पशुपति परिसरमा एउटा परिवार, जो चाडबाड नआइदियोस् भन्ने कामना गरिरहेको छ

दशैँ उनीहरूका लागि पीडाको कारण बनेर आउँछ, किनकि चाडबाडमा मानिसहरू गाउँ फर्किँदा मन्दिरमा भीड घट्छ। भीड कम हुनु भनेको सहयोग घट्नु हो र सहयोग घट्नु भनेको सञ्जीवको जीवनको घडी सुस्त चल्नु हो।

काठमाडौँ— देशैभर दशैँको रौनक छाएको छ। गाउँघरमा सरसफाइ, टीका र जमरा, नयाँ लुगा र मीठा परिकार तयारी भइरहेको छ। चाडबाड मनाउन मानिसहरू गाउँघर फर्किँदा काठमाडौँ सुनसानप्रायः छ। देशभर दशैँको माहौल तातिँदा, पशुपतिनाथ मन्दिर परिसरमा छन्, ३० वर्षीय सञ्जीव मुखिया बिन। जहाँ अरूहरू पारिवारिक जमघटको योजना बनाइरहेका छन्, सञ्जीव भने आफ्नी श्रीमती र दुईवर्षे काखे छोरी च्यापेर आफ्नो जीवनको भीख मागिरहेका छन्।

“घर भएको भए सरसफाइ गरेर पूजापाठ गर्थेँ, रंगाउँथेँ। तर, अहिले त घरै छैन। बिरामी छु, केही खानै मिल्दैन। दशैँ कसरी मनाउने?” चिन्ता मिश्रित मलिन स्वरमा उनले भने।

घर गुमाए, ठेगाना बन्यो पशुपति परिसर
३० वर्षको उमेरमै दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको जीवनमा अँध्यारो मात्र छाएन, महोत्तरीस्थित घर र चार धुर जमिन पनि उपचारकै क्रममा बेच्नुपर्‍यो। अहिले उनको ठेगाना यही पशुपति परिसर बनेको छ।

हरेक बिहान सञ्जीवको परिवारका लागि एउटा नयाँ संघर्ष लिएर आउँछ। उनीहरू हप्ताको पाँच दिन मन्दिर आउने भक्तजनसामु सहयोगका लागि याचना गर्छन्, ताकि बाँकी दुई दिन अस्पताल पुगेर डायलिसिस गराउन सकियोस्। उपचार खर्चदेखि कोठाभाडा र छाक टार्ने पैसासम्म, सबै यही सहयोगमा निर्भर छ। 

तर, दशैँ उनीहरूका लागि अर्को पीडाको कारण बनेर आएको छ। किनकि, चाडबाडमा मानिसहरू गाउँ फर्किँदा मन्दिरमा भीड कम हुन्छ। भीड कम हुनु भनेको सहयोग घट्नु हो र सहयोग घट्नु भनेको सञ्जीवको जीवनको घडी सुस्त चल्नु हो।

“चाडबाड आउँछ, हामीलाई नराम्रो मात्र लाग्छ। मेरो लागि त चाडपर्व नआइदिए हुन्थ्यो,” उनी भन्छन्, “किनकि यही समयमा हामीलाई पैसाको सबैभन्दा बढी अभाव हुन्छ।”

श्रीमतीको हिम्मत 
यो लडाइँमा सञ्जीव एक्लै छैनन्। उनकी २४ वर्षीया श्रीमती सुनीता देवी हिम्मत बनेकी छिन्। उनलाई दशैँ मनाउन नपाएकोमा कुनै गुनासो छैन। बरु, श्रीमान् निको भए अर्को वर्ष खुशीसाथ मनाउने आशा मनमा सँगालेकी छिन्। 

“उहाँलाई पीडामा देख्दा म कसरी रमाउन सक्छु र? श्रीमान् निको हुनुभयो भने अर्को दशैँ पनि आउँछ नि,” उनी भन्छिन्।

सञ्जीवको परिवारको परिवारमा एकपछि अर्को संकट आइलागे। ६५ वर्षीय बुबा फोक्सोसम्बन्धी रोगले ग्रस्त छन्। परिवारको सहारा बन्न विदेश गएका दाजु एउटा हात गुमाएर फर्किएका छन्। घरको आर्थिक र भावनात्मक बोझ पहिले सञ्जीवको काँधमा थियो, तर अहिले उनी आफैँ जीवन र मृत्युको दोसाँधमा छन्।

null

उनको ज्यान बचाउन ५० वर्षीया आमा पनि छोरा-बुहारीसँगै सहयोग मागिरहेकी छिन्। “आफ्नै आमा र श्रीमतीले आँखाअगाडि सडकमा हात फैलाएको देख्दा मन छियाछिया हुन्छ। तर, अवस्था नै यस्तो छ कि अरू उपाय नै छैन,” सञ्जीव भन्छन्।

वृद्ध अवस्थामा पुगेका आमाबुवालाई विभिन्न रोगले च्याप्न थालेको छ। २४ वर्षीया श्रीमती सुनीता देवीले दुई वर्षकी छोरी र सञ्जीव दुवैको जिम्मा लिएकी छिन्। “श्रीमतीलाई हरेक दिन चिन्तामा डुबेको देख्दा अझ पीडित हुन्छु,” सञ्जीव भन्छन्।

रोगले बदलिएको जीवन
महोत्तरीको गौशाला नगरपालिकामा जन्मेका सञ्जीवको जीवन पाँच महिना अघिसम्म फरक थियो। परिवारको आर्थिक अवस्था कमजोर भए पनि हाँसीखुशी जीवन चलिरहेको थियो। कक्षा ८ सम्म पढेका उनले १८ वर्षको उमेरदेखि नै मजदुरी गरेर परिवारको पेट पालिरहेका थिए। तर, एक दिन अचानक उनको शरीर सुन्निन थाल्यो, सास फेर्न गाह्रो भयो र उनी थला परे। जनकपुर प्रादेशिक अस्पतालमा जाँच गराउँदा पत्ता लाग्यो— उनका दुवै मिर्गौलाले काम गर्न छाडेछन्।

त्यसपछिका दिनहरू अस्पतालको चक्करमै बिते। काठमाडौँको वीर अस्पतालमा १८-२० दिनको उपचारपछि अहिले उनी भक्तपुरस्थित शहीद धर्मभक्त मिर्गौला प्रत्यारोपण केन्द्रमा नियमित डायलिसिस गराइरहेका छन्। 

“डायलिसिस नियमित नगरे बाँचिन्न। हप्तामा दुई दिन अस्पताल धाउनैपर्छ। मासिक १० हजारभन्दा बढी त डायलिसिसमै खर्च हुन्छ,” उनी आफ्नो पीडा सुनाउँछन्।

दैनिक मागेर हजार रुपैयाँजति जुट्छ, तर कहिलेकाहीँ रित्तो हात फर्कनुपर्छ। चिकित्सकहरूले एक वर्षभित्र मिर्गौला प्रत्यारोपण नगरे ज्यान जोखिममा पर्ने चेतावनी दिएका छन्, जसका लागि कम्तीमा सात लाख रुपैयाँ आवश्यक छ। यो रकम उनका लागि ‘आकाशको फल’ बराबर हो।

जब रात पर्दै जान्छ र पशुपतिको आरतीको ध्वनि हावामा गुन्जिन्छ, सञ्जीवलाई आफ्नो विगतले झस्काउँछ। उनलाई दशैँमा घर रंगाएको, मेला घुमेको र मीठा परिकार खाएको याद आउँछ। तर, ती सबै अब धमिलो चित्र जस्ता लाग्छन्। अहिले उनको अगाडि एउटै यथार्थ छ— मृत्युसँगको लडाइँ।

“कहिलेकाहीँ लाग्छ, म अब बाँच्दिनँ होला। म मरेँ भने मेरो परिवार र छोरीको के होला भनेर सोच्दा निद्रा लाग्दैन,” उनी भन्छन्, “सपनामा त परिवारलाई खुशी दिएर अँगालो हाल्न चाहन्थेँ, तर अहिले छोरीलाई राम्रोसँग अँगाल्नसम्म सक्दिनँ।