धुलिखेलमा जर्मनीको सहयोगमा खानेपानी, फोहोर व्यवस्थापन र सौर्य ऊर्जा परियोजनाको शुरूआत

जर्मनी र नेपालको सहकार्यमा धुलिखेलमा दिगो स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार तथा नवीकरणीय ऊर्जासम्बन्धी परियोजनाको बुधबार उद्घाटन गरिएको छ।

काठमाडौँ- जर्मनी र नेपालको सहकार्यमा धुलिखेलमा दिगो स्वास्थ्य सेवा, सामुदायिक पूर्वाधार तथा नवीकरणीय ऊर्जासम्बन्धी परियोजनाको बुधबार उद्घाटन गरिएको छ। नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, जर्मन दूतावास तथा जर्मन विकास सहयोगका प्रतिनिधिहरूको सहभागितामा आयोजित कार्यक्रममा धुलिखेल खानेपानी आपूर्ति प्रणालीको पुनःस्थापना, स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन तथा सौर्य ऊर्जा परियोजना शुरू गरिएको हो।

कार्यक्रममा नेपालका लागि जर्मन राजदूत उडो युगेन भोल्ज, केएफडब्लु विकास बैंक, जीआईजेड नेपाल, पीटीबीका प्रतिनिधि, नेपाल सरकारका अधिकारी, अस्पतालका प्रतिनिधि तथा स्थानीय सरोकारवाला सहभागी थिए। धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम र जर्मन राजदूत भोल्जले पुनःस्थापित धुलिखेल खानेपानी आपूर्ति प्रणालीको संयुक्त रूपमा उद्घाटन गरे। नेपाल र जर्मनीको सहकार्यमा सन् १९९२ मा स्थापना भएको उक्त प्रणालीले २० हजारभन्दा बढी स्थानीय बासिन्दा तथा धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयलाई खानेपानी उपलब्ध गराउँदै आएको छ।

सेप्टेम्बर २०२४ मा आएको बाढी र पहिरोले उक्त प्रणालीमा क्षति पुर्‍याएपछि जर्मन सरकारले १ लाख २० हजार युरोसम्मको सहयोग उपलब्ध गराएको थियो। धुलिखेल नगरपालिकाको सह–वित्तीय सहयोगमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, स्थायित्वका लागि आवश्यक संरचनात्मक सुधार तथा प्रसारण पाइपलाइन मर्मत गरिएको बताइएको छ।

त्यस्तै, धुलिखेल अस्पतालमा अटो–क्लेभ प्रविधिसहितको नयाँ स्वास्थ्यजन्य फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्रको पनि उद्घाटन गरिएको छ। अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकान्त माकाजु र जर्मन राजदूत भोल्जले संयुक्त रूपमा उक्त केन्द्रको उद्घाटन गरेका हुन्। 

त्यसैगरी, कार्यक्रमका क्रममा धुलिखेल अस्पतालमा स्थापना गरिने ५०० किलोवाट क्षमताको सौर्य फोटोभोल्टिक प्रणालीको शुभारम्भ पनि गरिएको छ। जर्मन सरकारको वित्तीय सहयोगमा केएफडब्लु विकास बैंकमार्फत सञ्चालन हुने उक्त परियोजना सन् २०२६ भित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। ब्याट्री भण्डारण प्रणालीसहित जडान गरिने सौर्य प्रणालीबाट वार्षिक करिब ७७८ मेगावाट–घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ। यसले अस्पतालको वार्षिक ऊर्जा खर्च करिब ९५ लाख रुपैयाँले घटाउनुका साथै कार्बन उत्सर्जन न्यूनीकरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

जर्मनीले नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवा तथा दिगो आर्थिक विकासका क्षेत्रमा लामो समयदेखि नेपाललाई सहयोग गर्दै आएको छ। केएफडब्लु, जीआईजेड र पीटीबीमार्फत जर्मनीले नेपालको समावेशी तथा जलवायु उत्थानशील विकास प्रयासलाई निरन्तर सहयोग गरेको छ।