शुल्कवृद्धि फिर्ता नभएसम्म जारी राख्ने अडानका साथ क्याम्पसका विद्यार्थी सुलभ चापागाईंले अनशन थालेको १० दिन बितिसकेको छ। तर माग सम्बोधन गरेर अनशन तोडाउन डिन कार्यालय अग्रसर देखिएको छैन।
ललितपुर– सधैँजसो विद्यार्थीको चहलपहल देखिने पुल्चोक इन्जिनियरिङ क्याम्पस सुनसान छ। क्याम्पस परिसरमा सुरक्षाकर्मी खटिएका छन्। क्याम्पसको मूल गेटबाट प्रवेश गरेलगत्तै डिन कार्यालयअगाडि पुत्ला जलेको देखिन्छ।
कार्यालयको अगाडि राखिएको एउटा गोलो ढुंगामा कालो अक्षरमा ‘डिन’, ‘सहायक डिन– वार्ता कमिटी संयोजक’ लेखिएको छ। सोही ढुंगामा केही नगद (भेटी) पनि राखिएको छ। कार्यालयकै अगाडि ‘चर्को शुल्क वृद्धिविरुद्ध बुद्धिशुद्धि हवन’ गरिएको छ।
यो क्याम्पसमा सातौँ सेमेस्टर अध्ययनरत विद्यार्थी एवं सत्ता साझेदार दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)का क्याम्पस इकाई सभापति सुलभ चापागाईं भदौ ५ गतेदेखि त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले गरेको शुल्कवृद्धिको विरोधमा आमरण अनशन बसेका छन्।
क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन, सत्ताकै अर्को साझेदार दल नेकपा माओवादीकेन्द्र निकटको अनेरास्वयिवु (क्रान्तिकारी) लगायतका अन्य विद्यार्थी संगठनहरूले पनि अध्ययन संस्थानले गरेको शुल्कवृद्धिको विरोध गरिरहेका छन्। क्याम्पसमा हरेक दिन प्रदर्शन र आन्दोलन चलिरहेको छ।
संस्थानका डिन र पदाधिकारीले आफूहरूलाई जानकारी नदिई अकस्मात् शुल्क बढाएको भन्दै शुल्कवृद्धि फिर्ता नगरेसम्म जारी राख्ने अडानमा चापागाईंले अनशन शुरू गरेको १० दिन भइसकेको छ। “मैले कुनै शुल्क तिर्नु नपरे तापनि म पछाडिका भाइबहिनीले यति चर्को शुल्क तिरेर पढ्न सक्दैनन्। जो पढाइमा जेहेन्दार र आर्थिक रूपमा कमजोर छन् उनीहरूको उज्ज्वल भविष्यका लागि अनशन बस्न बाध्य भएको छु,” कमजोरीको कारण बोल्न नसक्ने अवस्थामा रहेका चापागाईंको विचार उनका साथीहरूले सुनाए।
इन्जिनियरिङ अध्ययन संस्थानले करिब १४३ प्रतिशतले शुल्क बढाएका कारण आफूहरू आन्दोलित भएको विद्यार्थी नेताहरूको भनाइ छ। अहिले इन्जिनियरिङको स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले तीन लाख १८ हजार रुपैयाँ शुल्क बुझाउँदै आएकोमा शुल्कवृद्धिसँगै अब सात लाख ७५ हजार ४२० रुपैयाँ तिर्नुपर्ने विद्यार्थीहरू बताउँछन्। यस्तै, नियमित शिक्षण शुल्क हालसम्म ३४ हजार रुपैयाँ रहेकोमा वृद्धिपछि अब ८३ हजार ४२० रुपैयाँ तिर्नुपर्ने गरी शुल्क बढाउन लागिएको उनीहरूको भनाइ छ।
संस्थानका डिन प्राध्यापक डा. शशिधरराम जोशी वार्तामा नआएको भन्दै आन्दोलनकारी विद्यार्थीहरूले आक्रोश पोखेका छन्। “हामीले कति चोटि सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमै हुनुहुन्न। सत्याग्रह थालेको नौ दिन नाघिसक्दा पनि अनेक बाहाना बनाएर उहाँ क्याम्पसमै आउनुभएको छैन। सहायक डिनलाई वार्ता कमिटीको संयोजक बनाउनुभएको छ। उहाँसँगको वार्ताबाट माग सम्बोधन हुन सकिरहेको छैन,” अनशनरत चापागाईंलाई साथ दिइरहेका विद्यार्थीहरूले उकालोसँग भने।
क्याम्पसमा तेस्रो सेमेस्टर अध्यनरत भुवन बोहोरा भन्छन्, “सुलभ दाइको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गइरहेको छ। रक्तचाप घटेको छ, मुटुको धड्कन एकदम बढिरहेको छ र अक्सिजन ५५ मा झरिसकेको छ। यस्तो चर्को शुल्कवृद्धिको निर्णय तत्काल खारेज हुनुपर्छ। यसबाहेक हाम्रो अरू कुनै माग छैन। डिनले यसमा अग्रसरता देखाउनुभएन।” अहिलेसम्म वार्ता कमिटी संयोजक एवं सहायक डिन सुरज लामिछानेसँग दुई पटक वार्ता भए पनि उनले शुल्क घटाउँदा क्याम्पस नै बन्द गर्नुपर्ने अवस्था आउने भन्दै कुनै हालतमा नघटाउने अडान राखेको बोहोराले बताए।
यो पनि: इन्जिनियरिङ अध्ययन संस्थानको शुल्कवृद्धि विरुद्ध विद्यार्थी आन्दोलित
इलेक्ट्रिकल इन्जिनियरिङतर्फ दोस्रो सेमेस्टरमा अध्ययनरत गौरव घिमिरे क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनहरूलाई थाहै नदिई विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्कवृद्धि मान्य नहुने बताउँछन्। उनी भन्छन्, “संस्थानका डिन र सहायक डिनको अवधारण नै विद्यार्थीहरूको पैसाबाट पूरै खर्च धानिनुपर्छ भन्ने भइसकेको छ। ३ लाख १८ हजारबाट रातारात बढाएर ७ लाख ७५ हजार पुर्याइएको छ। उहाँहरू २०५२ सालदेखि नबढेको शुल्क एकैचाटि १०५ प्रतिशतले बढाउँदा यति पुग्छ भनेर हिसाब सुनाउनुहुन्छ। यस हिसाबले त एक सेमेस्टरमै ९६ हजार लाग्छ, जुन हामीजस्ता मध्यमवर्गीय विद्यार्थीले तिर्नै सक्दैनौँ।”
नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य सुमित्रा घिमिरे इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क विद्यार्थीलाई स्वीकार्य नभएकाले छिटोभन्दा छिटो यो निर्णय खारेज हुनुपर्ने बताउँछिन्। “सुदूरपश्चिम र कर्णालीका विकट जिल्लाहरूबाट समेत सुलभ मूल्यमा इन्जिनियरिङको गुणस्तरीय शिक्षा पाइन्छ भनेर विद्यार्थी साथीहरू पढ्न आएका छन्। आर्थिक अवस्था निकै नै चुनौतीपूर्ण भएका साथीहरू पनि थुप्रै छन्। यति चर्को शुल्क तिरेर पढ्नै सकिन्न,” उनले भनिन्, “छिटोभन्दा छिटो विद्यार्थीसँग वार्ता गरेर अध्ययन संस्थानले शुल्कवृद्धि फिर्ता लिई हाम्रा साथीको अनशन तोडाउनुपर्छ।”
तत्काल शुल्कवृद्धि फिर्ता लिएर चापागाईंको जीवनरक्षा गर्न सरकारसँग माग गर्दै नेविसंघमा आवद्ध विद्यार्थीहरूले बालुवाटारमा पनि विरोध प्रदर्शन गर्दै आएका छन्। शुल्कवृद्धिको विरोधसँगै देशभरका सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको मापदण्डमा एकरूपता हुनुपर्ने माग पनि उनीहरूले राखेका छन्।
इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसका साथै काठमाडौँकै थापाथली क्याम्पस, धरानको पूर्वाञ्चल क्याम्पस, पोखराको पश्चिमाञ्चल क्याम्पस र चितवन इन्जिनियरिङ क्पाम्पस रामपुर गरी पाँचवटा आंगिक क्याम्पसहरू सञ्चालनमा छन्।
शुल्क पुनरावलोकन गरेर अनशन तोडाउन सकिन्छः सहायक डिन
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहायक डिन तथा आन्दोलनरत विद्यार्थीहरूसँग वार्ता गर्न गठित समितिका संयोजक डा. सुरज लामिछाने शुल्कवृद्धिको निर्णय अकस्मात् नगरिएको बताउँछन्। “हामीले शुल्क निर्धारण गर्नुअघि एउटा समिति बनाएर स्ववियु र विद्यार्थीका विभिन्न कमिटीहरूसँग छलफल गरेका थियौँ। तर उहाँहरूले शुल्कवृद्धि गर्न पाइँदैन भनेर मान्दै मान्नुभएन। पहिलेकै शुल्क लिएर व्यवस्थापन चलाउनै नसक्ने अवस्था सिर्जना भएपछि २३ वर्षपछि वाध्य भएर शुल्कवृद्धि गरेका हौँ,” उनले भने।
अहिले बढाइएको शुल्क हाल अध्ययनरत विद्यार्थीहरूलाई लागू नहुने र कक्षा १२ सकेर अब पढ्न आउने विद्यार्थीले मात्र वृद्धि भएअनुसारको शुल्क तिर्नुपर्ने सहायक डिन लामिछानेले बताए। शिक्षण शुल्क नबढाउँदा क्याम्पसको आयस्रोत दयनीय भई कर्मचारी धान्नै नसक्ने अवस्था आएकाले वाध्यतावश नयाँ शुल्क लागू गर्नुपरेको उनले दोहोर्याए।
शुल्क वृद्धिका लागि विद्यार्थी संगठनहरूसँग भदौ ७ र ८ गते दुई पटक वार्ता भएको र पहिलो वार्ता अनौपचारिक भयो भन्ने विद्यार्थीहरूलाई लागेकाले दोस्रो वार्तामा चिठी काटेरै बोलाइएको लामिछानेले दाबी गरे। “हामीले सरसल्लाह नगरेको होइन, तर शुल्कवृद्धि गरौँ भनेर त कुन चाहिँ विद्यार्थीले भन्छन् र?” उनले भने, “विद्यार्थीहरूले भनेझैँ शुल्कवृद्धि खारेज हुँदैन। तर शुल्कमा समायोजन या पुनरावलोकन गर्न चाहिँ सकिन्छ। त्यसरी विद्यार्थी नेताको अनशन तोडाउन सकिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
