अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रमुख सिफारिसमध्ये एक हो दुर्घटना अनुसन्धान निकायको स्वतन्त्रता। उड्डयन सुरक्षामा गरिने लगानीलाई अनावश्यक खर्चका रूपमा नभई दीर्घकालीन लाभका रूपमा हेर्नुपर्छ।
हालै भारतमा भएको एयर इन्डिया विमान सेवाको जहाज दुर्घटनापश्चात् एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइबी) ले तत्काल अनुसन्धान सुरु गरेको छ। दुर्घटनाको कारण पत्ता लगाउन विभिन्न पक्षको गहिरो छानबिन भइरहेको छ, जसमा दुवै इन्जिन फेल भएको सम्भावना, तापक्रमका कारण फ्ल्यापले पर्याप्त लिफ्ट दिन नसकेको अवस्था, जहाजको मर्मत सम्भारमा कुनै कमीकमजोरी रहे/नरहेको वा चालक दलले समयमै उचित निर्णय लिन नसकेकोजस्ता विषय पर्छन्। यी विषयमा हुने व्यावसायिक र गहन अनुसन्धान प्रक्रियाले दुर्घटनाको वास्तविक कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ। यसले भारतको उड्डयन सुरक्षा प्रणालीको परिपक्वता र व्यावसायिकतालाई प्रस्ट पार्छ।
नेपाल सन्दर्भ: कर्मकाण्डी आयोग र आवश्यक सुधार
यद्यपि, नेपालको सन्दर्भमा भने यस्ता दुर्घटनाको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न चिह्न खडा हुने गरेको छ। भारतमा एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोजस्तो स्थायी र व्यावसायिक निकायले अनुसन्धान गर्दा नेपालमा भने हरेक दुर्घटनापछि 'भत्ता'मुखी र कर्मकाण्डी प्रकृतिका जाँचबुझ आयोगहरू गठन गर्ने प्रचलन छ। यस्ता आयोगमा प्रायः उड्डयन क्षेत्रमा सीमित अनुभव वा केही विदेशी तालिम लिएका व्यक्तिलाई समेटेर अनुसन्धान गर्ने परम्परा छ, जसले वास्तविक तथ्य बाहिर आउन नसक्ने सम्भावना प्रबल हुन्छ। यसले गर्दा उड्डयन क्षेत्रमा अविश्वास मात्र पैदा भएको छैन, राज्यले हवाईजस्तो संवेदनशील क्षेत्रलाई हेर्ने दृष्टिकोण नै कुपोषित छ कि भन्ने गम्भीर समस्यासमेत देखिएको छ।
नेपालमा विमान दुर्घटना नौलो होइनन्। भौगोलिक जटिलता, पूर्वाधारको कमी, र कहिलेकाहीँ मानवीय त्रुटिका कारण यहाँ बारम्बार दुर्घटना हुने गरेका छन्। विगतमा भएका धेरै दुर्घटनाको छानबिन प्रतिवेदन सार्वजनिक भए पनि तिनको कार्यान्वयन पक्ष सधैँ कमजोर रहँदै आएको छ। दुर्घटनाको मूल कारण पहिचान गरी भविष्यमा त्यस्ता घटना दोहोरिन नदिनका लागि गरिने सिफारिसहरू कागजमै सीमित हुनुले उड्डयन सुरक्षामाथि निरन्तर प्रश्न उठ्ने गरेको छ।
स्थायी संयन्त्रको आवश्यकता
भारतको एएआइबीजस्तै नेपालमा पनि एउटा स्थायी र व्यावसायिक दुर्घटना अनुसन्धान ब्युरो (एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो) को स्थापना अपरिहार्य देखिन्छ। यस्तो ब्युरो राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ र यसमा उड्डयन क्षेत्रका विभिन्न विधाका अनुभवी तथा उच्च-दक्ष विशेषज्ञहरू संलग्न हुनुपर्छ। पाइलट, एयर ट्राफिक कन्ट्रोलर, मर्मत सम्भार इन्जिनियर, उड्डयन कानुनविद्, हवाई सुरक्षा विशेषज्ञ, मौसमविद्, मानव कारक (ह्युमन फ्याक्टर्स) विशेषज्ञ-विज्ञहरू संलग्न भएको बहुआयामिक टोलीले मात्र दुर्घटनाको समग्र पक्षमाथि गहन र निष्पक्ष अनुसन्धान गर्न सक्छ।
यस्तो ब्युरोले तत्काल दुर्घटनास्थल पुगी प्रमाण संकलन गर्ने, उडान डाटा रेकर्ड (एफडीआर) र ककपिट भ्वाइस रेकर्ड (सीभीआर) को विश्लेषण गर्ने, प्रत्यक्षदर्शीहरूसँग बयान लिने, मर्मत सम्भारका रेकर्डहरू जाँच्ने र अन्य प्राविधिक तथा मानवीय त्रुटिहरूको सूक्ष्म अध्ययन गर्नुपर्छ। यसका लागि आधुनिक उपकरण, तालिमप्राप्त जनशक्ति र पर्याप्त बजेटको व्यवस्था हुनुपर्छ।
भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो सन् २०१५ मा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत स्वतन्त्र निकायका रूपमा स्थापना भएको हो। यसको मुख्य उद्देश्य भारतको नागरिक उड्डयन क्षेत्रमा हुने हवाई दुर्घटना र गम्भीर घटनाको स्वतन्त्र र व्यावसायिक अनुसन्धान गर्नु हो। एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोको स्थापना हुनुअघि भारतमा पनि दुर्घटनाहरूको अनुसन्धानलाई नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) अन्तर्गत नै राखिएको थियो। तर डीजीसीए आफैमा नियामक निकाय भएकाले नियामक र अनुसन्धानकर्ताको भूमिका एकै ठाउँमा हुँदा स्वार्थको द्वन्द्वको सम्भावना रहन्थ्यो।
यसै कारण अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन) को मापदण्डअनुसार स्वतन्त्र अनुसन्धान निकायको आवश्यकता महसुस गरी एएआइबी स्थापना गरियो। एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो स्वतन्त्र निकाय हो, यसले कुनै पनि राजनीतिक वा बाह्य दबाबबिना निष्पक्ष अनुसन्धान गर्न सक्छ। यसको मुख्य उद्देश्य कसैलाई दोषारोपण गर्नुभन्दा पनि दुर्घटनाका कारणहरू पत्ता लगाई भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन सुझाव/सिफारिसहरू दिनु हो।
एएआइबीमा उड्डयनका विभिन्न विधामा दक्ष र अनुभवी विशेषज्ञहरू छन्। उनीहरूलाई नियमित रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम प्रदान गरिन्छ। एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्यूरोले दुष्घटनास्थलमा प्रमाण संकलन गर्न, ब्ल्याक बक्स (एफडीआर/सीभीआर) डाटा विश्लेषण गर्न र अन्य प्राविधिक अनुसन्धानका लागि आधुनिक उपकरण तथा प्रविधि प्रयोग गर्छ। यसको कार्य सञ्चालनका लागि स्पष्ट कानूनी आधार र नियम छन्, जसले यसलाई शक्ति र वैधता प्रदान गर्दछ।
कुनै पनि दुर्घटना वा गम्भीर घटना हुने बित्तिकै एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोको टोली तत्काल घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्छ, जसले प्रमाणको सुरक्षा र अनुसन्धानको गतिशीलता सुनिश्चित गर्छ। भारतको यो अनुभवबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्छ। केवल 'आयोग' गठन गरेर 'भत्ता' खुवाउने प्रवृत्तिको अन्त्य गरी दीर्घकालीन र वैज्ञानिक अनुसन्धान प्रणालीको विकास गर्नु आजको आवश्यकता हो।
स्थायी र व्यावसायिक दुर्घटना अनुसन्धान ब्युरोको स्थापनाले अस्थायी आयोगमा हुने ज्ञान र अनुभवको अभावलाई पूर्ति गर्छ। स्थायी कर्मचारीले निरन्तर तालिम र अनुभवका आधारमा आफ्नो विशेषज्ञता विकास गर्न सक्छन्। उनीहरूले हरेक दुर्घटनाको अनुसन्धानबाट प्राप्त ज्ञानलाई आगामी अनुसन्धानमा प्रयोग गर्न सक्छन्, जसले अनुसन्धानको गुणस्तर र प्रभावकारिता बढाउँछ।
दुर्घटना हुने बित्तिकै तत्काल अनुसन्धान टोली परिचालन गर्न सकिन्छ, जसले प्रमाण नष्ट हुनबाट जोगाउँछ र अनुसन्धानलाई तीव्रता दिन्छ। दुर्घटना स्थलको सुरक्षा, प्रमाण संकलन र प्रारम्भिक विश्लेषणका लागि तत्कालै विशेषज्ञ टोलीको उपस्थिति अपरिहार्य हुन्छ। स्वतन्त्र निकायले राजनीतिक दबाब वा बाह्य प्रभावबिना निष्पक्ष रूपमा काम गर्न सक्छ। नेपालमा गठन हुने आयोगहरू प्रायः राजनीतिक नियुक्तिका आधारमा बन्ने र सरकार परिवर्तनसँगै तिनको निरन्तरतामा प्रश्न उठ्ने समस्या देखिन्छ। स्थायी ब्यूरोले यस समस्यालाई समाधान गर्छ।
अनुसन्धानबाट प्राप्त सिफारिसहरूलाई सम्बन्धित निकायहरू (जस्तै: नागरिक उड्डयन प्राधिकरण, वायुसेवा कम्पनीहरू) मा प्रभावकारी रूपमा कार्यान्वयन गराउन स्थायी ब्युरोले दबाब दिन सक्छ। अस्थायी आयोगका प्रतिवेदनहरू प्रायः दराजमा थन्किने समस्या नेपालमा वर्षौँदेखि देखिँदै आएको छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परिशिष्ट १३ मा उल्लेखित मापदण्डहरू पूर्ण रूपमा पालना गर्न मद्दत गर्छ। अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि पनि स्थायी ब्युरो अत्यन्त महत्त्वपूर्ण छ। एक विश्वसनीय र स्वतन्त्र अनुसन्धान निकायको स्थापनाले स्वदेशी तथा विदेशी लगानीकर्ता र पर्यटकमा नेपालको उड्डयन सुरक्षाप्रति विश्वास बढाउँछ।
अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको अवस्था
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन संयुक्त राष्ट्र संघको एक विशेष निकाय हो, जसले अन्तर्राष्ट्रिय हवाई यातायातको सुरक्षा र व्यवस्थित विकास सुनिश्चित गर्न विश्वव्यापी मापदण्ड र सिफारिस अभ्यासहरू विकास गर्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको परिशिष्ट १३ ले सदस्य राष्ट्रहरूलाई हवाई दुर्घटना र घटनाहरूको अनुसन्धानका लागि स्पष्ट र विस्तृत दिशानिर्देशहरू प्रदान गर्छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको प्रमुख सिफारिसमध्ये एक हो दुर्घटना अनुसन्धान निकायको स्वतन्त्रता। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नियामक निकाय (जस्तै: नागरिक उड्डयन प्राधिकरण) बाट अनुसन्धान निकायलाई पूर्ण रूपमा अलग राख्न प्रोत्साहन गर्छ। यसको कारण स्वार्थको द्वन्द्वलाई हटाउनु हो, किनकि नियामक निकाय आफैले बनाएका नियमको पालना नभएको अवस्थामा अनुसन्धान गर्दा निष्पक्षतामा प्रश्न उठ्न सक्छ। हाल नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रत्यक्ष र परोक्ष रूपमा नियामक निकायको रूपमा कार्यरत छन्।
दुर्घटनाको अनुसन्धान गर्ने निकाय स्वायत्त हुनुपर्ने मापदण्ड पूर्ण रूपमा पालना हुन सकेको छैन। दुर्घटनापछि गठन हुने जाँचबुझ आयोग प्रायः 'उच्चस्तरीय' भए पनि काम गर्ने प्रक्रिया, स्रोत-साधनको कमी र सिफारिसहरूको फितलो कार्यान्वयनका कारण उड्डयन सुरक्षामा सुधार आउन सकेको छैन। यसले गर्दा नेपालको उड्डयन क्षेत्रले अन्तर्राष्ट्रिय समुदायमा विश्वास गुमाउँदै गएको छ, जसको प्रत्यक्ष असर युरोपेली युनियन (इयू) को कालोसूचीमा पर्नुले देखाएको छ। इयूले सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको छ, जसको मुख्य कारण नेपालको हवाई सुरक्षा व्यवस्थाको कमजोर अनुगमन र दुर्घटना अनुसन्धानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड पूरा नहुनु हो।
विश्वका विभिन्न देशले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनका मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै सफल दुर्घटना अनुसन्धान निकाय स्थापना गरेका छन्। यी निकायबाट नेपालले धेरै कुरा सिक्न सक्छ:
अमेरिका: नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड
सन् १९६७ मा स्थापना भएको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (एनटीएसबी) संयुक्त राज्य अमेरिकाको एक स्वतन्त्र सरकारी निकाय हो, जसले नागरिक उड्डयन, रेलमार्ग, सडक, समुद्री र पाइपलाइन दुर्घटनाहरूको अनुसन्धान गर्छ। यसको मुख्य विशेषता नै पूर्ण स्वायत्तता हो। यो त्यहाँको कुनै पनि यातायात नियामक निकायबाट पूर्ण रूपमा अलग छ। एनटीएसबीले प्रत्येक दुर्घटनाको गहन अनुसन्धान गर्छ र सुरक्षा सिफारिस जारी गर्छ। सिफारिसलाई कानूनको रूपमा लागू गर्ने अधिकार यसलाई नभए पनि यसका सिफारिसलाई नियामक निकायहरूले गम्भीरतापूर्वक लिने गर्छन् र प्रायः कार्यान्वयन गर्छन्। यसको विश्वसनीयता र वैज्ञानिक अनुसन्धान क्षमताले गर्दा यसका सिफारिसहरूको उच्च नैतिक प्रभाव हुन्छ।
बेलायत: एयर एक्सिडेन्ट इन्भेस्टिगेसन शाखा
एयर एक्सिडेन्ट इन्भेस्टिगेसन शाखा (एएआइबी) यातायात विभागअन्तर्गतको निकाय हो, तर यसले स्वतन्त्र रूपमा काम गर्छ। यसले बेलायती क्षेत्रमा वा बेलायती दर्ताका विमानहरूको विश्वको जुनसुकै स्थानमा हुने दुर्घटनाको अनुसन्धान गर्छ। यसको स्थापना सन् १९१५ मा भएको थियो, जुन विश्वका सबैभन्दा पुराना उड्डयन दुर्घटना अनुसन्धान निकायमध्ये एक हो।
यसले वैज्ञानिक र प्राविधिक विशेषज्ञतामा जोड दिन्छ र अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक गर्छ।
क्यानडा: ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड
सन् १९९० मा स्थापना भएको ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड (टीएसबी) क्यानडाको स्वतन्त्र संघीय निकाय हो , जसले हवाई, समुद्री, रेल र पाइपलाइन दुर्घटनाहरूको अनुसन्धान गर्छ।
यसले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार दुर्घटनाका कारणहरू पत्ता लगाउने र सुरक्षा सुधारका लागि सुझाव/सिफारिसहरू दिने काम गर्छ। यसको मुख्य विशेषता यसको 'मल्टीमोडल इन्भेस्टीगेसन' क्षमता हो, जसले यातायातका विभिन्न माध्यममा सुरक्षाका लागि सामूहिक पाठ सिक्न मद्दत गर्छ।
यी उदाहरणले के देखाउँछन् भने सफल उड्डयन सुरक्षाका लागि स्वतन्त्र, दक्ष र व्यावसायिक अनुसन्धान निकाय अपरिहार्य हुन्छ। यसले केवल दुर्घटनाको कारण पत्ता लगाउने मात्र नभई सम्पूर्ण उड्डयन प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउन मद्दत गर्छ।
राज्यको दृष्टिकोण र दीर्घकालीन समाधान
हाम्रो राज्यले उड्डयन क्षेत्रलाई 'कुपोषित' दृष्टिले हेरिरहेको छ। उड्डयन सुरक्षामा गरिने लगानीलाई अनावश्यक खर्चका रूपमा नभई दीर्घकालीन लाभका रूपमा हेर्नुपर्छ। दक्ष जनशक्ति उत्पादन, आधुनिक प्रविधिको प्रयोग, नियमित तालिम र पूर्वाधार विकासमा गरिने लगानीले मात्र समग्र उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन सकिन्छ।
नेपालले स्थायी संयन्त्रमार्फत यस्ता घटनाको अनुसन्धान गर्ने कुरा भारतबाट मात्र नभई विश्वका अन्य राष्ट्रहरूबाट पनि सिक्नुपर्छ। एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो लाई छुट्टै ऐनमार्फत स्थापित गर्नुपर्छ, जसले यसलाई पूर्ण कानूनी र आर्थिक स्वतन्त्रता प्रदान गरोस्। यसको प्रमुखको नियुक्ति राजनीतिक प्रभावबाट मुक्त हुनुपर्छ र योग्यताका आधारमा हुनुपर्छ। नागरिक उड्डयन प्राधिकरण (सीएएएन) बाट अनुसन्धान कार्यलाई पूर्ण रूपमा अलग गर्नुपर्छ।
अनुसन्धान ब्युरोमा पाइलट, एयर ट्राफिक कन्ट्रोलर, मर्मत सम्भार इन्जिनियर, उड्डयन कानूनविद्, हवाई सुरक्षा विशेषज्ञ, मौसमविद्, मानव कारक विशेषज्ञ र फरेन्सिक विशेषज्ञहरू सहितको बहुविषयगत टोली हुनुपर्छ।
उनीहरूलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, एनटीएसबी, एएआइबी युके आदिद्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय स्तरको तालिम नियमित रूपमा प्रदान गर्नुपर्छ। जनशक्तिलाई पर्याप्त तलब र सुविधा दिएर आकर्षित गर्दै टिकाइ राख्नुपर्छ।
फ्लाइट डाटा रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को विश्लेषणका लागि अत्याधुनिक प्रयोगशाला स्थापना गर्नुपर्छ। दुर्घटनास्थलको थ्रिडी स्क्यानिङसँगै ड्रोन प्रयोगमार्फत तस्वीर/भिजुअल र अन्य डिजिटल प्रमाण संकलनका लागि आधुनिक उपकरणहरू उपलब्ध गराउनुपर्छ। मौसम विज्ञान, भू-भाग विश्लेषण र संरचनात्मक क्षति मूल्यांकनका लागि आवश्यक सफ्टवेयर र उपकरणहरूको व्यवस्था हुनुपर्छ।
अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव लिने र आलोचनालाई सकारात्मक रूपमा लिने अभ्यास हुनुपर्छ। अनुसन्धानबाट प्राप्त सिफारिसहरूको कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना र समय सीमा तोकिनुपर्छ। सिफारिस कार्यान्वयनको नियमित अनुगमन गर्ने र त्यसको प्रगति सार्वजनिक गर्ने संयन्त्र हुनुपर्छ। सिफारिस कार्यान्वयन नगर्ने वा ढिलासुस्ती गर्ने निकाय वा व्यक्तिलाई जबाफदेही बनाउने व्यवस्था हुनुपर्छ।
वायुसेवा कम्पनीहरू, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवालामा सकारात्मक सुरक्षा संस्कृति (पोजेटिभ सेफ्टी कल्चर) को विकास गर्नुपर्छ। यसको अर्थ त्रुटिहरूबाट सिक्ने, रिपोर्टिङलाई प्रोत्साहन गर्ने र सुरक्षालाई प्राथमिकता दिने वातावरण बनाउनु हो। 'जस्ट कल्चर'को अवधारणा अपनाउनुपर्छ, जहाँ गल्ती गर्नेलाई तत्काल दण्डित गर्नुभन्दा पनि प्रणालीगत कमजोरी पत्ता लगाई सुधार गर्नेमा जोड दिइन्छ, तर लापरबाही वा जानीजानी गरिएका गल्तीहरूलाई भने छुट दिइँदैन।
आशाको सञ्चार र राष्ट्रिय प्रतिबद्धता
नेपालको उड्डयन सुरक्षामा सुधार ल्याउन अब परम्परागत र कर्मकाण्डी शैली त्याग्दै वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउनु अनिवार्य छ। एउटा शक्तिशाली, स्वतन्त्र र दक्ष एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोको स्थापनाले दुर्घटनाको वास्तविक कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसले नेपालको उड्डयन क्षेत्रमा आशाको सञ्चार गराउनेछ र अन्तर्राष्ट्रिय समुदायमा नेपालको उड्डयन सुरक्षाप्रति विश्वास पनि पुनर्स्थापित हुनेछ।
यो केबल एउटा संरचनागत परिवर्तन मात्र नभई उड्डयन सुरक्षाप्रति राष्ट्रिय प्रतिबद्धताको द्योतक हुनेछ। जबसम्म राज्यले यस संवेदनशील क्षेत्रलाई प्राथमिकताका साथ हेर्दैन र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुरक्षा प्रणाली स्थापना गर्दैन, तबसम्म हवाई दुर्घटनाको जोखिम र त्यसले निम्त्याउने मानवीय तथा आर्थिक क्षतिबाट नेपाल मुक्त हुन सक्दैन। ढिला नगरी यस दिशामा ठोस कदम चाल्नु अपरिहार्य छ।
(शर्मा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक हुन्। उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका नीजि हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
