एमाले विधान महाधिवेशन
एकचोटिका लागि मात्र भन्दै नवौँ महाधिवेशनमा अध्यक्षका लागि मत मागेका ओली तेस्रो पटक अध्यक्ष हुने तयारीमा छन्। अब उनी प्रतिष्पर्धीविहीन अध्यक्ष बन्न चाहन्छन्।
‘कांग्रेसचाहिँ कस्तो छ भने कुखुराको पोथीजस्तो छ। माछाले चाहिँ एकै पल्टमा हजारौँ- लाखौँ फुल पार्छ रे! हल्लाखल्ला गर्दैन, कसैले थाहै पाउँदैन। कुखुराको पोथीले एउटा अण्डा पायो भने क्वाँ क्वाँ क्वाँ क्वाँ।’ केही पहिले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्ति हो यो। ओलीले काँग्रेसका लागि प्रयोग गरेको अण्डाको बिम्ब अहिले ओली स्वंयका लागि उपयुक्त देखिन्छ। दुई ठूला दलको दुई तिहाइवाला सरकारले देखिने गरी डेलिभरी दिन सकेको छैन। अन्तिम विकल्पका रूपमा लिइएको दुई ठूला दलको समीकरण पनि ‘कलब्रेक’मा चिडीको दुक्कीका लागि हुकुमको एक्का फाल्न परेझैँ भएको छ। झिना मसिना उपलब्धि र ‘फेक’ सामग्रीमा सरकार रमाइरहेको छ।
हालै भारत र चीन बीचमा लिपुलेकमार्फत व्यापारिक मार्ग बनाउने सहमति भयो। चीन भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँगको भेटमा भारत सँगको सहमतिलाई लिएर आपत्ति जनाएको नेपाली दूतावासले विज्ञप्तिमार्फत सार्वजनिक गर्यो। नेपाली भूमिमा चीन र भारतले मनलाग्दी गर्दा नेपाली प्रधानमन्त्रीले जनाउने आपत्ति नै हो। नेपाल पक्षले त्यस्तो सहमतिको समर्थन गर्ने कुरा अकल्पनीय छ। न भूमि फिर्ता आएको हो, न सी जिनपिङले नेपालको भूमि रहेछ भनेर स्वीकार गरेका हुन्, नत चिनियाँ पक्षले नेपालले दाबी गरेको विषयलाई नोटिसमा नै राखेको हो– तर, ओली पक्ष कुखुराको पोथीले एउटा अन्डा पार्दाझैँ क्वाँ क्वाँ क्वाँमात्रै गरेन, राष्ट्रिय एकता कमजोर पार्ने गरी अन्य दलका नेता भारतका लागि ‘कम्फर्टेबल’ रहेको देखाउन व्यस्त रह्यो।
सबैलाई साथ र विश्वासमा लिएर राष्ट्रियता दह्रो बनाउनुपर्ने दायित्वमा रहेको दलले आन्तरिक विभाजनका लागि सक्दो प्रयास गर्यो। संयोग के छ भने भारत र चीनबीच लिपुलेकबारे कम्तीमा दुई पटक सहमति भयो र सहमति हुँदाका दुवै बखत ओली नै प्रधानमन्त्री थिए। सरकारी संयन्त्रले भारत र चीनबीच हुँदै गरेको सहमतिबारे चाल पाउन सकेन। बेलैमा चीनलाई सजग गराउन र भारतलाई खबरदारी गर्नबाट नेपाल चुक्यो। त्यसको जिम्मेवारी लिन प्रधानमन्त्री ओली तयार हुन पर्दैन?
प्रधानमन्त्री ओलीले पत्रकार विजयकुमारको पछिल्लो अन्तर्वार्तादेखि संसद्को रोस्ट्रममबाट आफू आफ्ना अभिव्यक्ति र कर्मका लागि जहिल्यै जबाफदेही हुने दाबी गरेका छन्। तर अहिलेसम्म ओलीसँग अभिव्यक्तिको नगद हिसाब किताब खोजिएको छैन। ओलीले पूर्ववर्ती सरकारलाई लिपुलेक लिम्पियाधुरा फिर्ता ल्याउन नसकेको भनी संसद्बाट खिल्ली उडाएका थिए। आफू प्रधानमन्त्री भएको भए भूमि फिर्ता हुन्थ्यो भन्ने दाबीसहित उनले भाषण गरेका थिए। तर, उनी प्रधानमन्त्री भएको वर्ष दिनपछि लिपुलेकमाथि भारतको स्वामित्व चीनले स्वीकार गरेको देखियो। कम्तीमा चीनलाई रोक्न सकेको भए नेपालको स्वामित्वको विषय दोब्बर पेचिलो हुने थिएन।
ओली अभिव्यक्तिको नगद हिसाब माग्नुपर्ने अर्को सन्दर्भ हो: मदन भण्डारीको हत्याराको पहिचान। ओलीले २०५१ को मध्यावधि निर्वाचनमा झापाको दमकमा भाषण गर्दै भनेका थिए–मदन भण्डारीको हत्यारा कुन घरमा र कुन कोठामा कता फर्केर सुत्छ, हामीलाई थाहा छ। तपाईँको मतको बलमा हत्यारालाई बिस्तराबाटै घिसारेर ल्याइनेछ। मदनको शोकलाई एमालेले शक्तिमा बदलेन मात्र, स्वयं ओलीलाई पटक पटक प्रधानमन्त्री बनायो। तर, हत्यारालाई बिस्तराबाट घिसारिएको छैन। कांग्रेस सभापति शेरबहादुर देउवाले केही समय पहिले ओलीलाई सार्वजनिक रूपमा मदन भण्डारीको हत्यारा पत्ता लगाउन चुनौती दिएका थिए। मदन 'मारिँदा' गृहमन्त्री रहेका देउवाले प्रधानमन्त्री ओलीलाई सार्वजनिक रूपमा गरेको आग्रह कम्ता महत्वको होइन। तर ओलीका यस्ता दाबी र वाचा दर्जनौँ छन् र उनी आफ्नै वाचा र दायित्वप्रति बेखबर छन्। ती सबै छाडेर उनी मदनलाई चार श्रीमतीवाला र सहकारी ठगका रूपमा परिचित गराउन पो उद्धत देखिएका छन्।
मदनको अवसानपछि ओली उनको उत्तराधिकारीका रूपमा प्रस्तुत भए। जबजका रक्षकका रूपमा उनको छवि बन्यो। मदन भण्डारी फाउन्डेसनमार्फत देशभर ओली समूहको सक्रियता बढ्यो। मदन पत्नी विद्या भण्डारी स्वयंले ओलीलाई नवौँ महाधिवेशनमा निर्विकल्प नेताको रूपमा अनुमोदन गरिन्। 'थला परेका' ओलीलाई अध्यक्षको आसनसम्म पुर्याउन विद्यादेवी भण्डारीको प्रमुख हात छ। त्यसपछि केपी ओलीकै पहलमा राष्ट्रपति बनिन् विद्या। राष्ट्रपतिको पदावधिपछि सक्रिय राजनीतिमा फर्कने आन्तरिक सहमतिसहित भण्डारी संवैधानिक राष्ट्रपति बन्न राजी भएकी थिइन्।
केही समय पहिले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ओलीले प्रस्ट भनेका थिए, "एमालेमा फर्कने कुरा उहाँको खुसीको कुरा हो। राजनीतिमा आउनु हुँदैन भन्ने बेकारको कुरा हो। उहाँ निष्क्रिय भएको भन्दा हामी राजनीति वा समाजसेवामा सक्रिय भएको देख्न चाहन्छौँ। पूर्व राष्ट्रपतिलाई एमालेले अध्यक्ष बनाउँछ भने पनि पाउँछ। राजनीति गर्न नपाउने भन्ने पनि हुन्छ? राजनीति गरेर पूर्वराष्ट्रपति प्रधानमन्त्री बन्न पनि पाउँछ।"
ओलीले भण्डारीको सक्रियता आफ्नो सहयोगीका रूपमा होस् भन्ने चाहन्थे। त्यसमा उनी विश्वस्त भनी थिए। तर, विद्या भण्डारीले पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा ओलीको स्वास्थ्य, पार्टी विधान र विगतमा ओलीले गरेको वाचा स्मरण गराउँदै ओलीको बहिर्गमनका लागि राजनीतिक 'फायर' खोलिदिइन्। त्यसपछि ओलीले विद्यालाई पार्टीबाट निष्कासन गरिदिए। ओलीकै शब्द सापट लिएर भन्दा ओलीले बेकारको तर्क गरे– राष्ट्रपतिजस्तो सम्मानित पदमा पुगेको व्यक्तिले पार्टी राजनीतिमा फर्कनु हुँदैन।
ओलीले केन्द्रीय समितिको बैठकमा विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण हुन नसक्ने निर्णय सुनाइदिए। पार्टीले निर्णय गरे पनि पार्टीभित्र विद्याको सक्रियता रोकिएको छैन। विद्यालाई निषेध गरेका ओली पार्टीभित्र मदन विचारधाराको बन्ध्याकरणमा केन्द्रित छन्। त्यसका लागि सिलसिला बुझ्नुपर्ने हुन्छ।
आठौँ महाधिवेशनमा झलनाथ खनाल र केपी ओली अध्यक्षका प्रत्यासी रहे। खनाल विजयी भए। खनाल विजयी भएको केही समयपछि पार्टीको बैठकमा खनालको तस्बिर झुन्डाइएको थियो। एमालेका लागि सो नौलो प्रयोग थियो। दिवंगत नेताहरू त्यसमा पनि मदन भण्डारीका तस्बिर अंकित रहन्थे बैठकमा। ओलीले खनालको सानो तस्बिरलाई लिएर ठुलै हंगामा मच्चाए। तस्बिर नहटाएसम्म बैठक अघि नबढ्ने अडान लिए। व्यक्तिवाद र एकमनावाद हाबी भएको ओलीको आरोप थियो। आलोचनालाई ग्रहण गर्दै खनालले तस्बिर हटाउन लगाए। एमालेको नवौँ महाधिवेशन स्थलमा पनि मदनकै तस्बिर जताततै छाए। नवौँ महाधिवेशनमा केपी ओली विजयी भएपछि एमालेमा ओलीकै शब्द सापट लिएर भन्दा व्यक्तिवाद हाबी भयो।
'ओलीराज' शुरू भएपछि दिवंगत पार्टी नेताहरूका तस्बिर या त राख्न छाडिए या सानो पारिए। ओलीका बडेबडे तस्बिर र 'बुख्याचा' हाबी भए। एक चोटिका लागि मात्र भन्दै नवौँ महाधिवेशनमा अध्यक्षका लागि मत मागेका ओली तेस्रो पटक अध्यक्ष हुने तयारीमा छन्। यसपालि उनी प्रतिष्पर्धीविहीन अध्यक्ष बन्न चाहन्छन्। त्यसका लागि उनले आधार तयार गरेका छन्। समकालीन सबै नेता पाखा लागिसके। भीम रावल र विद्या भण्डारीको पार्टी सदस्यता च्युत गरियो। ईश्वर पोखरेलहरूलाई महाधिवेशनबाट ठेगान लगाइने बताइएको छ। बोल्यो कि पोल्योको उकुसमुकुसमा गुम्सिरहेको एमालेमा ओली बिचार धाराको निर्माण हुँदैछ।
जबज र मदन भण्डारीको अग्लो कद रहेसम्म ओलीको आसन तलै रहने लेखाजोखा भइसकेको छ। ओली आसन मिलाउने कासन महासचिव शंकर पोखरेलले प्राप्त गरेका छन्। सम्भवतः विधान महाधिवेशनबाटै नभए ११ औँ महाधिवेशनमा सापट रूपमा ओलीका नाममा विचारधारा बनाइने छ। विधान महाधिवेशनको गेटमा ओलीले नमस्कार गर्दै गरेको ठूलो आकारको फ्लेक्स-तस्वीर राखिएको छ। केपी ओलीको भव्यतामा मदनहरू हराउँदैछन्। मदन पत्नी विद्याको पार्टी सदस्यतालाई लिएर विधान महाधिवेशनमा एमाले संस्थागत रूपमै दुई ध्रुवमा बाँडिने देखिएको छ। विद्याको पक्षमा खुल्नेहरूलाई महाधिवेशनमा हिसाबकिताब गरिने अर्लि-ओली-वार्निङले काम नगर्ने देखिएको छ।
विद्या भण्डारीको पार्टी सदस्य नवीकरण पार्टी कार्यालयका साथीहरूलाई झुक्काएर गरिएको अध्यक्ष ओलीको दाबी छ। ओलीको दाबीलाई निष्प्रभावी बनाउन महासचिव शंकर पोखरेलको कथनी काफी छ। शंकर पोखरेलले एउटा मिडियालाई दिएको अन्तर्वार्तामा भण्डारीले पार्टी सदस्यता नवीकरण एक वर्षअघि नै गरेको र पार्टी नेतृत्व सोबारे जानकार रहेको प्रस्ट पारेका थिए। पार्टी सदस्यता नवीकरण हुँदैमा केही फरक नपर्ने बताएका थिए। जसै विद्या भण्डारीले आफू अध्यक्षको आकांक्षासहित एमालेको राजनीतिमा फर्किएको घोषणा गरिन, वैचारिक नेता भनिएका महासचिव पोखरेलको विचारमा यूटर्न आयो।
ओलीको आसन कहाँ पर्छ भन्ने एक मात्र लेखाजोखासहित एमालेका विधान र कार्यक्रम बनाइँदै छ। पार्टीको नेतृत्वमा आफू नरहेको बखत ओलीले आन्तरिक लोकतान्त्रिकरणका लागि भन्दै समानान्तर गतिविधि गरेका थिए। उनकै पहलमा पार्टी बहुपद र समूहगत निर्वाचनमा जान बाध्य भएको थियो। आफू एक कार्यकालका लागि मात्र अध्यक्ष हुने र त्यसपछि युवाको पालो भन्दै उनले ७० बर्से उमेर हदको आकर्षक नारा दिएका थिए। नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको नारासहित पार्टी सत्तामा पुगेका ओली पछिल्लो समय २०/२५ वर्ष कसैले आँखा नलगाए हुन्छ भन्दैछन्। मबाहेक अरूको जित्ने स्थिति छ त भन्दै प्रश्न गर्ने ओली अरूलाई हार्नसमेत नदिने खेल खेल्ने रणनीतिमा छन्।
ओलीले पार्टी एकलौटी बनाइहाल्लान्, तर समाजबाट एमाले अलग्गिँदै छ। सबैभन्दा संगठित र जनतासँग जोडिएको एमालेको जनमत र क्रियाशीलता धरमराएको छ। एमालेका पुराना नेता कार्यकर्ता निष्क्रिय छन्। जीवित रहेका अधिकांश संस्थापकहरू लाखापाखा लागि सके। ओलीभन्दा धेरै जेलनेल भोगेका मोहनचन्द्र र नरेशहरू कोपभाजनमा परे। ओली भने आफ्नो १४ वर्ष जेल जीवन घटाएर आफूलाई ६० बर्से मानिदिनुपर्ने हिसाब प्रस्तुत गर्दैछन्। यस बीचमा नेपाली राजनीतिको खोलामा धेरै पानी बगिसकेको छ। कुनै बेला ओलीको आलोचना गर्नेहरू जनताको नजरमा गिर्थे, अहिले ओलीको समर्थन गर्नेहरू। ओलीको प्रशंसा गरेकै कारण चर्चित गायक प्रकाश सपुतको लोकप्रियतामा ह्रास आएको छ। सपुतको कला र गला उही हो, फरक यत्ति हो कि एक सन्दर्भमा उनले ओलीको प्रशंसा गरे।
जनअपेक्षाको लेखाजोखा एमाले विधान महाधिवेशनमा होला? लक्ष्य निर्णायक राष्ट्रिय शक्ति राखेको एमालेको निर्णय ओलीको आसन वरपर केन्द्रित रहला वा जनअपेक्षालाई सम्बोधन गर्ने गरी आउला?
(उकालोको विचार खण्डमा प्रकाशित सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
