प्रेमले सिमाना तोडेर आत्मा फैलाउँछ। त्यसैले प्रेम केवल भावनात्मक आकर्षण होइन, बरु आत्मत्याग, आत्मीयता र एकत्वको अनुभूति हो।
'कम्युनिस्ट विश्वविद्यालय'मा प्रशिक्षित ७० वर्षीय युवा हो लेखक। उमेरले पाको भइकन पनि प्रेम, यौन र विवाहलाई हामी कसरी हेर्छौं भन्ने विषयमा केही मत राख्न चाहन्छु। यसो गर्दैगर्दा सन्देह लाग्छ–संकुचित र रूढिवादी चिन्तन भएकाहरूले यो बहसलाई कति सहजतापूर्वक पचाउलान्?
लुकाई–लुकाई 'निलोचोली' पढ्ने युगमा हुर्कियो हाम्रो पुस्ता। आदर्श प्रलाप गर्नेहरू उतिखेर लोलिता उपन्यासको आलोचना गर्थे र ‘यौन गुरु हुन् ओशो रजनीश’ भन्ने गर्थे। चिन्तनको कति कमजोर धरातलमा रहेछौँ हामी भन्ने दृष्टान्त जनयुद्ध कालमा यौन विचलनलाई ‘सांस्कृतिक केस’ भनी कारबाही गरिएका अनेकौँ उदाहरणले प्रस्ट्याउँछन्। त्यस्ता ‘सांस्कृतिक केस’ कतिपय अवस्थामा पात्रसँग बदला लिने हतियार बने।
निर्देशनमा चल्दैन प्रेम। तर यौन स्वच्छताले भने यौन–बजारको वस्तु बनाउँछ मान्छेलाई। वासनाको आकर्षण मात्र होइन प्रेम, आत्मविस्तार र आत्मत्याग दुवै हो। जसले जसलाई प्रेम गर्छ, उ/उनीसँग उस/उनको पूर्ण विलीनता हो। प्रेमले ‘स्व’ र ‘अस्व’ बीचको दूरी घटाउँछ। म ‘मात्र म’ हुँदैन, बरु ‘तिमी पनि मेरो अंश हौ’ भन्ने अनुभूति गराउँछ प्रेमले।
यस अर्थमा प्रेमले सिमाना तोडेर आत्मा फैलाउँछ। त्यसैले प्रेम केवल भावनात्मक आकर्षण होइन, बरु आत्मत्याग, आत्मीयता र एकत्वको अनुभूति हो। प्रेम नभएको सम्बन्ध यौन बजारको ग्राहक-बिक्रेताको सम्बन्धझैँ मात्र हो। क्षणिक यौन–तृप्तिको प्यासमात्रै हो। त्यो जैविक सम्बन्ध हो, भावनात्मक होइन।
मानव जीवनका तीन आधारभूत आयाम— प्रेम, यौन र विवाह (भावना, जैविकता र सामाजिकता) का जटिल अन्तरसम्बन्ध हुन्छन्। यी तीनैलाई अलग–अलग रूपमा बुझ्न सकिए पनि व्यवहारमा तिनीहरू परस्पर पूरक, कहिले विरोधाभासी र कहिले त एक–अर्काको पूरक वा विनाशक स्वरूपमा देखा पनि पर्छन्।
‘द आर्ट अफ लभिङ १९५६’ मा समाजशास्त्री एरिक फ्राम भन्छन्, ‘प्रेम मानवीय अस्तित्वको गहिरो आवश्यकताको प्रतीक हो।’ प्रेमविहीन यौन केवल शारीरिक उपभोगमा सीमित हुन्छ, जसले व्यक्तिलाई वस्तु बनाइदिन्छ। त्यस्तै, विवाह यदि प्रेमविहीन छ भने त्यो केवल कानुनी सम्झौता वा सामाजिक अनुशासनको एउटा कागजी रूप मात्र रहन्छ। यसले प्रेमलाई केवल भावनात्मक वा यौनिक अनुभवमात्र नभई मानव अस्तित्वको गहिरो अभ्यासको रूपमा बुझ्न सघाउँछ।
फ्रामको विचारमा प्रेम नै मानव अस्तित्वको आधारभूत तत्त्व हो। यसले एक्लोपन, र अस्तित्वगत पीडालाई उपचार गर्छ।
पूर्वीय सभ्यतामा विवाहलाई व्यक्तिगत सम्बन्धभन्दा पनि परिवार, वंश र परम्पराको निरन्तरताको आधार मानिन्छ। हिन्दू धर्मशास्त्रले विवाहलाई संस्कारको रूपमा व्याख्या गर्छ भने बौद्ध दृष्टिकोणले यसलाई सामाजिक जिम्मेवारी र नैतिक अनुशासनको रूपमा बुझाउँछ। प्रेम र व्यक्तिगत स्वतन्त्रतामा आधारित ‘रोमान्टिक इन्स्टिच्युसन’को रूपमा स्थापित छ पश्चिमी सभ्यतामा विवाह। यही कारणले पश्चिममा विवाह विघटन वा पुनः विवाहलाई समाजले तुलनात्मक रूपमा सहज स्विकार्छ, तर पूर्वीय समाजमा अझै पनि यसलाई कलंक वा अपमानको रूपमा हेरिन्छ।
बेलायती मानवशास्त्री डेसमन्ड मोरिसले ‘द नेइकिड एप’ (१९६७) मा मानिस जैविक रूपमा एकनिष्ठ (मनोगमी) भन्दा बढी बहुनिष्ट (पोलिगमी) प्रवृत्तिको प्राणी भएको तर्क गरेका छन्। उनले मान्छेलाई ‘नाङ्गो बन मान्छे’ भन्नुको कारण पनि त्यही हो— मानिस पनि अन्यझैँ एउटा प्राणी हो, तर संस्कृतिले उसलाई ढाकछोप गरेर अलग देखाएको मात्र हो।
सामाजिक मूल्य, नैतिक अनुशासन र सौन्दर्यशास्त्रीय मान्यताले मानिसलाई एकनिष्ठताको आदर्शतर्फ निर्देशित गरेको हुन्छ। यसैले, विवाहलाई केवल जैविक प्रजनन वा आर्थिक सम्झौता नभई सामाजिक 'नियामक यन्त्र'को रूपमा बुझ्न सकिन्छ।
२१औँ शताब्दीमा प्रेम, यौन र विवाहका परिभाषा तीव्र रूपले फेरिँदै छन्। ‘लिभ–इन रिलेसन’ (विवाह नगरी सँगै बस्ने) अभ्यासले विवाहको कानुनी बन्धनबिना सह जीवनलाई सामान्य बनायो। ‘ओपन रिलेसनसिप’ले यौनलाई प्रेम र विवाहसँग अनिवार्य रूपमा नजोडी स्वतन्त्र अभ्यासको स्वरूप दिएको छ। समलिंगी विवाहको स्वीकृतिले विवाहलाई परम्परागत-जैविक प्रजननको संस्थाबाट पर गएर प्रेम र अधिकारको समानताको प्रश्नसँग जोडेको छ।
प्रेम र विवाहका अनेक पक्षबारे चर्चा गरौँ। प्रेम किन जन्मिन्छ भन्ने प्रश्नमा मनोविज्ञानले केही तह देखाउँछ:
१. आवश्यकताको तह: सुरक्षा, निकटता, संरक्षण खोज्ने बालक–आमा सम्बन्ध।
२. सामाजिक तह: समूह, भाषा, संस्कृति, राष्ट्र र परिवारसँगको प्रेम आत्म पहिचानसँग गाँसिन्छ। मातृप्रेम, दाम्पत्य सम्बन्ध र मित्रताले अक्सिटोसिन, डोपामिनजस्ता न्युरो–रसायन सिर्जना गर्छन्। तिनले सम्बन्ध र निकटतालाई बलियो बनाउँछन्। यौन वा व्यक्तिगत तृष्णा कहिलेकाहीँ सत्य, स्वतन्त्रता वा कला प्रेममा रूपान्तरण हुन्छ।
प्रेमका अनेकौँ रूप हुन्छन्:
मातृप्रेमः यो मूलतः निसर्त र स्वाभाविक हुन्छ। बच्चाले श्वासजस्तै पाउने प्रेम मातृप्रेम हो। यही नमुनाले अन्य प्रेम मापन गर्ने आधार दिन्छ। शिशुको अस्तित्वकै आधार मातृप्रेम हो। यसले जीवनमा पहिलो सुरक्षा र आत्मीयता दिन्छ।
राष्ट्रप्रेमः उपनिवेशवादको घृणा र स्वतन्त्रताको प्रेम एउटै नाडीमा धड्किन्थ्यो शहीद भगत सिंहको। राष्ट्र–प्रेममा त्याग, बलिदान र सामूहिक पहिचान जोडिन्छ। सिंहको उपनिवेशवादप्रतिको घृणा र स्वतन्त्रता प्रेमले दक्षिण एसियामा ठूलो राजनीतिक लहर ल्यायो। मातृभाषा, मौलिक संस्कृति र परम्पराप्रतिको प्रेम आत्म–पहिचानसँग गहिरो गरी गाँसिएको हुन्छ। आत्मा हराएझैं पीडा हुन्छ भाषा हराउँदा। मौलिक संस्कृति, भाषा र पहिचानप्रतिको प्रेमले समुदायलाई बाँध्ने काम गर्छ।
सत्यप्रेमः सुकरातदेखि ग्यालिलियो, ब्रुनो र नेपाली सन्दर्भमा भीमदत्त पन्त र कृष्ण सेन इच्छुकसम्म—सत्य प्रेमका उदाहरण मानिन सक्छन्। आफ्ना आदर्शहरूका लागि ज्यान दिने शहीद पनि यसै कोटीमा पर्छन्। सत्यका लागि मृत्यु रोज्नु प्रेमको सर्वोच्च दर्शन हो। सत्यका लागि जीवनत्याग मानव इतिहासमा प्रेमको उच्चतम रूप हो।
प्रियसँगको प्रेम: यसमा आत्मीयता, सौन्दर्य–आकर्षण, मित्रता र शरीरको तृष्णा मिसिएको हुन्छ। यौन वा व्यक्तिगत इच्छा र ऊर्जा उच्च मूल्यमा रूपान्तरण भएर सत्य, स्वतन्त्रता, कला, वा आत्मामा फेरिन्छन्। प्रश्न उठ्छ—के यसको उत्कर्ष यौन नै हो? नैतिक–दार्शनिक दृष्टिले हेर्दा होइन। प्रेमको एउटा माध्यम हो यौन, तर उत्कर्ष आत्माको गहिरो बन्धन हो, जहाँ आत्मा अर्को आत्मामा विलीन हुन्छ।
प्रियसँगको प्रेम केवल यौनमा सीमित हुँदैन। आत्मीयता, पीडा, कला र आत्मविलय यसका अंग हुन्। यौन एउटा माध्यम मात्र हो, तर प्रेमको उत्कर्ष आत्माको गहिरो बन्धनमा हुन्छ। त्यसो हुँदा प्रेमले मृत्युलाई पनि एक प्रकारको ‘विजय’मा रूपान्तरण गर्छ। इतिहासले देखाएको छ—प्रेम मृत्युभन्दा ठूलो छ। यसरी प्रेमले मृत्युलाई पनि विजयमा फेर्छ। प्रेमरहित यौन वेश्यावृत्ति हो। रुसोको बुझाइमा प्रेम र यौनबीच द्वन्द्व प्रकट हुन्छ। उनले प्रेमलाई प्राकृतिक मान्दै समाज–निर्मित बन्धनसँग भने जुधेको देखाएका छन्।
प्रेम सामान्य शब्द होइन, जीवनको ऊर्जा हो। मातृ–प्रेमले जीवन सुरु हुन्छ। प्रियप्रेमले जीवनलाई रस र ऊर्जा दिन्छ। राष्ट्र–प्रेम र सत्यप्रेमले जीवनलाई अर्थ दिन्छ। संस्कृति र भाषा–प्रेमले जीवनको जरा गाड्छ। प्रेमको सार्वभौम स्वरूप ‘आत्मा’को विस्तार हो—जहाँ म र तिमीको सिमाना हराउँछ र जीवनलाई ठूलो अर्थ दिन्छ।
अब केही सार्वजनिक व्यक्तित्वको निजी जीवनको चियोचर्चा गरौँ।
१. बोल्सेभिक नेता भ्लादिमिर लेनिन विवाहित थिए। उनकी पत्नी नादेज्दा क्रुप्स्काया प्रतिबद्ध क्रान्तिकारी थिइन्। तर लेनिनकी ‘प्रेमिका’ थिइन्-इनास्सा आर्मान्ड। उनी फ्रान्सेली मूलकी सुशिक्षित र बहुप्रतिभाशाली महिला थिइन्। उनले अक्टोबर-रुसी क्रान्तिमा सक्रिय भूमिका खेलिन्। उनी र लेनिनबीच लामो समयसम्म गहिरो भावनात्मक र बौद्धिक सम्बन्ध रह्यो। उनीहरूले धेरै पत्राचार गरे (आजसम्म प्रकाशित छ), जसमा प्रेम, राजनीतिक विचार र व्यक्तिगत संवेदनशीलता मिसिएको छ।
लेनिनको प्रेम सम्बन्ध क्रान्तिकारी विचार, आत्मिक सहयात्रा र भावनात्मक गहिराइमा आधारित थियो, जुन सामान्य शारीरिक प्रेमभन्दा निकै फरक थियो।
२. भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू र बेलायती भाइसराय लर्ड माउन्टब्याटनकी पत्नी लेडी एड्विना माउन्टब्याटनबीच १९४०–५० को दशकमा विशेष सम्बन्ध विकसित भयो। उनीहरूबीच अनेक पत्र आदान–प्रदान भए। तिनमा आत्मीयता, विश्वास र गहिरो भावनात्मक निकटता झल्किन्छ। धेरै इतिहासकारले यसलाई ‘एक आत्मिक प्रेम’ भनेका छन्, जसमा राजनीतिक विश्वास, मानवीय संवेदना र व्यक्तिगत तिर्खा मिसिएको थियो।
एड्विनाले आफ्ना नजिकका साथीलाई भनेकी थिइन्, "नेहरू मेरो जीवनको सबैभन्दा गहिरो मित्र थिए।" नेहरूले पनि आफ्नो जीवनको अन्तिमसम्म उनीप्रति गहिरो आदर र प्रेम सजाए। लेनिन–इनास्सा बीचको सम्बन्धलाई क्रान्तिकारी र बौद्धिक प्रेम भनिन्छ। नेहरू–एड्विनाको सम्बन्धचाहिँ आत्मिक, भावनात्मक र विश्वास आधारित प्रेम हो। लेनिन-इनास्सा तथा नेहरू-एड्विना बीच प्रेममा शारीरिक सम्बन्ध लुप्त थियो। दुवै कथाले भन्छ–प्रेममा आत्मा, विचार र संवेदनाको पनि गहिरो मिलन मात्रै पनि हुन सक्छ।
३. जाँ पाल सात्र र सिमोन द बोउवारको प्रेमकथा र राममनोहर लोहिया र रमा मित्राको प्रेम कथामा केही समानता छन्, विशेष गरी दुवै जोडीको प्रगतिशील विचार, बौद्धिकता र सामाजिक बन्धनविरुद्ध विद्रोह। यद्यपि, यी दुई जोडीका सम्बन्धमा सांस्कृतिक, सामाजिक र व्यक्तिगत सन्दर्भका कारण उल्लेखनीय भिन्नता पनि छन्। सार्त्र र बोउवारले परम्परागत विवाहलाई अस्वीकार गरे र ‘खुला सम्बन्ध’को अवधारणा अपनाए। उनीहरूले एकअर्कासँग बौद्धिक, भावनात्मक र शारीरिक सम्बन्ध कायम राखे, तर अन्य व्यक्तिसँग समेत रोमान्टिक/शारीरिक सम्बन्ध राख्ने स्वतन्त्रता लिए। उनीहरूको सम्बन्ध सहमति र पारदर्शिता आधारित थियो।
सिमोन द बोउवार प्रख्यात नारीवादी दार्शनिक थिइन् र उनको ‘द सेकेन्ड सेक्स’ पुस्तकले नारीवादमा क्रान्ति ल्यायो। सार्त्र भने अस्तित्ववादी दार्शनिक। उनीहरू विचार आदानप्रदान गर्थे र एक अर्काको लेखनमा प्रभाव पनि। सिमोन र सार्त्र फ्रान्समा सँगै बसे, तर तिनको छुट्टाछुट्टै अपार्टमेन्ट थियो।
युरोपमा, विशेष गरी फ्रान्समा २०औं शताब्दीको मध्यमा बौद्धिक र कलात्मक समुदायमा खुला सम्बन्ध र गैर–परम्परागत जीवनशैली केही हदसम्म स्वीकार्य थिए। त्यस कारण सिमोन र सार्त्रको सम्बन्धले युरोपेली बौद्धिक वृत्तमा ठूलो विवाद उत्पन्न गरेन। सिमोनले आफ्नो सम्बन्धलाई ‘आवश्यक प्रेम’ र ‘संयोगको प्रेम’मा विभाजन गरेकी थिइन्, जहाँ सार्त्रसँगको सम्बन्ध ‘आवश्यक’ थियो।
४. राममनोहर लोहिया र रमा मित्राले परम्परागत विवाह अस्वीकार गरे र १९५०–१९६० को दशकको भारतीय समाजमा लिभ–इन् सम्बन्धमा बसे, जुन त्यस समय निकै क्रान्तिकारी कदम थियो। यी दुईले प्रेम र सम्बन्धमा इमानदारी र सहमतिलाई जोड दिए र यी दुईको सम्बन्धमा पारदर्शिता थियो।
बौद्धिक प्राध्यापक थिइन् रमा मित्रा, लोहिया समाजवादी विचारक। दुवैले स्वतन्त्रता आन्दोलन र समाजवादी विचारधारामा सँगै काम गरे। रमाले लोहियाको प्रेम पत्रहरू समेटेर ‘लोहिया थ्रू लेटर्स’ पुस्तक प्रकाशित गरिन्, जसले उनीहरूको बौद्धिक र भावनात्मक निकटता झल्काउँछ।
विवाहको परम्परागत संरचना अस्वीकार गर्दै दिल्लीस्थित लोहियाको सरकारी निवासमा दुवै सँगै रहे, जुन त्यस समयको भारतीय समाजमा असामान्य थियो। भारतमा १९५०–१९६० को दशकमा लिभइन सम्बन्ध सामाजिक रूपमा अस्वीकार्य र निन्दनीय थियो। अहिले पनि अवस्था उति बदलिएको छैन। लोहिया र रमाको सम्बन्धले भारतीय समाजमा ठूलो विवाद उत्पन्न गर्न सक्थ्यो, तर लोहियाको राजनीतिक प्रभाव र रमाको बौद्धिक छविले यो सम्बन्धलाई विवादमा उर्लन दिएन।
लोहियाका अन्य महिला मित्र थिए, र उनले आफ्ना सम्बन्धबारे लुकाएनन्। रमाले पनि सो कुरा स्वीकार गरिन्, तर उनीहरूको सम्बन्धमा ‘खुला सम्बन्ध’को औपचारिक अवधारणा सिमोन र सार्त्रको जस्तो स्पष्ट थिएन।
५. चे ग्वेभाराको जीवनमा प्रेम, राजनीति र क्रान्ति घुलमिल भएर आए। उनका प्रेमकथाहरू पनि उनको क्रान्तिकारी यात्रासँगै जोडिएका छन्:
क. आफ्नो मोटरसाइकल यात्रा सुरुगर्दा, उनले चिचिना फेर्रेरोलाई विवाहको प्रस्ताव गरेका थिए, तर उनको परिवारले 'गरिब, अस्थिर भविष्य भएको डाक्टर'लाई अस्वीकार गर्यो। यसरी, उनको पहिलो गहिरो प्रेम सामाजिक विभेदका कारण विफल भयो।
ख. मेक्सिकोमा भेटिएकी पेरुकी मार्क्सवादी कार्यकर्ता हिल्डा गाडेआ चेसँगै क्रान्तिमा गहिरोसँग जोडिइन्। उनीहरूको विवाह १९५५ मा भयो। एक छोरी हिल्डा जन्मिइन्। ग्वेभारा क्युबाली क्रान्तिमा सामेल भएपछि उनीहरूबीच दूरी बढ्यो, र अन्ततः सम्बन्ध टुट्यो।
ग. क्युबन क्रान्ति सफल भएपछि उनले आलिदा मार्चसँग विवाह गरे। उनी शिक्षक र भूमिगत आन्दोलनकी कार्यकर्ता थिइन्। उनीहरूको प्रेम र सहजीवन गहिरो थियो। उनीहरूका चार सन्तान जन्मिए। आलिदाले चे ग्वेभारासँग युद्ध मैदानमा पनि साथ दिइन्।
घ. ग्वेभाराको प्रेम कथाले देखाउँछ— उनले प्रेमलाई व्यक्तिगत जीवनसँगै राजनीतिक संघर्षसँग जोडे। चिचिनासँगको रोमान्टिक प्रेम, हिल्डासँगको वैचारिक र राजनीतिक सहकार्य, र आलिदासँगको जीवन–संघर्षमा साथ। यी सबै प्रेमका फरक तह हुन्। यसरी, ग्वेभाराको प्रेम कथा केवल निजी सम्बन्ध मात्र नभई, सामाजिक–राजनीतिक आन्दोलनसँग पनि गाँसिएको छ।
६. भारतका साहिर लुधियानभी र अमृता प्रीतमबीच गहिरो आत्मीय प्रेम थियो, तर जीवनमा कहिल्यै पूर्ण रूपले सँगै बस्न सकेनन्। अमृताले आफ्ना कवितामा साहिरलाई आत्माको प्रियकरका रूपमा चित्रित गरिन्। प्रत्यक्ष सहजीवन नहुँदा पनि उनको नाम अमृताको हृदयमा अमर रह्यो।
दुई विपरीत लिंगी प्रेमीबीच शारीरिक सम्बन्ध नरहे पनि अमर प्रेमीका रूपमा रहेका केही जोडी यस्ता छन्:
७. पीबी शेली र एमिलीः प्रख्यात कवि सेली विवाहित भए पनि, एमिलीप्रति उनको आत्मीय आकर्षण थियो। बताइ अनुसार उनीहरूबीच शारीरिक सम्बन्ध कहिल्यै भएन, तर शेलीका कवितामा आत्मीय प्रेम प्रकट छ।
८. ह्याभलोक एलिस र जोन ट्रेभोरः बेलायती विचारक ह्याभलोक एलिसको जीवनमा पत्रसाहित्यमै आधारित प्रेम थियो। उनीहरूले कहिल्यै शारीरिक जीवन साझा गरेनन्, तर बौद्धिक–भावनात्मक प्रेम अमर बन्यो।
९. कवि रवीन्द्रनाथ टेगोर र अर्जेन्टिनी लेखिका भिक्टोरिया ओक्मपो: यीबीच पत्रमै प्रेमको आगो बन्यो। उनीहरू सशरीर कहिल्यै प्रेमी–प्रेमिकाजस्तो भेटिएनन्, तर पत्र र साहित्यकै माध्यमले अमर सम्बन्ध बनेको छ।
१०. महान् कवि दाँतेले बियाट्रिसलाई जीवनमा केवल दुई पटक देखे, तर कहिल्यै प्रेमी–प्रेमिकाजस्तो सशरीर सम्बन्ध भएन। तर 'डिभाइन कमेडी'जस्तो महाकाव्यमा बियाट्रिसलाई दैवी आत्मा र मार्गदर्शकको रूपमा उचाले। यो त विश्वकै अद्वितीय उदाहरण मानिन्छ, जहाँ सशरीर प्रेम नभए पनि आत्मिक प्रेमले साहित्यिक अमरता पायो।
सशरीर भेट नभए पनि प्रेम आत्मा, भाषा, पत्र र सिर्जनामा बाँच्न सक्छ। दाँते–बियाट्रिस, टेगोर–ओक्मपो, अमृता–साहिरजस्ता उदाहरणले देखाउँछन्— सशरीर-भेट (शारीरिक सम्बन्ध) प्रेमको आवश्यक सर्त होइन, आत्मीयता नै प्रेमलाई अमर बनाउने शक्ति हो, जबकि सामान्यतया मानिसहरू प्रेमलाई प्रायः यौनसँग जोड्छन्। तर त्यसका लागि मनोवैज्ञानिक, सामाजिक र सांस्कृतिक कोणबाट अध्ययन आवश्यक हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Good piece
Rabin Pariyar
2 months ago
Well
Rabin Pariyar
2 months ago
लेखक आदरणीय पिटर साबलाई शुभ बिहानी । ७० वर्षे युवाको प्रेममाथिको विश्लेषणले म जस्ता सोह्र वर्षे ठिटोलाई प्रेमको विश्लेषणमा थप मसला प्राप्त भयो । यो लेखमा प्रेम, यौन र विवाहलाई जैविक, भावनात्मक र संस्थागत आयामबाट विश्लेषण गरेको छ । प्रेम आत्मविस्तार हो भने यौन-वस्तुकरण । सामाजिक नियमन तह: पूर्व/पश्चिम भिन्नता, लिभ-इन/ओपन सम्बन्धका बहस र ऐतिहासिक व्यक्तिहरूका उदाहरणले देखाउँछन् कि प्रेम बहुआयामिक आत्मपरक तत्व हो जसमा सबै सीमा र बन्धनमुक्त हुन्छ । साँचो अर्थमा भन्नु पर्दा प्रेममा मात्रै वास्तविक साम्यवाद देखिन्छ । राष्ट्रप्रेम/प्रियप्रेमहरू बहुआयामीक हुन्छन् । जहाँ आत्मीयता शारीरिकताभन्दा उच्च छ र सहमति, पारदर्शिता, स्वायत्तता नै नैतिक आधार हुन्छ । फ्रामको दृष्टि, मोरिसको तर्क र दार्शनिक परम्पराले यी तहहरू व्याख्या गर्छ । बौद्धिक लेखको लागि स्रष्टालाई हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
चन्द्रलाल तामाङ
2 months, 1 week ago