स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्डले अस्पतालमा सेवाग्राहीका लागि पर्याप्त पार्किङ हुनुपर्ने व्यवस्था गरे पनि देशकै ठूला सरकारी अस्पतालहरूमा बिरामी र आफन्तले झमेला बेहोरिरहेका छन्।
काठमाडौँ— बानेश्वरका सरल देवकोटा कात्तिक २४ गते बिहान बिरामी साथीलाई लिएर वीर अस्पताल पुगे। अस्पतालको पार्किङ नहुँदा उनले बाइक महाबौद्ध जाने गल्लीमा राखे। तर उनी निस्कँदा बाइक त्यहाँ थिएन।
उनको बाइक १० बजेतिर आएको महानगर प्रहरीको टालीले उठाइदियो। अस्पतालले पार्किङको व्यवस्था नगर्दा आफूले कारबाही भोग्नुपरेको उनी गुनासो गरिरहेका थिए। “यहाँ राख्न मिल्दैन भने अन्त कहाँ राख्ने त्यो पनि भन्नुपर्यो नि। बिरामी लिएर आएको हुन्छ, त्योभन्दा बढी टाउको दुखाइ पार्किङको छ,” उनले भने।
अस्पतालमा बस्ने समयको टुंगो नहुने हुँदा निःशुल्क र व्यवस्थित पार्किङको व्यवस्था हुनुपर्ने उनी बताउँछन्। उनी मात्र होइन, वीर अस्पताल र ट्रमा सेन्टर जाने बिरामी वा कुरुवा पार्किङको समस्या भोग्न बाध्य छन्।
कात्तिक २४ गते बिहानै ट्रमा सेन्टर गएका विराज नकर्मीले अस्पतालपछाडि सडक किनारमा बाइक राखे। ट्रमा सेन्टरमा पनि बिरामी र कुरुवाका लागि पार्किङ छैन। बाहिर सवारीसाधनको पार्किङ लस्करै गरिएको देखेपछि आफूले त्यहीँ राखेको नकर्मी बताउँछन्।
बिरामीलाई हेरचाह गर्न अस्पताल गएका उनी महानगरले बाइक उठाएर लैजाने त्रासमा बस्नुपर्ने बताउँछन्। त्यही त्रासले उनी बेलाबेला महानगरका प्रहरी आए/नआएको हेर्न बाहिर निस्किरहन्थे। “यस्तो त्रासमा कसरी बिरामीको स्याहार गर्नु? सजिलोका लागि साधन ल्याएको हो, पार्किङ नहुँदा घाँडो लाग्छ,” उनले भने।
ट्रमाकै छेउमा सैनिक कल्याणकारी भवनमा स—शुल्क पार्किङको व्यवस्था भने छ। तर चर्काे शुल्क र अस्पतालमा कति समय बस्नुपर्ने हो भन्ने टुंगो नहुँदा आफूले त्यहाँ नराखेको उनी बताउँछन्।
देशकै जेठो अस्पताल वीरमा देशभरिबाट बिरामी उपचारका लागि आउँछन्। बिरामी कुरुवा र आफन्त पनि आउँछन्। वीरमा पार्किङ स्थल पनि छ, तर सर्वसाधारणलाई सहजै प्रवेश दिइँदैन।
अस्पतालका सुरक्षागार्डका अनुसार, पार्किङ स्थलमा १२ सय वटासम्म बाइक र करिब ७० वटा गाडी राख्न सकिन्छ। तर त्यहाँ अस्पतालकै कर्मचारी र खास व्यक्तिहरूले मात्रै प्रवेश पाउँछन्। यद्यपि, बेलुकी ५ बजेदेखि ७ बजेसम्म बिरामी कुरुवा र आफन्तले सवारीसाधन राख्न पाउने त्यहाँका एक सुरक्षागार्डले बताए।
अस्पतालका निर्देशक डा. दिलीप शर्मा भने अस्पतालमा चिकित्सक र कर्मचारीकै लागि पार्किङ अभाव रहेको बताउँछन्। अस्पतालमा बिरामी र कर्मचारीको समेत चाप बढी भएकाले समस्या निम्तिएको उनको भनाइ छ। “अस्पताल यस्तो व्यस्त ठाँउमा छ कि नजिकमा कुनै खाली ठाउँ नै छैन। अस्पतालकै कर्मचारीलाई पार्किङमा सकस छ,” उनले भने।
पार्किङ व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकासँग अनुरोध गरिएको डा. शर्माको भनाइ छ। तर महानगरका सहप्रवक्ता ध्रुवकुमार काफ्ले अस्पताल आफैले पार्किङ व्यवस्थापन गर्नुपर्ने बताउँछन्।
ठाँउ खाली भए पनि अस्पतालले कर्मचारीका लागी मात्रै भनेर सीमित गरेको काफ्लेको भनाइ छ। “कर्मचारीले राखेपछि बाँकी रहेको स्थानमा अरू पार्किङ गर्न दिने विकल्प छ। तर कर्मचारीलाई मात्र सुविधा दिएर सर्वसाधारणलाई विकल्प खोज्न भन्दा समस्या हुन्छ,” उनले भने।
वीर अस्पतालकै छेउमा रहेको राष्ट्रिय ट्रमा सेन्टरमा सवारीसाधन लिएर आएकालाई अस्पतालका सुरक्षागार्डले सैनिक कल्याणकारी भवनतिर देखाउने गर्छन्। त्यहाँ बाइकको पहिलो १ घण्टाको २५ रुपैयाँ तिर्नुपर्छ। त्यसपछि प्रत्येक १५ मिनेट बराबर ५ रुपैयाँ तिराइन्छ। चारपांग्रे सवारीसाधनको भने पहिलो १ घण्टाको ७५ र प्रति १५ मिनेट १५ रुपैयाँ तिर्नुपर्छ। यसबाहेक धरहराको भूमिगत पार्किङ पनि बिरामी र आफन्तका लागि विकल्प छ।
ट्रमा अस्पतालका सुरक्षागार्डका अनुसार, बेलुका ४ बजेपछि मात्रै त्यहाँको पार्किङ सर्वसाधारणलाई खुला हुन्छ। ट्रमाको पार्किङमा वीर अस्पतालका कर्मचारीले समेत सवारीसाधन राख्छन्।
परोपकार प्रसूति गृहको अवस्था झनै असहज छ। अस्पतालभित्र सवारीसाधन लिएर जानेलाई गेटबाटै सुरक्षाकर्मीले स-शुल्क पार्किङतिर देखाउँछन्। अस्पतालमा भएको पार्किङमा त्यहाँका कर्मचारीलाई मात्र प्रवेश दिइन्छ।
प्रसूति गृहअगाडि रहेको निजी पार्किङमा दुईपांग्रे साधनको घण्टाको २५ र एक दिन राखेमा ८० रुपैयाँ तिर्नुपर्छ। चारपांग्रेको घण्टाको ७० रुपैयाँ र एक दिन राखेमा २५० तिर्नुपर्छ। यद्यपि, अस्पतालअगाडिको सडकमा साँझ ७ बजेपछि राख्न पाइन्छ र बिहान ७ बजेअघि नै हटाउनुपर्छ।
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ ले अस्पतालमा सेवाग्राहीका लागि पर्याप्त पार्किङ हुनुपर्ने व्यवस्था गरेको छ। तर काठमाडौँ उपत्यकाका कतिपय सरकारी अस्पतालमा पार्किङको व्यवस्था छैन, भएका पनि व्यवस्थित छैनन्। मापदण्डको पालना नै नगरी अस्पतालहरू चलिरहेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त मापदण्डविपरीत पार्किङ शुल्क नै तिर्नुपर्छ। पाटन अस्पतालमा सवारीसाधनका लागि भूमिगत पार्किङ स्थल छ। प्रतिष्ठानले यो पार्किङबाट शुल्क उठाउन निजी कम्पनीलाई जिम्मा दिएको छ।
यहाँ बिहान ६ देखि बेलुकी ६ बजेसम्म दुईपांग्रे साधन पार्किङ गर्दा २५ रुपैयाँ र राति पार्किङ गर्दा ३० रुपैयाँ तिर्नुपर्छ। चारपांग्रे सवारीसाधनका लागि भने ७० रुपैयाँ तिर्नुपर्छ। यहाँ हजारभन्दा बढी दुईपांग्रे र ७० वटासम्म चारपांग्रे अट्छन्।
हाल भाडा उठाइरहेको कम्पनीको समयावधि सकिन लागेपछि प्रतिष्ठानले गत असोज २८ मा पार्किङ स्थलमा भाडामा दिन बोलपत्र आह्वानको सूचना निकालेको थियो। प्रतिष्ठानको यो निर्णयविरुद्ध ललितपुरका केही स्थानीयले उच्च अदालत पाटनमा रिट हालेका थिए। अदालतले बोलपत्र रोक्न कात्तिक २४ गते अल्पकालीन अन्तरिम आदेश दिएको छ।
रिट निवेदकहरूले अस्पतालमा सेवाग्राहीका लागि निःशुल्क र व्यवस्थित पार्किङ हुनुपर्ने माग राखेका छन्। पार्किङस्थल भाडामा लगाएर प्रतिष्ठानले आम्दानी गर्ने र सेवाग्राहीले हैरानी खेप्नु पर्ने हुँदा शुल्क लिन नहुने अभियन्ता पृथविन्दु महर्जन बताउँछिन्।
“बिरामीका आफन्त र कुरुवाहरूबाट पार्किङको असुली गर्ने कार्य कानूनी र नैतिक हिसाबले पनि मान्य होइन,” महर्जन भन्छिन्, “बिरामीका आफन्त र कुरुवाहरू आवश्यकता अनुसार लामो समय अस्पताल बस्नुपर्ने हुन्छ। त्यस्तोमा पार्किङ शुल्क तिर्दा मारमा पर्छन्।”
अस्पतालका निर्देशक डा. रवि शाक्यले भूमिगत पार्किङ सुरक्षाका लागि पनि भाडामा लगाउनु परेको बताए। जथाभाबी सवारीसाधन पार्किङ गर्ने, लामो समयसम्म राखिदिने जस्ता गतिविधि हुने गरेकाले भाडामा लगाउने गरिएको उनी बताउँछन्।
“६ महिनादेखि सवारी साधनहरू पार्क गरेर राखिएको हुन्छ। कुनै चोरीका छन् त कुनै सवारीका धनी सम्पर्कमा हुदैनन्। यस्ता गतिविधि कम गर्न भाडामा लगाउँदै आएको हो,” डा. शाक्य भन्छन्।
उनका अनुसार सबैभन्दा कम शुल्क लिने कम्पनीलाई भाडामा दिने योजना छ, जसले सेवाग्राहीलाई सहज हुने छ। “सेवाग्राहीलाई समस्या नपर्नेगरी सबैभन्दा थोरै शुल्क जुन कम्पनीले लिन्छ त्यो छानिने छ,” उनी भन्छन्, “यो मेरो एकल निर्णय होइन, प्रतिष्ठानका बोर्ड सदस्य सबैले गरेको हो।”
पार्किङ स्थल भाडामा लगाउँदा सवारीसाधनको सुरक्षा र व्यवस्थित पार्किङ हुने हुँदा सेवाग्राहीलाई नै सहज हुने डा. शाक्य बताउँछन्। उनका अनुसार अस्पतालले पार्किङमार्फत बर्सेनि ६० लाख रुपैयाँ आम्दानी गर्दै आएको छ। अहिले पार्किङको व्यवस्थापन आरए कन्सट्रक्सन प्रालिले गरिरहेको छ।
तर प्रतिष्ठानले स्थानीय सरकारलाई बुझाउनुपर्ने सम्पत्ति कर, बहाल कर र पार्किङ शुल्क बुझाएको पाइँदैन। ललितपुर महानगरका अनुसार, स्थानीय सरकार सञ्चालन ऐन र महानगरपालिकाको आर्थिक ऐनबमोजिम बुझाउनु पर्ने यी शुल्क प्रतिष्ठानले नबुझाएको हो।
अस्पतालका निर्देशक डा. शाक्यले भने टेन्डर हात पार्ने कम्पनीले नै कर तिर्ने सम्झौता भएको हुनसक्ने बताए। “उनीहरूले नतिरेका होलान्। सम्बन्धित निकायले माग्यो भने हामी दिइहाल्छौँ, त्यसमा समस्या छैन,” उनी भन्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० वैशाख १३ गते परिपत्र गर्दै सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई पार्किङ शुल्क नउठाउने भनेको छ। पत्रमा स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ का व्यवस्थाहरू पूर्ण पालना गर्न भनिएको छ।
उपत्यकाका केही अस्पतालले निःशुल्क पार्किङको व्यवस्था गरेका छन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल, बानेश्वरको सिभिल अस्पताल, ललितपुरको अल्का अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेजमा निःशुल्क पार्किङ छ।
अस्पतालले निःशुल्क र व्यवस्थित पार्किङ व्यवस्थापन गर्दा सेवाग्राहीको झन्डै ५० प्रतिशत समस्या हल हुने त्रिवि शिक्षण अस्पतालमा भेटिएका नक्सालका विजय सापकोटा बताउँछन्। “पार्किङकै समस्याले म वीर अस्पताल जान्नँ। कम्तीमा पार्किङ सहज भयो भने बिरामी लिएर आएका सेवाग्राहीको आधा भार नै कम हुन्छ,” उनी भन्छन्, “यस्तै व्यवस्था सबै अस्पतालमा हुन जरुरी छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
