मानदेवकी छोरी विजयवतीले पलान्चोक भगवतीको मूर्ति स्थापना गरी शिलालेख पनि राख्न लगाएबाट विजयवतीको अरू विशेष विषय थाहा पाउन नसके तापनि त्यस समयमा शाक्त सम्प्रदाय लोकप्रिय थियो भन्ने थाहा हुन्छ।
विश्व सभ्यताको इतिहासमा पूर्वीय दर्शन, संस्कृति र सभ्यताको महत्त्वपूर्ण स्थान छ। सभ्यताको शिशु बिहानीमा मानवले जीवनयापन गर्ने क्रममा प्रकृतिसँग समाहित हुने सिलसिलामा धर्म र दर्शनको प्रादुर्भाव भएको मानिन्छ। प्रकृतिको अद्भुत क्रियाकलापलाई सभ्यताको प्रारम्भतिर मानवले अदृश्य शक्तिद्वारा सञ्चालित भएको ठान्यो र डर वा आस्थाको कारण प्रकृतिको पूजा र उपासना गर्ने थाल्यो। संसारको जुनसुकै धर्ममा पनि प्रकृतिलाई भगवान्को रूपमा पूजा गर्ने गरेको प्रमाण आजको समय पनि प्रस्ट देख्न सकिन्छ।
शांख्य दर्शनको मान्यता अनुसार संसार दुई शक्तिद्वारा सञ्चालित छ: पुरुष र प्रकृतिको संयोजन र वियोजनबाट नै सृष्टि र प्रलयको क्रियाकलाप निरन्तर चलिरहन्छ। कतिपय धार्मिक तथा दार्शनिक मान्यता पनि छ। भौतिक विज्ञानअनुसार पनि पदार्थमा निहित इलोक्ट्रोन र प्रोटोनद्वारा नै पदार्थ अस्तित्वमा आएको देखिन्छ। भौतिक विज्ञानले सृष्टिको मान्यतालाई जसरी व्याख्या गरे पनि सृष्टिको प्रथम शक्तिको रूपमा अर्थात् नारी शक्तिलाई प्राग मानवको चेतनाले स्वीकार गरेको पाइन्छ। उत्तर पुरापाषाणकालीन संस्कृतिका मानवले सिर्जना गरेको मानिएको भेनसको मूर्तिले यस तथ्यलाई बल दिन्छ।
सभ्यताको विकासको सिलसिलामा उच्च पुरापाषाणकालीन संस्कृतिपछिको सभ्यता मानिने आद्यइतिहास अर्थात् सिन्धु सभ्यतामा आउँदा मानवले शक्ति पूजाको परम्परालाई महत्त्व दिएको कुरा उत्खननबाट प्राप्त तथ्यहरूबाट पुष्टि भइसकेको छ। सिन्धु सभ्यताको उत्खननबाट प्राप्त ध्यानस्थ योगीको आकृतिलाई शिवजीको रूप मानिएको छ। अर्कोतिर, जहाँ शिव छन् त्यहाँ शक्तिको पूजा हुन्छ भन्ने मान्यताबाट पनि यस कुराले थप बल पाउँछ। सिन्धु सभ्यता पछिको सभ्यता मानिने वैदिक कालमा (ऋग्वेद) मा शक्ति पूजाको परम्पराले व्यापकता पाएको देखिन्छ। ऋग्वेदमा उषा, धावा (पृथ्वी) र वाग्देवीलगायत मातृदेवीको उल्लेख छ। वैदिक सभ्यतापछिको उपनिषद् कालमा शक्तिको पर्याप्त वर्णन छ। श्वैताश्वैतर उपनिषद्मा शक्तिबारे धरै कुराहरू लेखिएका छन्।
तर विचारणीय के छ भने शिवसँगै शक्ति (देवी) लाई प्राग ऐतिहासिक कालदेखि नै पुजिँदै आएको प्रतीत हुन्छ। शिवको उपासना लिंगको रूपमा गर्ने परम्परालाई अत्यन्त पुरानो मान्ने हो भने लिंगको साथ पुजिने योनीलाई शक्तिको प्रतीक मान्नुपर्ने हुन्छ। केन उपनिषद्मा रुद्रको साथमा हेमवतीको नाम उल्लेख छ। उपनिषद् कालयता नै शक्तिको स्वतन्त्र अस्तित्वको विकास भएको पाइन्छ। उपनिषद्ले प्रतिपादन गरेको सांख्य दर्शनले प्रकृतिलाई पुरुषको तुलनामा बढी क्रियाशील ठानियो र यिनै प्रकृतिको शक्तिरूपी देवीसित मेल देखाइयो र प्रकृतिबिना पुरुष निष्क्रिय छ भन्ने दर्शनको विकास भयो।
त्यसपछि महाकाव्यकाल तथा पुराणकालमा आएर यस भावनाको अझ विकास भयो। महाभारतको भिष्मपर्वमा युद्धमा विजय पाउनको लागि अर्जुनले श्री कृष्णको परामर्श अनुसार देवी दुर्गाको उपासना गरेका थिए। मार्कण्डेय पुराणमा महिषासुरमर्दिनी भगवतीलाई शिव, विष्णु र ब्रह्माको तेजबाट बनेकी भनेर लेखिएको छ। यसरी प्राचीन कालदेखि नै नारी अर्थात् शक्ति पूजा निरन्तर चल्दै आएको कुरा विभिन्न स्रोतहरूबाट पुष्टि हुन्छ। नारी स्वयम् स्रष्टा र सिर्जना हुन् भन्ने वास्तविकता प्राग मानवले मनन गरेको देखिन्छ। नारीको कोखबाट सिर्जित शिशु जन्मको दृश्यलाई अदेभूत यथार्थ मान्दै प्राग मानवको आद्य चेतनाले स्वीकार देखेको देखिन्छ।
नेपालमा पनि शाक्त दर्शनको प्राचीनता हेर्दा अभिलेख्य साक्षबाहेक साहित्यिक स्रोतहरूको आधारबाट हेर्दा पनि लिच्छवि कालभन्दा पनि पर अर्थात् नेपालको पौराणिक कालसम्म पुग्न सक्छौँ। काठमाडौँ उपत्यकाको उत्पत्तिबारे विभिन्न पौराणिक साहित्यको आ–आफ्नै कथन छ। प्रारम्भिक लिच्छवीकालको मानिने कीर्तिपुरको सप्तमातृका, चाङ्गुको सप्तमातृका, पाटन च्यासलहिटीको गजलक्ष्मी, बल्खुका सप्तमातृका, हौगलबहालको मातृकालगायत मूर्तिहरूले नेपालमा शाक्त दर्शनको अति प्राचीन परम्परालाई अभिलेख्य साक्षले प्रमाणित गरेका छन्। लिच्छवीकालका थुप्रै अभिलेख्य तथा मूर्ति साक्षहरूको अध्ययनबाट नेपालमा शाक्त पूजाको परम्परा र त्यसले सामाजिक जीवनमा पारेको प्रभाव जान्न सकिन्छ।
मानदेवकी छोरी विजयवतीले पलान्चोक भगवतीको मूर्ति स्थापना गरी शिलालेख पनि राख्न लगाएकी थिइन्। यस आधारबाट विजयवतीको अरू विशेष विषय थाहा पाउन नसके तापनि त्यस समयमा शाक्त सम्प्रदाय लोकप्रिय थियो भन्ने थाहा हुन्छ। हाँडीगाउँमा अवस्थित संवत् ३१ को अंशुवर्माको अभिलेखमा षष्ठी देवी मन्दिरको लागि केही रकमको व्यवस्था गरेको वर्णन परेको छ। प्राचीन नेपालको धार्मिक सम्प्रदायमा शाक्त धर्मको अस्तित्वबारे लिच्छवीकालीन मुद्राहरूबाट पनि थाहा हुन्छ। त्यसैगरी, त्यस कालमा शाक्त सम्प्रदायको विकास भएको तथ्यलाई मुद्रामा अंकित गरिएका देवी प्रतिमा तथा सिंहाकृतीले प्रस्ट्याएको छ।
मल्लकालमा आएर नेपाली समाजमा शाक्त धर्म र दर्शनले व्यापकता पाएको पाइन्छ। सबैभन्दा मुख्य त गुणकामदेवले कान्तिपुर शहरको स्थापना गरेको विषय मननीय छ। भाषा वंशावली अनुसार यिनले श्मशान घाट बनाएर (पूर्णवती) खड्गाकार यस कान्तिपुर शहरलाई कान्तिश्वर महादेवको नामले कान्तिपुर नामाङ्करण गरेको आदि वर्णन छ। भाषा वंशावलीमा यिनले कान्तिपुर शहर बसाई बीचमा चण्डेश्वरी, पूर्वमा लुमडी, पश्चिममा नवदुर्गा कंङ्केश्वरी र दक्षिणपट्टी देशको रक्षार्थ मुख्य क्षेत्रपाल, पचली भैरव, उत्तरतिर इन्द्रायणी, मनमैजू पीठ र विजयेश्वरी पनि स्थापना गरे भनिएको छ। मल्लकालका राजाहरू प्राय शैव र शाक्त सम्प्रदायका अनुयायी हुन्थे। रानी देवलदेवीले तुलजा भवानीलाई काठमाडौँमा स्थापित गरेकी थिइन्।
मल्लकालका प्रतापी राजा जयस्थिति मल्ल मानेश्वरीका परमभक्त थिए। उनले श्री मानेश्वरीवरलब्धप्रसाद उपाधि लिएका थिए। यसैताका कंकेश्वरी भगवती पनि निकै प्रख्यात थिइन्। नेपाल संवत् ५७ तिरका फर्पिङ भेगका स्थानीय शासक जयजैत्रसिंह देवले श्री श्रीझंकेश्वरीवरलब्धप्रसाद उपाधि लिएका थिए। शाहकालमा आएर भने शाहकालीन राजाहरूले शक्ति पीठमा पूजा गर्ने र पञ्चवली दिनेलगायत कार्यमा समाहित हुँदै शाक्त दर्शन र त्यसको पूजा परम्परा अंगीकार गरेको देखिन्छ। शक्ति पूजाको परम्परामा कुमारी पूजाको पनि विशेष स्थान छ। कन्याकुमारीलाई जीवित देवीको रूपमा पूजा गर्ने प्रचलन यहाँको नेवारी समाजमा यद्यपि प्रचलनमा रहेको देख्न सकिन्छ।
वास्तवमा हाम्रा पूर्वजहरूको चिन्तन र मनन बाट नै धर्म र संस्कृतिका दार्शनिक पक्षहरूका विकास भएको देखिन्छ। अदृश्य शक्तिलाई उपासना गर्ने क्रममा नै बहुदेववादको अवधारणाले ठाउँ पाएको देखिन्छ। आदि-प्रकृतिरूपा शक्तिको मान्यता र दार्शनिक पक्षले शक्ति र शिवको एकात्मकताको प्रतिस्थापन गरेपछि हिन्दू समाजमा शक्तिको विशेष महत्त्व बढ्दै गएको देखिन्छ। यसमा सांख्य दर्शनको चिन्तन परम्पराले निकै बल दिएको देखिन्छ। देवी देवता र प्राणी मात्रलाई जन्म दिई शक्तिको सञ्चार गर्ने हुनाले महिमामयी शक्तिलाई प्रकृति भनी स्वतन्त्र रूपमा कल्पना गरिएको हो। तन्त्रमन्त्रमा विश्वास राख्नु शाक्त अनुयायीहरूको प्रमुख विशेषता हो। यस मार्गका अनुयायीहरूलाई कौल भनिन्छ।
कौलहरू स्त्रीरूप ईश्वरलाई नै एक मात्र परमेश्वर मान्छन्। नौ वटा योनीहरूबीच एक योनीको चित्र बनाई त्यसको पूजा गर्नु कौलहरूको लागि आवश्यक छ। केही थरी कौलहरू जीवित नारीकै योनीको पूजा गर्थे तर हाल भने यो प्रचलन हटिसकेको छ। नेपालमा शक्ति पूजाको परम्परामा अष्टमातृकाको पनि पूजा गरिँदै आएको पाइन्छ। खासगरी ब्रम्हायणी, वैष्णवी, महेश्वरी, एन्द्री, कौमारी, वाराही, चामुण्डा र महालक्ष्मी अष्टमातृका अन्तर्गत पर्छन् भने काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धुमावती, बगला, कमला र माताङ्गीलगायत दशमहाविद्याको पूजा अर्चना गर्ने परम्परा खासगरी ललितपुरमा रहेको देखिन्छ। शाक्त धार्मिक सम्प्रदायमा नवदुर्गाको महत्त्वपूर्ण छ। नवदुर्गा, भगवती दुर्गा वा कालीका नौ वटा रूपहरू (शैलपुत्री, व्रम्हचारिणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यानी, कालरात्री, महागौरी र सिद्धिदात्री) को पूजा विभिन्न शक्ति पीठहरूमा गर्ने गरिन्छ।
अर्धचन्द्र मुकुट धारण गर्ने सिंहवाहिनी उर्वरताकी देवी दुर्गा हुन्। शक्ति तत्त्व सृष्टि तत्त्व भित्रको मूल तत्त्व हो। बिनाशक्ति भौतिक तत्त्व जड हुन्छ। चैतन्य शक्ति रूपाद्वारा नै प्रकृति जीवन्त छिन्। हाम्रा दर्शनशास्त्रले चैतन्यरूपा प्रकृतिविनाको पुरुषतत्वलाई जड मानेको छ। अद्वैत वेदान्तले ब्रम्हसिद्धिले गर्दा माया तत्त्वको आश्रय लिनु अनिवार्य हुन्छ र सृष्टिको क्रमलाई व्याख्या गर्दा निर्गुण ब्रम्ह पनि सगुणमा रूपान्तरित हुनुपर्छ। यस कारण द्रव्य जगतकी आदि कारण बनेकी मूल प्रकृतिको विशिष्टतालाई कुनै न कूनै रूपमा स्वीकार गर्नैपर्छ।
शाक्त दर्शनको पृष्ठभूमिमा नेपाली हिन्दू धर्मालम्वीको ठूलो चाड दशैँ मनाउँदै आएको पाइन्छ। असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिने दशैँ शक्तिरूपा भगवतीले अत्याचारी दानवलाई वध गरेको खुसीमा मनाइन्छ।
शैव दर्शनको तान्त्रिक परम्परामा 'अ' र 'हं'ले प्रकृति र पुरुषको सम्बन्धलाई व्यक्त गर्छ। अ भनेको स्त्री र हं भनेको परुष हो। अ र हंको संयोजन र वियोजन अर्थात् अहंकारबाट नै सृष्टिको सिर्जना र विनाश हुन्छ भन्ने दार्शनिक मान्यता रहेको छ। बौद्ध दर्शनको बज्रयानी परम्परामा प्रज्ञोपाय अर्थात् शून्यता र करुणाको दर्शनलाई यता शाक्त दर्शनबाट हेर्न सकिन्छ । यिनै सकारात्मक र नकारात्मक अर्थात् स्त्री तत्त्व र पुरुषत्वको संयोजन र वियोजनबाट नै सृष्टि र प्रलय हुन्छ भन्ने दार्शनिक मान्यता छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
