश फर्कने क्रम बढेको छ। यस कार्यलाई हामी सबैले आआफ्नो स्थानबाट हौसला दिँदै सहयोग पनि गर्नुपर्छ।
यसमा हाम्रो देश, छिमेकी राष्ट्र र साझा प्रहरी संस्था (इन्टरपोल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन) को पहलमा हराएका चोरिएका कला वस्तुको खोजी र तिनको स्वदेश फिर्ता यात्राको व्यवस्था गरिन्छ। यसै विषयलाई समेटेर सह लेखनमा मैले तैयार पारेको पुस्तक २०७९ मा नेपाली भाषामा र २०८० मा अङ्ग्रेजी भाषामा प्रकाशित “राष्ट्रिय सङ्रग्रहालयको कला सम्पदा भाग –६” (बिदेसिएर फिर्ता आएका नेपाली कलाकृतिको व्यवस्थापन र विवरण) मा चर्चा गरिएको छ।
अब यसै विषयलाई अझ उजागर गरौँ। विगतमा कानुन निरीह थियो, पैसावालाले दाल चामल, लुगा र कपडा खरिदको शैलीमा हाम्रा कृति विश्व बजारको गैरकानुनी क्षेत्रमा लिलाममा या निजी तवरमा बिक्री गर्थे। ती कृति कसैका लागि सजावटका वस्तु हुन्थे। अबको स्थितिमा खरिदकर्ता र सङ्कलकको परिवर्तित मनोविज्ञान, कानुन, प्रहरी बल वा कानुनी निकायबीच बढिरहेको समन्वय आदिबाट प्रहरी वा कानुनी निकायमा आत्मविश्वास र कर्तव्यपरायणताको विकास भएको छ।
पहिचान खोज्न, इतिहास र कलासंस्कृतिको जानकारी लिन प्रमाणको आवश्यकता पर्ने भएकोले प्राचीन सामग्रीमा अध्येता र सर्वसाधारणको रुचि बढेको छ। इन्टरपोलजस्ता संस्थाका कार्यक्रममा हुने रणनीतिक छलफलमा आउने सूचना, संवेदनशील विषयमाथि हुने छलफल, कर्तव्य र उत्तरदायित्वका कारणले पनि सचेतना बढेको छ। यसले चोरीनिकासी माथिको नियन्त्रण थप प्रभावकारी हुने आशा गर्न सकिन्छ।
नेपाल सरकारमाथि अहिले नयाँ दायित्व थपिएको छ। पहिलेदेखि नै प्रदर्शनीका लागि सङ्ग्रहालयमा स्थान अभाव छ। नयाँ कलाकृतिहरू फर्कने क्रममा तिनको व्यवस्थापनमा थप चुनौती देखिएको छ। यसका लागि बजेट, समन्वय, अभिमुखीकरण र थप सुरक्षाको आवश्यकता पर्नेछ।
विसं १९६० देखि १९८० को दशकमा सम्पदाहरू बढी मात्रामा बिदेसिएको भनाई छ। आजको कानुनले गर्दा पनि चोरीलाई केही हदसम्म हतोत्साहित गरेको छ। पहिले अन्य मन्त्रालयसित खुम्चेर बस्ने गरेको संस्कृति मन्त्रालय अहिले पृथक् र स्वतन्त्र बनेको छ। संस्कृति मन्त्रालयले युनेस्कोसित सहकार्य गरेर मूर्त-अमूर्त सम्पदाको संरक्षणका क्षेत्रमा गरेका विविध कार्य सफल भएको छ।
कुनै महत्त्वपूर्ण सांस्कृतिक सामान चोरी भएको अवस्थामा स्थानीय समुदायबाट संस्कृति मन्त्रालयमा निवेदन दिन सकिन्छ। त्यो सूचना प्राप्त भएपछि त्यसको सत्यासत्य निरूपण गरी यसका लागि सरोकारवाला समुदाय वा संस्था, व्यक्तिसँग बुझेर आवश्यक कारबाही अगाडि बढाउने गरिन्छ। नेपाल सम्पदा पुनर्स्थापना अभियानजस्ता संस्था तथा संस्कृतिप्रेमी समुदायबाट विदेशमा रहेका सामग्रीहरूको पहिचान गर्ने, त्यसको जानकारी दिने, समाचार प्रकाशित गर्ने र विदेशी कलाप्रेमी, संरक्षक तथा दूतावासको सहयोगमा नेपालभित्र मूर्तिहरू ल्याउने र स्थापना गर्ने कार्यहरू पनि भइरहेको छ।
बिदेसिएका नेपाली कलाकृति नेपाल पुनरागमन जति सुखद छ, त्यसको प्रक्रियागत व्यवस्थापकीय पक्ष त्यतिकै चुनौतीपूर्ण छ। विदेशबाट फिर्ता आउने क्रममा रहेका कलाकृतिको ढुवानीको लागि बजेटको समस्या भएका उदाहरण पनि छन्। अमेरिकाको टेक्सस राज्यस्थित ड्यालस म्युजियम अफ आर्टसमा भेटिएको पाटनको पट्कोटोलस्थित नारायण मन्दिरबाट हराएको वासुदेव कमलजा (लक्ष्मी नारायण) मूर्तिलाई नेपालमा फिर्ता ल्याउन आर्थिक समस्या भएको थियो। तर पछि ललितपुर महानगरपालिकाको सदाशयमा सो मूर्ति फिर्ता ल्याइएको थियो।
हाम्रा सम्पदालाई जोगाउन, नासिनबाट बचाउन युवा पुस्तालाई अग्रपङ्तिमा राखी सबै सरोकारवालाले आआफ्नो तर्फबाट हृदयदेखि लाग्नुपर्छ।
(प्रा. पौड्यालले २०८१ सालको जगदम्बाश्री तथा मदन पुरस्कार समारोहमा वाचन गरेकी विद्वत् प्रवचनको सम्पादित-सारसंक्षेप। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
