वर्षा नहुँदा रौतहटका खेत बाँझै

धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ। खेतमा सिँचाइको सुविधा नहुँदा चन्द्रपुर नगरपालिका–२ सखुवानीका बम्जनसहित सयौँ किसान आकासे पानीको पर्खाइमा छन्।

रौतहट– चन्द्रपुर नगरपालिका–२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किन्छन्। असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उनी चिन्तित छन्।

धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ। खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकासे पानीको पर्खाइमा छन्। गत वर्ष पनि समयमा वर्षा नहुँदा सिँचाइ अभावले धान रोप्न नपाएका बम्जनले यस वर्ष भने रोपाइँ गर्ने योजना बनाएका थिए। अहिले आकासे पानीको भरमा बस्नु परिरहेकाले रोपाइँ अगाडि बढ्न नसकेको उनको भनाइ छ। “रोपाइँका लागि आलीघारी जोतखन तयार छ तर पानीको व्यवस्था नहुँदा समस्या भइरहेको हो, खेत पूरै बाँझै छन्,” बम्जनले भने।

यस्तै अवस्थामा छन् सोही गाउँका कुलदीप चौधरी। “गत वर्ष सिँचाइ नहुँदा रोपाइँ नभएको खेत अहिले पनि बाँझै रहने देखिन्छ। अहिलेसम्म पर्याप्त पानी परेको छैन, बीउ ब्याडमै सुकेका छन्। कहिले रोपाइँ गर्ने भन्ने निश्चित छैन,” उनले भने। आकासे पानीको भरमा बस्नुपर्ने र वैकल्पिक सिँचाइको व्यवस्था नहुनेलगायत कारणले खेत बाँझै हुन थालेको उनले बताए।

किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत यहाँका सयौँ किसानलाई गत वर्ष बाँझो बनेका खेत यस वर्ष पनि रोपाइँ नहुने हो कि भन्ने संशय छ।

जिल्लामा करिब ३८ हजार ५०० हेक्टर जमिन धान रोप्न योग्य भए पनि हालसम्म छ हजार १६० हेक्टरमा मात्रै धान रोपाइँ भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी दिए। यतिबेलासम्म करिब ४५ देखि ५० प्रतिशत रोपाइँ हुनुपर्ने बताउँदै उनले पर्याप्त वर्षा नहुँदा हालसम्म १६ प्रतिशत मात्र रोपाइँ भएको उल्लेख गरे।

बागमती सिँचाइ आयोजनाले रौतहटको करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाले करिब चार हजार ५०० हेक्टर जमिन सिँचित गर्दै आएको कार्यालय प्रमुख कुर्मीले जानकारी दिए। उनका अनुसार बागमती सिँचाइबाट चन्द्रपुर नगरपालिकाको आधा भूभाग, बृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ।

त्यस्तै झाँझ आयोजनाअन्तर्गत गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकामा सिँचाइ पुगेको छ। स्यालो ट्युबवेलबाट २० प्रतिशत खेतीयोग्य जमिन सिञ्चित हुने कुर्मीले जानकारी दिए। स्यालो ट्युबवेल तरकारीखेतीमा बढी प्रयोग हुने गरेको उनको भनाइ छ। नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत गण्डक नहरको पानी रौतहट भित्र्याउन सके चार वटा पालिकामा सिँचाइ पुग्ने उनले बताए।

उक्त नहर सरसफाइ गरेर पानी रौतहट ल्याउन सके यहाँका बौधीमाई, राजपुर, परोहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका खेत सिञ्चित हुने कार्यालय प्रमुख कुर्मीले उल्लेख गरे। उनका अनुसार बौधीमाई नगरपालिकाको बङ्कुलबाट दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म गण्डक नहर विस्तार भए पनि लामो समयदेखि उक्त नहरमा पानी आउन सकेको छैन।

रौतहटको कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टरमा धान रोपिँदै आएको उनले जानकारी दिए। कार्यालय प्रमुख कुर्मीका अनुसार गत वर्ष रौतहटमा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिने उनले बताए।