मनसुनी वर्षा भएपछि मधेश प्रदेशका आठै जिल्लाका किसानहरू धान रोपाइँमा व्यस्त भएका छन् भने प्रदेश सरकारले पनि बालीलाई लक्षित गरी रासायनिक मलको कोटा बाँडफाँट गरेको छ।
जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–४ का श्याम यादवलाई यति बेला धान रोपाइँ गर्न चटारो छ। पर्याप्त वर्षापछि उनलाई धमाधम धान रोपाइँको चटारो भएको हो। अघिल्ला वर्षमा थोरै वर्षा हुँदा ढिला गरी धान रोपाइँ गर्दै आएका यादव यस वर्ष समयमै पर्याप्त वर्षा भएपछि धमाधम धान रोपाइँ गर्न व्यस्त भएका हुन्।
“पोहोर–परार साल साउन–भदौ महिनातिर वर्षा भएको थियो, त्यसैले सोचेको जस्तो धान रोपाइँ गर्न सकेका थिएनौँ”, यादव भन्छन्, “यस वर्ष असारको पहिलो हप्तादेखि नै पर्याप्त वर्षा भयो, त्यसैले धान रोपाइँ गर्न भ्याइनभ्याइ छ।” हालसम्म करिब तीन बिघा जग्गामा धान रोपाइँ गरिसकेको र अबको केही दिनमै रोपाइँ सकिने उनको भनाइ छ।
यस्तै धनुषाकै सहिद नगरपालिका–६ का रामकिसुन साहलाई पनि रोपाइँ गर्न चटारो छ। अघिल्ला वर्ष बर्सातको अभावमा धेरै जग्गा बाँझो छाडेका साहले यस वर्ष असारको दोस्रो सातामै अधिकांश खेतमा धान रोपाइँ गरिसकेको बताए।
धनुषाका यादव र साह मात्र होइनन्, मधेस प्रदेशका अधिकांश जिल्लाका किसान धान रोपाइँमा व्यस्त छन्। लामो समयसम्म पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि पछिल्ला दिनमा निरन्तर पानी परेपछि किसान खेतमा व्यस्त भएका हुन्। कतै ब्याड निकालिँदै छ त कतै धान रोप्ने काम भइरहेको छ। असार लागेसँगै मधेस प्रदेशमा धमाधम रोपाइँ भइरहेको छ।
धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सालगायत जिल्लाका किसान रोपाइँमा व्यस्त छन्। मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार दोस्रो सातासम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ४ दशमलव ३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ।
सबैभन्दा बढी महोत्तरीमा ८ दशमलव १७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ भने सबैभन्दा कम पर्सा र रौतहटमा शून्य प्रतिशत धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ। जिल्लागत हिसाबले महोत्तरीमा ४० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २६६ हेक्टरमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अजय ज्ञवालीले जानकारी दिए।
सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ४०० हेक्टर, बारामा ४५ हजार १०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार २५० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टर खेतीयोग्य जग्गामध्ये तीन हजार ५९ हेक्टर, सिरहामा ५४ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार ७०० हेक्टर र सर्लाहीमा ४२ हजार ६९५ हेक्टर खेतीयोग्य जग्गामध्ये एक हजार ३६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको सूचना अधिकारी ज्ञवालीले बताए।
कृषि प्राविधिकका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। पर्याप्त चिस्यान भएपछि खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम एकै साथ भइरहेको छ। यस वर्ष किसानले उन्नत जातका धानका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा ध्यान दिएका छन्। यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीका रूपमा रहेको सप्तरीको बोदे बरसाइनका किसान अजयकुमार यादव बताउँछन्।
धान नेपालको प्रमुख खाद्यान्न बालीमध्ये एक हो। मधेस प्रदेश देशकै प्रमुख धान उत्पादन क्षेत्र भएकाले यहाँको उत्पादनले राष्ट्रिय खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने गरेको छ। समयमै पर्याप्त वर्षा भई रोपाइँ सम्पन्न भए उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। यसैबीच किसान धमाधम रोपाइँमा व्यस्त हुँदा मधेस प्रदेश सरकारले प्रदेशका स्थानीय तहलाई वर्षे धानबालीलाई लक्षित गरी रासायनिक मलको बाँडफाँट गरेको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रासायनिक मल युरिया र डिएपी कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङलाई वितरणका लागि स्थानीय तहअनुसार बाँडफाँट गरिएको हो। प्रदेशका आठवटै जिल्लाका १३६ वटै स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डिएपी मल बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताए।
उनका अनुसार सप्तरीका स्थानीय तहका लागि ९७५ मेट्रिकटन युरिया र एक हजार ३५ मेट्रिकटन डिएपी, सिरहाका लागि एक हजार ७२ मेट्रिकटन युरिया र एक हजार १३७ मेट्रिकटन डिएपी, धनुषाका लागि ९२६ मेट्रिकटन युरिया र ७७८ मेट्रिकटन डिएपी तथा महोत्तरीका लागि ८८० मेट्रिकटन युरिया र ७४० मेट्रिकटन डिएपी छुट्याइएको छ।
सर्लाहीका लागि एक हजार ९३ मेट्रिकटन युरिया र ९१९ मेट्रिकटन डिएपी, रौतहटका लागि ८७५ मेट्रिकटन युरिया र ७३६ मेट्रिकटन डिएपी, बाराका लागि ८१९ मेट्रिकटन युरिया र ६८९ मेट्रिकटन डिएपी र पर्साका लागि छ हजार ६८७ मेट्रिकटन युरिया र ५७८ मेट्रिकटन डिएपी बाँडफाँड गरिएको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
