हाँडीगाउँमा बुधबार चोक्टे नारायणको जात्रा मनाउने क्रममा मैनको फूल प्रयोग भयो। अन्य जात्रामा नदेखिने मैनको फूल र उल्टो खट यो ‘कहीँ नभएको जात्रा’का विशेषता हुन्।
काठमाडौँ– तपाईंले मैनको फूल देख्नुभएको छ?
काठमाडौँस्थित हाँडीगाउँमा बुधबार भइरहेको चोक्टे नारायणको जात्राको एउटा विशेषता हो– मैनको फूलको प्रयोग। यस्तो फूलको प्रदर्शन अन्य जात्रामा हुँदैन।
‘कतै नभएको जात्रा हाँडीगाउँमा’ उखानले भनेकै जात्रा हो यो। चोक्टे नारायणको जात्रा तिथिअनुसार दशैँ र तिहारबीचमा पर्ने एकमात्र जात्रा पनि हो। कोजाग्रत पूर्णिमाको दोस्रो दिन हुने जात्रामा जमराको समेत प्रयोग हुन्छ, जुन अन्य ठाउँमा पूर्णिमाकै दिन सेलाई सकिन्छ। हाँडीगाउँबासीले भने जात्रा अवधिभर दशैँको जमरा र टीका पनि लगाउँछन्।
जात्रा कतै नहुने अर्को कारण इतिहासकार तथा संस्कृतिविद् डा. सुदर्शनराज तिवारीले आफ्नो पुस्तक ‘हाँडीगाउँ’मा उल्लेख गरेका छन्। पुस्तकअनुसार, यस जात्रामा हाँडीगाउँको इष्टदेवता सत्यनारायणको आराधना हुँदैन, जुन अन्य स्थानका जात्राको विपरीत हो। यसमा ब्रह्मा, विष्णु र महेश्वरको आराधना हुन्छ।
कसरी चल्यो मैनको फूल?
किंवदन्तीअनुसार, परापूर्वकालमा नरः दे (हाँडीगाउँ)की महारानीको गर्भ रह्यो। उनलाई व्यथा लागिरहे पनि सुत्केरी हुन सकिनन्। लामो समय व्यथा लागेपछि उहाँका राजाले ज्योतिषीलाई देखाए। महारानीले कुनै समय भिक्षा माग्न आएका नारायण देवतालाई अनादार गरेको र नारायणले उनलाई गर्भ बसेर व्यथा लागे पनि बच्चा हुन नसक्ने श्राप दिएको ज्यातिषीले बताए।
समस्याको हलका लागि हिमालयमा तपस्या गरिरहेका नारायणलाई उपत्यकामा ल्याउन जरूरी थियो। तब राजाले कहीँ नगरिएको जात्रा गरी कतै नचढाएको फूल प्रयोग गर्ने वाचा गरेर नारायणलाई हाँडीगाँउमा बोलाए। त्यसैले उनै राजाले उल्टो देखिने खट अनि कहीँ नपाइने मैनको फूलसहित जात्रा चलाएको मानिन्छ।
जात्राका मुख्य पुजारी आनन्द श्रेष्ठकै घरमा मैनको फूल बनाइन्छ। गुठी संस्थानबाट थोकमा आउने मैन, धुपी, चोयालगायत सामग्रीसहित कोजाग्रत पूर्णिमाको दिनदेखि खटको मर्मतसम्भार थालिन्छ।
खट र स्थानीयलाई प्रसादको रूपमा करिब ७०० मैनको फूल बनाउनु पर्ने श्रेष्ठ बताउँछन्। “मैनलाई सबैभन्दा पहिले साना टुक्रा बनाइन्छ। अनि त्यसलाई पगाल्नका लागि ठूलो फोसी (भाँडा)मा हालेर आगोमा राखिन्छ, पग्लिएपछि मात्र फूल बनाउन सकिन्छ,” उनी भन्छन्।
पग्लिएको मैनलाई फूलको आकार दिन साँचो (नमूना फूल)मा राखिन्छ। तातो मैनमा उक्त साँचो डुबाएर लगत्तै छेउमा रहेको चिसो पानीमा डुबाइन्छ, यसरी तुरुन्तै फूलको आकार आउँछ। त्यसमा धुपीलाई उनेर फूल तयार गरिन्छ।
यी फूललाई खटमा सजाइन्छ। “जात्राको मुख्य आर्कषण नै मैनको फूल हो,” पूजारी श्रेष्ठ भन्छन्, “प्रसादको रूपमा सबैले यिनै फूल लैजान्छन्।”
कस्तो हुन्छ कहीँ नभएको खट?
जात्रामा प्रयोग हुने रथ र खट फरक संरचना हुन्। प्यागोडा शैलीमा पाङग्रासहित डोरी तानेर जमिनमा गुडाउनेलाई रथ भनिन्छ। त्यसमा देवताको मूर्ति राखेर नगर परिक्रमा हुन्छ।
खटमा भने रथका जस्तो पांग्रा हुँदैन। पिँधमा सीमित संख्यामा काठ वा बाँसलाई तेर्सो पारेर त्यसमाथि खट राखिन्छ। खटलाई काँधमा बोकेर नगर परिक्रममा गरिन्छ।
कुनै पनि जात्रामा रथ वा खट केन्द्रमा हुन्छ। सामायतः अन्य जात्रामा प्यागोडा शैलीमा रथ वा खट बनाइन्छ। चोक्टे नारायणको जात्रामा भने गोलाकार वृत्तको खटको प्रयोग हुन्छ।
ब्रह्मा, विष्णु र महेश्वर गरी तीनवटा देवताको खट अन्य जात्राका खटको तुलनामा ठ्याक्कै उल्टो हुन्छ। यो जात्राका खटको गजुर पिँधमा हुन्छ, आधार (जग) माथिल्लो भागमा हुन्छ।
काँधमा बोक्नका लागि शुरूमा दुईवटा तेर्सो काठमाथि ६ वटा बाँस तेर्सो नै पारेर राखिन्छ। त्यसमाथि वर्गाकारको चौखट राखिन्छ। चौखटको मध्य भागमा योसिं( लिंगो) उभ्याएर, चिउरा कुट्ने ओखलमाथि काठको थाममा तीनतले गोलाकारको छत्रजस्तो देखिने तीन तले खट राखिन्छ।
खटमाथि हिमालय पर्वतको प्रतीक सेतो कपडाले बेरिएको हुन्छ। सबैभन्दा माथि देवताको मूर्ति राखी चारैतिर स–सानो घण्टी झुण्ड्याएर रातो कपडाको झल्लर राखिन्छ। महाभा पहाडको प्रतीक छत्रका घेरामा मैन र धुपीको फूल तीन तहमै सजाइन्छ।
सबैभन्दा तल्लो तलामा रातो कपडाले बेरेर तामाको बाटालाई थामको बीचमा पारी ओखलजस्तो बनाएर राखिन्छ। त्यहाँ दुईजना चढेर दुई तर्फबाट डोरीको सुन्तलन मिलाएर आलोपालो तान्ने गरिन्छ। यसरी तान्ता खटको माथिल्लो पूर्णभाग गोलाकारमा घुमिरहन्छ भने, खटलाई २४ जनाले सन्तुलन मिलाएर बोक्छन्।
जात्रा अर्थात् 'ऊर्जा नवीकरण'
तीनवटा रथ हाँडीगाउँको दथु (हाँडीगाउँको कृष्ण मन्दिर हुँदै भाटभटेनी निस्कने बाटो), न्याल्मा (डबली हुँदै गहना पोखरी निस्कने बाटो) र कोट (हाँडीगाउँबाट कालोपुल निस्कने बाटो) गरी तीन वटा टोलबाट बाजागाजासहित तयार राखिन्छ। दथु टोलमा ब्रह्माको खट, न्याल्म टोलमा नारायण र कोट टोलमा उमामहेश्वरको खट हुन्छ।
दथु टोलबाट निस्किएको ब्रह्माको खट न्याल्म टोलमा रहेको नारायणको खटसँग छोटो साक्षात्कार गर्छ। त्यसपछि यी दुई खट कोट टोल लगिन्छ। त्यहाँ नारायणको खट हुन्छ।
नारायणको खटले महेश्वरको खटलाई देशबासीको अवस्था र आपातविपद्को जानकारी दिई परिक्रमाको लागि आवहान् गरेको मानिन्छ। न्याल्म टोलबाट सँगै आएको ब्रह्मा र महेश्वरको खटले पनि त्यसरी नै साक्षात्कार गरी अघि बढ्छन्। यसरी तीनवटै खटलाई तीन वटै टोल परिक्रममा गराइन्छ।
इतिहासकार तथा संस्कृतिविद् डा. तिवारीको पुस्तक हाँडीगाउँमा उल्लेख भएअनुसार, यस्ता जात्राले सम्बन्धित स्थानको ऊर्जा नवीकरण गर्छ। ऋतु परिवर्तन हुँदा पृथ्वीमा समय, स्थान, मौसमको नवीकरण भएजस्तै, देवताहरूले रथमा बसी शहरको परिक्रमा गर्दा सो स्थानलाई पूजाविधि, बाजागाजा, हर्षउल्लासले पवित्र तुल्याउने र स्थानीयमा उर्जा थप्ने पुस्तकमा उल्लेख छ।
यो जात्रा कहिलेदेखि शुरू भयो भन्ने अभिलेख वा कुनै प्रमाण भेटिएको छैन। तर जात्रामा प्रयोग भएको देवताको मूर्तिमा ने.सं. ८९६ अंकित छ। जात्रा त्यस बेलादेखि आरम्भ गरिएको हुनसक्ने लेखक सन सायमिले आफ्नो पुस्तक ‘नेपाः या जात्रा’ मा उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
