काठमाडौँमा १० देशका कलाकारका चित्रकला प्रदर्शन

चित्रकला प्रदर्शनमा नेपालसहित भारत, बांग्लादेश, घाना, बेलायत, अमेरिका, जापान, रुस, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना प्रस्तुत गरिएका छन्।

काठमाडौँ– पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डमा १० देशका कलाकारले बनाएका चित्रहरू प्रदर्शन गरिएको छ। नेपाल पर्यटन बोर्ड र सुष्मा आर्ट ग्यालरीको संयुक्त आयोजनामा प्रस्तुत भएका ती कलाहरू संस्कृति तथा सम्पदामा केन्द्रित रहेका छन्।

कलामार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीन दिन उक्त प्रदर्शनी गरिएको कलाकार सुष्माराज भण्डारीले बताए। यस प्रदर्शनीमा १० देशका कलाकारका ६० वटा कृतिहरू समावेश छन्।

‘हेरिटेज’ शीर्षकमा गरिएको प्रदर्शनीमा आफ्नो कला प्रस्तुत गरेका कलाकार उत्तम डंगोलले पशुपतिलाई केन्द्रविन्दुमा राखेर लोककलाका आधारमा क्यान्भास भरेका छन्। पशुपति, बौद्ध र स्वयम्भूलाई एउटै क्यान्भासमा समेटेर उनले चित्र सिर्जना गरेका छन्।

कलाकार डंगोलले भने, "पशुपतिमा देखिने विषयहरू, जस्तै हनुमान, भैरव, नाग देवता, गणेशलाई मैले 'फोकस' गरेको छु। हिजोको लोक कलालाई क्यान्भासमा रूपान्तरण गरेर आधुनिक शैलीमा प्रस्तुत गरेँ, 'एक्रेलिक' माध्यममा 'वाटरप्रुफ' कलामा सम्पदालाई देखाएको हुँ।"

तेल रङमा कला प्रस्तुत गरेकी कलाकार ज्योति खड्काले पुरानो काठमाडौँलाई झल्काएकी छन्। महाबौद्धको स्तूपालाई मुख्य विषय बनाएर त्यहाँको पुरानो संस्कृति, गाउँले जीवन र परम्परालाई उनले उतारेकी छन्। 

खड्का भन्छिन्, "परम्परागत कलामा प्रायः घर, मन्दिर, काठका कलात्मक प्रस्तुतिमा मात्रै कलाकारको ध्यान जाने गर्छ, तर मैले त्यसलाई छाडेर हराएको पुरातन संस्कृतिलाई उठान गरेकी छु।"

उक्त कलाको संयोजन गरेका कलाकार सुष्माराज भण्डारीले प्रदर्शनीमा गणेशको शृङ्खला प्रस्तुत गरेका छन्। उनको एउटा चित्र एक लाख रुपैयाँमा बिक्रीसमेत भइरहेको छ। अन्य पाँच/छवटा चित्रहरू बिक्री भएको पनि उनले बताए।

नेपालसहित भारत, बांग्लादेश, घाना, बेलायत, अमेरिका, जापान, रुस, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना यहाँ प्रस्तुत गरिएका छन्, जसमध्ये १५ वटा विदेशी कलाकारका चित्रकला समावेश छन्। नेपालका वरिष्ठ कलाकार राधेश्याम मुल्मी, गोविन्द डंगोल, विजय थापालगायतका कलासमेत यहाँ समेटिएको छ।