कमजोर नेपाली ‘नाडीहरू’

चीन, भारत, अमेरिका र बेलायतले उहिल्यैदेखि नेपालीका नाडी आफ्नै घर बोलाएर छाम्न थालेका हुन्, हुँदाहुँदै इजरायल पनि उसै गर्न थालेको छ।

'नेपाल कहाँ पर्छ?'

यो प्रश्न कुनै साँच्चिकै अमेरिकी मित्रले सोध्यो भने म अक्सर भन्ने गर्छु–चीन र भारतको बिचमा। चीन र भारतको नाम म खुसीपूर्वक नभई बाध्यतावश लिन्छु। अमेरिकीहरूले  नेपाल कम, चीन र भारतलाई बढी चिन्छन्।

देश नै थाहा नभएपछि मान्छे को हुन् र कहाँको हुन् भनेर जान्ने कुरै भएन। यसैले अधिकांश अमेरिकीको प्रथम दृष्टिमा हामी कि त भारतीय, पाकिस्तानी वा चिनियाँ कहलाइन्छौँ। मेरो अनुहार हेरेर खास अमेरिकीले अक्सर दुई खाले अनुमान गर्छन्– कि त भारतीय हुँ, कि त पाकिस्तानी। जबकि म दुवै होइन।

नेपालका हिमालतिरका शेर्पा, मध्य पहाडका मंगोलियन र राई लिम्बुका अनुहार चिनियाँसँग र पहाड, मध्य पहाड र तराइतिरका अधिकांशका अनुहार भारतीयसँग मिल्छ। गर्ने के? प्रथम दृष्टिको पहिचानमै मर्कामा छौँ हामी।

यस्तो मर्का धेरैलाई पर्छ। जापानी, भियतनामी वा अरू त्यस्तैहरू छन्, जसको अनुहार चिनियाँहरूझैँ देखिन्छ। भियतनामी र जापानीहरूले आफूलाई भियतनामी वा जापानी नभनेसम्म अमेरिकीहरूको दृष्टिमा ती सबै चिनियाँ नै हुन्। यस्तै मर्कामा दक्षिण अमेरिकी मुलुकका मानिस पनि छन्, जो मेक्सिकोका होइनन्, तर प्रथम दृष्टिमा उनीहरू मेक्सिकन कहलाइन्छन्। अलि होचा र गाँठी परेका नेपाली पनि मेक्सिकन नै ठानिइन्छन्।

ढाका टोपी नहुँदो हो त, कमसेकम कोही नेपाली (कमसेकम पुरुष) नेपाली कहलाउन नसक्ने अवस्थामा छ। धन्य हो, आजसम्म दुनियाँमा अरू कोही छैन, जो नेपाली पुरुषझैँ ढाका टोपी ढल्काएर हिँड्दैन। ढाकाटोपी पनि कहाँ सबै नेपाली पुरुषले सधैँ ढल्काएर हिँड्न सम्भव छ र?

बाँकी कुरामा नेपाल र नेपाली पहिचानको संकटमा छन्। नेपाल र नेपालीले पहिचान आर्जन गर्न नसक्नु वा भएको पहिचान पनि गुमाउँदै जानु र चीन-भारतले पहिचान आर्जन गर्दै जानु नेपालको आजको सबैभन्दा ठूलो दुर्भाग्य हो।

हुन त  कतिपय नेपालीहरू नेपाल बोकेर संसारभर हिँडेका छन्, जो नेपाली पहिचान विश्वभर फैलाउने संवाहक बन्न सक्छन्।  दुर्भाग्य, नेपाल बोकेर हिँडेका ती नेपालीप्रति नेपाल राज्य, सत्ता, सरकार, राजनीति र समाज त्यति उदार छैन। उदार छैन मात्र होइन, मौका परे घृणास्पद टिप्पणी र व्यवहार गर्नसमेत उद्धत छ। 

हिजोआज नेपाली राजनीतिक दलका नेता, अभियन्ता, कलाकार, पत्रकारहरू समेत नेपाली र नेपालीपन खोज्दै नेपाल बाहिर हिँडेको देख्न पाइन्छ। म बसेकै अमेरिकाको टेक्सास राज्यको डलास शहरमा कुनै दिन वा साता  यस्तो छैन, जुन दिन वा साता नेपालबाट आएका नेता, अभियन्ता, कलाकार र पत्रकार नभएका हुन्।

तोसिमा कार्की आइन्, नारायणकाजी श्रेष्ठ आए , ज्ञानेन्द्र शाही आए, कुलमान घिसिङ आए, बद्री पंगेनी र एलिना चौहान यतै छन्। पत्रकारको लर्को उस्तै। कांग्रेस र एमालेका छोटेमोटे नेताहरू अक्सर यतै हुन्छन्। सबै आउँछन्, सानोतिनो भिड जम्मा हुन्छ। ती आफ्ना गफ दिन्छन्, यता बस्ने नेपालीका पनि समस्या छन्, गफ सुनेर यी कहिल्यै अघाउँदैनन्।

गफले नअघाउने नेपाली चरित्र देखेर आजित छु। जुन दिन गफबाट अघाउनेछ नेपाली, त्यसपछि नेपाल र नेपालीका खास दिन सुरु हुनेछन्। आजसम्मका हकमा हामीलाई गफले नै पुगेको छैन।

नेता गफ दिने,  कार्यकर्ता गफ दिने, प्रशासक गफ दिने, प्राविधिक गफ दिने, चिकित्सक गफ दिने, विश्लेषकको त गफ दिने कामै भयो, अभियन्ता गफ दिने, पत्रकार गफ दिने, हुँदाहुँदै कलाकार पनि कलाकारिता कम र गफ बढी दिने हुन थाले। यसरी देश कहिले बन्छ? यस्तो देशले आफ्नो पहिचान स्थापित गर्छ कहिले?

छिमेकी चीन र भारत गफबाट माथि लागिसके। नेपालचाहिँ गफकै तहमै छ। गफ चिन्तन र गहिरो विश्लेषणको तहमा भएको भए पनि कुरो ठिकै हुन्थ्यो। तर नेपाली चिन्तन असाध्यै सतही हुँदै गइरहेको छ। यस्तो लाग्छ–नेपालमा गहिरो र अति आग्रह वा अति पूर्वाग्रहबिनाको चिन्तन शून्य प्राय: छ।

यसैले नेपाली हेपिँदो र पहिचान गुमाउँदो छ। पहिचानका अनेक रूप, रंग र चरित्र छन्। राजनीतिक, सांस्कृतिक, सामाजिक, बौद्धिक र विकाशे चरित्रमा नेपाल खिइँदै गइरहेको देखिन्छ। नेपालमा जेजस्तो विकास भइरहेको त्यहाँका नेता र अरू एकाधले ठानिरहेका छन्, त्यो सक्कल बमोजिमको नक्कल होइन, नक्कल बमोजिमको नक्कल हो, जसको खास आफ्नो चरित्र छैन।

शायद यसैले होला, नेपालका लागी पूर्वभारतीय राजदूत रञ्जित रेले अलि हेपेरै कतै भनिरहेका थिए –नेपालीको पहिचान के छ?

रेलाई जमाएर जवाफ दिने कोही बहादुर नेपाली मैले देखिनँ। यसै चीन र भारतले लिपुलेक सम्झौतामा नेपाललाई बेवास्ता गरेका हुन् र? चीन र भारतले नेपाललाई बेवास्ता गर्नुका अनेक कारण छन्।

चीन र भारत नेपालको छिमेकी हुनु सौभाग्य र दुर्भाग्य दुवै हो। सौभाग्य यस कारण कि ती चम्किँदा छन्, ती चम्किँदा कतै केहीको छाया परेन भने नेपाल पनि स्वभावतः उज्यालो हुन्छ। दुर्भाग्य यस कारण कि तिनको तेजले नेपालको आँखा खाइदिन पनि सक्छ, जसरी सेतो हिउँको सूर्यको तेजले आरोहीहरूको आँखा नै खाइदिन्छ।

त्यस्तै दुर्भाग्यको सम्भावना बढ्ता देखिन्छ। चर्चित अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले उ बेलै नेपाल दुई हात्तीका बिचमा छ भनेका थिए। तर ती हात्ती जंगली हुन् कि घर पालुवा? घर पालुवा भए तै ठिकै हो, जंगली भए बित्यास पर्छ। बित्यास त लिपुलेकबाट सुरु भइसक्यो। यस्ता बित्यासलाई सामना गर्ने तागत विकास गर्नेतर्फ किन नेपाली राजनीतिक नेतृत्वले आजसम्म गम्भीरतापूर्वक सोचेनन्— आश्चर्य लाग्छ।

लिपुलेक सम्झौतामा चीन र भारतले नेपाललाई हेपेकै हुन्। यस कारण हेपेका हुन् कि ती दुवैले नेपाली राजनीतिक नेतृत्व, बौद्धिक वर्ग र पत्रकारिताको नाडी पटक पटक छामेका छन्। चीन वा भारतले पटक पटक नेपाली नेता, पत्रकार र तथाकथित विज्ञहरूलाई आफ्नै घरमा बोलाएर नाडी छामेका छन्। नेपाली नेता, पत्रकार र विज्ञ भनिएकाहरूले आफ्नो नाडी बेइजिङ र दिल्लीमा उहिल्यै छोडेर आएका छन्। आज पनि आफ्ना नाडी उता छोड्न जाँदा रमाइलो मान्नेहरू धेरै छन्। 

चीन, भारत, अमेरिका र बेलायतले उहिल्यैदेखि नेपालीका नाडी आफ्नै घर बोलाएर छाम्न थालेका हुन्, हुँदाहुँदै इजरायल पनि उसै गर्न थालेको छ। केही थान 'कलमजीवी' इजरायल गएर नाडी बुझाएर आए। नेपालीका नाडी ठाउँ–ठाउँमा छोडिएका छन्। नाडी छोड्नुका परिणाम के हुन्छ भन्ने चेत कसैमा छैन। राम रमाइलोमा मात्र छन् ती।

कागजको नक्सा त चुच्चे वा बुच्चे जसले पनि बनाउन सक्छ, कुनै बहादुरी होइन। तर नेपाली जाति भने यसैमा बहादुरी देख्छ। यसैमा राष्ट्रवादको राम रमाइलो गर्छ। नेपाली जमिनमा बुट अर्कैले बजारिरहँदा अति आग्रह वा अति पूर्वाग्रहमा राजनीति चलेको छ र त्यसैको वरिपरि घुम्दै छन् बौद्धिक वर्ग। 'युट्युब रिम्पोचे'को ज्ञान र धमलाको हमलाजस्ता सस्तो चेतमा रमाएको पत्रकारिता र टिकटकमा रमाएको नेपाली समाजसँग चीन र भारतको हेपाइसँग भिड्ने तागत छ जस्तो लाग्दैन।

(अमेरिका निवासी पत्रकार घिमिरेको ‘पात्रहरू’ कृति प्रकाशित छ।)