विवाह पञ्चमी महोत्सव: नगरदर्शन गरिँदै

महोत्सवमा अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्न्यासी, भिक्षु र भिक्षुणी आउने जनाइएको छ।

धनुषा– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम आज शुरू हुँदैछन्। पहिलो दिन नगरदर्शन कार्यक्रम रहेको छ। 

जानकी मन्दिर क्षेत्र, रंगभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम भएको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ। मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडान गरिएको छ।

विवाह पञ्चमीका मुख्य कार्यक्रम जानकी मन्दिर र बाह्रबिघा रंगभूमि मैदानमै केन्द्रित रहनेछन्। तर यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए। विगतमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेका थिए। 

अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट यस वर्ष पनि ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्न्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ। जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ।

सप्ताहव्यापी  विवाह पञ्चमी महोत्सवअन्तर्गत शुक्रबार फूलबारी लीला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० रामकलेवा विधिसहित समापन हुनेछ। प्रत्येक वर्ष मंसिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ। ठूलो भीडलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त संख्यामा परिचालन गरिने उनले बताए।