‘पिक सिजन’मै पर्यटन क्षेत्रमा लाग्यो ग्रहण

पर्यटनको पिक सिजनमा भएको जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीले घुम्न आएका पर्यटक धमाधम फर्किन थालेका छन्। नेपाल आउने योजना बनाइरहेकाले पनि बुकिङ रद्द गरिरहेका छन्।

काठमाडौँ— ठमेलको च्याक्सीबारीस्थित एक होटलअगाडि बिहीबार दिउँसो ११ बजे एउटा बोलेरो रोकिन्छ। लाङटाङ पदयात्राबाट फर्किएका पाँचजना विदेशी पर्यटक र दुई नेपाली पथप्रदर्शक गाडीबाट ओर्लिन्छन्।

लाङटाङपछि त्रिशूलीको भ्रमण सकाएर पोखरा जाने उनीहरूको योजना थियो। तर आन्दोलनका कारण तीन दिन त्रिशूलीमै रोकिनुपर्‍यो। मुलुकमा आन्दोलन चर्किएपछि न त उनीहरू आनन्दले बस्न सके, न गन्तव्यमा पुग्न नै। “त्रिशूलीपछि पोखरा गएर हवाईजहाजबाट काठमाडौँ फर्कने योजना थियो। तर आन्दोलनले गर्दा पोखरा जान पाइएन, उतै धेरै बस्नु पर्‍यो,” पथ प्रदर्शक आकृष्ट रेग्मीले भने।

आन्दोलनका कारण सवारी साधन सञ्चालन नहुँदा काठमाडौँ फर्किन पनि समस्या भएको थियो। बल्लतल्ल निजी गाडी व्यवस्थापन गरे काठमाडौँ आइपुगेको रेग्मीले बताए।

null

केही दिनअघि मात्रै अमेरिकाकी सेरन श्रीमान् र तीन छोराछोरीसहित नेपाल आएकी छन्। लामो समयदेखि नेपाल घुम्ने योजना बनाएका उनीहरू बल्ल यसपटक आएका थिए, तर राम्रोसँग घुम्नै पाएनन्। 

उनीहरू लाङटाङको यात्रा गरेर फर्किएका छन्। अझै घुम्न मन लागेको भए पनि अहिलेको परिस्थितिका कारण फर्किनुपरेको उनी बताउँछिन्। “मलाई अझै घुम्ने रहर छ, तर स्थिति यस्तो छ। हामी धेरै डराएका छौँ,” उनी भन्छिन्, “त्यसैले आफ्नो सुरक्षाका लागि छिट्टै फर्कंदैछौँ। अर्काे पटक अवश्य आउने छु।”

null

बिहीबार दरबारमार्गस्थित प्रहरी प्रभागको भग्नावशेष नियालिरहेका भारत तामिलनाडुका सुप्रमणियम केही साताअघि मात्रै काठमाडौँ आएका थिए। उनीसँग अन्य तीन साथी पनि पशुपति दर्शन गर्न आएका छन्। गत मंगलबार नै घर फर्कने तरखरमा रहेका उनीहरू विमानस्थल बन्द भएपछि फर्कनै पाएनन्।

अहिले विमानस्थल खुले पनि अब कहिले फर्किने टुंगो नभएको उनी बताउँछन्। नेपालको यो स्थितिबाट आफूहरू त्रसित भएको पनि उनले बताए। “हामी ठमेलकै होटलमा बसेका छौँ। होटलहरू जलाउँदै आउँदैछन् भन्ने सुनेपछि हामी बसेको पनि जलाउलान् भन्ने लागेको थियो। धेरै डर भयो,” उनी भन्छन्।

null

अमेरिकी नागरिक रायन तीन महिनाअघि काठमाडौँ आएका हुन्। उनको यो पहिलो यात्रा हो। बिहिबार ठमेलमा भेटिएका उनी नेपालको अवस्थाबारे जानकार रहेको र त्रसित महसुस गरेको बताउँछन्। 

आवश्यक सामग्री किन्न भौतारिनुपर्दा समस्या भएको पनि रायन बताउँछन्। “मलाई अत्यावश्यक सामग्रीहरू किन्नु छ, तर सबै पसल बन्द छन्,” उनले भने, “हिजोदेखि म पसल खुल्छ कि भनेर भौतारिइरहेको छु।”

null

दरबारमार्गमा भेटिएकी अमेरिकी पर्यटक कृष पनि आफूले असुरक्षित महसुस गरिरहेको बताउँछिन्। जतिसक्दो चाँडो आफ्नो देश फर्किने उनले बताइन्। उनी एक साताअघि मात्रै नेपाल आएकी थिइन्।

एकल यात्रामा आएकी उनी तीन दिनदेखि होटलमै छिन्। “होटलमै रहँदा पनि मलाई सुरक्षित महसुस भएन। मैले भिडियोहरू हेरेँ, जहाँ मानिसलाई गोली हानेर क्रुरतापूर्वक मारिएको थियो,” उनी भन्छिन्, “अहिले नेपाल बस्न सुरक्षित लागेन, त्यसैले फर्किने योजना बनाउँदैछु।”

यद्यपि, फर्किनलाई टिकट नपाइरहेको उनले बताइन्। विमानस्थल खुले पनि सीमित उडान र बढी भीडका कारण टिकट पाउन मुस्किल रहेको उनको भनाइ छ। पहिलो चरणमा काठमाडौँ घुमेकी उनी मनाङ, मुस्ताङ पनि जाने योजनामा थिइन्।

null

बुकिङ धमाधम रद्द
जेनजी आन्दोलनको गहिरो असर पर्यटन क्षेत्रमा परेको पर्यटक व्यवसायी शालिकग्राम अर्याल बताउँछन्। यातायात, सुरक्षा र सञ्चारमा देशभर आएको अवरोधले विदेशी पर्यटक त्रसित छन्। कोही बसाइ छोट्याएर फर्किइरहेका छन्, कोही टिकट नपाएर होटलमै छन्।

नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म (भदौ १६–मंसिर १५) पर्यटक आउने दोस्रो सिजन मानिन्छ। यो सिजनमा नेपाल भ्रमणका लागि ट्राभल एन्ड टुर कम्पनीमार्फत सम्पर्क गरेकाहरूले आफ्नो योजना धमाधम रद्द गरिरहेका छन्।

आफ्नो संस्थामार्फत नेपाल आउन चाहेका करिब ६ समूहका २५ देखि ३० जनाले योजना रद्द गरेको उनले जानकारी दिए। “मलाई नै क्षति पुगिसक्यो, हजारभन्दा बढी पर्यटन व्यवसायीको कति बुकिङ रद्द भयो होला!” उनी भन्छन्, “हिमाल चढ्न, संस्कृतिसँग घुल्न आएका पर्यटक होटलको झ्यालबाट आन्दोलनको धुवाँ र सडकमा देखिने प्रहरीको भीड हेरेर बस्न बाध्य छन्। यसको प्रत्यक्ष असरमा पर्यटक क्षेत्र नै पर्छ।”

null

होटल व्यवसायी नवराज गिरीले पनि आन्दोलनको प्रत्यक्ष असर पर्न थालेको बताए। मंगलबारसम्म आफ्नो होटलका पूरै ३१ वटा कोठा भरिभराउ भएकोमा, अहिले एकाएक खाली हुन थालेको उनी बताउँछन्। उनको होटलमा अधिकांश विदेशी पाहुना थिए। “धेरै पर्यटकहरू देश फर्कन निस्किसके। अहिले त होटल नै खाली छ। केही दिनपछि आउने पर्यटकहरू पनि अन्योलमा छन्,” उनी भन्छन्।

स्थानीय व्यवसायी पनि मारमा
रामबहादुर तामाङ आशा बोकेर ठमेल चोकमा खाली रिक्सा लिएर अडिएका थिए। रामेछापका तामाङ ठमेलमा विदेशी पर्यटकलाई घुमाउँछन्। त्यसैको आम्दानीबाट सातजनाको परिवार पालिरहेका छन्। 

पर्यटकहरू सडकमा निस्किन छाडेसँगै उनको रिक्सा चलेको छैन। तीन दिनदेखि कामविहीन छन्। “नेपाली होस् कि विदेशी, अब बाटोमा मान्छे नै हिँड्दैन। तीनदिन भइसक्यो, रिक्सा चलाको छैन। आज पनि पर्खिरहेको छु, तर रोडमा निस्किन दिएको छैन,” उनले भने। 

null

ठमेलमै ह्यान्डीक्राफ्ट व्यवसाय सञ्चालन गरिरहेका रमेश परियार व्यापार व्यवसायमा असर परेको बताउँछन्। पर्यटक भित्रिने समयमा आन्दोलन र मानवीय क्षतीसमेत हुँदा व्यापारमा असर पर्ने उनको भनाइ छ।

“हाम्रो व्यवसायको ९० प्रतिशत ग्राहक विदेशी हुन्। यो सिजन हाम्रो व्यापार हुने समय हो। तर नेपालको अवस्था देखेर विदेशी आउन चाहँदैनन्,” उनी भन्छन्, “आएका पनि बाहिर निस्किन सकेका छैनन्। मुलुकमा जे भए पनि मारमा पर्ने त व्यवसायी नै हो।”