...अनि खोइ त ‘सरी’ भनेको?

दलहरूमा आबद्ध युवाले पनि पुस्तान्तरणको तर्क गर्ने बेलामा उल्टै उनीहरू ‘झोले’ नारामा उत्रिएका देखिए, अथवा तैँ चुप मैँ चुप बनिरहे।

काठमाडौँ– “म तपाईंको जेनेरेसनको फ्रस्टेसन, एंगर बुझ्छु। यसलाई कम गर्नका निम्ति मेरो ठाउँबाट जति काम गर्नुपर्थ्यो, त्यो गर्न नसकेकोमा सबैभन्दा पहिला त माफी माग्छु।”

शुरूमै भनिहालौँ, जम्मा एकजना गगन थापा देखिए। कुनै दल वा व्यक्तिको पक्षपोषण नगरिकन विवेक र संवेदनाको डिलमा टेकेर कसैले आफ्नै विगततिर हेरेर ‘सरी’ भन्यो भने त्यो गगनले भनेका छन्। यसका लागि थोरबहुत धन्य छन् गगन ! तर, कुरो यत्तिकैमा टुंगिँदैन।

बर्षौंदेखि उकुसमुकुस बनेर बसेको कुशासन र भ्रष्टाचार विरुद्धको अभियानमा शुरू भएको जेन–जी आन्दोलनले लिएको आकारसँगै राज्यसत्ता उलटफेरसहितका हेराफेरि देखिने क्रम जारी छ। स्वतस्फुर्त शुरू भएको जेन–जी अभियानलाई कसैले बाहिरी जगतका ‘कलर रिभोल्युसन’ र कसैले ‘मनसुन रिभोल्युसन’सँग तुलना गरे पनि यो विशुद्ध नेपाली माटोले उब्जाएको र विशेषत: नेपालकै राजनीतिक बेथितीले मलजल गरेको अभियान हो भनिएमा अन्यथा हुने छैन। बर्षौदेखि ओली–देउवा–प्रचण्ड आलोपालोमा पुष्पित–पल्लवित बिउबिज हो जेन–जी।

काठमाडौँबाट शुरू भएर देशव्यापी भएको जेन–जी अभियानसँग जोडेर बांग्लादेश, श्रीलंका वा सिरियाको जस्तो ‘हविगत’ यहाँ सम्झने–सम्झाइने गरेको छ। तर, यो कतैको प्रभावभन्दा बढी यहीँका ‘ग्राउन्ड–जिरो’ नेताहरूले जन्माएको र मलजल गरिदिएको क्रान्ति हो भन्ने भुल्न मिल्दैन। सिंगो एउटा होइन, दुइटा होइन, पुस्ता–पुस्तासम्म आलोपालो राजनीति गर्ने हाम्रा राजनेताहरूले दिएको र देखाएको उपलब्धि भनेको केवल राजनीतिक परिवर्तन मात्रै हो। १४/१८ वर्ष जेल बसेको योगदान वा १० वर्ष सशस्त्र विद्रोह गरेर परिवर्तन ल्याएको जस्ता फुँदाहरू त्यही आफू र आफ्ना कोटरीका निम्ति मात्रै ‘परिवर्तनशील’ (नेपो–बेबी ट्रेन्ड) बनिरहे।

पुस्तौंदेखि राजनीतिमा केवल सत्ता हस्तान्तरण मात्रै उपाय बन्यो। आलोपालोका नाममा उही र उनै अनुहार सधैँसधैँ परिणामै देखाउन नसक्ने ‘सत्ता’ बनिरहे। दलहरूमा रहेको युवा पुस्ता पनि पुस्तान्तरणको तर्क गर्ने बेलामा भने बरु ‘झोले’ नारामा उत्रिए, अथवा तैँ चुप मैँ चुप बनिरहे। सिंगो नागरिक विवेक र चेतनामाथि राजनीतिक तह–तप्काबाट जे-जसरी निरन्तर अवमूल्यन भइरह्यो, यसको परिणाम आज देखिएको हो।

यहाँ अदालतमा राजनीतिक तराजुमा जोखिएर न्यायकर्मीहरू पदासीन हुँदै जान थाले। नियत र आस्थाका भरमा न्याय समेत ‘गैर–न्याय’ बन्दै गयो। आफ्ना भाइभतिज वा साली–भाउजूको नातावाद–कृपावाद पदस्थापन र भागबण्डाको आलोपालो शाशकीय व्यवस्थापनले जनसाधारणलाई केही दिन सकेन, बरु नसोचेको निराशा र कुण्ठा मात्रै फैलाउने काम गर्‍यो।

फेरि गगनतिरै लागौँ जसले आँट गरेरै हिजोका कुकर्महरूप्रति ‘सरी’ भन्न सकेका छन्। उही काँट, खेमा र पुस्ताका (उमेरमा ५० पारिका युवाहरू) विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, योगेश भट्टराईहरू हेरीकन गगनले गरेको तत्कालको ‘आत्मबोध’ उल्लेख्य छ, अनुकरणीय छ। तर, यसो भन्दैमा हिजो र अस्तिका दिनमा गगनले देखाएको तिलस्मी व्यवहारको पनि मिमांसा हुनैपर्छ जसमा बुँदागत रुपमै उनले दोहोर्याएर ‘सरी’ भन्न सकून्।

उदाहरण सम्झीहेर्दा, अस्ति भर्खरै आफ्नै कांग्रेसीजन अफताब आलमका बारेमा गगनले किन ठाडो प्रश्न गर्न चाहेनन्? नक्कली शरणार्थी निर्माता बालकृष्ण खाँडलाई पुनरावेदनमा लैजानुपर्छ भनेर गगनले किन चर्केर बोल्न सकेनन्? अघिल्लो दिन नैतिक–चारित्रिक आधारमा उनै रामहरि खतिवडालाई संसदको राज्य व्यवस्था समितिबाट राजीनामा गराएर भोलिपल्टै संसदीय सुनुवाइ समितिमा निर्बिरोध बनाइँदा गगन किन फेरि तैँ चुप मैँ चुप रहे? टुरिस्ट भिसा प्रकरणमा ठाडै मुछिएको देखिने त्योबेलाका गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नमा उनले ‘लबिइङ’ किन गर्न सकेनन्? कुलिङ–पिरियडको चर्को किस्सामा रुमालले मुख छोपेर हिँड्ने अवस्थामा पुगेका मुख्यसचिव एकनारायण अर्यालको मनोमानीमा किन प्रतिवादी बन्न सकेनन् गगन? 

अझ थपौँ– भ्रष्टाचारका राष्ट्रनायक बनेर चिनिएका खुमबहादुर खड्काको सालिकमा माल्यार्पण गर्न उनी किन हतारिएर पंक्तिबद्ध बने?  समस्या के भने हरेक प्रकरणमा ‘नो इफ, एन्ड बट— दाजु/भाउजू जो जता परे पनि छानबिन हुनुपर्छ’ भनेर एउटा अमूर्त र थेगो जस्तो वाक्यांश मात्रै बोलिरहने तर आफैंतर्फ फर्किएर प्रश्न नगर्ने मामलामा अरूजत्तिकै गगन पनि देखिएका छन्। अहिले पनि महामन्त्री गगन थापा देशभन्दा बढी आफ्नै दलको चिन्तामा डुबेका देखिन्छन्।

गायक अमृत गुरुङले भनेझैँ ‘देश बनाउन होइन, पार्टी फेरि उभ्याइ छाड्ने’ प्रण लिएर गगनसमेत अघि सरेका छन्। यो अर्को नमिल्दो घडीको अमिल्दो रायविचार मात्रै हो। बरु उनले आफ्नो साथमा तरुन दल, विद्यार्थी संघ सहितका संघैसंघहरू लिएर गौशालाको प्रहरी चौकी सरसफाइ गरिदिए हुन्थ्यो। पार्टी उभ्याइछाड्ने यो हतारो कि? ‘८४ मा देखाइदिन्छौं’ भन्ने आत्मरती सहितको स्लोगन ८२–फागुनमै आएकाले पो यो हतार गरिएको हो कि? 

जनसाधारणले पनि स्वभावत: त्यतैपट्टि फर्केर प्रश्न गर्ने हो, जसबाट जवाफको अपेक्षा राख्न सकिन्छ। हिजोसम्म प्रश्नोत्तर गर्न सक्ने तर, आज भगौडा हैसियतमा पुगेका युवानेता प्रदीप पौडेलको हविगत पनि उस्तै बनेको छ जो ‘सरी’ भन्ने आँट अझै देखाइरहेका छैनन्। यसपटक प्रदीप झनै ‘बिचरा’ देखिएका छन् जो आफूले पाएको मौकामा पनि मिडियाबाजी र शिलालेखमा नाम लेखाउने हतारोमै रमाइरहे।

प्रश्न न उत्तरको दर्जामा रहेका सूर्य थापा, प्रदीप ज्ञवाली वा विष्णु रिमालका बारेमा त के चर्चा गरिरहनु? जो कि त ‘म झोले हुँ’ भनेर अन्धबेगमा कुदिरहेका थिए, अथवा ‘मार्क्सले के भनेका थिए वा थिएनन्’ भनेरै आत्मरतिमा रमाइरहेका भेटिन्थे। यी कोही पनि आफ्नो विगतको गल्ती–त्रुटीमा ‘सरी’ भन्ने लाइनमै छैनन्। अझ एमालेका महासचिव शंकर पोखरेलको भनाइ आइसकेको छ— “नेतृत्वको आलोचना नगर्नुहोला...।”

यसरी निराशाको अन्तर्य एउटा वा दुइटा मात्रै छैन। ‘एनिमल फार्म’ शैलीमा केही आफ्नालाई मात्रै न्याय र अधिकार मिल्ने तर अरु भने अझै अनकन्टार जीवन जिउन बाध्य हुने आम अवस्थाका बारेमा नेतागणले कहिल्यै सोच्नै भ्याएनन्। लेखक जर्ज अरवेलले ‘सबै जनावर बराबर छन् तर, केही जनावर अरुभन्दा बढी बराबर छन्’ भनेर त्यो बेलाको सोभियत सत्ता, साम्यवादी दर्शन र कम्युनिष्टको द्वैध चरित्रलाई इङ्गित गरे पनि यो मन्त्र सदाबहार देखिन्छ। सन् १९४५ मा प्रकाशित अरवेलको ‘एनिमल फार्म’ले हरेक समय र अवस्थाको वाद, सिद्धान्त र आदर्शलाई उसैगरी सम्झाउने काम गरेको छ, जसरी अहिले ओली–देउवा राज्यसत्ताको हुँकार तथा मनोमानिल्यपूर्ण घटनाक्रमलाई पनि सम्झाइरहेको छ।

हामीकहाँ परिवर्तन र आन्दोलनहरू सधैंसधैं भैरहे। तर, यस्ता आन्दोलनले ल्याउने परिवर्तनहरू भने देखावटी रहिरहे, यस्तो परिवर्तनको अर्थ त्यति रहेनछ भन्ने अन्तर्य बुझ्न नसकेकै कारण आजको यो अवस्था आएको हो। विवेकको ठाउँमा दम्भ र अहंकार मात्रै बोकेर हिंड्ने नेताहरू ‘म नै राज्य हुँ, म मात्रै शासन हुँ’ भनेर जेजसरी हिडिरहे, यसले निम्त्याउने दुष्परिणाम अवश्यम्भावी त थियो नै, तर यसरी र यति चाँडै यो रुपमा आइहाल्छ भन्ने थिएन। सेवा बन्नुपर्ने राजनीति ब्यापार बनेपछि र राजनीतिज्ञले आफूलाई मात्रै बुद्धि–विवेवको मतियार बनाएपछिको परिणाममा देखा परेको आजको अवस्था ‘न भूतो न भविष्यति’झैं बनेको छ। 

शिवपुरी वा भैरवनाथमा छद्म हैसियतमा बसेका नेताहरूको पाको पुस्ताका बारे कुरै नगरौँ जसको जीवनमा अहम् र दम्भ बाहेकको अरु गुणदोष केही पनि छैन। अनि, योबेला बाहिर आउनेहरूले कहिले भिडिओ सन्देश र कहिले पार्टी विज्ञप्तिमा ‘आदर्श र नैतिकताको सन्देश’ नदिएकै बेस हुने थियो। किनभने फेरि पनि उनै नेता गगन थापाको लोकप्रिय थेगो ‘नो इफ, नो बट’(किन्तु परन्तु)को प्रयोग गर्दै पत्रकार अखिलेश उपाध्यायको संजाल धारणा पढिहेरौँ— “भूमिगत रूपमा आफ्नो घिनलाग्दो विगतको बचाउ गर्नुको सट्टा, कम्तीमा खुलेआम र स्पष्ट रूपमा भन्नुहोस्— ‘माफ गर्नुहोस् ! मैले गल्ती गरेँ। बाँकी नेपाली जनताको हातमा।”

तर, आफूलाई धर्मगुरु भएको हेर्ने प्रयास नगर्नुहोस्। नेपाली जनताले तपाईंको बकवास १० लाख पटक सुनेका छन्। कुरा यत्ति हो। साहित्यकार वैरागी काइला लेख्छन्:
मलाई दुःख लाग्छ
अझै सुत्दछन् गनेउलाझैँ गुजुल्टिएर
आत्म–पराजित मानिसहरू
धरतीको अस्वस्थकर घरहरूमा
अनि यति अबेरसम्म?