बिरामी र चिकित्सकको संवाद ‘मेडिकल नोट’मा बदल्ने एआई उपकरण भित्र्याउने चिकित्सक

बिरामी र चिकित्सकको संवाद सुनेर त्यसलाई मेडिकल नोटमा परिवर्तन गर्ने एआई उपकरण ‘माई क्लिनिको’ दमक बाल अस्पतालमा प्रयोग भइरहेको छ। त्यसलाई भित्र्याउने चिकित्सक हुन् डा. प्रकाश पौडेल।

काठमाडौँ– अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्समा कार्यरत क्लिनिकल इन्फर्मेटिक्स र इन्टरनल मेडिसिन विशेषज्ञ डा. प्रकाश पौडेललाई नेपालका लागि केही गर्ने चाहना थियो। नेपालले भोगेका विभिन्न संकटको बेला केही साथीसँग मिलेर चन्दा उठाइ सहयोग पठाउँथे। त्यो सहयोग कहिले प्राकृतिक घटनाका पीडितलाई त, कहिले कोभिड १९ महामारी पीडितलाई पुग्थ्यो।

अमेरिका प्रवेश गरेको एक दशकमा उनले हिमाल, पहाड र तराईमा भएका विभिन्न संकटमा सहयोग गरे। तर केही मानिसलाई आर्थिक सहयोग गरेर मात्रै उनको चित्त बुझिरहेको थिएन।

डा. पौडेल नेपालको विकासमा दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा सहयोग गर्न चाहन्थे। स्वास्थ्य क्षेत्रमा कार्यरत भएकाले सहयोग यसैमा केन्द्रित गर्ने मनसाय थियो। तर के, कहाँ र कसरी सहयोग गर्ने स्पष्ट योजना थिएन।

त्यही बेला उनको संवाद डा. भगवान कोइरालासँग भयो। डा.कोइराला काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बनाउने अभियानमा थिए। उक्त संस्था बनाउन देशविदेशमा सहयोग आवह्वान गरिरहेका थिए।

डा. पौडेलले नेपालको बाल स्वास्थ्य क्षेत्र सुधारमा भरपर्दो सहकार्य हुने आशा गरे। नेपालमा काम गर्न चाहने साथीहरूसँग मिलेर उनले किओच पार्टनर्स अफ अमेरिका (के–पाल्स) स्थापना गरे। के–पाल्स सन् २०२१ मा अमेरिकामा गैरनाफामूलक संस्थाको रूपमा दर्ता भयो।

उक्त संस्थाले विदेशमा रहेका नेपालीसँग चन्दा उठाएर लगभग ६ करोड रुपैयाँ सहयोग गर्‍यो। त्यो रकम विशेषगरी भौतिक पूर्वाधार बनाउन खर्च भयो। उनी भन्छन्, “जुन प्रकारका साथीहरूसँग मैले के–पाल्समा सँगै काम गर्न पाएको छु, त्यो मेरो सौभाग्य हो।”

त्यति रकम सहयोग जुटाएर उनीहरू चुप बस्ने पक्षमा थिएनन्। डा. पौडेल संस्थालाई कुनै न कुनै काम लाग्ने प्रविधि हस्तान्तरण गर्न चाहन्थे। उनी आफै पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सिकिरहेका थिए। उनले त्यहाँ सिकेको सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्न के–पाल्समा प्रस्ताव गरे।

संस्थाका  सदस्यले उनको प्रस्तावको समर्थन गरे। उनले ‘माई क्लिनिको’ नाम गरेको एआई उपकरण नेपाल भित्र्याए। स्वास्थ्य सेवामा एआईको प्रयोग गर्ने उद्देश्य बोकेर नेपाल आएका उनले किओच अन्तर्गतको दमक बाल अस्पतालमा यसको औपचारिक शुरूआत गरिसकेका छन्। माई क्लिनिकोले बिरामी र चिकित्सकको कुराकानी सुनेर ‘मिडिकल नोट’ तयार गर्छ।

null

चिकित्सकको सहयोगी
डा. पौडेलका अनुसार, माई क्लिनिको यस्तो एआई उपकरण हो, जसले चिकित्सक र बिरामीले बोलेको संवाद मेडिकल नोटमा परिवर्तन गरिदिन्छ। चिकित्सक र बिरामीको संवादलाई विश्लेषण गर्नसक्नु यसको मुख्य  विशेषता हो। यसले नेपालीमा गरेको कुराकानी सुनी रोग र त्यसको इतिहास तयार पारेर चिकित्सकको समय बचाउने उनको भनाइ छ।

नेपालमा थोरै समयमा धेरै बिरामी हेर्नुपर्ने भएकाले चिकित्सकले पर्याप्त समय दिन भ्याउँदैनन्। समय अभावमा बिरामीको विवरण राम्रोसँग नलिने भएकाले त्यसको असर रोग पहिचान र उपचारमा परिरहेको हुन्छ। बिरामीलाई सोध्दै, सुन्दै जवाफ पनि कागजमा लेख्नुपर्दा चिकित्सक सधैँ दबाबमा हुन्छन्।

चिकित्सकले हरेक दिन भोग्ने यस्ता समस्या माई क्लिनिकोले समाधान गर्ने डा. पौडेल बताउँछन्। “यो एआई टुल चिकित्सकको सहयोगी हो, यसको प्रयोग गर्दा चिकित्सक आफैले बिरामीको लामो मेडिकल हिस्ट्री लेख्नुपर्दैन,” उनी भन्छन्।

यो एआई उपकरण ‘लर्निङ’ प्रविधिमा आधारित छ। जति प्रयोग गर्‍यो त्यति नै यसको क्षमता बढ्दै जाने डा. पौडेल बताउँछन्। दमकको बाल अस्पतालमा प्रयोग भएको उपकरणले ८० प्रतिशतसम्म प्रभावकारी काम गरेको छ।

एआई उपकरणले तयार गरेको मेडिकल नोटलाई चिकित्सकले सम्पादन पनि गर्न सक्छन्। केही कुरा हटाउन र थप्न सक्ने भएकाले यसबाट गल्ती हुने सम्भावना कम हुन्छ। “हरेक बिरामीको मेडिकल हिस्ट्री डिजिटल्ली रेकर्ड भयो भने भविष्यमा गर्ने उपचारमा समेत सहयोग हुन्छ,” डा. पौडेल भन्छन्।

स्वास्थ्यसम्बन्धी तथ्यांकको व्यवस्थित अभिलेख
नेपालका लागि नयाँ भए पनि यो किसिमको प्रविधि अन्य देशका अस्पतालले प्रयोग गरिसकेका छन्। यो एआई उपकरण निःशुल्क प्रयोग गर्न पाइँदैन। बाल अस्पतालका ४० जना चिकित्सकले प्रयोग गर्न मिल्ने गरेर यसको शुल्क केपाल्सले तिरिरहेको छ।

डा. पौडेल नेपालजस्तो देशका लागि कम्पनीले थोरै शुल्कमा यो उपकरण उपलब्ध गराएको बताउँछन्। उनका अनुसार, प्रयोगकर्ता बढेमा शुल्क तिरेर यसको सेवा थप्नसमेत मिल्छ।

कुनै पनि रोगको पहिचान, उपचार र अनुसन्धानका लागि ‘मेडिकल हिस्ट्री’ नभई हुन्न। स्वास्थ्यसम्बन्धी नीति बनाउनसमेत यस्ता तथ्यांकको आवश्यक हुन्छ, त्यो मेडिकल हिस्ट्री र नोटबाट नै प्राप्त हुन्छ। 

नेपालजस्तो देशमा भने बिरामीको तथ्यांक सहजै पाइँदैन। अस्पताल तथा क्लिनिकले बिरामी र उसको रोगको इतिहास, उपचार तथा त्यसमा भएका खर्चको तथ्यांक राख्दैनन्। फलस्वरुप चिकित्सकले कुनै विषयमा अनुसन्धान गर्न चाहे तथ्यांक नपाउने मात्र होइन, स्वास्थ्य नीति बनाउन नीति निर्मातासँग प्रमाणमा आधारित आधार पनि हुँदैन। 

माइ क्लिनिकोले बिरामीको उमेर समूह, रोग, भौगोलिक क्षेत्र, उपचारमा व्यतित गरेको समय र खर्चजस्ता तथ्यांकको अभिलेख राख्छ। “यो तथ्यांक उपचारको गुणस्तर सुधार गर्नदेखि स्वास्थ्यका नीति बनाउनसम्म सहयोगी हुनसक्छ,” डा. पौडेल भन्छन्। 

उक्त एआई उपकरणको मद्दतले चिकित्सकले रोगअनुसार फरकफरक ‘टेम्प्लेट’ तयार पार्न सक्छन्। जस्तो कि, मुटुको डाक्टरले एउटा टेम्प्लेट प्रयोग गर्छन्, पेटका डाक्टरले अर्को। पहिलोपटक आएका बिरामीलाई फरक टेम्प्लेट राख्न सकिन्छ, पुरानालाई फरक। यस्तो गर्दा बिरामीको मेडिकल हिस्ट्रीको अभिलेख राख्न सहज हुन्छ।

null

त्यस्तै, कुनै अस्पतालमा आएका बिरामीमा उस्तै प्रकारको लक्षण देखियो भने उनीहरू कहाँका हुन् र त्यहाँ कुन रोग फैलिएको छ भनेर थप खोज्न सकिन्छ। किनकि, यो एआई उपकरणले उस्तै रोगका लक्षण, भूगोल, उमेरलगायत तथ्यांकलाई ‘डिटेक्ट’ गरिरहेको हुन्छ।

मिल्दोजुल्दो लक्षण, भूगोल र उमेरका बिरामीलाई यसले थप हेर्न संकेत गर्छ। त्यसो हुदाँ अस्पताल वा स्वास्थ्य प्रणालीका निकायलाई कहाँ, कस्तो रोग फैलिएको छ, कस्ता बिरामी छन् र त्यहाँ कस्तौ पूर्वाधार तथा उपचार चाहिएको छ भन्ने निर्णय गर्न सहज हुन्छ। “तथ्यांकमा आधारित नीति बनाउनका लागि यो एआई सहयोगी हुन्छ,” डा.पौडेल भन्छन्।

एआई प्रयोगको निर्देशिका आवश्यक
नेपालमा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग बल्ल शुरू हुँदैछ। यो उपकरणको प्रयोग सफल भए यस्ता प्रविधि प्रयोगको बाटो खोल्ने डा.पौडेल बताउँछन्। किनकि, यसले उपचार र अनुसन्धान दुवैमा सहयोग गर्छ र नीति निर्माणका लागि पनि भूमिका खेल्छ।

अन्य स्वास्थ्य संस्था तथा अस्पतालले पहिलो प्रयोगको नतिजा हेरेर यसलाई लिने या नलिने निर्णय गर्न सक्छन्। यसको सफल प्रयोग भए स्वास्थ्य क्षेत्रमा एआई प्रविधि भित्र्याउन कोशेढुंगा हुनेछ। “नेपालको स्वास्थ्य क्षेत्रमा ढिलोचाँडो एआईको प्रयोग त हुन्छ नै, तर यो सफल भयो भने एकदम छिटो धेरै एआई टुल भित्रिने सम्भावना छ,” डा. पौडेल भन्छन्।

यस्ता प्रविधि कसरी, कसले र कहाँ प्रयोग गर्ने भनेर स्पष्ट पार्न निर्देशिका आवश्यक हुन्छ। निर्देशिका नहुँदा व्याक्तिगत स्वास्थ्य विवरण दुरुपयोग हुने सम्भावना हुन्छ। बिरामीको मेडिकल हिस्ट्री स्वास्थ्य व्यवसायीका लागि ठूलो सम्पत्ति हो। 

यस्ता उपकरण प्रयोग गर्न विभिन्न देशमा निर्देशिका बनेका छन्। यो प्रविधि अन्तर्राष्ट्रिय निर्देशिकाअनुसार नेपालमा प्रयोग गरिरहेको डा. पौडेल बताउँछन्। “अब यस्ता प्रविधिका विषयमा राज्यले निर्देशिका बनाउन जरुरी देख्छु,” उनी भन्छन्।

अर्कातिर एआईले जागिर खोस्छ भन्ने भाष्य पनि निर्माण भएको छ। तर यो एआई उपकरण चिकित्सकको सहयोगी मात्रै हुने डा. पौडेल बताउँछन्। अहिलेसम्म मानिसको उपस्थितबिना स्वास्थ्य क्षेत्रका कुनै पनि उपकरणको प्रयोग नभएको उनको भनाइ छ। “एआईले त्यस्ता चिकित्सकको जागिर खोस्छ, जसले भविष्यमा यसको प्रयोग गर्न जान्दैनन्,” उनी भन्छन्।