अनलाइन बेटिङको जालोः नेपालीलाई फसाउँदै रकम भारततिर

नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसका अधिकांश सुपर एजेन्ट भारतीय छन्। तिनले नेपालीबाट उठाएको पैसा भारत पुर्‍याइरहेका छन्। अनलाइन बेटिङको जालोमा कसरी फसिरहेका छन् त नेपाली?

काठमाडौँ– “म २४ वर्षको भएँ। ग्याम्लिङमा एडिक्टेड छु। कमाएको सब्बै हारेँ, घरको पैसा नि डुबाएँ, चिल लाइफ ऋणको थुप्रोमा गयो।”

सामाजिक सञ्जाल रेडिटमा केही महिनाअघिको पोस्ट हो यो। त्यही समयको सेरोफेरोमा रेडिटमै अर्को पनि पोस्ट थियो, “मेरो १८ वर्षे साथीले कलेज फि तिर्नुपर्ने ७ लाख रूपैयाँ अनलाइन बेटिङमा गुमायो। उसको परिवारलाई यो कुरा थाहा छैन। अहिले ऊ डराएको छ।”

बेटिङमा प्रायः युवाको संलग्नता छ। काठमाडौँमा कक्षा १२ पढ्दै गरेकी सोनिया पौडेल भन्छिन्, “मैले चिनेको एकजनाले अनलाइन बेटिङमा ३० लाख जति कमाएको बताए, बुलेट बाइक किने। उनको जीवनशैली रातारात बदलियो। पछि उनलाई पुलिसले समात्यो।”

काठमाडौँमै होटल मेनेजमेन्ट पढ्दै गरेका निशान सापकोटाले बेटिङलाई एडिक्सनको रूपमा बुझेका छन्। उनी भन्छन्, “शुरू–शुरूमा (बेटिङ) एपले पनि जिताए जस्तो गर्छ। तर जब धेरै रकमहरू बेटिङ गर्न थाल्छन्, अनि पैसा गुमाउँछन्। मेरो दाइको साथीले डेढ लाख रूपैयाँ गुमायो वान एक्स बेटमा।”

अनलाइन बेटिङसम्बन्धी कुराकानी गर्न रेडिटमा गरेको पोस्टबाट हाम्रो सम्पर्कमा आए स्नातक उत्तीर्ण गरेर विदेश जाने तयारी गरिरहेका एक युवा। काठमाडौँमा होस्टेलमा बस्दै गरेका उनी घरबाट पठाएको खर्च २–४ हजार छुट्याएर वान एक्स बेटमार्फत बेटिङ गर्थे। उनले सामाजिक सञ्जालमा विज्ञापन देखेर सन् २०१९ तिरबाट बेटिङ थालेका थिए।

त्यस बेला राति कुनै समय मात्र वेबसाइटमा एजेन्टको नाम र नम्बर देखिने र कुरेरै पैसा ‘डिपोजिट’ गर्ने गरेको उनी सम्झिन्छन्। “अहिले बेटिङ गर्न सजिलो छ, पैसा लोड र डिपोजिट गर्न धेरै माध्यम छन्। थुप्रै एजेन्ट पनि छन्,” उनी भन्छन्, “मैले त दुई वर्ष भयो बेटिङ गर्न छोडेको। हाउस अलवेज विन्स, आज अलिकता फाइदा भएजस्तो होला, तर जित्ने बेटिङ कम्पनीले नै हो।”

नेपालमा अनलाइन बेटिङ गैरकानूनी भए पनि संलग्नहरू गिरफ्तार भएको समाचार आइरहन्छ। पछिल्लो एक वर्षमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गिरफ्तारीमा परेका ३५ जना १९ देखि ४८ वर्षसम्मका छन्। पढेलेखेका युवा, जो डिजिटल ग्याजेट चलाउन दक्ष छन्, उनीहरू नै बेटिङमा संलग्न भएको र पछि पछुताएको पाइएको प्रहरीको भनाइ छ।

कस्ता प्लेटफर्ममा हुन्छ बेटिङ?
अनलाइन बेटिङसम्बन्धी अनुसन्धान गर्दै आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार, सन् २०१८ तिरबाट वानएक्स बेटले नेपालमा पहुँच बनाएको थियो। हाल नेपालबाट १५० भन्दा धेरै बेटिङ साइट चलाउन सकिन्छ, जसमध्ये वानएक्स बेटको जालो ठूलो छ।

बेटिङ साइटहरूले विभिन्न फेसबुक पेजमार्फत नेपाली भाषामै विज्ञापन गर्छन्। ‘केवल ३ हजार रूपैयाँलाई ५ मिनेटमै ६ लाखमा परिवर्तन गर्ने’ भन्दै चिकेन रोड नामक बेटिङ प्लेटफर्मले फेसबुकमा ‘स्पोन्सर्ड’ विज्ञापन नै गरेको छ।

यस्ता प्लेटफर्मले केही दिनमै पैसा डबल हुनेदेखि, सेलेब्रिटीले बेटिङ गर्न प्रोत्साहित गरेको फेक श्रव्यदृश्य सामग्री प्रयोग गर्छन्। राजेश हमाल, विनोद चौधरीजस्ता व्यक्तिले अनलाइन बेटिङ गर्न प्रोत्साहित गरेको भिडियो फेसबुक पेजमार्फत स्पोन्सर्ड पोस्ट गरेको देखिन्छ।

२०८१ माघ १३ गते प्रहरीले अनलाइन बेटिङमा संलग्न ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरेको थियो। उनीहरूले भारतीयसँगको साझेदारीमा ‘मान्त्रा १०८ एनपी डटकम’ नामक बेटिङ प्लेटफर्म सञ्चालन गर्थे। यस्तै, वान एक्स बेट एजेन्ट हुँदै पछि भारतीयसँग मिलेर आफ्नै बेटिङ प्लेटफर्म ‘जुवा ३६५’ संचालन गरेका २४ वर्षीय अनिल ढुंगानालाई प्रहरीले २०८१ वैशाखमा पक्राउ गरेको थियो।

काठमाडौँ अपराध अनुसन्धान कार्यालयका प्रवक्तासमेत रहेका एसपी काजीकुमार आचार्यका अनुसार, फेसबुकलगायत सामाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिने यस्ता धेरै बेटिङ प्लेटफर्ममा भारतीयहरूको लगानी छ। तर ती प्लेटफर्म नेपालीले सञ्चालन गर्छन् र आम्दानी बाँड्छन्।

नेपालीले नै भारतीयलाई प्लेटफर्म बनाउन लगाएर चलाउने गरेको पनि पाइएको प्रहरी अधिकारी बताउँछन्। बेटिङको कारोबारका लागि भने भारतीय बैंक खाता प्रयोग गर्छन्। ती खातामा नेपाली एजेन्टले पैसा पठाउँछन्।

सामाजिक सञ्जालबाट कसरी एजेन्ट बनाइन्छ भन्ने बुझ्न हामी २४ हजार ५०० सदस्य भएको ‘वान एक्स बेट नेपाल’ फेसबुक समूहमा जोडिएका थियौँ। सोही समूहमा ‘एजेन्ट बन्न चाहनेले सम्पर्क गर्नुहोस्’ भन्ने पोस्ट गर्ने व्यक्तिहरू थिए।  ‘राई विशेष’ प्रोफाइलले एजेन्ट बन्न शुरूमा २० हजार रूपैयाँ डिपोजिट माग गर्दै मेसेन्जरमा ई–सेवाको क्युआर कोड पठाए।

ती व्यक्तिले आफूले एजेन्ट बनेरै महिनाको लाखौँ कमाउने गरेको भन्दै वानएक्स बेटबाट पैसा झिकेको स्क्रिनसट पनि पठाए। उनले इमेल, फोन नम्बरलगायत केही व्यक्तिगत विवरण मागेर २–३ घण्टामै वानएक्स बेटको पार्टनर एकाउन्टको ‘युजरनेम’ र ‘पासवर्ड’ दिए।

अनलाइन बेटिङमा सुपर र साधारण गरी दुई प्रकारका एजेन्ट छन्। नेपालबाट कसैलाई बेटिङ प्लेटफर्ममा पैसा लोड गर्न अथवा प्लेटफर्मबाट पैसा झिक्न सहयोग गर्ने साधारण एजेन्ट हुन्। उकालोको सम्पर्कमा आएका एक साधारण एजेन्टका अनुसार, उनीहरू ह्वाट्सएप, टेलिग्रामजस्ता सामाजिक सञ्जालबाट बेटिङ गर्नेसँग सम्पर्क गर्छन्।

बेटिङ गर्ने व्यक्तिसँग कनेक्ट आईपीएस, ईसेवालगायत डिजिटल वालेटमा भुक्तानी लिएर उनीहरूको बेटिङ एकाउन्टमा पैसा लोड गर्ने र झिक्ने गर्छन्। बेटिङ गर्नेले हरेक पटक पैसा डिपोजिट गर्दा र झिक्दा साधारण एजेन्टले कमिसन पाउँछन्।

बेटिङ प्लेटफर्ममा एजेन्ट बन्न क्रिप्टोकरेन्सी, विशेषगरी यूएसडीटी (१ डलर बराबर १ यूएसडीटी हुनेगरी स्थिर मूल्य राखिएको)मा प्रिडिपोजिट गर्नुपर्छ। नेपालबाट डलर र क्रिप्टोमा कारोबार गर्न असहज हुने हुँदा साधारण एजेन्टहरू सुपर एजेन्टमा भर पर्छन्। अधिकांश सुपर एजेन्ट नेपालबाहिर बसेर यस्तो कारोबार गरिरहेका हुन्छन्।

एसपी आचार्य पनि जुवाजन्य साइटहरू नेपालबाहिरबाट खेलाएको देखिने बताउँछन्। वान एक्स बेटले त आफ्नो वेबसाइटमा नै यस्ता एजेन्टको फोन नम्बर र डिजिटल वालेट विवरण देखाइरहेको हुन्छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीका अनुसार कतिपय एजेन्टले वेबसाइटमा आफ्नो नम्बर धेरै समय देखाउन पनि पैसा खर्च गर्छन्। उनी भन्छन्, “धेरै रकम हारेका व्यक्तिलाई एजेन्ट बने हारेको भन्दा बढी कमिसन पाउने प्रलोभनमा पारिन्छ। यस्ता व्यक्ति रकम उकास्ने चक्करमा एजेन्ट बन्छन्।”

nullउक्त कार्यालयले २०८१ फागुन ५ गते अनलाइन बेटिङमा संलग्न भएको आरोपमा २४ भारतीयलाई, काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। सिंगो घर नै भाडामा लिएर बसेका उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार बराबरको अनलाइन जुवा कारोबार गरेको प्रहरीको भनाइ छ। यो घटनाको करिब एक महिनापछि माघ १९ गते अनलाइन बेटिङमा संलग्न १० भारतीय र १४ नेपालीलाई प्रहरीले सानेपाबाट पक्राउ गरेको थियो। दुईवटा घर भाडामा लिएर बेटिङ चलाइरहेको उक्त समूहले ३ अर्ब ४ करोडमाथिको कारोबार गरेको थियो।

एसपी आचार्यका अनुसार, यस्ता समूहले एकान्तमा भीआईपी जस्तो देखिने ठूलो क्षेत्र भएको घर भाडामा लिने गरेका छन्। कतिपयले होटलका कोठा भाडामा लिएर तथा कतिपय नेपाली भिजिट भिसामा यूएई (दुबई) लगायत देश गएर पनि सट्टेबाजी गर्दै आएका छन्।

पछिल्लो समय चिनियाँ नागरिक पनि अनलाइन बेटिङमा संलग्न हुन थालेका छन्। एसपी आचार्य भन्छन् “अमेरिकामा बस्ने नेपाली र चिनियाँ नागरिक पनि संलग्न छन्। हामीले पक्राउ गरेर कानूनी कारबाही गरेको तथ्यांकमा पनि चिनियाँ तथा भारतीय नागरिकको संख्या उल्लेख्य छ।”

प्रचारका लागि ‘सरोगेट’ विज्ञापन
अनलाइन बेटिङको प्रचारमा संलग्न भएको आरोपमा करिब दुई वर्षअघि प्रहरीले मरिचमान श्रेष्ठ, राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटालगायत कलाकार र युट्युबरलाई पक्राउ गरेको थियो। विज्ञापन (नियमन) गर्ने ऐन २०७६ को दफा ५(१) ख अनुसार, जुवा खेल्न/खेलाउन वा अनुमति नलिएको चिठ्ठा किन्न/किनाउन प्रोत्साहन गर्दै विज्ञापन गर्न पाइँदैन। तर कानूनी प्रावधानलाई छलेर ‘सरोगेट एडभरटाइजिङ’मार्फत यस्ता प्लेटफर्मको प्रवर्धन गरिन्छ।

सरकारद्वारा विज्ञापनमा रोक लगाइएका सामग्रीलाई अप्रत्यक्ष रूपमा प्रवर्धन गर्ने मार्केटिङ रणनीति सरोगेट विज्ञापन हो। त्यसका लागि बेटिङ साइटसँग मिल्दोजुल्दो नाम राखेर अर्को वेबसाइट तयार गरिन्छ। जस्तो, वान एक्स बेटलाई वान एक्स ब्याट, मेलबेटलाई मेलब्याट बनाएर विज्ञापन गरिएको छ। कतिपय मूलधारकै नेपाली सञ्चारमाध्यमले पनि यस्ता सरोगेट वेबसाइटको विज्ञापन गरेका थिए।

सरोगेट विज्ञापनको उजुरीपछि विज्ञापन बोर्डले ती विज्ञापन हटाउन पत्र पठाएपछि हटाएका थिए। विज्ञापन बोर्ड अध्यक्ष लक्ष्मण हुमागाईं भन्छन्, “हटाउँदैमा हुँदैन, त्यो गर्न नहुने काम हो। उनीहरूले बेटिङ एप भन्ने थाहा नपाएर गरेको भनेका छन्।”

तर बेटिङ एप भन्ने थाहा नपाएर विज्ञापन गरेको भन्ने कान्तिपुरले त्यसपछि पनि अस्ट्रेलियामा भएको ‘टप एन्ड टी २०’ क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण गर्दा कान्तिपुर म्याक्समार्फत बेटिङ प्लेटफर्म ‘बाजी८८’ र ‘डाफाबेट’को विज्ञापन गरेको थियो। यसबाहेक, नेपाल प्रिमिय लिग (एनपीएल)को पहिलो संस्करणमा तीन वटा टिमको जर्सीमा तीन फरक बेटिङ कम्पनीको सरोगेट विज्ञापन गरिएको थियो।

सक्कली डकुमेन्ट, नक्कली प्रयोगकर्ता
प्रहरीले २०८१ वैशाखमा काभ्रेबाट पक्राउ गरेका अनिल ढुंगानाले चार वर्षमा अनलाइन बेटिङमार्फत २ अर्बभन्दा माथिको कारोबार गरेका थिए। उनले ५६ वटा बैंक अकाउन्ट, १५ वटा वालेट र दुई वटा बाइनेन्स अकाउन्ट खोलेका थिए।

nullबेटिङ कारोबारकै लागि उनले विभिन्न व्यक्तिको नाममा भएका ११ वटा कनेक्ट आईपीएसमा ५५ वटा बैंक अकाउन्ट लिंक गरेका थिए। यस्ता बैंक खाता र वालेट प्रयोग गर्न उनले २ हजार रूपैयाँ दिँदै सर्वसाधारणको नागरिकता लिन्थे।

बेटिङ एजेन्टले मृत्यु भइसकेका व्यक्तिका नागरिकता र विवरण प्रयोग गरेर पनि डिजिटल वालेट बनाउने गरेका छन्। ‘जिओ लोकेसन’ पत्ता लगाउन नसकिने भएकाले डिजिटल वालेट कहाँ बसेर चलाइएको छ भन्ने थाहा हुँदैन। वालेट बनाउन प्रयोग गरिएको सिम र नागरिकता विवरणको आधारमा खोज्दा अर्कै व्यक्ति फेला पर्छ।

प्रहरीका एक अधिकारी फोटोकपी सेन्टरबाट पनि नागरिकतालगायत कागजातको दुरूपयोग हुनसक्ने बताउँछन्। एक वर्षअघि प्रहरीले ‘केवाईसी’ रुजु गर्ने डिजिटल वालेटका तीन कर्मचारीलाई सेवाग्राहीको फोटो, नागरिकताको प्रतिलिपिलगायत विवरण  दुरूपयोग गरेर वालेटहरू खोलेको आरोपमा पक्राउ गरेको थियो। 

हुण्डीको नयाँ स्वरूप
नेपालमा अनलाइन बेटिङमार्फत हुने कारोबार रकमबारे कुनै औपचारिक तथ्यांक छैन। बेटिङसम्बन्धी अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी दैनिक ५० करोड रूपैयाँभन्दा माथिको कारोबार हुने अनुमान गर्छन्।

उक्त कार्यालयको वेबसाइटमा पछिल्लो एक वर्षमा पक्राउ परेकाहरू आठ वटा घटनामा संलग्न देखिन्छन्। पक्राउ परेकामध्ये ३९ भारतीय र ३४ नेपाली नागरिक छन्। ती आठ घटनामा मात्र ८ अर्ब ६९ करोड ८३ लाख ७७ हजार ५३२ रूपैयाँ कारोबार भएको देखिन्छ।

पछिल्लो समय विदेशमा रहेका नेपालीलाई नेपालमा निःशुल्क पैसा पठाउन सकिने भन्दै एजेन्टहरूले विज्ञापन गरिरहेका छन्। अनलाइन बेटिङ अनुसन्धान गरिरहेका ती अधिकारीका अनुसार, विदेशमा रहेका नेपालीले आफूले पठाउने रकम बराबरको क्रिप्टोकरेन्सी खरिद गरी एजेन्टको वालेटमा पठाउँछन्। अनि एजेन्टले नेपालमा बेटिङमार्फत जम्मा गरेको पैसाबाटै पाउनुपर्ने व्यक्तिको खातामा पठाउँछन्। यसरी बेटिङ कारोबारले नेपाल आउनुपर्ने रेमिट्यान्सलाई विदेशमै रोकेको छ।

क्रिप्टोको सट्टा गर्ने प्लेटफर्म बाइनेन्समार्फत पनि रकम बाहिरिने गरेको छ। रूपैयाँ लिएर बाइनेन्समा क्रिप्टो लोड गरिदिने थुप्रै एजेन्ट सामाजिक सञ्जाल तथा बाइनेन्समा उपलब्ध छन्। हामीसँग सम्पर्कमा आएका एक साधारण बेटिङ एजेन्टका अनुसार, यहाँका ठूला एजेन्टको भारतीय एजेन्टसँग ‘कनेक्सन’ हुन्छ। सानोसानो रकम गर्दै नक्कली सपिङ साइटबाट सामान खरिद गरेको अभिलेख देखाई पैसा भारत पठाउने पनि गरिँदै आएको छ।

प्रहरी अनुसन्धानबाट समेत बेटिङको रकम भारत पठाइएको देखिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्य भन्छन्, “बेटिङमा प्रयोग भएका बैंक अकाउन्टको डिटेल्स हामीलाई प्राप्त भइसकेको हुन्छ, त्यसलाई फलो गर्दै जाँदा रकम अर्कै बैंकको अकाउन्टमा गइसकेको हुन्छ। अझ कतिपय अवस्थामा त भारतको बोर्डर साइडबाट उक्त पैसा झिकिएको देखिन्छ।”

हेर्ने निकाय को?
अनलाइन बेटिङसम्बन्धी घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, साइबर ब्युरो र उपत्यकाका तीन जिल्लाकै प्रहरी परिसरले अनुसन्धान गरिरहेका छन्। तर प्रहरीको अहिलेको स्रोत र ज्ञान अनलाइन बेटिङ नियन्त्रणमा पर्याप्त छैन। यससम्बन्धी छुट्टै कानून र प्राविधिक रूपमा दक्ष जनशक्ति हुनुपर्ने एसपी आचार्य बताउँछन्। इन्टरनेट सेवा प्रदायकले पनि यस्ता साइट बन्द गर्नुपर्ने उनको भनाइ छ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ सालमै यस्ता वेबसाइट बन्द गर्न सबै सेवा प्रदायकलाई निर्देशन दिएको थियो। नेपालमा १०७ वटा इन्टरनेट सेवा प्रदायक संस्था छन्। कतिपय प्रदायकले यस्ता साइट बन्द गरेका छैनन्।

यस्ता साइट बन्द गर्न थप जनशक्ति र उन्नत प्रविधि चाहिने इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसनका सीईओ सुवास खड्का बताउँछन्। उनी भन्छन्, “सबै इन्टरनेट सेवा प्रदायकको क्षमता नपुग्न सक्छ, हामीले डीएनएस ब्लक गरेर बन्द त गर्दै आएका छौँ, तर कन्टेन्ट फिल्टरको अधिकार हामीसँग नभएकाले प्रभावकारी हुन सकेको छैन।”

डीएनएस (डोमेन नेम सिस्टम) ब्लक मार्फत वेबसाइट बन्द गर्नु प्रभावकारी उपाय होइन। यसरी बन्द गरिएको वेबसाइट भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी खोल्न सकिन्छ। कुनै बेटिङ साइट ब्लक गरिहाले पनि त्यसको यूआरएलमा केही परिवर्तन गरेर मिरर लिंकहरू तयार गर्छन्।

जस्तो, वानएक्स बेट डटकम ब्लक गरिएको भए पनि वानएक्स बेट एशिया, वानएक्स बेट लाइट वा यूआरएलमा केही अंक वा अक्षर राखेर मिरर लिंक तयार गर्छन्। यस्ता लिंक खोजेरै इन्टरनेट सेवा प्रदायकले ब्लक नगरेसम्म चलिरहन्छन्। ब्लक गरिहाले नयाँ मिरर लिंक तयार गर्छन्।

क्रिप्टोकरेन्सी, हुन्डी, विदेशी मुद्रा अपचलनजस्ता विषय तानिने हुँदा अनलाइन बेटिङ नेपाल राष्ट्र बैंकसँग पनि जोडिन्छ। राष्ट्र बैंकबाट इजाजत प्राप्त संस्थाले आफ्ना ग्राहकको खातामा शंकास्पद गतिविधि देखिए राष्ट्र बैंकको ‘फिनान्सियल इन्टेलिजेन्स युनिट’मा त्यसको रिपोर्ट गर्छ। यसरी पनि कतिपय बेटिङ कारोबारी कारबाहीको दायरामा पर्ने गरेका छन्।

अपर्याप्त कानून
नेपालको कानूनले जुवा खेल्ने र खेलाउनेलाई समान नजरले हेर्छ। मुलुकी अपराध संहिताको दफा १२५ मा कसैले पनि जुवा खेलाउने, सट्टेबाजी गर्न नहुने उल्लेख छ। जुवालाई ‘संयोगको आधारमा कुनै किसिमको चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया’ भनी परिभाषित गरेको छ। 

तर अनलाइन बेटिङ बुझ्न यो पर्याप्त छैन। अनलाइनबाट हुने सट्टेबाजी बुझ्न ‘गेम अफ स्किल’ र ‘गेम अफ चान्स’को सिद्धान्त बुझ्नुपर्छ। आफ्नो कौशल प्रयोग गरी खेलिने गेम अफ स्किल र संयोगले जितिने गेम अफ चान्स हुन्।

अधिवक्ता नवीन भण्डारी भन्छन्, “अनलाइन बेटिङ गैरकानूनी भनेर उल्लेख गर्नुभन्दा कुन प्रकृतिको एप गैरकानूनी र कुन एप कानूनी भन्ने परिभाषित गर्नुपर्छ। आफ्नो स्किल प्रयोग गरिने प्रकृतिको गेम, एप, प्लेटफर्म कानूनी हुनुपर्छ र संयोगले जितिने गेमका प्लेटफर्म  गैरकानूनी हुनुपर्छ।” 

अनलाइन बेटिङको सञ्जालमा क्रिप्टोकरेन्सी, विदेशी मुद्रा अपचलन र हुण्डी पनि जोडिएको परिकल्पना पनि हाम्रो कानूनले नगरेको अधिवक्ता भण्डारी बताउँछन्। त्यति मात्र होइन, बेटिङ गराउने कम्पनी नेपालमा दर्ता छैनन्, न त उनीहरूको सर्भर नै यहाँ छ। त्यसैले विद्यमान कानूनमा टेकेर बेटिङ गर्ने र गराउने एजेन्टसम्मलाई मात्र कारबाही गर्न सम्भव भएको भण्डारीको भनाइ छ।

उनी भन्छन्, “अहिलेको कानूनलाई परिमार्जन गर्ने वा अनलाइन बेटिङलाई सम्बोधन गर्ने केही व्यवस्थासहितको नयाँ कानून निर्माण गर्नैपर्छ। नत्र भोलिका दिनमा यो समस्या झन विकराल बन्छ।”

अन्तर्राष्ट्रिय अभ्यास
अनलाइन बेटिङको जालो नियन्त्रण र नियमनका लागि विभिन्न देशले छुट्टै कानून र निकाय बनाएका छन्। सिंगापुरमा अनलाइन बेटिङ लाइसेन्स प्राप्त संस्थाले मात्र गराउन पाउँछ। यसलाई सम्बोधन गर्न सन् २०१४ मै सिंगापुरले ‘रिमोट गेम्लिङ एक्ट’ जारी गरेको थियो। 

त्यहाँ अनलाइन बेटिङ गराउने लाइसेन्स ‘सिंगापुर पुल्स प्राली’सँग मात्र छ, त्यसले लोटरी गेम, फुटबल तथा मोटर रेसजस्ता खेल मात्र खेलाउन सक्छ। त्यसका लागि मापदण्ड बनाइएका छन्। यो लाइसेन्स हरेक तीन वर्षमा रिन्यु गर्नुपर्ने प्रकृतिको हुन्छ। सिंगापुरले समग्र गेम्लिङलाई नियमन गर्न सन् २०२२ मा छुट्टै निकाय ‘गेम्लिङ रेगुलेटरी अथोरिटी’ बनाएको छ।

चीनले आफ्नो फौजदारी कानूनलाई सन् २००६ मा संशोधन गरेर व्यावसायिक तथा मनोरञ्जन दुवै प्रयोजनमा गेम्लिङ गर्न नपाइने व्यवस्था गरेको छ। देशभित्र मात्र होइन, आफ्ना नागरिकलाई अन्य देशमा बसेर पनि यस्तो कार्य नगर्न निर्देशन दिएको छ। चीनमा चिनियाँ सरकारले सञ्चालन गर्ने ‘वेलफेयर लोटरी’ र ‘चाइना स्पोर्टस लोटरी’ भने सञ्चालन हुन्छ।

क्रसबोर्डर अनलाइन बेटिङलाई नियन्त्रणका लागि थाइल्यान्ड, कम्बोडिया र आशियानका अन्य सदस्य राष्टहरूसँग सहकार्य गर्दै आएको छ। सन् २०२४ मा मात्रै चीनको ‘मिनिस्ट्री अफ पब्लिक सेक्युरेटी’ले चार हजार ५०० अनलाइन बेटिङ प्लेटफर्म बन्द गरेको थियो। यस्तो बेटिङमा संलग्न आशंकामा ११ हजार जना गिरफ्तार गरेको र क्रस बोर्डर गेम्लिङका ७३ हजार घटना अनुसन्धान गरेको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

भारतमा राज्यअनुसार फरक कानूनी प्रावधान छन्। गोवा, सिक्किम, पश्चिम बंगाल, नागाल्यान्डलगायत राज्यमा ‘गेम अफ स्किल’लाई कानूनी मान्यता दिएका छन्। आसाम, ओडिसा, तेलंगानालगायत राज्यले भने गेम अफ चान्स र गेम अफ चान्स र स्किलको मिश्रणजस्ता देखिने खेललाई पनि प्रतिबन्ध लगाएका छन्।

रकमको हिसाबले भारतमा हुने अनलाइन बेटिङको २५ प्रतिशत कारोबार कर्नाटकामा हुन्छ। कर्नाटक सरकारले प्रस्ताव गरेको ‘कर्नाटक पुलिस अमेन्डमेट बिल– २०२५’ मा गेम अफ स्किल अन्तर्गतका खेललाई मान्यता दिने र गेम अफ चान्समा पर्नेलाई प्रतिबन्ध लगाउने उल्लेख छ। यसबाहेक अनलाइन बेटिङ नियमनका लागि ‘कर्नाटक अनलाइन गेमिङ एन्ड बेटिङ  रेगुलेटरी अथोरेटी’ स्थापना गर्ने पनि उल्लेख छ।

तर गत अगस्ट २० र २१ मा लोकसभा र राज्यसभाले ‘दि प्रमोसन एन्ड रेगुलेसन अफ अनलाइन गेमिङ बिल २०२५’ पास गरेका छन्। अगस्ट २२ मा राष्ट्रपतिद्वारा स्वीकृत उक्त कानूनअनुसार अब भारतमा पैसामा खेलिने गेम अफ चान्स र गेम अफ स्किलमा पर्ने सबै खेल खेल्नु वा खेलाउनु गैरकानूनी भएको छ। यससम्बन्धी विज्ञापन, वित्तीय कारोबार सजिलो बनाउने कार्य साथै खेल आयोजना वा प्रवर्धन गर्ने कार्यहरू पनि प्रतिबन्धित भएका छन्।

यो कानून बनेसँगै भारतमा अनलाइन बेटिङ केन्द्र सरकारको क्षेत्राधिकार भित्र पर्ने कि राज्य सरकारको भन्ने बहस शुरू भएको छ। यही मुद्दा लिएर विभिन्न गेमिङ कम्पनी अदातल पुगेका छन्।