सन् २०२६ को टी२० विश्वकपमा स्थान पक्का गरेको एक सातापछि ओडीआई खेल्न दुबई पुगेका नेपाली क्रिकेटरले अमेरिकाविरुद्ध मुस्किलले डेढसय रन कटाए। यसले लामो स्वरूपको क्रिकेटमा संकटको ऐना देखाएको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताको करिब ३० वर्षमा नेपाल तेस्रोपटक टी२० विश्वकप पुग्दा एशिया प्यासिफिक छनोट प्रतियोगितामा अपराजित रह्यो। यसको ठीकविपरीत ओडीआई मान्यतालाई कायम राख्न महत्त्वपूर्ण मानिएको लिग–२ मा नेपालको प्रदर्शन राम्रो छैन।
प्रभावशाली जितसहित टी२० विश्वकप यात्रा पक्का गरेको नेपाल लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको ओडीआईमा कात्तिक ९ गते फराकिलो अन्तरले हार्यो। ५० ओभर टिक्नुपर्ने खेलमा नेपाल ३९.१ ओभरमै ‘अलआउट’ भयो।
पहिलो १० ओभर अमेरिकाको तुलनामा राम्रो रहेको नेपालको खेल त्यसपछि कुनै पनि समय प्रतिस्पर्धामा देखिएन। ‘पावरप्ले’का १० ओभरमा अमेरिकाले १ विकेट गुमाएर ३२ रन बनाएको थियो। नेपालले १ विकेटकै क्षतिमा ३५ रन बनाएको थियो। तर त्यसपछि नेपाली ब्याटर सम्हालिन सकेनन्।
नेपालले दोस्रो विकेट १४.५ ओभरमा ६९ रन हुँदा गुमाएको थियो। त्यसपछि २०.४ ओभरमा ७९ रन बनाउँदा नेपालले चार विकेट गुमाइसकेको थियो। टी२० मा ब्याटरले देखाएको साहस र ओडीआईमा लगातार गुमेको विकेटले नेपाली खेलाडीले लामो स्वरूपको खेल नै बिर्सिएजस्तो भएको राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्री बताउँछन्।
बलरलाई खेलमा फर्किने मौका हुने, तर ब्याटरले एउटा गल्ती गर्दा बाहिरिनुपर्ने हुँदा प्राविधिक रूपमा ब्याटर बढी परिवक्व हुनुपर्ने क्षेत्रीको भनाइ छ। “ब्याटरलाई धेरै एक्सपोजर चाहिन्छ। हरेक बल खेल्नसक्ने कौशल तयार गर्नुपर्छ,” उनी भन्छन्, “विगतमा भन्दा ब्याटरहरूले धेरै नै मिहिनेत गरेको देखिन्छ, तर एक बल मिस हुँदा आफूलाई स्थापित गर्न गाह्रो हुन्छ।”
ब्याटरले फ्ल्याट वा बाउन्स जस्तोसुकै विकेट थाहा पाएर क्रिजमा आफूलाई जोगाउन सक्नुपर्ने क्षेत्री बताउँछन्। “विभिन्न प्रकारका बल र परिस्थिति बुझेर खेल्न सक्ने ब्याटर नै सफल बन्न सक्छ। नेपालका खेलाडीमा भर्खरै यसको विकास हुँदै गरेको छ,” उनी भन्छन्।
तर नेपालले एक दिवसीय खेल्न थालेको लामो समय भइसकेको छ। लिग–२ मै लगातार दोस्रो सिजन नेपाल प्रतिस्पर्धामा छ। जारी लिग–२ मा नेपालले १७ खेल खेल्दा पाँच वटामा मात्र जित हासिल गरेको छ। सानो लक्ष्यसमेत पछ्याउन असफल हुँदा नेपाल अंक तालिकाको सातौँ स्थानमा खुम्चिएको छ।
१७ खेलमध्ये दुई खेलमा नतिजा आएको थिएन। त्यसबाहेक, पहिलो वा दोस्रो इनिङको ब्याटिङमा सात पटक नेपालले २०० रन छुन सकेको छैन। जारी श्रृंखलाको पहिलो खेलमा पनि अमेरिकाविरुद्ध २६३ रन पछ्याउँदा १५६ रनमै समेटियो।
पूर्वखेलाडी तथा यु–१९ महिला टिमका प्रशिक्षक महेशप्रसाद रिजाल नेपाल टी२० खेलमा धेरै अभ्यस्त हुँदा लिग–२ मा लय बिग्रिएको बताउँछन्। “अमेरिकासँग अन्तिम १० ओभरको बलिङ र ब्याटिङमा पार्टनरसिप कायम राख्न नसक्दा टिमले खेल हार्न पुग्यो, लामो स्वरूपमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ,” उनी भन्छन्।
लामो स्वरूपमा घरेलु क्रिकेट पनि पर्याप्त नभएको रिजालको भनाइ छ। नेपाल क्रिकेट संघ (क्यान)को क्यालेन्डरमा एक दिवसीय प्रतियोगितालाई प्राथमिकता दिइएको छैन। क्यानको वार्षिक क्यालेन्डरमा यो वर्ष लामो स्वरूपको क्रिकेट प्रतियोगिता दुईवटा मात्र छन्। तीमध्ये एउटा बहुदिवसीय जयट्रफी छ भने, अर्को एक दिवसीय छ।
कहाँ छ समस्या?
नेपालले पहिलो पटक सन् १९९६ सेप्टेम्बरमा एसीसी ट्रफी खेल्दै अन्तर्राष्ट्रिय खेलको शुरूआत गरेको थियो। त्यसलगत्तै १९९८ एसीसी कप नेपालले नै आयोजना गर्यो। ती खेल त्रिवि क्रिकेट मैदान र पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा खेलाइएको थियो।
त्यसपछि सन् २०१० सम्म नेपालले यू–१९ विश्वकप खेल्नुबाहेक सिनियर टोलीमा खासै सफलता पाउन सकेको थिएन। तर उक्त वर्ष नेपाल डिभिजन–४ मा बढुवा भयो। अर्को वर्ष सन् २०११ मा डिभिजन–३ मा पुग्यो। यसरी एक दिवसीय क्रिकेटमा नेपालले दुई वर्षमै पाँचौँबाट तेस्रो डिभिजनमा फड्को मार्यो।
टी२० मा पनि नेपाल पहिलो पटक सन् २०१४ को विश्वकपमा पुग्यो। यसले नेपाली क्रिकेटको चर्चा चुलियो। तर त्यसपछि अर्को टी२० विश्वकपमा पुग्न १० वर्ष कुर्नुपर्यो। यद्यपि, नेपालले त्योभन्दा ठूलो उपलब्धि अर्थात्, सन् २०१८ मा ओडीआई मान्यता पाएको थियो।
पछिल्लो समय नेपाल ओडीआई मान्यता जोगाउने संघर्षमा छ। नेपालसँगै दुई एशियाली देश यूएई र ओमान पनि ओडीआई जोगाउन संघर्षमा छन्। लिग–२ अंक तालिकामा ओमान अहिले २० खेलबाट २४ अंकसहित पाँचौँ र यूएई अन्तिम स्थानमा छन्। सिधै ओडीआई मान्यता जोगाउन शीर्ष चारमा पर्नै पर्छ।
पूर्वराष्ट्रिय खेलाडी निरा राजोपाध्याय क्रिकेटको दीर्घकालीन भविष्यका लागि लामो स्वरूपका क्रिकेट नै महत्त्वपूर्ण हुने बताउँछिन्। तर टी२० विश्वकपलाई बढी प्राथमिकता दिँदा लामो स्वरूपका घरेलु क्रिकेट र अभ्यास कम भएको उनको भनाइ छ।
दर्शकले टी२० लाई बढी रुचाउँछन्। टी२० विश्वकपले पनि खेलाडीलाई एक्स्पोज दिन्छ। राजोपाध्याय भन्छिन्, “क्रिकेटलाई भविष्य दिन वान डे र मल्टी डे क्रिकेट महत्त्वपूर्ण हुन्छन्। टी१० र टी२० भनेको दर्शकको रमाइलो हो। हामीले लामो फर्म्याटलाई ध्यान दिनुपर्छ।”
राष्ट्रिय टिमका पूर्वखेलाडी राजकुमार प्रधान सन् २०२१ पछि नेपाली खेलाडीले धेरै एक्स्पोजर र सेवासुविधा पाए पनि क्रिकेटले फड्को नमारेको बताउँछन्। तीव्र गतिको बल फेस गर्ने परम्परागत समस्याबाट नेपाली खेलाडी बाहिर निस्कन नसकेको उनको भनाइ छ। “सन् २०१४ मा हामी विश्वकप खेल्दै थियौँ, तर पर्याप्त अभ्यास र एक्सपोजर नपाउँदा पारस खड्का, ज्ञानेन्द्र मल्लजस्ता खेलाडीलाई पेस बल फेस गर्नै गाह्रो भएको थियो,” उनी भन्छन्, “अहिले पनि त्यो समस्या धेरै सुध्रिएको छैन।”
नेपालका पेस बलर सोमपाल कामी, करण केसी, गुलसन झा सबैको लाइन र लेन्थमा अझै धेरै सुधार गर्नुपर्ने प्रधान बताउँछन्। छोटो स्वरूपको क्रिकेट धेरै खेल्न थालेपछि ब्याटरले पनि ‘टेक्निकल’ पक्ष नै भुलको उनको भनाइ छ। “पहिलाको खेलको फर्म्याट नै फरक थियो, ब्याटर बढी टेक्निकल थिए। अहिले चौका छक्का हान्ने छोटो फर्म्याटको क्रिकेट खेल्नुपरेको भएर ब्याटर टेक्निकल देखिएका छैनन्।”
ती प्रशिक्षक र उपलब्धि
नेपालले पहिलो पटक सन् २००० मै यू१९ विश्वकप क्रिकेट खेलेको थियो। त्यसपछि २००२, २००४, २००६ र २००८ को यू१९ विश्वकप खेल्यो। सन् २००६ मा त न्युजिल्यान्डजस्तो देशलाई पराजित गरेर प्लेट च्याम्पियन नै भएको थियो। यो सफलताको श्रेय तत्कालीन प्रशिक्षक रोय डायसलाई जान्छ।
सन् २०११ मा नेपाली क्रिकेट सम्हाल्न पुबुदु दासानायके आइपुगे। नेपाललाई पहिलो पटक टी२० विश्वकपमा पुर्याउने प्रशिक्षक उनै थिए। डिभिजन–४ र डिभिजन–३ को उपाधि जिताउने पनि उनै थिए, जसले ओडीआई मान्यताको जग बसायो।
नेपालले ओडीआई मान्यता पाइसकेपछि छोटो समय प्रशिक्षक भएका डेभ वाट्मोरले नेपाली ब्याटरमा आत्मविश्वास जगाएका थिए। उनैले कुशल भुर्तेल र आसिफ शेखलाई नेपालको ओपनिङ जोडीको रूपमा प्रयोग गरे, जो अहिलेसम्म कायम छन्।
यसबीचमा आएका उमेश पटुवाल, मनोज प्रभाकरलगायत प्रशिक्षकले भने खासै छाप छाड्न सकेनन्। सन् २०२१ मा दोहोर्याएर नेपालका प्रशिक्षक भएका पुबुदु पनि सफल भएनन्।
त्यसपछि आएका मोन्टी देशाईले नेपाललाई ओडीआई मान्यतामा टिकाइराख्न अविश्वसनीय जित दिलाएका थिए। अघिल्लो सिजनको लिग–२ मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेपछि सिधै ओडीआई मान्यता कायम रहन सम्भव भएको थियो। उनै देशाई सन् २०२४ को टी२० विश्वकपमा नेपालका प्रशिक्षक थिए।
अहिलेका प्रशिक्षक स्टुआर्ट लले नेपाललाई तेस्रोपटक टी२० विश्वकपमा पुर्याएका छन्। तर त्योभन्दा मुख्य चुनौती ओडीआईमा कायम राख्नु हो। यूएईमा जारी श्रृंखलामा अब बाँकी तीन खेल जित्दा नेपाल २० खेलमा १८ अंकको स्थितिमा पुग्छ।
त्यसपछि नेपालले खेल्न बाँकी १६ खेल हुन्छ, जसमध्ये बढीभन्दा बढी खेल जित्नुपर्ने दबाब हुन्छ। कुनै पनि हारले गत सिजनकै नियति नहोला भन्न सकिँदैन। तर त्यस्तै सफलता फेरि दोहोर्याउन मुस्किल हुनसक्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
