एनपीएलः दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि अपारदर्शी खेल

एनपीएलको पहिलो सिजनको ‘ब्लकबस्टर’ सफलतालाई प्रतियोगिता सकिएसँगै क्रमशः उजागर त्यसभित्रका अपारदर्शी खेलले खल्लो बनाए। दोस्रो सिजन शुरू हुँदानहुँदै फेरि त्यस्तै खेल दोहोरिँदै गरेका तथ्य बाहिर आउँदै छन्।

काठमाडौँ– देशकै ठूलो फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण शुरू हुन अब १३ दिन बाँकी छ। नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्षदेखि शुरू गरेको यो प्रतियोगिता क्रिकेटको माहोल, समर्थकको क्रेज र प्रायोजकको आकर्षण बढाउन पहिलो सिजनमै ‘ब्लकबस्टर’ बनेको थियो। 

अन्तर्राष्ट्रिय क्रिकेटमा हलचल ल्याएका एकपछि अर्का विदेशी खेलाडीहरूको अनुबन्धले एनपीएलको दोस्रो सिजन झन् बढी प्रतीक्षाको विषय बनेको छ। तर योसँगै केही क्रियाकलाप स्वाभाविक देखिँदैनन्।

जस्तो, पहिलो सिजनमा क्यानले प्रतियोगिता शुरू हुनुभन्दा दुई महिना पहिल्यै ‘कमर्सियल राइट्स’ प्राप्त गर्ने एजेन्सीको नाम सार्वजनिक गरेको थियो। यसपटक १३ दिन मात्र बाँकी रहँदा पनि क्यानले प्रतियोगिताको कमर्सियल राइट्सबारे केही बोलेको छैन। पहिलो संस्करणमा ‘ब्रान्ड डिजिटल लजिक’ नामको कम्पनीलाई यो जिम्मेवारी दिइएको थियो। उकालो र खोज पत्रकारिता केन्द्र (खोपके) को संयुक्त खोजबिनले ब्रान्ड लजिकलाई क्यान सचिव तथा एनपीएल परिचालन परिषद्का संयोजक पारस खड्काले योजनाबद्ध रूपले राइट्स दिएको फेहरिस्त उजागर गरेको थियो।

यसपालि चाहिँ अहिलेसम्म पनि किन कमर्सियल राइट्सबारे केही पनि विवरण सार्वजनिक गरिएन त? क्यानका प्रवक्ता छुम्बी लामा एनपीएल दोस्रो सिजनका लागि कमर्सियल राइट्स नै बिक्री नगर्ने निर्णय गरिएको बताउँछन्। कुनै विज्ञापन एजेन्सी वा कम्पनीलाई राइट्स बिक्री गर्नुभन्दा क्यान आफैले विज्ञापनदाताहरूसँग पैसा उठाएर एनपीएल आयोजना गर्ने निर्णय गरेको लामाको दाबी छ।
“देश पनि प्रतिकूल अवस्थामा छ। त्यसैले यसपटक कर्मसियल राइट्स आफैसँग राखेका हौँ,” उनले भने, “कानूनी रूपले मिल्छ या मिल्दैन भन्दा पनि हामीले यसका लागि टेन्डर खुलाउनै पर्छ भन्ने छैन भनेर यस्तो निर्णय लियौँ।”

तर क्यान प्रवक्ताको यो भनाइ खरिदसम्बन्धी कानूनसँग सिधा बाझिन्छ। क्यान सार्वजनिक निकाय हो। सार्वजनिक खरिद ऐन २०६३ मा गरिएको व्यवस्थाअनुसार सार्वजनिक निकायले कुनै पनि बस्तु वा सेवा खरिदका लागि खुलारूपमा बोलपत्र आह्वान गर्नुपर्छ। 

ऐनमा त्यस्तो बोलपत्र दुई चरणमा आह्वान गर्नुपर्ने, त्यसको सूचना राष्ट्रियस्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ। तर क्यानले यसपटक बोलपत्र नै आह्वान गरेको छैन। अनि विज्ञापन क्षेत्रको विशेषज्ञता केही नभए पनि आफैले विज्ञापन व्यवस्थापन गर्ने निर्णय गरेको छ।

क्यानले यस्तो गर्न मिल्छ? हामीले विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंलाई सोध्दा उनले क्यान आफैले विज्ञापन व्यवस्थापन गर्छु भन्न त पाउने, तर त्यो व्यावसायिक अभ्यास नभएको बताए। “यस्तो अभ्यास संसारमा कतै हुँदैन। त्यही काम गर्न विज्ञापन एजेन्सी खुल्या छन् नि,” हुमागाईंले भने, “क्यानको यो निर्णय र अभ्यास अस्वाभाविक छ।”

एनपीएलको पहिलो सिजनमा क्यानले कमर्सियल राइट्स बिक्री गरेको ब्रान्ड डिजिटल लजिक रोशन निरौला अध्यक्ष रहेको कम्पनी हो। निरौला क्यान सचिव पारस खड्कासँग निकट सम्बन्ध भएका व्यक्ति हुन्। क्यानका एक बोर्ड सदस्यका अनुसार पारसले दोस्रो संस्करणका लागि निरौला जस्तै विश्वासपात्र फेला पार्न नसकेपछि बोलपत्र आह्वान नै नगरी विज्ञापनको मामिला आफैले ‘डिल’ गर्न चाहेका हुन्।

गत वर्ष ब्रान्ड डिजिटल लजिकलाई कमर्सियल राइट्स बिक्री गरेको प्रकरणमा पारस विवादमा परेका थिए। त्यहीकारण यसपालि उनले त्योभन्दा भिन्न चलाखी अपनाएको देखिन्छ।

“प्रमुख कारण यही नै हो। नभए अस्ति मात्र वेस्ट इन्डिजसँगको शृंखलामा कमर्सियल राइट्स बेच्ने क्यानले एनपीएल जस्तो ठूलो प्रतियोगितामा टेन्डर नगर्ने भन्ने पनि हुन्छ र?” ती बोर्ड सदस्यले भने, “यसमा पुरानो हिसाब सेटल गराउने काम पनि होला। हामीले बुझेअनुसार, रोशन (निरौला)ले आफू बाहिर नदेखिनेगरी अहिले पनि पारससँग मिलेर काम गरिरहेका छन्।”

गत वर्षको पहिलो सिजनमा पनि कमर्सियल राइट्स बिक्रीका लागि क्यानले सार्वजनिक खरिद ऐन पालना गरेको थिएन। त्यसबेला जम्मा तीन दिनको समय दिएर बोलपत्र आह्वान गरिएको थियो। क्यानबाटै उपलब्ध विवरणअनुसार त्यस बेला ब्रान्ड डिजिटल लजिकले पाँच करोड ९२ लाख रूपैयाँमा प्रतियोगिताको कमर्सियल राइट्स हात पारेको थियो। 

प्रक्रिया छलेरै स्टार स्पोर्ट्स् भित्र्याइँदै 
एनपीएलको पहिलो सिजनले ठूलो चर्चा बटुल्नुमा खेलकुदको प्रख्यात च्यानल स्टार स्पोर्ट्समा प्रतियोगिता प्रत्यक्ष प्रसारण हुनु पनि थियो। तर गत वर्ष भारतीय च्यानल स्टार स्पोर्ट्सलाई प्रत्यक्ष प्रसारण साझेदारका रूपमा भित्र्याउँदा क्यानले विद्यमान कानूनी प्रक्रिया नै पालना गरेको थिएन। सोही कारण सार्वजनिक खरिद अनुगमन कार्यालयले क्यानलाई पत्र काट्दै यसबारे जवाफ मागेको थियो।

तर क्यानले अहिलेसम्म कार्यालयलाई यसबारे कुनै जवाफ दिएको छैन। कार्यालयले क्यानलाई पत्र काटेर सोधेको थियो, “नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण अधिकार खरिदका लागि कम्पनी र फर्म छनोट के कसो भएको हो? प्रमाणित कागजात सात दिनभित्र यस कार्यालयलाई पठाइदिनुहुन आदेशानुसार अनुरोध छ।”

हामीसँगको कुराकानीमा क्यानका सचिव पारसले स्टार स्पोट्र्सलाई एनपीएलको प्रत्यक्ष प्रसारणमा कसरी र को मार्फत् ल्याइएको र कसरी भुक्तानी गरिएको थियो भन्नेबारे प्रष्ट खुलाएनन्। पहिलो सिजनको प्रत्यक्ष प्रसारणको अधिकार भने कमर्सियल राइट्स खरिद गरेको ब्रान्ड डिजिटल लजिकसँग नै थियो।

यसपटक कमर्सियल राइट्स बिक्रीका लागि बोलपत्र आह्वान नै नगरेको क्यानले प्रत्यक्ष प्रसारणका लागि पनि बोलपत्र आह्वान गरेको छैन। बरू ‘प्रडक्सनका लागि’ भनेर अर्को बोलपत्र आह्वान गरेको छ। तर प्रडक्सनका लागि भनेर आह्वान गरिएको बोलपत्रमा पनि सार्वजनिक खरिद् ऐनको व्यवस्थाअनुसार बोलपत्रमा सहभागी हुन पर्याप्त समय दिइएको छैन। जस्तो, कात्तिक १२ गते बोलपत्र खुलाएर कात्तिक १८ गते दिउँसो १२ बजेसम्मको समय दिइएको छ। अर्थात् बोलपत्रमा सहभागी हुन चाहनेलाई जम्मा पाँच दिन (शनिबारबाहेक) समयावधि दिइएको छ।

गत वर्ष क्यानले ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट’ भन्दै ट्वेन्टी फस्र्ट सेन्चुरी स्पोर्ट्स् मार्केटिङ स्पोर्टस (टीसीएम) लाई नियुक्त गरेको थियो र प्रडक्सनको जिम्मेवारी टीसीएमले नै हेरेको थियो। गत भदौ १ गते विज्ञापन बोर्डले टीसीएमलाई कारबाही गर्दै तीन महिनाका लागि निलम्बन गरेपछि यसपालि क्यानले उसैलाई भित्र्याउन सहज भएन। टीसीएमको तीन महिनाको निलम्बन अवधि एनपीएलको दोस्रो सिजन शुरू हुने दिन (मंसिर १ गते) सकिनेछ।

क्यानका अर्का बोर्ड सदस्य टीसीएम औपचारिक रूपमा अहिले कतै नदेखिए पनि भित्रभित्रै यो काम उसैले गरिरहेको बताउँछन्। उनका अनुसार गत वर्ष जस्तो ‘फ्रन्टलाइन’मा काम गर्न नमिल्ने भएकाले पर्दापछाडि उसैले यो काम गरिरहेको छ। 

“स्टार स्पोर्ट्सको सारा प्रबन्ध टीसीएमले नै मिलाइरहेको छ। टेन्डर खोलेर स्टार स्पोर्ट्सलाई भित्र्याउनु लफडा हुन्छ, किनभने विदेशी कम्पनीको हकमा हाम्रो कानूनी प्रक्रिया पूरा गर्नुपर्छ,” ती सदस्यले भने, “त्यसैले त्यो बाटोबाट नभएर स्टार स्पोर्ट्स गत वर्षजस्तै सिधै आउँदैछ। स्टार स्पोर्टस जस्तो ठूलो च्यानल भएकाले सबैले आँखा पनि चिम्लिदिन्छन्।”

उकालोले एनपीएलको पहिलो सिजनमा भएको अपारदर्शी खेल र अनियमितताको फेहरिस्त उजागर गरेपछि क्यान सचिव पारसले पहिलो सिजनमा जस्तो दोस्रो सिजनमा स्टार स्पोट्र्सलाई नभित्र्याइने दाबी गरेका थिए। “त्यति बेला हामीसँग समय भएन, यसपालि पर्याप्त समय छ,” खड्काले उकालो कार्यालयमै आएर भनेका थिए, “त्यसैले जति नियम कानून छ, सबै मानेर प्रक्रियाअन्तर्गत् नै काम गर्छौं।”

खल्तीलाई नै टिकेटिङको जिम्मा 
एनपीएलको पहिलो सिजन भएको एउटा अपारदर्शी काम टिकट बिक्रीको पनि थियो। पहिलो सिजनजस्तै यस वर्ष पनि एनपीएलका खेलहरूको टिकट बिक्री गर्न क्यानले बिनाप्रतिस्पर्धा डिजिटल वालेट खल्तीलाई जिम्मा दिने निर्णय गरेको छ। गत वर्ष खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का र क्यानबाट सचिव पारस खड्काले सम्झौतामा हस्ताक्षर गरेका थिए।

खल्तीलाई बिनाप्रतिस्पर्धा टिकेटिङको जिम्मा दिइँदा अर्को डिजिटल वालेट ई–सेवाले पत्तै पाएको थिएन। “बोलपत्र आह्वान गरेको भए हामी पनि प्रतिस्पर्धामा सहभागी हुन्थ्यौँ,” ई–सेवाका सीईओ जगदीश खड्काको भनाइ थियो। 

सार्वजनिक खरिद ऐन २०६३ को दफा ९ ले ‘सार्वजनिक निकायको खरिदमा बोलपत्र आह्वान गर्नुपर्ने र योग्य बोलपत्रदातालाई खरिद प्रक्रियामा सहभागी हुन बिनाभेदभाव समान अवसर प्रदान गर्नुपर्ने’ व्यवस्था गरेको छ। क्यानले गत वर्ष समय अभावका कारण टिकेटिङको जिम्मा यो प्रक्रिया पूरा नगरेरै खल्तीलाई दिनुपरेको दाबी गरेको थियो। यस वर्ष पनि उसैगरी यो जिम्मा खल्तीलाई दिने निर्णय भइसकेको क्यानका अर्का बोर्ड सदस्य बताउँछन्।

एनपीएल हुन १३ दिन बाँकी रहँदा ई–सेवाका सीईओ खड्का अझै बोलपत्रको आश गरेर बसेका छन्। उनी भन्छन्, “खुल्यो भने प्रतिस्पर्धा गर्छौं।”

यसबारे बुझ्न हामीले क्यान सचिव एवं एनपीएल परिचालन परिषद् संयोजक पारसलाई पटकपटक सम्पर्क गर्यौँ। उनी फोन सम्पर्कमा नआएपछि मेसेजहरू गर्यौँ। तर उनी सम्पर्कमा आउन चाहेनन्।

परिचालन परिषद् सदस्य रहेका क्यान कोषाध्यक्ष पदमबहादुर खड्का र बोर्ड सदस्य सुदीप शर्मालाई पनि सम्पर्क गर्‍यौँ। शर्माले भेट्ने आश्वासन दिएर पनि भेट्न चाहेनन्। निकै प्रयासपछि सम्पर्कमा आएका कोषाध्यक्ष खड्काले भने, “संयोजकले मलाई मिडियामा केही नबोल्न भन्नुभएको छ।”