शवको हड्डी बिक्री प्रकरण: 'मोक्षको ढोका'मा जब पैसाको धुवाँ उड्छ

सामाजिक सञ्जालमा हल्ला चल्यो– शवको मासुसमेत बेचिन्छ रे। टेलिभिजनमा समेत यस्तै समाचार बजे। तर प्रहरी अनुसन्धानले प्रष्ट पारेको छ– मासु बिक्री भएको छैन, त्यहाँ खरानी र हड्डी किनबेच भएको थियो।

काठमाडौँ– स्थान: बागमती किनार, पशुपति आर्यघाट। चिता नम्बर २ मा जलिरहेको थियो काभ्रेका रामबहादुर शाहीको शव। धुवाँले आकाश ढाकिएको थियो, मलामीहरू आँसुमा डुबिरहेका थिए।

तर श्रद्धा र संस्कारको यो वातावरणमा अचानक एउटा दृश्य देखियो— घाटे ब्राह्मणले चिताबाट केही अवशेष निकाल्दै कसैलाई दिइरहेका थिए। मृतकका भतिज नवीन खड्गीले उनीहरूको व्यवहार शंकास्पद देखेपछि प्रश्न गरे। शुरूमा कोइला-खरानी मात्र हो भनेर टारियो। तर केरकार बढेपछि वास्तविकता खुल्यो।

यसरी उजागर भयो एउटा घटना जसले परिवार मात्र होइन, सम्पूर्ण समाजलाई हल्लाइदियो।

अफवाहको आगो
सोसल मिडियामा घटनाका दृश्यहरू छयापछ्याप्ती फैलिए। भनियो, पशुपतिमा शवको मासु र हड्डी किनबेच हुन्छ।

प्राइम टाइम्स टेलिभिजनको रिपोर्टलाई युट्युबमा राख्दा शीर्षक राखिएको थियो- दाहसंस्कारका लागि पशुपति आर्यघाटमा पुर्‍याइएको शवबाट मासु निकालेर गायब, कसले खान्छ मान्छेको मासु?

सगरमाथा टिभीको शीर्षक थियो- जल्दाजल्दैको चिताबाट औँलाको टुप्पो गायब! पशुपति आर्यघाटमा शवको हड्डी किन्नेलाई खोज्दै प्रहरी!

एउटा युट्युब च्यानलमा हेडलाइन र थम्बनेलमा लेखिएको थियो- पशुपति काण्ड: ५०० मा लाशको डिल, मरेको मान्छेको मासु किनबेच। अर्कोमा लेखिएको थियो- पशुपतिमा मान्छेको मासु र हड्डी बेच्नेले खोल्यो रहस्य, कहिलेदेखि भयो मान्छेको मासु बिक्री

यसले आम मानिसको मनमा प्रश्न थप्यो — के साँच्चिकै शवको मासु बेचिन्छ? कसले गर्छ यस्तो? कुन प्रयोजनका लागि?

शवको अंग चोरी वा बिक्री गरेमा कस्तो कारबाही गर्ने भन्ने नेपालको कानूनमा स्पष्ट व्यवस्था नभएकोले प्रहरी पनि शुरूमा अन्यौलमा पर्‍यो। मृतकका आफन्त र मलामीहरूले शव जलाउने काममा संलग्न घाटे ब्राह्मण ६१ वर्षका गणेशप्रसाद भन्ने जीवनाथ ढकाल र उनका सहयोगी भनिएका २४ वर्षका विनायक मैनालीलाई शवको अवशेष निकाली बिक्री गरेको आरोप लगाएका थिए।

त्यसैले प्रहरीले शुरूमा यी दुवैलाई अभद्र व्यवहार अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्यो। 

‘हड्डी र खरानी मागे, ४०० रुपैयाँ दिए’
अनुसन्धानको शुरूआत उनै दुई जनाबाट भयो। उनीहरूले जसलाई शवका अवशेष दिएका थिए, ती व्यक्ति त्यहाँबाट भागिसकेकाले पत्ता लागिसकेका थिएनन्।

खोज्दै जाँदा घाटे ब्राह्मण ढकाल विगत ४० वर्षदेखि पशुपति क्षेत्र विकास कोष अन्तर्गतको आर्यघाट सेवा केन्द्रमा शव जलाउने काम गरिरहेको भेटियो। प्रहरीसँग बयानमा उनले भने, "साउन २३ गते शुक्रबार अन्दाजी २ बजे कार्यालयले २ नम्बर चितामा लाश जलाउने पालो आएको जानकारी दियो। मैले चिता तयार गरी हिन्दू धर्मअनुसार शव जलाइरहेको थिएँ।"

ढकालका अनुसार शव जल्दै आधाजस्तो भइसकेको अवस्थामा बागमती खोला नजिकै उभिएका एकजना अपरिचित व्यक्तिले उनलाई हातको इशाराले बोलाए। "किन?" उनी नजिक गएर सोधे। 

"मलाई पूजा गर्नको लागि हड्डी र खरानी चाहिएको थियो," त्यो व्यक्तिले भन्यो। 

"हुन्न, त्यसरी हड्डी र खरानी दिन मिल्दैन। मलाई मलामीहरूले गाली गर्दैनन्? कुट्दैनन्?" उनले इन्कार गरे। 

"लुकाएर निकालेर मलाई दिनु न," उसले भन्यो।

अदातलमा पुगेको अभियोगपत्रमा भएको उनको बयानअनुसार त्यसपछि त्यो व्यक्तिले उनको हातमा जबर्जस्ती ४०० रुपैयाँ राखिदियो। "त्यसपछि म लाश जलाउनतिर लागेँ। त्यो व्यक्ति त्यही ठाउँमा उभिएर बसिरहे, मैले दिइनँ," उनले भनेका छन्, "फेरि त्यो मान्छे मेरो नजिकै आएर इशाराले निकाल्न भनिरहे। लाश जल्न करिब एकचौथाइ बाँकी थियो। उसले धेरै नै कर गरेको हुँदा मैले विनायक मैनालीलाई यस्तो भन्छ भनेर सुनाएँ। विनायकले तपाईं चिताबाट खरानी र हड्डी तल खोलातर्फ धकेलिदिनु, म बट्टामा राखी उसलाई दिन्छु भने।"

अदालतमा बुझाइएको उनको बयानमा थप भनिएको छ, "अनि मैले लाश जलाउँदै गर्दा बाँसले खरानी र हड्डी चिताबाट खोलातर्फ धकेली झारिदिएँ। त्यसपछि विनायकले त्यो खरानी र हड्डी बट्टामा राखी उनीहरूलाई दिएको हो। कपुरको बट्टामा राखेर दिएको मलामी र अरूहरूले समते थाहा पाएपछि विवाद भएको हो।"

'सय रुपैयाँ पाएँ'
ढकालसँगै पक्राउ परेका विनायक मैनाली २४ वर्षका छन्। घर उदयपुर कटारी भए पनि सानैदेखि पशुपति क्षेत्रमा हुर्किएको बताउने उनले हाल आर्यघाटमा दाउरा टिपेर बेच्ने काम गरिरहेको बयान दिएका छन्।

त्यो दिन पनि उनी दाउरा टिप्न पुगेका थिए। "ढकाल बाजेले ऊ त्यो मान्छेले लाश जलाएको खरानी र हड्डी मागिरहेको छ, कसरी दिने भनेर भन्दा मैले तपाईं लाशलाई बाँसले चलाएको जसरी नदीतर्फ खरानी र हड्डी झारिदिनु, म टिपेर बट्टामा राखी दिन्छु भनेँ," उनले बयानमा भनेका छन्।

यसबापत् उनले १०० रुपैयाँ पाएका थिए। त्यो १०० रुपैयाँ कसले दिएको भन्ने बयानमा दुई थरि कुरा छ। कहिले उनी ढकालले दिएको भन्छन्, कहिले त्यही अपरिचित व्यक्तिले।    

‘जोगीले संकट आइपर्नेछ भनेका थिए’
जलिरहेको शवको अवशेष निकालेर दिनेको त पहिचान भइसकेको थियो, लिने भने फेला परेका थिएनन्। के कारणले हड्डी र खरानी चाहिएको हो- त्यो पनि खुलेको थिएन।

सीसीटीभी फुटेजलगायत प्रमाणहरू विश्लेषण गर्दै अनुसन्धान गर्ने क्रममा लिने व्यक्तिको पहिचान भयो। अन्ततः बूढानीलकण्ठ नगरपालिका, कपनस्थित फैकाचोक नजिकबाट रामनन्दन ठाकुर पक्राउ परे। उनको साथमा प्लास्टिकमा पोको पारेर राखेको खरानीजस्तो देखिने पदार्थ पनि फेला पर्‍यो।

सर्लाही घर भएका ४२ वर्षीय ठाकुर २५ वर्षदेखि काठमाडौँमा फर्निचरसम्बन्धी व्यवसाय गर्दै आइरहेका थिए। बयानमा उनले बताएअनुसार उनी सधैँजसो पशुपतिनाथ दर्शन गर्न आउँथे। 

दुई महिना जति अगाडि एकजना बाबासँग उनको भेट भयो। उनले जोगीलाई हात देखाएका थिए। जोगीले भनेका थिए, "तिमीलाई केही संकट आइपर्नेछ।" 

बच्ने उपायबारे सोध्दा जोगीले मानिस जलाएको खरानी लिई पूर्वतर्फ फर्किएर पूजा गरी बागमतीमा बगाइदिन भनेको ठाकुरको दाबी छ। 

"मानिस जलाएको खरानी कसरी लिनु भन्ने सोचेर त्यो दिन पशुपति आर्यघाटमा आइपुग्दा २ नम्बर चितामा लाश जलाइरहेको देखेँ। लाश जलाउने व्यक्तिसँग जलाइसकेपछि मलाई थोरै खरानी उपलब्ध गराइदिनु, पूजा गर्नुपर्नेछ भनेर माग्दा हजार रुपैयाँ चाहिन्छ भने," उनले बयानमा भनेका छन्, "मैले अहिले मसँग त्यति धेरै पैसा छैन भनी ४०० रुपैयाँ दिएँ। उसले केही बेर पर्खनु भन्यो। म कुरिरहेँ। लाश पूरै जलिनसक्दा नै लाशबाट खरानी निकाली दिई बट्टामा राखी हाल नाम थाहा भएका विनायक मैनालीले मलाई दिए।"

बयानअनुसार त्यसपछि उनी भष्मेश्वरस्थित पानीको धाराअगाडि पुगे। "मैले उक्त खरानीको धुलो टाउकोमा घुमाई बागमती नदीमा बगाई दिई आफ्नो हात धोई आर्यघाट पारितर्फको बाटो हुँदै साथी मिश्रीलाल यादवको मोटरसाइकल पछाडि बसी घर गएँ।"

ठाकुरले कहीँ कतै लैजानका लागि उक्त खरानी नलिएको दाबी गरेका छन्। आफ्नो जीवनमा संकट परेको र जोगी बाबाले बताए अनुसार गर्दा पार पाइन्छ भनेपछि पूजा गर्न खरिद गरेको उनले बयान दिएका छन्। उनले ढकाललाई ४०० र मैनालीलाई १०० दिएको स्वीकार गरेका छन्। 

उनले ढकालसित 'खरानी निकाल्न केही समस्या हुँदैन' भनेर सोध्दा 'केही फरक पर्दैन यहाँ धेरैले लिई जाने गरेका छन्' भनी बताएको पनि बयानमा खुलाएका छन्। 

उनका अनुसार मिडिया र सोसल मिडियामा यो घटनाले हंगामा मच्चाएको उनलाई थाहै थिएन। "म लेखपढ गर्न नजान्ने भएकोले पत्रपत्रिका नपढ्ने र सोसल मिडिया नहेर्ने भएकोले घटनाबारे त्यति धेरै थाहा पाइनँ," उनले भनेका छन्, "एक दिन छोराले पशुपतिबाट लाश जलाउने क्रममा मासु बिक्री गरेको समाचार आएको भनी सुनाएका थिए। मैले धेरै ख्याल गरिनँ। घटनापश्चात् म कतै फरार नभई आफ्नो सामान्य कामकाजमा नै थिए।"

उनको साथमा बरामद भएको प्लास्टिकमा भएको खरानी गाउँको घरमा पूजा लगाउँदा लाखबत्तीबाट बनेको कपासको बत्तीको खरानी भएको उनले दाबी गरेका छन्। "उक्त खरानी मैले सानो प्लास्टिकमा राखी घरको पूजा गर्ने स्थानमा राखेको थिएँ," उनले भनेका छन्।

जोगी भेटिएनन्, ‘लिफ्ट’ दिनेलाई मुद्दा
प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले चार जनालाई प्रतिवादी बनाई मुलुकी अपराध संहिता २०७४ को दफा १५७ अन्तर्गत मुद्दा दर्ता गरेको छ। उक्त दफामा धार्मिक रीति-स्थितिमा बाधा पुर्‍याउन नहुने उल्लेख छ। त्यस्तो रीतिस्थितिमा जानाजान बाधा पुर्‍याउने कसुर गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने प्रावधान छ।

मुद्दा चलाइएका दुई जनामध्ये एक जना घाटे ब्राह्मण गणेशप्रसाद भन्ने जीवनाथ ढकाल र उनलाई सहयोग गर्ने विनायक मैनाली थिए। अर्का व्यक्ति ५०० रुपैयाँ खर्च गरेर खरानी लिने रामनन्दन ठाकुर थिए।

ठाकुरले जोगी बाबाले संकट टार्न पूजा गर्नुपर्छ भनेकाले त्यसो गरेको बयान दिएका थिए। तर प्रहरी अनुसन्धानमा जोगी बाबा नै फेला परेनन्। 

मुद्दा चलाइएका चौथो व्यक्ति हुन्- मिश्रीलाल यादव। ठाकुरले फोन गरेकाले उनले पिंगलास्थानबाट गौरीघाटसम्म आफ्नो मोटरसाइकलमा ‘लिफ्ट’ दिएका थिए। यादव ओम् बोलबम कावरिया संघका उपाध्यक्ष र ठाकुर वरिष्ठ उपाध्यक्ष हुन्। दुईबीच करिब १० वर्षदेखि चिनजान थियो। 

यादवले दिएको बयानअनुसार, त्यो दिन ठाकुरले फोन गरी 'कहाँ हुनुहुन्छ' भनी सोधेका थिए। आफू पिंगलास्थानमा भएको बताएपछि ठाकुरले 'मैले मोटरसाइकल ल्याएको छैन, मलाई घर छाडिदिनू' भनेका थिए। यादवले ठाकुरलाई मोटरसाइकलको पछाडि राखेर गौरीघाटसम्म पुर्‍याए। त्यसपछि उनकै मोटरसाइकल लिएर ठाकुर आफ्नो घरतर्फ गए। 

ठाकुरले मृत मानिस जलाएको खरानी र हड्डी किनेर पूजा गरेको विषयमा केही जानकारी नभएको, मोटरसाइकलमा चढ्दा पनि त्यसबारे केही नभनेको यादवले बताएका छन्। तर प्रहरीले यादवलाई कसुर गरेका ठाकुरलाई भगाउन मद्दत गरेको भन्दै मतियारको अभियोग लगाउनु पर्ने प्रतिवेदन बुझायो। जिल्ला सरकारी वकिलको कार्यालयले पनि त्यही प्रतिवेदन अनुसार अभियोग लगाएर मुद्दा दर्ता गरेको छ।

प्रहरीले मोटरसाइकल चढ्न दिएकै भरमा यादवलाई मतियारको अभियोग लगाएको हो। उनलाई यो कसुरबारे थाहा भएको र उनले यो कसुर गर्न मतियार भएको थप प्रमाण भने अनुसन्धानमा केही देखिएको छैन।

अफवाह र वास्तविकता
घटनापछि अफवाहले थप भड्कायो। सामाजिक सञ्जालमा हल्ला चल्यो— शवको मासुसमेत बेचिन्छ रे। टेलिभिजनमा समेत यस्तै समाचार बजे।

तर प्रहरी अनुसन्धान र अभियोगपत्रले प्रष्ट पारे— मासु बिक्री भएको छैन। त्यो केवल अफवाह थियो। वास्तविकता भने यही हो — खरानी र हड्डीको किनबेच भएको थियो।

प्रहरीको प्रारम्भिक अनुमानमा भने अघोरी बाबाहरूको संलग्नता हुनसक्ने भनिएको थियो। 

प्रचलित वैदिक–पुराणिक परम्परामा मृत शरीरको अवशेषलाई पूजा वा प्रयोगमा ल्याइन्न। अन्त्येष्टिपछि अस्थि/खरानी संकलन गरी नदीमा विसर्जन गर्ने चलन छ, जसद्वारा आत्माले मोक्ष पाउँछ भन्ने विश्वास गरिएको छ। सामान्यत: हिन्दू धर्ममा शवको अस्थि वा खरानीलाई घरमा राख्नु वा पूजामा प्रयोग गर्नु अपवित्र ठानिन्छ।

तर तान्त्रिकशास्त्र र कतिपय शैव–शाक्त ग्रन्थमा भने श्मशान र शवसम्बन्धी गुप्त साधनाको उल्लेख छ। कौलावली निर्णय, श्यामरहस्य, तारा–भक्ति–सुधार्णवजस्ता ग्रन्थमा शवसाधना (शवमा बसेर गर्ने साधना) को विधि वर्णन गरिएको छ।

कालितन्त्र मा त शवसाधना नगरी पार्वती (काली) को पूजा गर्ने साधक नरकमा जान्छ भन्ने कठोर चेतावनी छ। स्कन्द पुराणमा शिवले 'कपाल व्रत'को महिमा वर्णन गर्दै श्मशानलाई सर्वोत्तम तीर्थ भनेका छन्। यस व्रतधारीले मानव खप्परलाई भिक्षापात्र बनाउनुपर्ने, सोहीबाट भोजन गर्नुपर्ने, श्मशानमै बास गर्ने र शरीरमा भस्म दल्नुपर्ने उल्लेख छ।

वैष्णव परम्परासँग सम्बन्धित केही पुराणहरूले भने यस्ता अभ्यासलाई निन्दा गरेका छन्। देवी भागवतमा शवसाधना र कापालिक/वाममार्गी तन्त्रलाई तमोगुणी शास्त्र भनिएको छ। वराह पुराणमा कापालिक वा नग्न साधुसँगको सम्पर्कले पनि मानिस प्रेत बन्नसक्ने भन्दै तिरस्कार गरिएको छ। यसरी मुख्यधाराको पुराण परम्पराले यी अभ्यासलाई बहिष्कृत माने पनि केही शैव–तान्त्रिक ग्रन्थहरूले शवसम्बन्धी साधनालाई परम गोप्य र शक्तिशाली बताउँछन्।

आजसम्म जीवित रहेको यस्तै तान्त्रिक धारा हो अघोरी सम्प्रदाय। यसलाई कापालिक परम्पराको बाँकी शाखा मानिन्छ। भारतमा केही हजार अघोरी साधु मात्र छन्, मुख्यत: वाराणसीका श्मशानमा बस्ने। उनीहरू रातदिन श्मशानमै रहने, चिताको खरानीलाई पवित्र मानी शरीरमा दल्ने, मानव खप्परलाई भिक्षापात्र वा पूजा–पात्रका रूपमा प्रयोग गर्ने गर्छन्। 

कतिपयले खप्परको माला वा गहना पनि धारण गर्छन्। केहीले शवको मासु खाएर वा जलिरहेको शव छेउमै ध्यान गरेर तान्त्रिक अभ्यास गर्ने गरेको उल्लेख पाइन्छ। यी क्रियाकलापहरू सामान्य हिन्दू समाजको शुद्धता र आचरणसँग विपरीत भएकाले अघोरीहरूलाई प्रायः डर वा घृणाको दृष्टिले हेर्ने गरिन्छ।

मुद्दा के भयो?
जिल्ला सरकारी वकिलको कार्यालयले धर्मसम्बन्धी कसुरमा भदौ ११ गते काठमाडौँ जिल्ला अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरेको थियो। भदौ १३ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले चारै जनालाई १० हजार धरौटीमा रिहा गर्ने आदेश दियो। 

मुद्दाको टुंगो लाग्न भने बाँकी छ। अब अदालतले नै यसबारे फैसला गर्नेछ र दोषी देखिएकालाई सजाय तोक्नेछ। तर सजाय भन्दा ठूलो प्रश्न भने समाजकै हो।

के हामी यस्तो अवस्थामा पुगेका छौँ, जहाँ मृतकको अवशेषसमेत पैसामा किनबेच हुन्छ?  के धार्मिक विश्वासको नाममा अपराधलाई औचित्य दिन सकिन्छ?

पशुपति आर्यघाटलाई 'मोक्षको ढोका' मानिन्छ। मोक्षको थलो आर्यघाटमै जब विश्वास किनबेच हुन्छ, प्रश्नको धुवाँ सजिलै मेटिँदैन।