सामाजिक सञ्जालमा बदलिएका बालेनः सकारात्मक पोस्टमा पनि किन भइरहेछ आलोचना?

असोज ५ यता शनिबार र दशैँको बिदाबाहेकका १६ दिनमा बालेन शाहले १५ दिन सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनका अधिकांश पोस्टमा महानगरका कामबारे उल्लेख छ।

काठमाडौँ– मध्याह्न साढे ४ बज्नासाथ काठमाडौँ महानगरका मेयर बालेन शाह आफ्नो कार्यकक्ष छेवैमा जडान भएको ‘लिफ्ट’ प्रयोग गरेर तल झर्छन्। बीएए ६७५७ नम्बरको टोयटा गाडीले लिफ्टको ठिक सामुन्ने उनलाई कुरिरहेको हुन्छ। उनी २०–२५ मिनेटमा निवास पुग्छन्। त्यसको ५ देखि १० मिनेटमा उनको फेसबुक पोस्ट आउँछ।

असोज ५ यता बिदाका दिनबाहेक मेयर शाहको यो नियमित दैनिकी बनेको छ। भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनअघि साताको एकदुई पोस्ट गर्ने उनी आजभोलि ‘आजको विषय के छ’ भन्दै हरेक दिन सचिवालयका सदस्यसँग छलफल गर्छन्। महानगरले गरेको प्रगतिको सामग्री र फोटोग्राफर विनय शाक्यले छानेर दिएका तस्वीरपछि फेसबुक पोस्ट पनि तयार गरेर मात्रै उनी घर फर्किन्छन्।

शाहले मेयरको कार्यभार सम्हालेको तीन वर्ष बितिसक्दा नियमित रूपमा महानगरको कामकारबाहीबारे कहिल्यै यसरी हरेक दिनजसो पोस्ट गरेका थिएनन्। जेन–जी आन्दोलनपछि भने सामाजिक सञ्जालमा उनको सक्रियता धेरै बढेको छ।

असोज ५ गतेदेखि हालसम्म उनले (दशैँ र शनिबार छाडेर) १६ दिनमा १५ दिन पोस्ट गरेका छन्। कानून परिवर्तन गरेर विद्यार्थीलाई छात्रवृत्ति दिएको, सडकमा ‘हाइमास लाइट’ जडान गरेको, स्मार्ट कक्षाकोठा बनाउने योजनाजस्ता विषय उनका फेसबुक पोस्ट बनेका छन्। स्थानीय तहहरूलाई एम्बुलेन्स दिने, यमबुद्ध स्केटबोर्ड पार्क निर्माण गरिने, पद्योदय स्कुलको सटर हटाइएको, महिला फुटबल ग्राउन्ड निर्माण भइरहेको विषयमा पनि स्टेटस लेखेका छन्।

त्यस्तै, १३ सय वर्ष पुरानो महांकाल मन्दिर पुनर्निर्माण शुरू गरेको, विपद् क्षति न्यूनीकरणमा गरिएका प्रयासबारे उनले फेसबुकमै लेखेका छन्। डेंगी नियन्त्रणमा गरिरहेको काम, भद्रकाली मन्दिरको मौलिक परम्परागत शिल्प/शैलीमा पुनरूत्थान गरिने र तिहारमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै प्लास्टिकजन्य फूलमालाको बिक्रीवितरणमा रोक लगाइएको पोस्ट पनि उनको ‘टाइमलाइन’मा हेर्न सकिन्छ।

असोज २६ गते भने विकासबारे नभएर उनले महानगरले रोजगारी खुलाएको विषयमा पोस्ट गरेका छन्। उनले लेखेका छन्, “तपाईं ४५ वर्ष पूरा हुनुभयो? जागिर वा व्यवसायबाट अवकाश हुनुभयो? अवकाशपश्चात विश्रामभन्दा पनि समाजको लागि केही योगदान गर्ने सोचसहित आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ।”

असोज २७ गते पनि उनले विकास कार्यक्रमबारे पोस्ट गरेनन्। त्यो दिन उनले कविता पोस्ट गरे, जुन विवादित बनेको छ। कवितामा उनले ‘सुन न पित्तल, किसानझैँ फोहर’ लेखेपछि किसानमाथि अपमानजनक शब्द प्रयोग भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा विरोध जनाएका छन्।

कुनै समय संघीय सरकार र दलका नेताको आलोचना गरेर साताको अन्त्यतिर मात्र स्टेटस लेख्ने मेयर शाहको शैली किन परिवर्तन भयो त? उनलाई जेन–जी आन्दोलनको ‘मास्टर माइन्ड’ भएको आरोप लागेपछि आफ्नो छवि जोगाउन महानगरको काममा केन्द्रित भएको देखाउने प्रयास गरिरहेको सामाजिक अभियन्ता तथा अध्येता नवीन तिवारी बताउँछन्। शाहले आफू विध्वंशकारी नभई कल्याणकारी भएको सन्देश दिने प्रयास गरिरहेको उनको बुझाइ छ।

“मान्छे अँध्यारोमा हिँड्दा आफू नडराएको देखाउन जोडजोडले कराउँछ, यो ह्युमन साइकोलोजी हो। उनी (शाह) अहिले सञ्जालबाट त्यही आसय व्यक्त गरिरहेका छन्,” तिवारी भन्छन्, “व्यापक गाली आउन थालेपछि विकासमुखी काम देखाएर सहानुभूति बटुल्न खोजिरहेका छन्। खासमा उनी रक्षात्मक भएका हुन्।”

बालेनको सचिवालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईं भने मेयर शाह सामाजिक सञ्जालमा सक्रिय बन्नुलाई रक्षात्मक भएको अर्थ लगाउन नमिल्ने बताउँछन्। गत आर्थिक वर्षमै रोकिएका कामहरू तीव्र गतिमा अगाडि बढाइएको र त्यसको जानकारी मात्र दिइएको उनको दाबी छ।

“काम नै भएन भन्ने भाष्य निर्माण भइरहेको थियो, त्यसैले मेयरज्यूले कामको प्रगतिबारे आफैले जानकारी दिइरहनुभएको छ,” बजगाईं भन्छन्, “रक्षात्मक हुनुपर्ने आवश्यकता नै छैन।”

सञ्जालमा उठेका सवाल
जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते साँझसम्म १९ जनाको मृत्यु भएपछि भोलिपल्टैबाट मेयर शाहमाथि प्रश्न उठ्न शुरू भएको थियो। त्यस रात उनले फेसबुकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली लक्षित स्टेटस लेखेपछि कमेन्टमा जेन–जीहरूको ठूलो समूहले उनलाई २४ गते हुने आन्दोलनको नेतृत्व लिन आग्रह गरे। उनलाई दबाब दिन ‘टेक लिड, नाउ ओर नेभर’ ट्रेन्ड नै चलाए।

तर उनले केही प्रतिक्रिया नजनाएपछि तीनै युवा उनीमाथि खनिन थाले। कतिपय जेन–जीले सञ्जालमा ‘अल्टिमेटम’ नै दिएर लेखेका थिए, “डियर बालेन! दिउँसो २ बजेसम्म तिमी हामीसँग हुनसक्छौ भने आऊ, नेतृत्व गर। नभए याद राख, तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौ।”

तर शाहले संसद् विघटन र सेनासँग वार्ताका लागि तयार रहन भन्दै फेसबुक स्टेटस मात्रै लेखिरहे। त्यस दिन राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहित कतिपय निजी घर र व्यवसायिक प्रतिष्ठान जलाएर ध्वस्त बनाइयो।

शुरूमा जेन–जी भड्काएर, अवस्था बिग्रिन थालेपछि पनि नेतृत्व नलिएको आरोप शाहमाथि लाग्यो। उनलाई प्रधानमन्त्री बनाउन सामाजिक सञ्जाल र सडकबाट माग पनि उठेको थियो। तर त्यसका लागि तयार नभएपछि पनि उनीमाथि प्रश्न उठ्यो।

कतिपयले शाहले अस्थायी रूपमा होइन, निर्वाचनमार्फत स्थायी रूपमै सरकार चलाउन चाहेको बताए। त्यसमा ‘दूरगामी सोच राखेको’ भन्दै प्रशंसा गर्ने पनि थिए। तर उनी पार्टी नखोल्ने मुडमा पुगेपछि सञ्जालमा उनको आलोचना गर्ने बाक्लै छन्।

उकालोमा असोज ६ गते प्रकाशित ‘पार्टी खोल्ने मुडमा छैनन् बालेन’ शीर्षक रिपोर्टमा प्रतिक्रिया जनाउँदै ‘एक्स’मा साजन न्यौपाने लेख्छन्, “मेयर साबले फेसबुके स्टेटस मात्र लेखेर ती युवापुस्ताको भावनामाथि कुठाराघात गर्नु भएछ भन्दा फरक नपर्ला। बन्द कोठामा सञ्जालमा लेखेको भरमा नेता बन्न कठिन नै होला। कुरा बुझ्दा यो आन्दोलनका लागि पश्चिमाले उचाले, तर दक्षिणतिरबाट सरकारको स्वरूप फेरिएपछि बेहोसीबाट होसमा आउनु भएको रहेछ।”

कुनै बेला फेसबुक पोस्टमा मेयर शाहले सिंहदरबार जलाउने धम्की दिएका थिए। जेन–जी आन्दोलनकै क्रममा सिंहदरबारमा आगजनी भएपछि यसको दोष उनीमाथि नै लगाइएको छ। अझै, सिंहदरबारलाई आगोले लपेटिसकेको जानकारी हुँदाहुँदै दमकल नपठाएर महानगरको गाडीमा आन्दोलनकारीलाई पानी बाँडेको देखिएपछि उनलाई ‘विध्वंशको योजनाकार’को आरोप लगाउने पोस्टहरू पनि आइरहेकै छन्। 

तथापि, सिंहदरबार आगजनीको झन्डै एक महिनापछि उनले त्यसमा आफ्नो कुनै भूमिका नरहेको भन्दै फेसबुकमार्फत असोज २१ गते स्पष्टीकरण दिए। सिंहदरबारको आगो निभाउँदै गरेका दमकलको भिडियो राखेर आफूले नै पठाएको भन्दै फेसबुकमा पोस्ट गरे।

तर उनको त्यही पोस्टमा धेरैले नियोजित रूपमा उनैले सिंहदरबार जलाएको कमेन्ट गरे। रमिला नेपाल नामकको आईडीबाट आएको कमेन्टमा लेखिएको छ, “जति स्पष्टीकरण दिए पनि सिंहदरबार जल्नुमा तिम्रो भूमिका नकार्न सकिँदैन।”

त्यस्तै, अमृत धनुषले लेखेका छन्, “...आन्दोलनकारीलाई उक्साएर सिंहदरबार जलाइसकेपछि संसद् विघटनको माग राखेर गुप्त बास बस्यो, त्यसपछि चौतर्फी खोजतलास भएपछि २/३ वर्ष पहिले घोषणा गरेका कामहरू निरन्तर पोस्ट गर्यो, जनभावनालाई इमोसनल ब्ल्याकमेल गरेर आफ्ना काला कर्तुत लुकाउन यसका पोस्ट ढाल बनेर छेक्न सकेनन्।”

शाहमाथि विध्वंश मच्चाएको, अन्तरिम सरकारको नेतृत्व लिन आग्रह गर्दागर्दै जेन–जीको भावनासँग खेलबाड गरेको, जेन–जी आन्दोलनमा मारिएकाहरूको अन्त्येष्टि र श्रद्धाञ्जली सभाहरूमा उपस्थित नभएको भन्दै प्रश्न भइरहेको छ। उनलाई जनतामाझ नगई कोठाभित्र बसेर राजनीति गरेको आरोप पनि छ।

जेन–जी नेपाल नामको फेसबुक पेजले शाहको एउटा स्टेटसमा गरेको कमेन्टमा लेखिएको छ, “म तपाईंको समर्थक हुँ, तर यत्रो पोस्टमा एउटै प्रश्न राख्न चाहन्छुः घाइते जेन–जीलाई सहानुभूति र शहीदलाई श्रद्धाञ्जली दिन किन उपस्थित हुनुभएन? यो हामी सबैको चाहना थियो, तर यो कुराले निराश बनाएको छ।”

बालेन निकट रहेका लेखक तथा गत स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका गनेश पौडेल चाहिँ मेयर शाहमाथि प्रश्न उठ्नुको कारण उनको मौनता भएको बताउँछन्। यद्यपि, उनीप्रति जनताको विश्वास नधर्मराएको पौडेलको दाबी छ।

राजनीतिमा समर्थक खुशी र दुःखी भइरहने प्रक्रिया भएका कारण अहिले केही समर्थक निराश भएको हुनसक्ने उनको आकलन छ। “कुनै औपचारिक फोरमबाट आरोप खण्डन नगरेर यस्तो अवस्था आएको हो,” पौडेल भन्छन्, “यदि, त्यस्तो (खण्डन) गरेर सबै स्पष्ट पारिदिएको भए उनीमाथि प्रश्न उठाउने ठाउँ छैन।”

दिनहुँ उजुरी र जाहेरी
जेन–जी आन्दोलनपछि मेयर शाहमाथि विध्वंशको आरोप र शंकाको प्रश्न मात्रै उठिरहेको छैन, उनीविरूद्ध जाहेरीको चाङ पनि लागिरहेको छ। भदौ २३ गतेको आन्दोलनमा भएको हत्यामा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिइएपछि मेयर शाह र ‘हामी नेपाल’का संयोजक सुदन गुरूङविरुद्ध पनि जाहेरी दिने श्रृंखला चलेको छ।

जेन–जी आन्दोलनको अगुवा दाबी गरेको संस्था ‘हामी नेपाल’का संयोजक गुरूङसहितका युवा असोज २० गते ओली र लेखकविरूद्ध जाहेरी लिएर काठमाडौँ प्रहरी परिसर पुगेका थिए। तर उनको जाहेरी प्रहरीले दर्ता गरेन।

त्यसैको भोलिपल्ट एमालेनिकट अनेरास्वियुले पनि शाह र गुरुङविरुद्ध भदौ २४ गतेको विध्वंशमा जिम्मेवार भएको भन्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दियो। उनीहरूकै योजनामा घटना भएको मात्र नभई, राज्यविरुद्ध जासुसी गरेको पनि जाहेरीमा उल्लेख छ। एमाले निकट राष्ट्रिय युवा संघले पनि उनीहरूविरूद्ध जाहेरी दिएका छन्।

अनेरास्ववियुले शाह र गुरुङविरुद्ध काठमाडौँमा मात्रै नभई, कैलाली, कपिलवस्तुलगायत जिल्लामा पनि जाहेरी दिएको छ। राष्ट्रिय युवा संघले जिल्ला प्रहरी कार्यालय धनुषामा पनि जाहेरी दिएको छ। ती जाहेरीमा जेन–जी आन्दोलनमा हिंसा भड्काउन उनीहरूले भूमिका खेलेको उल्लेख छ।

नेपाली कांग्रेस निकट नेविसंघले पनि असोज २६ गते शाह र गुरुङविरुद्ध काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको छ। दुवैजनाले विद्यार्थीहरूलाई विद्यालय पोसाकमै आन्दोलनमा जान उक्साएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउन भूमिका खेलेको दाबी जोहेरीमा छ।

नेविसंघको जाहेरीमा भनिएको छ, “...जेन–जी प्रदर्शनमा भएको लुटपाटको जिम्मेवार बालेन शाह र सुदन गुरुङ हुन्। कसुरदारहरूलाई हदैसम्मको कारबाही गरी पाउँ।”