बिहार विधानसभा निर्वाचनसँग के छन् नेपालको सरोकारका विषय?

सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालका लागि अर्थ राख्दै आएको विश्लेषक बताउँछन्।

काठमाडौँ–जेन-जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएर निर्वाचनको मिति (फागुन २१) घोषणा भएसँगै चुनावी जोडघटाउ शुरू भइरहेको बेला छिमेकी भारतको बिहारमा विधानसभा (२४३ सदस्यीय प्रान्तीय संसद्)को निर्वाचन हुँदैछ। पहिलो चरणमा नोभेम्बर ६ (कात्तिक २०) मा १२१ सिटका लागि र दोस्रो चरण नोभेम्बर ११ (कात्तिक २५) मा १२२ सिटका लागि मतदान हुँदैछ।

यस चुनावमा वैकल्पिक शक्तिका रूपमा बिहारमा उदय भएको हो, जनसुराज पार्टी। पार्टीका नेता प्रशान्त किशोरको एउटा अजेन्डाका कारण योपालिको बिहार विधानसभा चुनावको नतिजाले नेपाललाई अर्थशास्त्रीय हिसाबले पनि प्रभाव पार्ने देखिएको छ। त्यो हो, ‘सराब–बन्दी’ अर्थात् मदिरा उत्पादन, कारोबार, ओसारपसार तथा सेवनमा लगाइएको प्रतिबन्धलाई हटाउने प्रस्ताव।

नेपालको दक्षिणी सीमाका १३ वटा जिल्लासँग जोडिने भएकाले भारतको प्रान्त बिहारको निर्वाचनमा सीमावर्ती क्षेत्रमा यतिखेर स्वाभाविक चासो बढेको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम)बाट मतदान हुने हुँदा नोभेम्बर १४ मा हुने मतगणनाको नतिजाका लागि धेरै कुर्नुपर्ने छैन। नोभेम्बर १५ अर्थात् कात्तिक २९ भित्र आगामी पाँच वर्षका लागि बिहारको राजनीतिक नेतृत्व र भविष्य निर्धारित भइसक्ने देखिन्छ।

त्रिकोणीय प्रतिस्पर्धामा जनसुराजको उदय
यस चुनावमा साबिक प्रतिद्वन्द्वीहरू— सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससहितको महागठबन्धन मैदानमा छन्। तर, प्रतिस्पर्धामा भने योपालि दुई गठबन्धन मात्र छैनन्। भारतमा चुनावी रणनीतिका माहिर योजनाकारका रूपमा परिचित प्रशान्त किशोरले गठन गरेको नयाँ दल जनसुराज पार्टीको दमदार चुनावी अभियानबीच योपालिको बिहार निर्वाचनमा त्रिकोणीय प्रतिस्पर्धा देखिएको छ।

जनसुराजका नेता प्रशान्त किशोरले वैकल्पिक राजनीतिक शक्ति खडा गरेको विश्लेषण गरिएको छ। उनले बिहारी नागरिकको आत्मसम्मान, रोजगारीका लागि हुने पलायन र शिक्षा तथा जनस्वास्थ्यको आधारभूत ढाँचामा परिवर्तनलाई आफ्नो प्रमुख चुनावी अजेन्डा बनाएका छन्।

बिहारमा नितिश कुमारको सरकारले गरेको ‘सराब–बन्दी’लाई जनसुराज प्रमुख प्रशान्तले औचित्यहीन भन्दै आएका छन्। उनको भनाइ छ, ‘सराब–बन्दी’ले मदिरा पसल मात्र बन्द भएका हुन्, यसको अवैध तवरमा कारोबार जारी नै छ। बिहारमा मदिराको २० हजार करोडको अवैध कारोबारको आम्दानी माफिया र भ्रष्ट नेताको हातमा पुगिरहेको उनले दाबी गरेका छन्। मदिरामाथिको प्रतिबन्धलाई सफल बनाउनुभन्दा यसलाई हटाउने पक्षमा आफू रहेको उनको भनाइ छ।

“जनसुराजको सरकार बन्यो भने एक घण्टाभित्र सराब–बन्दी समाप्त पारिनेछ। मानिसले कस्तो लगाउने, के खाने, निजी जीवनमा कुन सिनेमा हेर्ने, आफ्नो घरभित्र कसरी बस्ने भन्ने कुरा सरकारको मामिला होइन। कुनै पनि परिपक्व लोकतन्त्रमा यो हुनुहुँदैन,” प्रशान्त किशोरले विभिन्न अन्तर्वार्तामा भनेका छन्, “के सही, के गलत सरकारले बताउन सक्ने भयो, तर निर्णयको हक मानिसहरूको आफ्नै हो। व्यक्ति के खान, के लाउन वा कुन धर्ममा आस्था राख्न चाहन्छन्, यी सरकारका विषय होइनन्। सरकारका विषय हुन्— शिक्षा, स्वास्थ्य, सुव्यवस्था र मानिसहरूका लागि रोजगारी।”

उसो त बिहारमा सन् १९७४ मा विद्यार्थी प्रदर्शनबाट शुरू भएर, पछि अग्रज नेता जयप्रकाश नारायणको नेतृत्वमा बढेको ‘सम्पूर्ण क्रान्ति’ कहलिएको ऐतिहासिक आन्दोलनले पनि त्यहाँ सत्ताबाट पुरानो शक्तिलाई विस्थापित गर्न सकेन, थप डेढ दशक कुर्नु परेको इतिहास छ।

सीमापारि ‘सराब–बन्दी’ अन्त भए नेपालमा असर
प्रशान्त ६६५ दिनको ‘पदयात्रा’ गरेर बिहारका २ हजार ६९७ गाउँमा पुगेका थिए। उनले पदयात्राका दौरान र चुनावी अभियानमा गरी पछिल्लो तीन वर्षमा हजारभन्दा बढी साना ठूला सभा गरेका छन्। भारतका राजनीतिक विश्लेषकहरूले प्रशान्तले बिहारमा पुराना राजनीतिक शक्तिहरूको ‘तख्ता पलट’ गर्न सक्ने हैसियत बनाइसकेको विश्लेषण गर्छन्। उनीहरूले प्रशान्तको राजनीतिक दल योपालि चुनावमा नतिजाको हिसाबले ‘अर्श या फर्श’मा अर्थात् या सत्तामा पुग्ने गरी सिट ल्याउने कि थोरै संख्यामा सीमित हुने भविष्यवाणी गरेका छन्।

सामाजिक सञ्जालको राजनीतिक उद्देश्यले गरिने प्रयोगका खेलाडी भनेर भारतबाहिर समेत चिनिने प्रशान्तको पार्टी, फेसबुक, इन्स्टाग्राम, युट्युब लगायतमार्फत सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ आफ्नो कुराहरू पस्किनमा समकालीन राजनीतिक दलहरूमध्ये सर्वाधिक प्रभावशाली देखिएको बिहारका पत्रकार दीपक अग्निरथ बताउँछन्।

यस्तोमा उनको पार्टीले चुनाव जितेर बिहारको शासनसत्ताको बागडोर सम्हाल्यो भने नेपाललाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै खाले प्रभाव पर्ने देखिन्छ। उनले घोषणा गरेजस्तै मदिरा प्रतिबन्ध हटाएको खण्डमा नेपालका होटल तथा पर्यटन क्षेत्रले लिँदै आएको लाभमा प्रत्यक्ष प्रभाव देखिन्छ। करिब १० वर्षअघि २०७२ चैत १९ देखि बिहारमा मदिरा प्रतिबन्धित भएपछिको समयमा त्यहाँका मदिराका सोखिनका लागि नेपाल सबभन्दा आकर्षक गन्तव्य बन्न पुगेको छ।

nullविगत एक दशकमा नेपालको मदिराको बजार बिहारका उपभोक्ताका कारण निकै वृद्धि भएको व्यवसायीहरू बताउँछन्। सँगसँगै जोडिएर यता होटल व्यवसायलाई मात्र फाइदा भएको छैन, बरु बिहारका मानिसहरूका लागि बिहेवारीजस्ता पारिवारिक आयोजना र कम्पनीहरूको सभा समारोहको गन्तव्य पनि नेपाल बनेको छ।

जन्मदिनको उत्सव मनाउनेदेखि धेरै खर्च गरेर हुने वैवाहिक वा अन्य आयोजनहरूका लागि नेपाली शहर र बजारहरू गन्तव्यको रूपमा विकसित भएको वीरगन्जका होटेल व्यवसायी हरि पन्त बताउँछन्। सीमावर्ती जिल्लामा विभिन्न कार्यक्रमका लागि होटेल वा बैंकेटहरूको बुकिङमा आधा जति बिहारका ग्राहकहरू हुने गरेको उनले जानकारी दिए।

“बिहेवारीका आयोजनलाई रमाइलो र आफ्नो हैसियत प्रदर्शनको अवसरको रूपमा उपयोग गर्ने चलनजस्तै छ। बिहारमा मदिरा बन्द भएपछि यस्ता कार्यक्रमका लागि हामीतिर स्वाभाविक रूपमा उताबाट मानिसहरू आउँछन्,” पन्त भन्छन्, “बेहुला वा बेहुलीमध्ये एउटा नेपालबाट हुने बिहेका आयोजना यता हुनै नै भयो, बेहुला र बेहुली दुवै पक्ष भारतकै रहने वैवाहिक कार्यक्रम यहाँ आएर आयोजना गर्ने भएपछि हामी माइरेज डेस्टिनेसन भएका छौँ।”

बिहारमा मदिरा खुल्ला भएपछि यो बजार भंग हुने उनी बताउँछन्। त्यस्तै, साथीभाइहरूको समूह बनाएर रमाइलो गर्न आउने, एक रात बसेर मदिराको आनन्द लिएर फर्किने पाहुनाहरू पनि निकै आउने गरेको उनी बताउँछन्। राति बास नबस्ने मदिरा सेवनकर्ताहरू पनि ठूला रेस्टुरेन्टदेखि साना मासु–मदिरा पसलसम्मका लागि उल्लेखनीय व्यापार दिएको होटेल व्यवसायी महासंघका सचिवसमेत रहेका पन्तको भनाइ छ।

त्यस्तै, बिहारकै बासिन्दाहरूलाई लक्षित गरी पछिल्लो समयमा वीरगन्ज र विराटनगरजस्ता शहरमा क्यासिनोहरू खुलेको र राम्रो व्यवसाय गरिरहेको उनले बताए। ती क्यासिनोका लक्षित ग्राहक नै शतप्रतिशत विदेशी हुने भएकाले त्यहाँ आउने प्रायः बिहारका हुने गरेका हुन्। बिहार ‘ड्राई स्टेट’ भएकोले मदिरा उपलब्ध हुने नेपालका क्यासिनोहरू त्यहाँका मानिसका लागि आकर्षणको थलो बनेको उनले बताए।

nullविराटनगरका होटल व्यवसायी भादेश श्रेष्ठ जेनजी आन्दोलनभन्दा अगाडि विराटनगरदेखि भेडेटारसम्मका होटलमा भारतीय पाहुना उल्लेखनीय संख्यामा पुग्ने गरेको सम्झिन्छन्। त्यस्तै, बिहारमा काम गर्ने प्राइभेट कम्पनीका कार्यक्रमका लागि नेपालका होटल डेस्टिनेसन नै बनेको उनी बताउँछन्। “पारि बन्द रहेको मदिरा यता सहजै पाइने भएको कुराले धेरै काम गरेको जस्तो देखिन्छ,” उनी भन्छन्, जेनजी आन्दोलनपछि कार्यक्रम र पाहुना आउन बन्द नै भएको छ, उता निर्वाचनले पनि होला।”

चुनाव नजिकिँदै जाँदा सीमावर्ती क्षेत्रमा परस्पर सुरक्षा निकायको समन्वयसँगै सुरक्षा सतर्कता बढाइएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। झापादेखि चितवनसम्म बिहारका २१ विधानसभा क्षेत्र नेपालसँग जोडिने गरेको छ।

बिहार चुनावको अनेक प्रभाव
प्रशान्तको पार्टी जनसुराज जितेमा पर्ने अप्रत्यक्ष प्रभाव पनि छ। त्यो भनेको नेपालमा पनि वैकल्पिक शक्तिका लागि मत निर्माणमा प्रभाव पर्ने सम्भावना विश्लेषकहरूले देखेका छन्। नेपालसँग सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालको लागि अर्थ राख्दै आएको विश्लेषकहरू बताउँछन्।

विश्लेषक चन्द्रकिशोरका भनाइमा, नेपालमा खासगरी राष्ट्रिय राजनीतिमा काठमाडौँमा बिहारको राजनीतिलाई एउटा प्रवृत्ति चित्रित गर्ने हिसाबले बिहारी शैलीको राजनीति भन्ने गरिएको छ। “जसले वंशवाद, जातीय प्रभाव, भ्रष्टाचार, बाहुबलीहरूको संरक्षण, माफियाहरूको सम्बन्धको विषय र बुथ कब्जाजस्ता विसंगति जनाउँछ,” उनी भन्छन्, “त्यहाँको जातीय समीकरण र बाहुबलीलाई टिकट दिनेजस्ता कुरा योपालि पनि छ। उताको चुनावमा देखा पर्ने राम्रा र नराम्रा प्रवृत्ति नेपालमा पनि देखा पर्नेछ, खासगरी मधेश क्षेत्रमा।”

नेपालमा पुराना दलप्रतिको असन्तोष फैलिएको बेला छिमेकमा वैकल्पिक शक्तिको उदयले जनतालाई मतदानमा पुनर्विचारका लागि बलियो रूपमा प्रेरित गर्न सक्ने चन्द्रकिशोरको भनाइ छ। “बिहारमा मतदाताले आफ्ना सिटिङ विधायकसँग ठाउँ–ठाउँमा रोकेर सवाल गरिरहेका छन्, गल्ती देखाएर र्‍याखर्‍याख्ती पारिरहेका छन्। त्यसका भिडियोहरू प्रशस्त रूपमा देखिएका छन्। उनी भन्छन्, “यतिसम्म गर्ने कुरालाई लोकतन्त्रकै पाटोको रूपमा लिन सकिन्छ। तर अवस्था त्यतिमा मात्र सीमित छैन। मानिसहरूले निर्वाचित नेतालाई गाउँबाट लखेटिरहेको, दुर्व्यवहारमा उत्रिएको दृश्यहरू पनि देखा परेका छन्। त्यसको देखासिकी आयो भने त्यो विकृत प्रभाव हुनेछ।”

चन्द्रकिशोरका अनुसार बिहारको चुनावी सरगर्मीको असर भने यता पनि अहिले देखा परिरहेको छ। यताका मुस्लिम, यादव, कुर्मी, तेली र निषाद जस्ता जातीय समूहका मानिसहरू पारिका आफ्नो ‘जात–बिरादर’का उम्मेदवारका पक्षमा गोलबद्ध छन्। बिहेबारीमा वारि–पारि मानिसहरू आफन्त कुटुम्बलाई सहयोग गर्न पुगेजस्तै यताका मानिसहरू सामाजिक र आर्थिक सहयोगसहित पारि पुगिरहेका छन्।

“पहिला यादव–मुस्लिम समीकरणको कुरा, कुर्मी सशक्तीकरणको कुरा थियो, जसको प्रभाव यता हामीतिर पनि देखा पऱ्यो,” चन्द्रकिशोरले भने, “अब भने संख्यामा थोरै भएका जातिहरूको एलाइन्स बनिरहेको छ वा एलाइन्सभित्र समेट्ने प्रयास भइरहेको छ। त्यस्ता जातीय समूहहरूमा पनि राज्यमा भागीदारीको दाबी गर्ने प्रवृत्ति आएको छ, यो ठीक पनि हो।”